निर्मला हत्या प्रकरण : थप ५ प्रहरी अधिकृत निलम्बित, नौ प्रहरी अख्तियारको नियन्त्रणमा
कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्त हत्या प्रकरणमा थप ५ प्रहरी अधिकारी निलम्बनमा परेका छन् । निलम्बनमा पर्नेमा प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी र अङ्गुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामी रहेका छन् ।
गृह मन्त्रालयका अनुसार सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय छानबिन समितिको सिफारिसको आधारमा उनीहरुलाई निलम्बन गरिएको हो । उनीहरु सबैलाई निलम्बन गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि नै गृहमन्त्रालयले कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्टलाई निलम्बन गरेको थियो । उनीसहित तीन आरोपीको डीएनए परीक्षणका लागि नमुना समेत संकलन भइसकेको छ । सुवेदीले प्रतिवेदनले औँल्याएका अन्य व्यक्तिलाई पनि छानबिनको दायरामा ल्याई अनुसन्धान कार्य अगाडि बढाउन निर्देशन भएको पनि बताएका छन् ।
पन्त हत्याबारे सरकारले गम्भीरतापूर्वक लिई अनुसन्धान गरिरहेको र यस आपराधिक घटनामा जो कोही संलग्न भए पनि कानूनी दायरामा ल्याई कारवाही गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताइएको छ । मन्त्रालयले अपराधी पत्ता लगाई कारवाही गर्ने विषयमा सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रहसमेत गरेको छ ।
यसैबीच समितिले प्रारम्भिक प्रतिवेदन गृहमन्त्री रामबहादुर थापासमक्ष पेश गरेको छ । हत्या र त्यसपछि विकसित घटनाका सम्बन्धमा अध्ययन गरी समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको हो ।
यता, निर्मला पन्तलाई न्याय माग्दै शनिबार देशभर प्रदर्शन भयो । निर्मला हत्या काण्डका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै अभियन्ताहरूले प्रदर्शन गरेका हुन् ।
‘निर्मलाका निम्ति न्याय’ अभियानमा सहयोग पुर्याउन भएको प्रदर्शनमा देशभर स्वतः स्फुर्त रूपमा प्रदर्शन भएको हो ।
घुस लिएको आरोपमा नौ प्रहरी अख्तियारको नियन्त्रणमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मनोहरा खोलाको बालुवा निकाल्न ‘सेटिङ’ मिलाइदिने भन्दै ठेकेदारसँग घुस लिएको आरोपमा नौ जना प्रहरीलाई नियन्त्रणमा लिएको छ ।
अख्तियारले प्रहरी सहायक निरीक्षक गोपाल श्रेष्ठ र सुवास ढुङ्गाना तथा प्रहरी हवल्दार दीपक भारती, उमेश यादव र अमन चौधरीलाई आज नियन्त्रणमा लिएको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।
प्रसनी श्रेष्ठले ठेकेदारसँग रु ३० हजार, प्रसनी ढुङ्गाना र प्रहरी हवल्दार भारतीले रु ४५ हजार, प्रहरी हवल्दार यादव र चौधरीले रु पाँच÷पाँच हजार घुस लिएको अख्तियारले जनाएको छ ।
त्यस्तै प्रहरी जवान रत्न रिजाल, मानसिंह रोका, दीपेन्द्र कुँवर र मुकेश पटेललाई पनि घुस लिएको आरोपमा अख्तियारले नियन्त्रणमा लिएको छ । प्रहरी जवान रिजाल र रोकाले रु पाँच हजार र प्रहरी जवान कुँवर र पटेलले ठेकेदारसँग रु पाँच÷पाँच हजार घुस मागेका थिए ।
उनीहरुलाई बानेश्वरको विभिन्न क्षेत्रबाट अख्तियारले नियन्त्रणमा लिएको हो । अख्तियारले उनीहरुको साथबाट रु एक लाख बरामद गरेको छ ।
महत्वपूर्ण कार्य द्रुत गतिमा : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले रेल सञ्चालन, तुइन विस्थापन, मेलम्चीको पानी काठमाडौँ ल्याउनेजस्ता महत्वपूर्ण कार्य द्रुत गतिमा अघि बढिरहेको बताउनुभएको छ । ज्यापु समाज यलले आयोजना गरेको कार्यक्रममा उहाँले काठमाडौँबाट छिमेकी मुलुक र काठमाडौँ उपत्यकामा नै रेल सञ्चालनका लागि तयारी भइरहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
काठमाडौँ उपत्यकाका फोहोरमैला व्यवस्थापनको नयाँ ढङ्गले काम हुनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो । तुइन विस्थापित गर्न सरकारले शुरु गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ११६ वटा तुइन हटाएर त्यस स्थानमा झोलुङ्गे पुल बनेका छन् भन्नुभयो । उहाँले बाँकी रहेका ४० तुइन हटाउनका लागि झोलुङ्गे पुल निर्माणको काम अघि बढेकोे बताउनुभयो ।
विभिन्न विधेयक पारित
प्रतिनिधिसभाको शनिबारको बैठकले मौलिक हकसँग सम्बन्धित ४ विधेयक पारित गरेको छ । वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक, जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) पहिलो संशोधन विधेयक, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक, र वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक पारित भएका हुन् ।
यसैगरी, राष्ट्रियसभाको बैठकले विभिन्न सात वटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैठकमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थअधिकार विधेयक, जनस्वास्थ्य विधेयक, रोजगारीको हकसम्बन्धी विधेयक, उपभोक्ता संरक्षण विधेयक, खाद्य अधिकारसम्बन्धी विधेयक, आवासको अधिकारसम्बन्धी विधेयक, भूमिसम्बन्धी (सातौं संशोधन) विधेयक र सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, स्वीकृत भएका हुन् ।
बस दुर्घटना–दुईको मृत्यु, २३ घाइते
सर्लाही ब्रह्मपुरी गाउँपालिकामा शनिबार साँझ भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । मृत्यु हुनेमा ईश्वरपुर नपा–९ का २६ वर्षीया नथुनी राय यादव र सोहि स्थानका १९ वर्षीया अञ्जु साह रहेको प्रहरीले जनाएको छ ।
ब्रह्मपुरी गाउँपालिकाको त्रिभुवननगरबाट ईश्वरपुर जाँदै गरेको ना २ ख ८००३ नंको बस ब्रह्मपुरी–१ महदेवा पोखरीनजीक साँझ ५ः३० बजे दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भएकाहरुको सर्लाही अस्पताल मलङ्गवामा उपचार भइरहेको छ । घाइते हुनेमा अधिकांश महिला छन् ।
हुम्लामा पहिरो जाँदा दुईको मृत्यु
हुम्लामा सुख्खा पहिरो जाँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । जंगलमा घाँस दाउरा लिन गएका विद्यार्थीहरु सुख्खा पहिरोमा पुरिएका हुन् । चंखेली गाउँपालिका वडा नं ५ नेप्का भन्ने ठाउँमा पहिरो जाँदा बसन्ती तामाङ र अनिता तामाङको मृत्यु भएको हो ।
साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सलाई
बाह्रौँ साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सले जितेको छ । बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा शनिबार भएको फाइलनमा भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले उपाधि जितेको हो ।
सेमिफाइनलमा पाकिस्तानलाई ३–१ गोलले पराजित गर्दै भारत फाइनल पुगेको थियो । यस्तै माल्दिभ्सले सेमिफाइनलमा नेपाललाई ३–० ले हराएको थियो । दुवै टोली समूह चरणमा समूह ‘बी’ मा रहेका थिए । समूह चरणमा भारतले माल्दिभ्सलाई २–० ले हराएको थियो ।
बाह्रौँ संस्करणसम्म आइपुग्दा भारतले सात, माल्दिभ्स, बङ्गलादेश, अफगानिस्तान र श्रीलङ्काले एक÷एक पटक प्रतियोगिताको उपाधि जितिसकेका छन् । नेपाल, भूटान र पाकिस्तानले हालसम्म प्रतियोगिताको उपाधि जित्न सकेका छैनन् । यस जितसँगै माल्दिभ्सले दुई पटक उपाधि हात पारेको छ ।
खेलाडी दर्ताको समय छ दिन थप
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ‘ए’ डिभिजन लिगका लागि खेलाडी दर्ताको समय छ दिन थप गरेको छ । करीब चार वर्षपछि हुन लागेको शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि एन्फाले आजसम्म खेलाडी दर्ता गर्ने समय निर्धारण गरेको थियो ।
क्लबले खेलाडी दर्ताको समय अपुग भएको गुनासो गरेपछि छ दिन समय थप गरिएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । एन्फाले पहिलो पटक अनलाइनबाट शुरु गरेको खेलाडी दर्ता प्रक्रिया आगामी असोज ५ गतेसम्म गर्न सकिनेछ ।
सबै क्लबले न्यूनतम १८ खेलाडी दर्ता गराइसकेको भए पनि थप खेलाडी दर्ताका लागि समय माग गरेका हुन् । एन्फाले हरेक क्लबले बढीमा ३५ खेलाडी र कम्तीमा १८ खेलाडी दर्ता गर्नुपर्ने जनाएको छ ।