निर्मला हत्याकाण्ड : ४८ दिन, निर्दोषलाई यातना, प्रधानमन्त्री र गृहमन्त्री मूकदर्शक



 

पटकपटक टोली परिवर्तन भइरहेका छन् । तर, अनुसन्धान अपराधीनजिक पुग्न सकेको छैन । छानबिनमा फरक कोण राख्ने उपसचिव वीरेन्द्र केसीले राजीनामा दिएका छन् । उनको निष्कर्ष आखिर के हो त भनेर प्रधानमन्त्री र गृहमन्त्रीले बोलाएर बुझ्न सक्थे । तर, केसी मंगलबार मन्त्रालय धाउँदा पनि गृहमन्त्रीले भेटसमेत दिएनन् ।

 

 

अनाहकमा आरोपी भए दिलीपसिंह विष्ट
बर्दीको आडमा प्रहरीले सोझासीधा धेरै पक्राउ गरिसक्यो, तर स्थानीय जनताले जोमाथि निरन्तर औँला उठाइरहेका छन् तिनीमाथि अनुसन्धान केन्द्रित भएको छैन । प्रधानमन्त्रीले टेलिभिजनबाट भनेजस्तै आन्दोलन विवेकहीन हुन्थ्यो र प्रहरीको अनुसन्धान निष्पक्ष हुन्थ्यो भने दिलीपसिंह विष्ट नै अपराधी साबित हुन्थे ।

 

 

तर, डिएनए परीक्षणसमेत त्यही आयो जो कञ्चनपुरवासी जनताले भनेका थिए । तर, न्यायको पक्षमा उभिँदा गोली हानी एकजनाको हत्या गरियो, अर्का एक अचेत छन् । यत्रो ठूलो मूल्य चुकाएर प्रहरीले भन्न बाध्य भएको छ, ‘दिलीपसिंह विष्टको अपराध पुष्टि हुन सकेन ।’

 

 

त्यसअघि पक्राउ परे चक्र बडू
दिलीप विष्टलाई भन्दा अघि २१ साउनमा प्रहरीले स्थानीय युवा चक्र बडूलाई पनि पक्रेर ११ दिनसम्म यातना दिएको थियो । प्रहरीले चक्रसँगै १५ वर्षीया बहिनी लक्ष्मी र ११ वर्षीय भाइ गौतमलाई पनि पक्राउ गरेको थियो । बहिनी र भाइलाई सोही दिन छाडिए पनि चक्रलाई भने हिरासतमा मानसिक यातना दिएर राखियो ।

 

चार दिनसम्म त परिवारका कसैलाई भेट्नसमेत दिइएन । रोल्पामा प्रहरी जवानका रूपमा कार्यरत दाजु महेश आएपछि मात्रै चौथो दिन भेट गराइयो । उनलाई पनि अपराध स्विकार्न र अस्वीकार गरे परिवार नै बर्बाद गरिदिने धम्की एसपी डिल्ली विष्टले दिएका थिए । ११ दिनपछि उनलाई प्रहरीलाई गालीगलौज गरेको सार्वजनिक मुद्दा लगाएर छोडिएको थियो ।

 

 

त्यसअघि पक्राउ परिन् हेमन्ती भट्ट
चक्र बडूअघि प्रहरीले १८ साउनमा स्थानीय किशोरी हेमन्ती भट्टलाई पक्रेर पाँच दिनसम्म यातना दिएको थियो । स्थानीय जनज्योति बहुमुखी क्याम्पसमा कक्षा १२ मा पढ्ने १७ वर्षीया भट्टलाई शिक्षक र विद्यार्थीकै अगाडि घिसार्दै लगिएको थियो ।

 

हिरासतमा खुट्टा माथि र टाउको तल पारेर यातना दिएपछि तत्कालीन एसपी डिल्ली विष्टले निर्मलाको बलात्कार र हत्यामा संलग्न रहेको बयान दिन दबाब दिएका थिए । आफन्त पुरुषहरूसँग मिलेर अपराध गरेको बयान दिन नमाने जीवन बर्बाद गराउने धम्की एसपी विष्टले दिएका थिए । तर, वडाध्यक्षसहित कलेजका विद्यार्थी गएर हेमन्तीलाई छुटाएका थिए ।

 

 

त्यसअघि पक्राउ परे दीपक नेगी र जीवन घर्तीमगर
हेमन्तीभन्दा अघि १२ साउनमा प्रहरीले दीपक नेगी र जीवन घर्तीमगरलाई पक्राउ गरेको थियो । तर, पछि दीपक गम्भीर प्रकृतिको यौनरोगले ग्रस्त भएको पत्ता लाग्यो । त्यस्तै, जीवनले बयानका क्रममा भने, ‘हो, मैले निर्मलालाई खुकुरीले काटेर मारेँ ।’ जब कि पोस्टमार्टम प्रतिवेदनअनुसार निर्मलाको घाँटी निमोठी हत्या गरिएको थियो ।

 

जीवन मानसिक रोगी भन्ने पनि खुल्यो । तर, प्रहरीको यति फितलो अनुसन्धानका आधारमा गृहमन्त्री रामबहादुर थापा बादलले संसद्मा दीपक र जीवनको नामै लिएर अपराधी पक्राउ परिसकेको दाबी गरे ।

 

 

निर्दोषलाई यातना, प्रधानमन्त्री र गृहमन्त्री मूकदर्शक
यसरी शृंखलाबद्ध रूपमा प्रहरीले एकपछि अर्को निर्दोषलाई अभियुक्त बनाउन खोजेको छ, तर स्थानीय जनताले जोमाथि औँला उठाएका छन्, उनलाई गिरफ्तारसमेत गरिएको छैन ।

 

यसरी सोझासीधा जनतालाई पक्राउ गर्ने र यातना दिएर अपराध बक्न लगाउने एसपी विष्टकै छोरा किरणमाथि नै अनुसन्धान गर्न स्थानीयवासीले माग गरिरहेका छन् । तर, उनीमाथि अनुसन्धान भएको छैन । प्रहरीको विश्वसनीयता र सरकारको संवेदनशीलतामाथि यति ठूलो प्रश्न उठ्दा पनि प्रधानमन्त्री र गृहमन्त्री मूकदर्शक छन् ।

दिलीप अपराधी होइनन् भन्दा गोली हानियो

दिलीप निर्दोष भएको भन्दै स्थानीयले ५ देखि ८ भदौसम्म आन्दोलन चर्काएका थिए । आन्दोलनका क्रममा भीमदत्त नगरपालिका–१८ सालघारीका सन्नी खुनाले ज्यान नै गुमाउनुपर्‍यो ।

 

आन्दोलनमा गोली लागेर घाइते भएका २० वर्षीय युवा अर्जुन भण्डारा १९ दिनदेखि बेहोस छन् । गोली लागेर अत्यधिक रक्तस्राव भएपछि उनले खुट्टा नै गुमाउनुपरेको छ । अस्पताल ल्याउन ढिला भएको र कोषहरू मरिसकेकाले चिकित्सकले खुट्टा काटेर फाल्नुपरेको उनका दाइ योगेन्द्रले बताए ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको आइसियू ४०८ नम्बर बेडमा उनको उपचार भइरहेको छ । अहिलेसम्म ३० पिन्ट रगत दिइसकिएको छ ।

 

 

‘१९ दिन भइसक्यो अझै भाइको होस आएको छैन । डाक्टरले एउटा खुट्टा पनि काटे । अब त यहाँ हुन्न टिचिङ लैजाउ भनेका छन् । दिमागमा असर पुगेको छ भन्छन् । त्यहाँ आइसियू बेड खाली नभएकाले लान सकिएको छैन,’ दाइ योगेन्द्रले भने, ‘प्रहरीले निर्दोषलाई बलात्कारी र हत्यारा भनेर समातेको विरोध गर्दा मेरो भाइले गोली खानुपर्‍यो । अब त हत्यारा र बलात्कारी भनिएका पनि छुटे । अपराधी कहाँ छ, सरकारले खोज्न सकेको छैन ।’

 

 

भीमदत्त नगरपालिका–१ भाँसीका १६ वर्षीय उमेश देउवा पनि घाइते भएका थिए । उनको अवस्था पनि सहज भएको छैन । हात र खुट्टामा गोली लागेका उनको शिक्षण अस्पतालको ४१४ नम्बर बेडमा उपचार भइरहेको छ । उनको गोली लागेको हात चल्दैन । चिकित्सकले ७/८ महिना अस्पताल बस्नुपर्ने हुन सक्छ भनेको उनका बुवा यज्ञ देउवाले बताए । सरकारले उमेशको उपचार खर्च मात्र निःशुल्क गरेको, तर खाना खर्च नदिएकाले समस्या परेको उनले बताए ।

 

 

‘निर्मला मेरी साथी मात्र होइन छिमेकी पनि हुन् । हामी फरक विद्यालयका एउटै कक्षाका विद्यार्थी थियौँ । उनको बलात्कारपछि हत्या भएको र प्रशासनले निर्दोषलाई अपराधी भन्दै समातेको र वास्तविक हत्यारा पत्ता लगाउन खोजी नगरेको विरोधमा भैरहेको आन्दोलनमा म पनि सहभागी भएँ,’ ८ भदौमा बेलुका ५ बजे प्रहरीले जिल्ला प्रशासनअगाडि भएको प्रदर्शनमा गोली चलायो । भाग्दै थियौँ, ताकेरै गोली हान्यो ।

 

अहिले गोली लागेको हात पनि चल्दैन, खुट्टा पनि चल्दैन । मेरो जीवन डामाडोल भयो ।’ घाइते उमेशले भने, ‘हत्यारा अझै खोज्न सकेको छैन सरकारले । हत्यारा पत्ता लगाएर कारबाही गरे मात्र निर्मलालाई न्याय हुन्छ ।’

 

 

अरु घाइते उपचारपछि घर फर्किएका छन् । हातमा गोली लागेका तेजराज भट्टकी आमा पुनमले छोराको हात दुखिरहेको बताइन् । राम्रो ठाउँमा लगेर उपचार गर्न तथा पोसिलो खानेकुरा खुवाउन आर्थिक अभाव भएको गुनासो गरिन् ।

 

भीमदत्त नगरपालिका–१८ जानकी टोलका १४ वर्षीय चेतन भट्ट, भीमदत्त नगरपालिका–१८ भगतपुरका ४६ वर्षीय सुरेश चटौत, भीमदत्त नगरपालिका–१८ निम्बुखेडाका मञ्जु गिरी पनि घाइते भएका थिए । भारतको भोजिपुरामा उपचार गरेका सुरेश चटौतका आफन्त दुर्गादत्त चटौतले सुरेशको स्वास्थ्य अवस्था अहिले ठीकै रहेको बताए ।

 

 

उच्चस्तरीय छानबिन समितिका सदस्यलाई हृदयघात
निर्मला पन्तको हत्या र बलात्कारको अनुसन्धानको विषयलाई लिएर सरकारले गठन गरेको समितिका एक सदस्यलाई हृदयघात भएको छ । समितिमा सदस्य रहेका सशस्त्र प्रहरी बलका डिआइजी बसन्त बानियाँलाई हृदयघात भएको हो ।

 

 

उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । उनलाई ६ दिन अगाडि हृदयघात भएको हो । सरकारले समितिको म्याद आइतबार १५ दिनका लागि थपेको थियो । म्याद थप गर्दा घटनाको निष्पक्ष अनुसन्धान नहुने भन्दै समितिका सदस्य उपसचिव वीरेन्द्र केसीले सोमबार राजिनामा दिइसकेका छन् ।

 

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवदेी भने मंगलबार साँझसमम केसीको राजिनामा प्राप्त नभएको र उनका आरोपबारे औपचारीक रुपमा आफुहरुलाई जानकारी नभएको बताउँछन् ।

 

 

विष्ट र बम दिदीबहिनी रिहा
निर्मला पन्तको बलात्कार र हत्या घटनामा प्रहरीले नक्कली अभियुक्त खडा गरेको पुष्टि भएको छ । प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरिएका स्थानीय दिलीपसिंह बिष्टको घटनामा संलग्नताको प्रमाण फेला नपरेपछि उनी मंगलबार भएका छन् । प्रहरीले अपराधी सावित गर्न खोजेका दिलिप विष्ट पनि छुटेपछि घटनाको ४८ दिनमा अनुसन्धान शून्यमा आएको छ ।

 

केन्द्रीय विधि बिज्ञान प्रयोगशालाले घटनास्थलमा भेटिएको डिएनएको नमुना बिष्टसँग नमिलेको रिपोर्ट दिएसँगै उनलाई छाड्ने निर्णय भएको हो । जिल्ला सरकारी वकिलको कार्यालय, कञ्चनपुरले बिष्टसहित रोशनी बमलाई जिम्मा जमानीमा र बबिता बमलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्ने निर्णय गरेको हो ।

 

‘तत्काल उनीहरुविरुद्ध मुद्दा चलाउन सक्ने प्रमाण संकलन गर्न सकिएन, २५ दिनभन्दा धेरै हामीले उनीहरुलाई थुनामा राखेर अनुसन्धान गर्न सक्दैनौं,’ कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुबेर कडायतले भने, ‘ अनुसन्धानको अन्तिक विकल्प डिएनए थियो, त्यो पनि नेगेटिभ आएपछि हामीले बिष्टलाई पनि छाड्ने निर्णय गरेका हौं ।’ उनीहरुविरुद्ध थप प्रमाण संकलन गर्न सकिएमा अदालतमा मुद्दा चलाइने प्रहरीको भनाई छ ।नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्