खेलकुदबाटै मनग्य आम्दानी, कसको कमाई कति



 

खेलकुदमा लागेर नेपालमा जीवन धान्न गाह्रो छ भन्ने अधिकांश खेलाडीको गुनासो छ । हुन पनि पूर्वाधारको अभाव र सरकारी लगानीको कमीले खेलाडी मर्कामा परिरहेका छन् । ऊर्जाशील समय खेलकुदमा बिताएर जीवन धान्न विदेश पलायन हुने खेलाडीको संख्या पनि उत्तिकै छ ।

 

तर, पछिल्लो समय खेलेरै मनग्य आम्दानी गर्ने र व्यवस्थित जीवनशैली बनाउने खेलाडीको संख्या पनि बढ्दै छ । १८ वर्षको उमेरमै क्रिकेटर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय लिग खेलेर नाम मात्रै कमाएका छैनन्, आकर्षक दाम पनि बटुलेका छन् ।

 

सन्दीपसँगै राष्ट्रियस्तरका धेरै क्रिकेटर र केही फुटबलरको एक लाख मासिक आम्दानी सामान्य बनेको छ । त्योभन्दा धेरै कमाउने पनि छन्, जसले खेलेरै व्यवस्थित जीवन जिइरहेका छन् ।

 

 

उदाउँदै युवा खेलाडी

अरू केही चर्चित खेलाडी जो कमाइमा दोस्रो ‘र्‍यांकिङ’मा छन् । फुटबलका अञ्जन विष्ट, अनन्त तामाङ क्लबबाट अरू सिनियर खेलाडीसरह तलब थाप्ने क्रममा छन् । त्यस्तै, त्रिभुवन आर्मी क्लबका भरत खवास सेनाका सेकेन्ड लेफ्टिनेन्ट छन् भने नवयुग श्रेष्ठ सुवेदार । उनीहरूको जीवन पनि फुटबलबाटै चलिरहेको छ ।

 

 

क्रिकेटका करण केसी, दीपेन्द्रसिंह ऐरी, आरिफ सेखलगायत खेलाडीको कमाइ पनि नराम्रो छैन । ग्रेड ‘बी’को र्‍यांकिङमा रहेका उनीहरू सिनियर खेलाडीहरूलाई पछ्याइरहेका छन् । राष्ट्रिय टिमबाट २५ हजारमाथि तलब खाने उनीहरूको आम्दानी समग्रमा ८० हजारसम्म छ ।

 

 

राज्यबाटै उपेक्षित धेरै खेल
फुटबल र क्रिकेटबाहेक अन्य खेलहरूका भने त्यति व्यावसायिक हुन सकिरहेका छैनन् । भलिबल, कराते, तेक्वान्दोे, बक्सिङ, उसु, एथलेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, टेबलटेनिसलगायतका खेलका खेलाडीको राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगिताबाहेक खेलबाटै आम्दानीको अरू स्रोत छैन ।

 

 

यद्यपि, यी विधाका केही खेलाडी भने राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक र बाहिर अन्यत्र जागिरे पनि छन् । जसले उनीहरूलाई दैनिकी चलाउन सहज भएको छ । नेपाललाई अन्तर्राष्ट्रिय मैदानमा धेरै पदक जिताउने कराते, तेक्वान्दो, बक्सिङ, उसुलगायतका खेलाडीहरू राज्यले बेवास्ता गरेको गुनासो गर्छन् ।

 

 

रोहित चन्द, फुटबलर
मासिक : ५ लाख
राष्ट्रिय टिमका रोहित चन्द सबैभन्दा धेरै कमाउने नेपाली फुटबलरमध्ये पर्छन् । डिफेन्डरका रूपमा उदाएका रोहित पछिल्लो समय मिडफिल्डरका रूपमा पनि न्याय दिन सक्ने भएका छन् । २६ वर्षीय रोहित अहिले इन्डोनेसियाको लिगा–वान क्लब पर्सिया जकार्ताबाट व्यवसायिक फुटबल खेल्छन् ।

 

उनले उक्त क्लबबाट मासिक चार लाखसम्म तलब थाप्ने स्रोत बताउँछ । यसबाहेक राष्ट्रिय टिमको तलब, बोनस, विज्ञापन, ब्रान्ड प्रमोटलगायत कमाइ जोड्दा रोहितले मासिक पाँच लाखसम्म कमाउँछन् ।

 

 

किरण चेम्जोङ, फुटबलर
मासिक : ३ लाख
किरण चेम्जोङ राष्ट्रिय टिमका नम्बर १ गोलकिपर हुन् । मछिन्द्र क्लबबाट करिअर सुरु गरेका किरणले पछि थ्रिस्टार, मनाङ मस्र्याङ्दीजस्ता ठूला क्लबबाट पनि खेले । २८ वर्षका उनले माल्दिभ्सको चर्चित सिटी स्पोर्टस् क्लबबाट पनि फुटबल खेलिसकेका छन् ।

 

उनी आवद्ध उक्त क्लबले गत वर्ष बंगलादेशमा भएको सेख कमल अन्तर्राष्ट्रिय कप जितेको थियो । उनले खेलेको भारतीय आइलिग क्लब मिनेर्बा पन्जाबले यसै वर्ष आइलिग पनि जित्यो ।

 

 

यो सिजन पुनः माल्दिभ्सको क्लब सिटी स्पोर्टस्मा आवद्ध भएका छन् । किरणले आफ्नो कमाइ खुलाउन नचाहे पनि उनले तलब र बोनस गरी मासिक तीन लाखसम्म कमाउने स्रोत बताउँछ । पछिल्लो समय उनी कुनै ब्रान्ड वा विज्ञापनमा भने आवद्ध छैनन् । ‘विज्ञापन त गर्छु, त सोसल वर्कका लागि मात्र,’ किरण भन्छन् ।

 

 

विमल घर्तीमगर, फुटबलर
मासिक : १ लाख
१५ वर्षको उमेरमै राष्ट्रिय टोलीमा डेब्यु गरेका विमल घर्तीमगर नियमित स्ट्राइकर हुन् । सुदूरपश्चिम एफसीबाट सन् २०१५ मा करिअर सुरु गरेका उनले पुलिस र थ्रिस्टारबाट पनि खेले । भारतीय क्लब मोहन बगानबाट यसै वर्ष आइलिग पनि खेले ।

 

विमलले जगदम्बा मोटर्स, बुस्टलगायतको विज्ञापन पनि खेलेका छन् । मासिक ७० देखि ९० हजारसम्म तलब थाप्छन् । क्लब र राष्ट्रिय टिमको तलब तथा अन्य कमाइ गरी उनको मासिक आम्दानी एक लाख बढी पुग्छ ।

 

 

विराज महर्जन, फुटबलर
मासिक : १ लाख
राष्ट्रिय टिमका कप्तान विराज महर्जनले भर्खरै बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा सर्वाधिक क्याप जित्ने खेलाडीको कीर्तिमान राखे । उनले लिजेन्ड राजुकाजी शाक्यको ६८ क्यापको कीर्तिमान तोडे । थ्रिस्टार क्लबबाट पनि खेलेका विराज अहिले मनाङबाट खेल्छन् । क्लबबाट ९५ हजारसम्म बुझ्ने उनको सबै कमाइ जोड्दा एक लाख नाघ्छ ।

 

 

विक्रम लामा, फुटबलर
मासिक : १ लाख
थ्रिस्टारका कप्तान विक्रम लामा राष्ट्रिय टिमका भरपर्दा डिफेन्सिप मिडफिल्डर हुन् ।थ्री स्टारका सिनियर खेलाडीले ६० देखि ८० हजारसम्म तलब बुझ्ने उनी बताउँछन् । आफ्नो तलब खुलाउन नचाहेका उनले भने, ‘नेपालमा राम्रा खेलाडीले क्लबबाट महिनाको ७० देखि ९५ हजारसम्म स्यालरी खान्छन् ।

 

’ क्लब, राष्ट्रिय टिम र अन्य गरेर उनको कमाइ कम्तीमा पनि एक लाख पुग्ने निकटस्थहरू बताउँछन् । ‘ब्रान्ड प्रमोट र वर्षको एउटा मात्र विज्ञापन गरे मासिक दुईदेखि अढाई लाखसम्म पनि कमाइ हुन्छ,’ उनले सुनाए ।

 

 

सन्दीप लामिछानेले 
६ महिनामै कमाए करोड
अन्तर्राष्ट्रियस्तरमै चम्किएका सन्दीप लामिछानेले विभिन्न देशमा लिग खेलेरै झन्डै ६ महिनाको अवधिमा करोडभन्दा धेरै आम्दानी गरेका छन् । आइपिएलमा दिल्ली डेयरडेभिल्सबाट खेल्दा एकै महिनामा २० लाख भारु अर्थात् ३२ लाख रुपैयाँ कमाए ।

 

आइपिएलपछि क्यारेबियन प्रिमियर लिग (सिपिएल)को एक क्लबमा ५ हजार डलर (झन्डै पाँच लाख ७५ हजार रुपैयाँ) मा आबद्ध भए । तर, आधा लिग मात्र खेलेर फर्किएकाले सम्झौताको आधा रकम मात्रै पाएका उनी निकट व्यक्तिहरू बताउँछन् ।

 

त्यस्तै क्यानेडियन लिगमा ४० हजार डलर (झन्डै ४६ लाख ४० हजार रुपैयाँ ) मा आवद्ध भए । आसन्न अफगान लिगका लागि उनी १५ हजार डलर (१७ लाख ४० हजार रुपैयाँ) मा आवद्ध भएका छन् । यो सबै जोड्दा उनको कमाई करोडमाथि पुग्छ । उनले पाएका सम्मान, पुरस्कार र राष्ट्रिय टोलीबाट लिने तलब–सुविधा यसमा जोडिएको छैन ।

 

 

नेपालमा उनी जेभियर इन्टरनेसनल कलेज, सानिमा बैंकसँगै दुई–तीन वटा कम्पनीको ब्रान्ड एम्बेसेडर छन् । सानिमाले दुई वर्षका लागि ९ लाख ६० हजार रुपैयाँमा सम्झौता गरेको छ । टाटा मोटर्सले २५ लाखको गाडी पुरस्कार दिएको छ । राष्ट्रिय टिमबाट मासिक बोनससहित ३५ हजारभन्दा बढी तलब थाप्छन् ।

 

 

सुजल श्रेष्ठ, फुटबलर
मासिक : १ लाख
सन् २०१६ मा मलेसियामा भएको एएफसी सोलिडारिटी कपको फाइनलमा मकाउविरुद्ध निर्णायक एक मात्र गोल गरेका सुजल श्रेष्ठ रातारात चर्चित भए । त्यसयता उनको उपस्थिति राष्ट्रिय टिममा प्रायः रहँदै आएको छ ।

 

२५ वर्षीय सुजल सन् २०११ देखि मनाङ मस्याङ्दी क्लबमा आवद्ध छन् । त्यसो त उनी सन् २०१५ मा भुटानी क्लब भुटान क्लियरिङ एफसीमा गएका थिए । लोनमा गएका उनी पुनः मनाङमै फर्किए ।

 

उनी क्लबबाट ७० देखि ९० हजारसम्म तलब थाप्ने बताउँछन् । स्टिलर एजुकेसनको ब्रान्ड एम्बेसेडर उनले मासिक ४०–५० हजार लिने गरेका छन् । विज्ञापन खेल्दा एउटाको ५० हजार कमाइ हुने उनको भनाइ छ । उनी भन्छन्, ‘सबै गरेर महिनामा कम्तीमा पनि एक लाख कमाइ हुन्छ । कुनै वेला त अझ बढी भइहाल्छ ।’

 

 

पारस खड्का, क्रिकेटर
मासिक : डेढ लाख
सन्दीपपछि धेरै कमाइ गर्ने क्रिकेटर हुन्, कप्तान पारस खड्का । उनी पनि धेरै कम्पनीसँग आवद्ध छन् । एक्पर्ट, कन्सल्टेन्सी, श्री एयरलाइन्स्लगायत करिब आधा दर्जन बढी कम्पनीका ब्रान्ड एम्बेस्सेडर छन् । पारस केही विज्ञापनहरूमा पनि देखिने गरेका छन् । त्यस्तै, उनी एपिएफसँग करारमा आवद्ध छन् । एभरेस्ट प्रिमियर लिग (इपिएल)मा उनी विराटनगर वारियर्समा कप्तानको जिम्मेवारीमा आवद्ध भए ।

 

साथै, धनगढी प्रिमियर लिग (डिपिएल)मा उनी विराटनगर किंग्सका कप्तान थिए । यी दुवै प्रतियोगितामा पारसले अन्य टोलीका कप्तानको भन्दा बढी स्यालरी पाएका निकटस्थहरू बताउँछन् । राष्ट्रिय टिम र अन्य शीर्षकको कमाइबाट उनले महिनामा डेढ लाखसम्म थाप्छन् । तर, कुनै समय महिनामै १० लाखसम्म पनि कमाउँछन् । राष्ट्रिय टिमबाट ३५ हजार र बोनस बुझ्छन् ।

 

शरद भेसावकर, क्रिकेटर 
मासिक : १ लाख
शरद भेसावकर राष्ट्रिय टिमका भरपर्दा ब्याट्सम्यान हुन् । सन् २०१४ मा नेपाल टी–२० विश्वकपमा छनोट हुनमा उनको ब्याटिङको ठूलो हात छ । शरदले इपिएल लिग भैरहवा ग्लाडिएटर्सबाट खेले । उनी क्लबका कप्तानसमेत थिए ।

 

केही वर्षअघि दुईवटा विज्ञापन खेलेका उनी अहिले पनि एनबी बैंकसँग आवद्ध छन्, ब्रान्ड एम्बेसेडरका रूपमा । शरद पनि मासिक एक लाख जति कमाइ गर्छन् । राष्ट्रिय टिमबाट ३५ हजार तलब र बोनस बुझ्छन् । ‘क्रिकेटको कमाइले जिन्दगी चलाउनचाहिँ पुगेकै छ,’ शरद भन्छन् ।

 

 

ज्ञानेन्द्र मल्ल, क्रिकेटर
मासिक : १ लाख
राष्ट्रिय क्रिकेट टोलीका उपकतान ज्ञानेन्द्र मल्ल इपिएलमा ललितपुर प्याट्रिअट्स तथा डिपिएलमा काठमाडौं गोल्डेन्सका कप्तान थिए । यी दुवै लिग हुँदा उनले राम्रै कमाइ गरेका थिए । अहिले उनी सिटिजन बैंक र इसेवाका ब्रान्ड एम्बेस्डर छन् ।

 

यहाँबाट महिनावारी तलब बुझ्छन् । केही समयअघि ज्ञानेन्द्रले केही विज्ञापन पनि खेलेका थिए । राष्ट्रिय टिमको ३५ हजार तलब र बोनस तथा अन्य कमाइ गरेर ज्ञानेन्द्रले मासिक एक लाखसम्म आम्दानी गर्छन् ।

 

 

वसन्त रेग्मी, क्रिकेटर
मासिक : १ लाख
वसन्त रेग्मी नेपाली टिममा ‘क्राइसेस म्यान’का रूपमा परिचित छन् । वसन्त खासमा स्पिनर हुन्, तर उनी टिमलाई अप्ठ्यारो परेका वेला बिस्फोटक ब्याटिङ पनि गर्छन् । (इपिएल)मा उनी विराटनगर वारियर्स र डिपिएलमा विराटनगर किंग्समा आवद्ध थिए । नेपालकै महँगा बलरमा पर्ने वसन्तको कमाइ मासिक एक लाखसम्म हुन्छ ।

 

उनले राष्ट्रिय टिमबाट नियमित बुझ्ने तलब र बोनसबाहेक एनबी बैंक र ग्यालेक्सी पेन्ट्सको ब्रान्ड एम्बेसेडरका रूपमा पनि तलब थाप्छन् । उनी भन्छन्, ‘अब क्रिकेट बोर्ड गठन भयो र क्रिकेटले स्थिरता पायो भने राष्ट्रिय टिमबाटै लाखभन्दा बढी स्यालरी पाउने अपेक्षा छ ।’

 

सोमपाल कामी, क्रिकेटर
मासिक : १ लाख
१७–१८ वर्षको उमेरमै राष्ट्रिय टिममा परेका खेलाडी हुन्, सोमपाल कामी । फास्ट बलरका रूपमा उदाएका उनी अहिले ब्याटिङ पनि राम्रो गर्छन् । २२ वर्षीय सोमपाल इपिएलमा काठमाडौं किंग्स –११ तथा डिपिएलमा टिम चौराहा धनगढीका कप्तान रहेर खेले । सोमपालले पनि केही विज्ञापन खेलेका छन् ।

 

त्यस्तै, उनी विभिन्न कम्पनीसँगसमेत आवद्ध छन् । लुम्बिनी कलेजको ब्रान्ड एम्बेसेडर हुन् । क्लब, राष्ट्रिय टिम (३५ हजार प्लस बोनस) र अन्य गरी उनले पनि महिनामा कम्तीमा पनि एक लाख रुपैयाँ आम्दानी गर्ने निकटस्थ खेलाडीहरू बताउँछन् ।नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको