तत्काल ट्याङ्कर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्न चेतावनी



हाम्रो इकोनोमि

 

नेपाल आयल निगमले इन्धन ढुवानीकर्ता तथा चालकले तत्काल ट्याङ्कर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्ने जनाएको छ ।

 

निगमले बुधबार एक सूचना प्रकाशित गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा प्रतिकूल प्रभाव पार्ने पिडिओ नलिने, भारतीय आयल कर्पोरेशन (आइओसी)मा इन्धन लिन नजाने, डिपोमा इन्धन लिएर नआउने र बिक्री वितरणमा असहयोग गर्ने ट्याङ्कर तथा चालकलाई कडा कारवाही गरिने जनाएको छ ।

 

निगमले ट्याङ्कर पूर्णरुपले सञ्चालन गरी आम उपभोक्ताको दैनिक जीवनसँग प्रत्यक्ष प्रभाव पार्ने अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ति सरल र सहज राख्न तत्काल आ–आफ्नो क्षेत्रमा ट्याङ्कर सञ्चालन गर्नसमेत सूचीत गरेको छ ।

 

इन्धन ढुवानीकर्ताका जायज विषयमा निगम सकारात्मक रहेको, सही वैज्ञानिक ढुवानी भाडामा समायोजन गरेपछि पनि पुनःविभिन्न बहानामा पेट्रोलियम पदार्थको आपूर्तिमा निगम एवं आम उपभोक्तालाई अप्ठ्यारो पार्ने गरी हड्ताल गर्नु गम्भीर विषय भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

 

केही समयअघि निगमको ढुवानी सम्झौतामा रहेका ट्याङ्कर चालकले उठाएका तलब, भत्ता, सञ्चयकोष, ट्रिप भत्तालगायत माग पूरा गरी पेट्रोलियम पदार्थको नियमित आपूर्ति सरल एवं सहज राख्ने सहमति भए पनि ट्याङ्कर चालकबाट पुनःआपूर्ति असहज गर्ने प्रयास निकै दुःखद् भएको निगमले जनाएको छ ।

 

इन्धन ढुवानीकर्ता तथा ट्याङ्कर चालकले विभिन्न माग राख्दै मङ्गलबारदेखि पेट्रोलियम पदार्थको ढुवानी रोकेका छन् ।

 

अवरुद्ध सडक एक हप्तापछि खुल्यो

 

बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाट खण्डको अवरुद्ध सडक एक हप्तापछि खुलेको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाले रघुगङ्गाले कटान गरेर सडक बगाएको ठाउँमा खोला फर्काउनुका साथै पहाड काटेर सवारी साधन आवतजावत गर्न मिल्ने बनाइएको हो । भदौ २७ गते रघुगङ्गा नदीमा आएको बाढीले करीब ३० मिटर सडक बगाएपछि उक्त स्थानमा सडक अवरुद्ध भएको थियो ।

मर्मतपछि बेनी–देखि काभ्रेभीरसम्मको खण्डमा सवारी साधन सञ्चालन गर्न सकिने भएको आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले बताउनुभयो । काभ्रेभीरमा अवरुद्ध सडक खुलाउन भने नेपाली सेनाको सहयोगमा बिस्फोटक पदार्थ प्रयोग गरिने भएको छ ।

सडक पूर्णरूपमा सञ्चालन गर्न अझै एक, दुई दिन लाग्ने आयोजना प्रमुख सुवेदीले जानकारी दिनुभयो । मुस्ताङ खण्डको अवरुद्ध सडकसमेत मर्मत गरिएको छ । बाढीले लेते खोलाको बेलिब्रिजको जगलाई जोखिमयुक्त बनाएपछि सो खोलाको पानी बहने मार्ग मोडिएको छ ।

छयत्तर किमी दूरीको बेनी–जोमसोम सडक अवरुद्ध हुँदा स्थानीयवासी, पर्यटक र तीर्थयात्री समस्यामा परेका थिए भने मुस्ताङमा उत्पादन भएको स्याउ ढुवानीमा पनि समस्या भएको थियो ।

प्रसारण लाइनको धराप 

बस्तीको बीच र घरको छतमाथि रहेको प्रसारण लाइनका कारण जलजला गाउँपालिका २ र ३ बगरफाँटमा विद्युतीय दुर्घटनाको जोखिम बढेको छ । बेनीदेखि म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा ३२ केभी क्षमताको केन्द्रीय प्रसारण लाइनको तार बस्तीको बीचबाट तानिएको र सो तार घरको छतमा मानिस उभिँदासमेत विद्युत्को लाइन छोइने अवस्था छ ।

प्रसारण लाइन निर्माण भएपछि पनि सम्बन्धित निकायको अनुगमन र नियमन नहुँदा घर निर्माण हुनेक्रम भने रोखिएको छैन । उक्त लाइनको करेन्ट लाग्न सक्ने भएकाले घरको छतमा कपडा सुकाउनसमेत जोखिम मोल्नु परेको स्थानीयवासी सुरेश विश्वकर्माले बताउनुभयो ।

केरेन्ट लागेर पछिल्लो वर्ष तीन जना घाइते भएका थिए । विद्युत् प्रसारण लाइन तीव्र रूपमा बजारीकरण भइरहेको बगरफाँटका लागि धराप बनेको स्थानीयवासी हिराबहादुर बरुवालले बताउनुभयो ।

 

बगरफाँट क्षेत्रमा करीब दुई किलोमिटर प्रसारण लाइन छ । एकसय २० घरधुरी प्रसारण लाइनको जोखिममा रहेका बगरफाँट हाइटेन्सन लाइन व्यवस्थापन उपसमितिका संयोजक टीका माइलीपारले बताउनुभयो ।

प्रसारण लाइन व्यवस्थापनका लागि वडा र गाउँपालिकामार्फत ऊर्जा मन्त्रालयमा पहल गरिएको र यसका लागि लागि रु ३० लाख लाग्ने अनुमान गरिएको उक्त गाउँपालिका–२ का वडाध्यक्ष गोविन्द खत्रीले बताउनुभयो ।

 

बस्तीमा जोखिम नहुने गरी बस्तीदेखि तल कालीगण्डकीको किनारकै किनार तथा माथिल्लो क्षेत्रको पहाडको फेदी भएर प्रसारण लाइन व्यवस्थापन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

प्रसारण लाइन व्यवस्थापनका लागि प्रभावित क्षेत्रका बासिन्दाले सरकारी निकायबाट सञ्चालन हुने योजनामा जनसहभागिताका लागि प्रतिघर रु १५ हजारका दरले सङ्कलन गर्न थालिएको छ । हालसम्म रु चार लाख ६० हजार सङ्कलन भइसकेको छ । ऊर्जा मन्त्रालयले पनि यसका लागि योजना स्वीकृत गरिसकेको गाउँपालिकाले जनाएको छ ।

 

क्यान्सर पीडित बालकको उपचारमा सहयोग

 

नयाँबानेश्वरस्थित काव्य विद्यालयका छात्र ÷छात्राले संविधानका विशेषताका बारेमा जानकारी लिनाका साथै रक्त क्यान्सरबाट पीडित आठ वर्षीय बालक हिमाल पाण्डेको उपचारमा केही रकम जुटाएका छन् ।

 

कान्ति बाल अस्पतालमा उपचार गराइरहेका खोटाङ रावाँबेशी गाउँपालिका–४ ठुम्रे धारापानीका पाण्डेको हाल रक्त क्यान्सरको दोस्रो चरण ९एएलएल०को उपचार भइरहेको सम्बद्ध चिकित्सकले जनाएका छन् ।

 

छात्रछात्राका जन्मदिनका अवसरमा सङ्कलित रकममका साथै विष्णु बाँस्कोटा फाउण्डेशन एवं विद्यालय परिवारबाट सङ्कलित रु २५ हजार बुधबार आयोजित कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य नवराज बाँस्कोटा तथा विद्यालयका बालनायक अनुभव रेग्मीले पीडित बालक पाण्डेलाई प्रदान गर्नुभयो । बिरामी बालकको थप उपचार गर्न रकम अभाव भएपछि रकम सङ्कलन गर्न स्काउटका वरिष्ठ शिक्षक बलराम प्यासीले पहल गर्नुभएको थियो ।

 

सो अवसरमा बिरामी बालकका पिता डिल्लीराम पाण्डे तथा आमा ज्ञानकुमारी पाण्डेले उपचारमा सहयोग गरेकामा विद्यालय परिवारलाई धन्यवाद दिँदै उपचारमा रकमको अभाव भएकाले थप सहयोगको अपेक्ष पनि गर्नुभयो ।

 

सो अवसरमा संस्थापक प्राचार्य बास्कोटा, संस्थापक निर्देशक सुनिलकुमार घर्ती, रिजन खड्का, शिक्षक गणेशकुमार दाहाल एवं दिलीप लामा तथा विद्यार्थी रोम भट्ट, सृष्टि लामिछाने र आभाश कुइँकेलले संविधानका विविध चर्चा गर्नुभएकोे थियो ।

प्रतिक्रिया दिनुहोस
मतदाता र शुभेच्छुकको अपार मायाले यो पटक चुनाव जित्छु : राजन भट्टराई

    नेकपा एमालेका केन्द्रिय सचिव एवं काठमाडौं-४ का  उम्मेदवार डा. भट्टराईले आफ्नो...

दाङमा यस्ता छन् शंकर पोखरेलका योजना

    नेकपा एमालेका महासचिव तथा दाङको क्षेत्र नं २ का उम्मेदवार शङ्कर...

एमालेले प्रत्येक मतदान केन्द्रमा ३० जना भोलेन्टियर फोर्स खटाउने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई निष्पक्ष र सुरक्षित...

मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको...