डलरको भाउ अहिलेसम्मकै उच्च, निर्यात नहुँदा देश टाट पल्टिने अवस्थामा



 

 

नेपाली बजारमा अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलरको बिक्रीदर १ सय १६ रुपैयाँ ६१ पैसा तोकेको छ । बुधबार कायम भएको डलरको बिक्री मूल्य अहिलेसम्मकै उच्च हो । पछिल्ला एक वर्षमा नेपाली मुद्रासँग अमेरिकी डलरको भाउ १४ रुपैयाँ ०१ पैसाले बढेको छ, जुन करिब १४ प्रतिशत हो ।

 

 

अघिल्लो वर्षको २७ भदौमा डलरको बिक्रीदर १ सय २ रुपैयाँ ६० पैसा रहेको थियो । गत अप्रिलदेखि डलरको मूल्य उच्चदरमा बढ्दै गएको हो । गत अप्रिल महिनामा डलरको भाउ १ सय ४ रुपैयाँ ८० पैसा थियो ।

 

मे महिनामा १ सय ८ रुपैयाँ ३ पैसा पुग्यो । जुलाईमा १ सय १० रुपैयाँ ३४ पैसा पुग्यो । र, सेप्टेम्बरमा आइपुग्दा १ सय १६ रुपैयाँभन्दा बढी पुगेको हो । यो पाँच महिनाको अवधिमा मात्रै अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ ११ दशमलव २६ प्रतिशतले सस्तिएको छ ।

 

उदीयमान अर्थतन्त्र भएका मुलुक र अमेरिकाबीचको व्यापार युद्द र अमेरिकाले लिएको ब्याजदर वृद्धिको नीतिले अन्तर्राष्ट्रिय बजारमै डलरको माग निरन्तर बढिरहेको छ । सन् २०१८ सुरु भएदेखि अमेरिकी डलर ८ प्रतिशतभन्दा बढीले महँगो भएको छ ।

 

डलरको भाउ उच्च हुँदा उदीयमान अर्थतन्त्र भएका मुलुकको मुद्रा कमजोर हुँदै गएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । कच्चा तेलमा भएको उच्च मूल्य वृद्धि, चालू खातामा भएको उच्च घाटालगायतले भारतीय मुद्राको अवमूल्यन भएको हो ।

 

अमेरिकाले चीन, भारत, दक्षिण अफ्रिका, रसिया, टर्की, इन्डोनेसियालगायत थुप्रै मुलुकबाट हुने आयातमा भारी मात्रामा भन्सारदर बढाएको छ । जसले गर्दा अमेरिकी अर्थतन्त्रसँगै त्यहाँको मुद्रा बलियो भएको छ ।

 

त्यस्तै, पछिल्ला दुई वर्षयता अमेरिकाले ब्याजदर वृद्धिको नीति लिएको छ । यसले गर्दा अमेरिकाका संस्थागत विदेशी लगानीकर्ताले भारतलगायत उदीयमान अर्थतन्त्र भएका मुलुकबाट लगानी फिर्ता गरिरहेका छन्, जसका कारण डलरको माग र भाउ बढिरहेको कार्यकारी निर्देशक थापा बताउँछन् ।

 

नेपाल र भारतबीच स्थिर विनमयदर रहेको छ । अर्थात्, नेपाली रुपैयाँ र डलरबीचको मूल्य भारतीय रुपैयाँ र डलरबीचको मूल्यमा आधारित छ । नेपालको अर्थतन्त्रमा आउने उतारचढावका कारण होइन, भारतमा तलमाथिले नेपाली रुपैयाँको मूल्य घट्ने वा बढ्ने हुँदै आएको छ । नेपालले भारतीय रुपैयाँसँग १ सय ६० रुपैयाँबराबर १ सय भारु हुने गरी स्थिर विनिमयदर कामय गरेको छ ।

 

पछिल्लो समय अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि भारतीय मुद्रा निरन्तर अवमूल्यन भइरहेको छ । भारतीय मूल्यको अवमूल्यनसँगै नेपाली मुद्रासमेत कमजोर भएको हो । भारतीय बजारमा अमेरिकी डलरको मूल्य ७२ भारतीय रुपैयाँभन्दा माथि पुगेको छ ।

 

कस्तो छ विदेशी विनमय सञ्चितिको अवस्था ?
गत असार मासान्तसम्ममा नेपालमा कुल विदेशी विनिमय ११ खर्ब २ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको भन्दा २.१ प्रतिशतले बढी हो । कुल सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २३.८ प्रतिशत रहेको छ । हाल रहेको सञ्चितिले १०.८ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको केन्द्र बैंकले जनाएको छ ।

 

स्थिर विनिमयदरको विकल्प खोजिनुपर्छ 
मीनबहादुर श्रेष्ठ
पूर्वउपाध्यक्ष, राष्ट्रिय योजना आयोग
आर्थिक वृद्धि, मूल्यवृद्धि, लगानीको वातावरण, राजनीतिक स्थिरतालगायत कारण अहिले हाम्रो अर्थतन्त्र सबल अवस्थामा छ । तर, पनि हाम्रो नेपाली मुद्राको अवमूल्यन भइरहेको छ । हाम्रो मुद्रा भारतीय मुद्रासँग निर्भर रहेका कारण यस्तो भएको हो । संविधानले स्वाधिन, स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्रको परिकल्पना गरेको छ ।

 

 

यसर्थ, अब विनिमयको निर्भरताको पनि विकल्प खोजिनुपर्छ । स्थिर विनिमयदरले नेपालको वैदेशिक लगानी र व्यापार पनि भारतकेन्द्रित भएको छ । भारतसँग रहेको स्थिर विनिमयदरको पुनरावलोकन हुनुपर्छ । हतार गरेर होइन, अहिले सुरु गरेर दुई–तीन वर्ष होमवर्क गरेर विनिमयदर पुनरावलोकन गर्नुपर्छ ।

 

 

सकारात्मक असर

१. रेमिट्यान्स बढ्छ, ब्याजदर घट्न सक्छ : डलरको मूल्य वृद्धि हुँदा नेपाल आउने रेमिट्यान्स स्वतः वृद्धि हुन्छ । युरोप, अमेरिका, खाडी, मलेसिया, जापान वा कोरियाबाट १ डलर पठाउँदा परिवारले पाँच महिनाअघि १०४ नेपाली रुपैयाँ पाउँथे भने अहिले ११६ रुपैयाँ पाउँछन् । यसरी समग्र रेमिट्यान्सको मात्रा बढ्छ ।

 

अघिल्लो वर्ष ७ खर्ब ५५ अर्ब रुपैयाँ रेमिट्यान्स आएको छ । नेपालको अर्थतन्त्रको २५ प्रतिशतबराबर रेमिट्यान्स आउँछ । विदेशमा रहेका करिब ४३ लाख नेपालीले वार्षिक ७ खर्बभन्दा बढी रेमिट्यान्स पठाउँछन् । डलरको वृद्धिसँगै पछिल्ला दुई महिनायता रेमिट्यान्समा वृद्धि भएको छ । यस्तो पैसाले बैंकमा मौज्दात बढेमा ब्याजदर घट्न सक्छ ।

 

 

२. निर्यात बढ्न सक्छ : हामीले हाम्रो वस्तु तथा सेवा निर्यात गर्दा हुने आय डलरमा हुन्छ । नेपाली सामान आयातकर्ताले डलरमा भुक्तानी गर्छन् । उनीहरूले हिजोकै अनुपातमा डलर भुक्तानी गरे पनि नेपाली व्यवसायीले धेरै पैसा पाउँछन् ।

 

त्यसैले डलरको मूल्यसँगै हाम्रो निर्यात मूल्य पनि वृद्धि हुन्छ । अघिल्लो आवमा नेपालले कुल ८१ अर्ब १९ करोड रुपैयाँबराबर निर्यात गरेको थियो । चालू आवको पहिलो महिनामा नेपालले ६ अर्ब ९२ करोड रुपैयाँको निर्यात गरेको छ ।

 

३. पर्यटनबाट आय बढ्छ : होटेल, टुर प्याकेज र ट्रेकिङलगायत पर्यटनका सबैजसो सुविधा डलरमा बुक भएका हुन्छन् । पर्यटकले उत्ति पैसा तिरे पनि व्यवसायीले अब धेरै पैसा पाउँछन् । यसले पर्यटन उद्योगलाई सकारात्मक असर पर्छ ।

 

नकारात्मक असर
१. महँगी बढ्न सक्छ : नेपाल आयातमुखी अर्थतन्त्र भएको मुलुक हो । अर्थात्, हामी अधिकांश वस्तु विदेशबाट आयात गरेर उपभोग गर्छौँ । चालू आर्थिक वर्षको पहिलो महिना (साउन)मै नेपालले १ खर्ब २० अर्ब रुपैयाँबराबरको वस्तु आयात गरेको छ ।

 

यसरी आयात हुने वस्तुको भुक्तानी डलरमा गरिन्छ । जसका कारण डलरको भाउ बढेपछि त्यस्ता वस्तुको भाउसमेत बढ्ने सम्भावना हुन्छ । डलरको मूल्य वृद्धि हुँदा नेपालमा ‘पुस इन्फ्लासन’ (एकले गर्दा अर्कोको भाउ बढ्ने प्रवृत्ति) हुनेछ ।

 

२. ऋणको दायित्व बढ्छ : गत फागुन महिनासम्ममा नेपालको तिर्न बाँकी वैदेशिक ऋण ८ खर्ब ४३ अर्ब रुपैयाँ पुगिसकेको छ । चालू आर्थिक वर्षमा विनियोजित खर्चका लागि सरकारले २ खर्ब ५३ अर्ब २ करोड ८२ लाख रुपैयाँ ऋण लिने जनाएको छ । यसरी सरकारले लिएको ऋण भाउ बढेको डलरमा भुक्तान गर्दा नेपाललाई नोक्सान पर्दछ ।

 

३. अयोजना महँगा बन्छन् : नेपालमा निर्माणाधीन थुप्रै पूर्वाधार आयोजनाका ठेकेदार तथा परामर्शदाता विदेशी रहेका छन् । उनीहरूलाई डलरमै भुक्तानी गर्नुपर्ने हुन्छ । यसले गर्दा परियोजनाको कुल लागत नै महँगो पर्न जान्छ ।

 

उदाहरणका लागि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ठेक्का गर्दा प्रतिडलरको भाउ करिब ८० रुपैयाँ रहेको थियो । जब कि, अहिले १ सय १६ रुपैयाँ नाघिसकेको छ । जलविद्युत् आयोजना, प्रसारण लाइन, एयरपोर्टलगायत परियोजना निर्माणमा संलग्न विदेशी ठेकेदार तथा परामर्शदातालाई बढेको भाउअनुसार डलरमा भुक्तानी गर्नुपर्दा नेपाललाई नोक्सान हुन्छ ।

 

 

४. विद्युत् खरिद महँगो  : नेपालले भारतबाट अहिले करिब चार सय मेगावाट विद्युत् खरिद गरिरहेको छ । गत आवमा नेपालले करिब १९ अर्ब रुपैयाँको विद्युत् खरिद गरेको थियो । नेपालले डलर बिक्री गरेर भारु खरिद गर्ने गर्छ ।

 

यसले गर्दा विद्युत् आयात पनि महँगो पर्ने देखिन्छ । अर्कोतर्फ नेपाल विद्युत् प्राधिकरणले ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजना र ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनासँग डलरमा विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ । यसर्थ, मूल्य बढेका वेला डलरमा भुक्तानी गर्दा प्राधिरकणलाई नोक्सान पर्नेछ । ती दुवै परियोजनासँग डलर सटहीको सम्पूर्ण जोखिम विद्युत् प्राधिकरणले व्यहोर्ने गरी पिपिए गरेको छ ।

 

 

५.  अस्थिरताले लगानी प्रभावित हुन्छ : डलरको भाउमा आएको अस्वाभाविक उतारचढावले बजारमा अस्थिरता उत्पन्न गराउँछ । यसले गर्दा विदेशी लगानीसमेत प्रभावित हुने विज्ञहरू बताउँछन् । डलर उतारचढावकै कारण उत्पादन लागत, आम्दानी तथा नाफामा अस्थिरता हुने देखिएपछि स्वाभाविक रूपमा विदेशी लगानीकर्ता हच्किने योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा ऋण सम्बन्धी कुनै सम्झौता

पूर्वप्रधानमन्त्रीहरूसँग चीन भ्रमणबारे प्रधानमन्त्रीले गरे परामर्श

    आसन्न चीन भ्रमणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालाहरूसँग छलफल गरेका

सुनको मूल्य एकैदिन तोलामा १५ हजार ९ सयले घट्यो

    नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा झण्डै १६ हजारले घटेको

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने