संसदीय समितिका सभापतिको मनोनयन आज, कुन समितिमा कसको उम्मेदवारी ?



हाम्रो इकोनोमि

 

प्रतिनिधिसभाका दश विषयगत समितिको सभापति चयनका लागि बिहीबार मनोनयन हुँदैछ । प्रतिनिधिसभा सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार बिहीबार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सभापतिका लागि मनोनयन दर्ता हुने छ।

 

 

प्रतिनिधिसभा नियमावलीको नियम १७३ (२) बमोजिम एक प्रस्तावक र समर्थकसहित उम्मेदवारी दर्ता गर्न सकिनेछ । प्रतिनिधिसभा सचिवालय सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा मनोनयन हुनेछ । उम्मेदवारको अन्तिम सूची बिहीबार बेलुका साढे ५ बजे प्रकाशित हुनेछ ।

 

प्रतिनिधिसभा नियमावलीको नियम १७३ (४) अनुसार एकल मनोनयन परेमा निर्विरोध हुने व्यवस्था छ । एकभन्दा बढी मनोनयन परेमा शुक्रबार बिहान ११ बजे निर्वाचन हुनेछ । निर्वाचन सबै समितिको बैठक कक्षमा हुनेछ ।

 

एकभन्दा बढी समितिमा सदस्य रहेका सांसदहरूलाई आफूले मताधिकार प्रयोग गर्ने समितिको जानकारी दिन बिहीबारसम्म समय सचिवालयले दिएको छ ।

 

 

यस्तो जानकारी सभामुखलाई उपलब्ध गराउनु पर्नेछ । प्रधानमन्त्री तथा मन्त्रीहरू विभिन्न समितिमा पदेन रहने व्यवस्था छ । तर, मतदानको अवस्था सिर्जना भएमा एउटामात्र समितिबाट मतदान गर्नुपर्नेछ ।

 

 

कुन समितिमा कसको उम्मेद्वारी
संसदीय समितिमा नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को सहज बहुमत रहेको छ । निर्वाचन भएमा सबै समितिमा नेकपाले सहज जित हासिल गर्ने अवस्था छ । तर, संसदीय मान्यता अनुसार सार्वजनिक लेखा समिति प्रमुख विपक्षी दलले पाउनेछ ।

 

 

यस्तै, अन्य विषयगत समिति पनि दलीय सहमितमा बाँडफाँड भएका छन् । सत्ता साझेदार दल सङ्घीय समाजवादी फोरमले एक विषयगत समिति पाएको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिमा फोरमले विमल श्रीवास्तावलाई सभापतिको उम्मेदवार बनाउँदै छ । अन्य आठ समितिमा नेकपाका सांसदहरूको उम्मेदवारी तय भएको छ ।

 

 

विपक्षी दलले अहिलेसम्म लेखा समिति बाहेकका अन्य समितिमा उम्मेदवारी दिने वा नदिने निर्णय गरिसकेको छैन । नेकपाको आन्तरिक सहमति अनुसार अर्थ समितिमा कृष्णप्रसाद दाहाललाई सभापतिको उम्मेदवार बनाउने तयारी छ ।

 

 

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिमा शशी श्रेष्ठलाई अघि सार्ने समझदारी बनेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला खरेल, कानुन न्याय तथा मानव अधिकार समितिमा कृष्णभक्त पोखरेल, कृष्ण सहकारी तथा प्राकृतिक स्रोत समितिमा पूर्णकुमारी सुवेदीलाई उम्मेदवार बनाउने तयारी छ । सुवेदी पहिलो संविधानसभामा उपाध्यक्ष थिए ।

 

महिला तथा सामाजिक समितिमा निरुदेवी पाल, शिक्षा तथा स्वास्थ्य समितिमा जयपुरी घर्ती, र विकास तथा प्रविधि समितिमा कल्याणी खड्कालाई अघि सार्ने नेकपाको तयारी छ । संयुक्त सदनका सभापति चयनको प्रक्रिया भने अगाडि बढेको छैन ।

प्रतिक्रिया दिनुहोस
१४ खर्ब ५ अर्ब राजश्व उठने अनुमान, ६ खर्ब ५७ अर्ब बजेट घाटा

    सरकारले आगामी आर्थिक वर्षका लागि ठूलो आकारको बजेट ल्याउँदा स्रोत अभाव...

लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रकम विनियोजन

    सरकारले लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रकम विनियोजन गरेको छ ।...

कुल २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट सार्वजनिक

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४...

कर्मचारीको तलब २१ प्रतिशत वृद्धि

  सरकारले कर्मचारीको  तलब करिब २१ प्रतिशतले वृद्धि गरेको छ । अर्थमन्त्री डा....