किन मारिए रोहित पुन ? हत्याको विरोधमा रोल्पा बन्द, तरूण दल भन्छ हत्या सुनियोजित



 

 

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरूण दलले आफ्ना अध्यक्षको हत्या भएको विरोधमा सोमबार बिहानैबाट रोल्पा जिल्ला बन्द गरेको छ।

लिवाङ नगरसमितिका तरूण दलका अध्यक्ष सिमलवाङ निवासी २९ वर्षीय  रोहित पुनको आइतबार बेलुका गोली हानी हत्या भएको थियो।

तरूण दल रोल्पाका जिल्ला सचिव लिलाधर आचार्यले सोमबार बिहान ८ बजेदेखि रोल्पा बन्द गरेको र बन्द बेलुका ४ बजेसम्म कायमै रहने सेतोपाटीलाई जानकारी दिए। ‘अध्यक्ष रोहितको हत्या योजनावद्ध रुपमा भएको छ। त्यसका सबै दोषीहरू पक्राउ गरिनुपर्छ। उनीहरूमाथि कारबाही हुनुपर्छ भन्ने  हाम्रो माग हो,’ सचिव आचार्यले भने।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवम् डिएसपी दिपक खड्काले तरूण अध्यक्ष पुनको गोली हानी हत्या गरेको अभियोगमा रोल्पा नगरपालिका १० धबाङका देववहादुर घर्तीलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका घर्तीको साथबाट  एकथान कटुवा पेस्तोलसमेत बरामद भएको प्रमुख खड्काले बताए।

भ्रमणबाट फर्किए लगतै हत्या

तरूण अध्यक्ष रोहित लम्जुङ, पोखरा भ्रमण गरेर आइतबार मात्रै गृह जिल्ला रोल्पा आएका थिए। तर उनी घर पुगेका थिएनन्।

सुनिल स्मृति गाउँपालिकास्थित सुलिचौर बजारहुँदै घरतर्फ जाँदै गर्दा उनको हत्या गरिएको थियो। उक्त हत्या बनाउने योजनामा रोहितसँगै भ्रमण गएका केही युवाहरुको समेत संलग्नता रहेको हुनसक्ने आशंका तरूण दलका पदाधिकारीले व्यक्त गरेका छन्।

यसैबीच रोहितसँगै एक साता लामो भ्रमणमा सँगै गएका तीन युवालाई प्रहरीले सोधपुछ र अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ। पक्राउ परेका सबै युवाहरू वाईसिएल निकटका व्यक्तिहरू भएको स्रोतले बताएको छ।

आइतबार सवा ५ बजेतिर पाण्डवेश्वरी यातायात समितिको काउन्टर उद्घाटनस्थल नजिकैबाट तरूण अध्यक्ष रोहितलाई देववहादुर घर्तीका युवाहरूले चियाखान जाम दाई भन्दै बोलाएर लगेका थिए। तर, त्यही क्रममा उनीमाथि एकाएक गोली प्रहार भएको स्रोतले दाबी गरेको छ।

झगडाको कारण टेन्डर – डिएसपी खड्का

जिल्ला प्रहरी प्रमुख रोल्पाका प्रमुख एवम् डिएसपी दिपक खड्काले भने दुई समूह बीचको झगडाको मुख्य कारण टेन्डर नै भएको दाबी गरेका छन्।

‘दुबै पक्ष स्थानीय टेन्डरहरूमा युवाहरुको सहयोगमा आफ्नै हैकम् जमाउँदै आएको भन्ने खुल्न आएको छ’, डिएसपी खड्काले भने, ‘त्यही एकलौटी हैकम कायम गर्ने उदेश्यका साथ हत्या भएको हुनसक्छ।’

सामाजिक सञ्जाल (फेसबुक) ले गर्दा पछिल्लो समय दुई समूहका बीचमा झगडा सुरु भएको डिएसपी खड्काले बताए। एक पक्षले अर्को पक्षलाई सामाजिक सञ्जाल फेसबुकमा ‘सिध्याइदिने’  भन्ने खालका धम्किहरु लेख्दै आएको र पछिल्लो घटनाको कारण त्यसैको उपज मान्न सकिने डिएसपी खड्काले बताए। ‘दुबै पक्षबीच भनाभन हुँदा आवेगमा आएर गोली चलेको जस्तो देखिन्छ। यद्यपी हामी अनुसन्धानमै छौं,’ खड्काले सेतोपाटीसँग भने।

तर, तरुण नेताहरु भने रोहितलाई चिया खान भनि बोलाएर पूर्व योजना अनुरुप त्यहाँ पुग्नासाथ गोली हानिएको दाबी गर्छन्। उनीहरुले राजनीतिक आस्थाको कारण रोहितको हत्या भएको बताए।

घर्ती वर्षमानको चुनावमा खटेका युवा

तरूण अध्यक्ष रोहित पुनलाई गोली हानेर हत्या गरेको अभियोग खेपेका धबाङका देववहादुर घर्ती वाईसियलका स्थानीय नेता हुन्। उनी गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वर्षमान पुनको प्रचार प्रशारमा सक्रियपूर्वक लागेका थिए।

‘बर्षमानको बडिगार्ड भएरै उसले चुनावमा सक्रिय भूमिका निर्वाह गरेको हो। त्यतिबेला नै उसले पेस्तोल राखेर हिड्छ भन्ने हल्ला व्याप्त थियो,’ एक काँग्रेस नेताले फोनमा भने।

कांग्रेसका ती नेताका अनुसार रोहित पुन हत्याको अभियोग खेपेका घर्ती गत माघ महिनामा मात्रै व्यक्ति हत्याको प्रयास गरेको भन्ने मुद्दामा छुटेका थिए।

यसअघि पनि उनका प्रहरी समक्ष दर्जनौ मुद्दा छन्। तर, पहुँच र आस्थाको आधारमा घर्तीले पटक/पटक उन्मुक्ति पाउँदै आउनुको एउटा दुःखद परिणाम भएको ती नेताले दाबी गरे।

अहिले पनि पूर्व माओवादीका नेताहरु सुनियोजित घटनालाई सामान्य आवेग र उत्तेजनाको परिणाम भन्दै ढाकछोप गर्ने तथा हत्यारालाई बचाउन भूमिका खेल्न सक्ने खतरा रहेको उनले आशंका गरे।

उसो त हत्या गरिएका रोहित पनि रकम असुलीको अभियोगमा केही वर्षअघि जेल परेर रिहा भएका थिए। उक्त अभियोग प्रमाणित हुन नसकेपछि रोहित रिहा भए लगतै तरुण अध्यक्ष भएका थिए।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्