निर्मला हत्या ‘व्यक्ति हैन समूह’बाट, गृहमन्त्री संसदमा गोलमोटल बोले
गृहमन्त्री रामबहादुर थापाले सरकार हत्या हिंसा रोक्न सक्षम रहेको भन्दै आफुहरुसित त्यसका लागि भिजन र नीति दुबै भएको बताएका छन् । भरखरै घटेका घटना र निर्मला पन्त हत्याको छानविनबारे राष्ट्रिय सभालाई जानकारी गराउँदै गृहमन्त्री थापाले सरकारले हत्या, हिंसा रोक्छ भने ।
गृहमन्त्री थापाले निर्मला हत्याको छानविनबारे पछिल्लो अपडेट दिन्छु पटक–पटक भने, तर कतै जान हतार भएजस्तो र कसैले थाहापाउने जस्तो गरी उच्चस्तरीय छानविन समितिले प्रतिवेदन बुझाएको कुरा मात्रै भने । उनले त्यसक्रममा गोलमोटल जवाफ दिए । उनले प्रष्टसँग कुरै भनेनन् ।
तर, प्रतिवेदनका आधारमा एउटा कुरा चैँ, उनले चुहाएका छन् । उनले सम्बोधन गर्दा बलात्कारीहरु, हत्याराहरु, भने । गृहमन्त्रीले लिखतमै हेरेर बोलेका थिए । गृहमन्त्रीको भनाईबाट निर्मला बलात्कार तथा हत्याका घटनामा समूहनै रहेको पुष्टि भएको छ । निर्मला हत्याको छानविनबारे बोल्नुअघि उनले विदेशबाट फर्किएका महिलाबारे पनि बोले ।
यस्तो छ, गृहमन्त्रीको भनाई- सम्पादित
तपाई हामीलाई थाहा छ । हरेक दिन दुई तीन जना दिदीवहिनीहरु बलात्कृत भएर आफ्नो मानसिक सन्तुलन गुमाएर यो देशमा भित्रिने गरेका छन् । हरेक दिन लास आउँछन् । त्यस्ता निर्मलाहरुमाथि किन यस्तो भइराखेको छ ।
किन हामी यसलाई रोक्न सकिरहेका छैनौँ । यो गम्भीर प्रश्न छ । यसलाई रोक्ने प्रयास अहिलेको सरकारले गरेको छ । यो सरकारसित त्यस किसिमको भिजन छ । नीति छ । नेतृत्व छ र हामी यसलाई रोक्छौँ ।
रोक्नै पर्छ, यदि हामीले सम्वृद्ध नेपाल बनाउने हो भने र सम्मानीत राष्ट्र हामीले निर्माण गर्ने हो भने, यस किसिमका अपराधलाई हामीले रोक्नै पर्छ । यो तपाई हाम्रो दायित्व हो । जो अहिले निर्मलाको सन्दर्भमा प्रश्न उठिराखेको छ ।
पछिल्लो अपडेट म यहाँहरुलाई जानकारी गराउन चाहन्छु । योबारेमा यसअघि पनि मैले जानकारी गराएको छु । साउन १० गतेदेखि यहाँसम्म आउँदा विकसित भएका घटनाक्रमबारे अध्ययन गरी हत्यारालाई कानुनको कट्घरामा उभ्याउनको लागि सरकारले आफ्नो पुरै जोड लगाएको छ ।
प्रतिनिधि सभामा पनि यहाँ पनि । पछिल्लो अपडेट गराउँदा निर्मला बलात्कार तथा हत्याकाण्डबारे छानविन गर्न बनेको उच्चस्तरीय समितिले रिपोर्ट पेश गरेको छ ।
प्रारम्भिक रिपोर्ट यसअघि आएको थियो । त्यो रिपोर्टका अनुसार अनुसन्धानमा खटाएका निकायको लापर्वाही तथा गम्भीर गल्तीले हत्यारा, बलात्कारीलाई कानुनको कट्घरामा ल्याउन सकेका छैनौँ ।
गैर जिम्मेवार व्यक्तिहरुलाई हामीले निलम्बन गरेका छौँ । पछिल्लो समय जो रिपोर्ट छानविन समितिले दिएको छ, त्यसको आधारमा हामीले छानविन र अनुसन्धानलाई तिब्र बनाएका छौँ । एउटा उच्चस्तरी अनुसन्धान टोली पनि निर्माण गरेका छौँ । छानविन रिपोर्टका आधारमा अनुसन्धानलाई तिब्र बनाइएको छ । ती हत्याराहरु, बलात्कारीहरुलाई कानुनको कट्घरामा उभ्याउन सफल हुनेछौँ, यो कुरा रिपोर्टमा छ ।
निर्मला घटनाबारेको पछिल्लो अपडेट यही हो । यो छानविन अघि एक जनाको गोली लागेर मृत्यु भयो । एउटा दुखद घटना भयो । घाइते अस्पतालमा छन् ।
उपचार भइरहेको छ । यी दुखद घटनाहरु पनि भए । घाइतेको स्वास्थ्य उपचारलाई सरकारले अघि बढाइरहेको छ । र, अनुसन्धानलाई पनि तिब्र बनाइएको छ ।