केन्द्र सरकारले धेरै हेप्यो, यही ताल हो भने नेपालको सङ्घीयताले हावा खान्छ



 

 

यहाँहरूले पोखरामा मुख्य मन्त्रीहरूको भेला गरेर सिंहदरबारमाथि दबाब बनाउन खोज्नुभएको हो ? 

हाम्रो संविधानले तीन तहका सरकारकाबीच समन्वय–सहकार्यको कुरा गर्छ । तीनै तहका सरकारबीचको सम्बन्ध र सहकार्यको कुरा पनि गर्छ । प्रदेशहरूले आफ्ना अनुभव सेयरिङ गर्ने र स्वभाविक रूपमा प्रदेशका कामहरूलाई प्रभावकारी बनाउने दायित्व छ । अहिले हामी फाउन्डेसनको चरणमा छौँ । त्यसलाई व्यवस्थित गर्ने हाम्रो दायित्व पनि हो भन्ने लाग्यो । त्यसैले संविधानले व्यवस्था गरे बमोजिमको भेला हो । त्यसलाई दबाब भनेर भन्न मिल्दैन । सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार एकअर्काका प्रतिस्पर्धी होइनन्, पूरक हुन् ।

 

आम मिडियामा प्रतिस्पर्धीका रूपमा उभ्याउने कोसिस भएको छ । त्यसले पनि सङ्घीयता कार्यान्वयनमा समस्या भएको छ । हामीले प्रतिस्पर्धीका रूपमा बुझ्नु हुँदैन । तिनीहरू पूरक हुन् र तीनवटा सरकारको सक्रियता नेपालको समृद्धि र विकाससँग जोडिएको छ भनेर बुझ्नुपर्छ । त्यो अर्थमा नबुझ्दा प्रदेशहरू दबाब दिन भेला भए भन्ने अवस्था रह्यो । तर कुरा त्यसो होइन । हामीले प्रदेशका साझा कन्र्सनहरूमा छलफल गर्यौँ र अब कसरी अगाडि बढ्ने भनेर साझा दृष्टिकोण तयार गर्यौँ ।

 

 

–अधिकार प्रत्यायोजनमा केन्द्र सरकार अनुदार बनेको तथा केन्द्रले अधिकार बाँडफाँट नगर्दा काम गर्न समस्या भएको गुनासो छ, यो महसुस कसरी भयो ?

यसलाई गुनासोका रूपमा नबुझौँ । कर्तव्यको रूपमा बुझ्नुपर्छ । स्थानीय तह वा प्रदेशले संवैधानिक अधिकार प्राप्त गर्ने कुरा अनुचित होइन, अपरिहार्य हो । अपरिहार्य विषयलाई कार्यान्वयन गर्न खोज्नुलाई गुनासोको रूपमा बुझ्नु हुँदैन । वास्तवमा यो मुख्य मन्त्रीहरूको कर्तव्य हो । संविधानले दिएका अधिकार स्थापित गर्ने कुरा गर्नु गुनासो होइन । त्यसलाई गुनासोको रूपमा लिन थालियो भने सरकारहरू प्रभावकारी हुनै सक्दैनन् ।

 

संविधानले दिएका अधिकारलाई स्थापित गर्ने छलफल गरे । बाँकी रहेका कामलाई सम्पादन गर्ने कुरालाई आवश्यकता बोध गरे । त्यो विषयमा सङ्घसँग छलफल र परामर्शको आवश्यकता महशुस गरे । त्यसलाई त्यसरी बुझ्नु पर्छ । संविधानभन्दा बाहिरको विषय वा कुनै नयाँ विषय भएको भए त्यसलाई असन्तुष्टिका रूपमा, गुनासोका रूपमा चित्रण गर्ने कुरा उपयुक्त हुन्थ्यो । अब संविधानले दिएको अधिकारका कुरा गर्दा गुनासो होइन, कर्तव्यका रूपमा बुझ्नुपर्छ ।

 

 

तपाईंहरूले पोखरा भेलाबाट बनाएको घोषणापत्रका बुँदा  हेर्दा त सिंहदरबारलाई दबाब दिन नै खोजेको देखिन्छ । अहिले एक जनाबाहेक तपाईंहरू सबै सत्तापक्षको पार्टीका जिम्मेवार नेताहरू नै मुख्यमन्त्री हुनुहुन्छ । यसरी हेर्दा त सङ्घीयता कार्यान्वयनमा केन्द्रीय सरकार वा प्रधानमन्त्रीमाथि नै प्रश्न उठ्छ नि ?

यो पार्टीको कुरा होइन नि ! संविधान र सिस्टमको कुरा गर्दा पार्टी भन्ने हुँदैन । राज्यका मुख्यमन्त्री हुन्, सातै जना । त्यस अर्थमा फलानो त्यो पार्टीको, फलानो यो पार्टीको भन्ने बुझाइ संवैधानिक भाषा होइन । हामी संवैधानिक हकमा बसेको हो । राजनीतिक रूपमा बसेको भए कुरा फरक हुन्थ्यो । हामी सातै जना समान हैसियत, समान कर्तव्यबोध भएका व्यक्तिहरू संविधानको कार्यान्वयका लागि बसेको हौँ ।

 

यो विषय पार्टीभित्रै गरेका भए हुन्थ्यो भन्ने कतै अनुचित हो कि भन्ने अर्थमा आयो भन्ने लाग्छ । जब अनुचित होइन, यसलाई अलग्गै गरेको भए हुन्थ्यो, भित्रै गरेको भए हुन्थ्यो भन्ने नै होइन । सङ्घीय सरकारलाई असहयोग गरेको भए वा सङ्घीय सरकारको औचित्य माथि प्रश्न गरेको भए यो यो कुरा आउँथ्यो । अझ भनौँ नेतृत्वमाथि प्रश्न खडा गरेको भए प्रश्न आउँथ्यो । यो त केही पनि होइन ।

 

 

संविधानको कार्यान्वय प्रक्रिया प्रभावकारी भएन, अब प्रभावकारी होस् भन्ने हाम्रो चाहना हो । हामीले दिएका सुझावहरूको प्रक्रियाबाट अघि बढ्दा बढी प्रभावकारी हुन्छ भन्ने सन्दर्भमा सुझाव दिएको हो । सुझावमा संवैधानिक प्रक्रियाभन्दा बाहिरको कुरा त केही पनि छैन । हामीले सङ्घीयता कार्यान्वयनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको आवश्यकता पर्छ भनेका छौँ ।

 

प्रधानमन्त्रीको अध्यक्षतामा राजनीतिक संयन्त्र गठन गर्नुपर्छ । त्यो नगर्दा प्रशासनिक तहबाट सङ्घीयता कार्यान्वय विलम्ब भयो, प्रभावकारी भएन । संविधान कार्यान्वयनका लागि सबैभन्दा पहिलो काम प्रधानमन्त्रीकै अध्यक्षतामा राजनीतिक संयन्त्र गठन गरौँ भन्नुको अर्थ त प्रधानमन्त्रीलाई अझै जिम्मेवार, जवाफदेही र प्रभावकारी बनाउने कुरा नै हो । राजनीतिक नेतृत्व जसरी संविधान निर्माणको प्रक्रियामा सामेल भयो, त्यसप्रति प्रतिबद्ध भयो । तर प्रशासनिक नेतृत्वले सहभागी हुने मौका पाएको छैन ।

 

यो प्रशासनिक नेतृत्वको नियतभन्दा पनि उसको सीमा हो । सामान्यतया हेर्दाखेरी प्रशासनिक नेतृत्व सङ्घीयता कार्यान्वयका लागि तयार छैन भन्ने अर्थमा पनि प्रश्नहरू उठ्ने गरेको छन् । म के भन्छु भने उनीहरूलाई तयार गर्ने हिसाबले प्रयास नै गरिएको छैन । किनभन्दा राजनीतिक नेतृत्वको लामो प्रक्रियामा दुईवटा संविधानसभा सामेल भयो । दुईवटा निर्वाचनमा भाग लियो र स्वाभाविक रूपमा संविधानसभाभित्रको छलफलमा सहभागी भयो । प्रशासनिक नेतृत्व त नागरिक हैसियतमा रह्यो ।

 

 

किनकि संविधानसभाभित्र सरकारी बिजनेस त जाँदैनथ्यो । सरकारी बिजनेस जान्थ्यो भने ब्युरोक्रेसी त्यसमा संलग्न हुन्थ्यो । संविधानसभाभित्र प्रशासनिक भूमिका केही पनि थिएन । एकाध व्यक्तिहरू विज्ञको हैसियतमा भूमिका खेले होलान् तर नेपालको स्थायी सरकारका रूपमा हेरिने प्रशासनिक संरचना संविधान निर्माणको प्रक्रियामा नागरिकको हैसियतमा रह्यो । उनीहरूका आफ्ना कन्र्सनहरू नागरिकको हैसियतमा प्रकट गरे होलान, त्यो बेग्लै कुरा हो । तर प्रत्यक्ष संलग्नता उनीहरूको रहेन ।

 

त्यसले गर्दा प्रशासनिक नेतृत्व नयाँ संविधानप्रति आफै प्रतिबद्ध भइसकेको छैन । त्यो प्रतिबद्ध बनाउने भनेको राजनीतिक नेतृत्वको काम हो भन्ने अर्थमा हामीले राजनीति संयन्त्रको आवश्यकता छ वा राजनीतिक नेतृत्वको आवश्यकता छ भनेर भन्यौँ । जसले सङ्घीयता कार्यान्वयनको रोडम्याप तयार गर्छ । प्रशासनलाई मोटिभेसन काउन्सेलिङ गर्छ ।

 

 

यहाँले एउटा महत्वपूर्ण कुरा गर्नुभयो, प्रशासनिक सीमाको पाटोको कुरा । राजनीतिक तहमा त्यो सीमा कहीँकतै देखिन्छ कि देखिँदैन ? 

त्यसमा पनि सीमा छन्, नभएका होइनन् । जस्तो कि सामूहिक रूपमा राजनीतिक प्रतिबद्धताको पक्ष एउटा हुन्छ, व्यक्तिगत रूपमा कार्यान्वयनका सन्दर्भमा उसको निर्णायक क्षमता अर्को हुन्छ । अहिले अब सम्माननीय प्रधानमन्त्रीले कार्यान्वयनका सम्बन्धमा मूलतः मन्त्रालयहरूलाई जिम्मेवार बनाउनुभयो । अहिले मन्त्रालयहरूले संविधान कार्यान्वयन, सङ्घीयता कार्यान्वयनको कार्ययोजना बनाइरहेका छन् । कार्ययोजना बनाउँदा प्रशासनिक नेतृत्व काठमाडौँभन्दा बाहिर जान चाहेन । किनभन्दा विगतको जुन सिस्टम छ त्यसले सबैलाई काठमाडौँ बेस बनाइसकेको छ । अधिकांश उच्च स्तरका प्रशासनिक नेतृत्वको घरबास काठमाडौँ उपत्यकाभित्र छ ।

 

 

परिवार, व्यापार–व्यवसाय काठमाडौँ नै छ । त्यो चीजबाट कटेर बाहिर जाने कुरा उनीहरूका लागि त्यति सजिलो छैन । यो हिजोको सिस्टमबाट आएको कुरा हो, आजको मात्रै होइन । त्यो चीजले स्वाभाविक रूपमा प्रशासनिक नेतृत्वलाई काठमाडौँ उपत्यकामा बस्न पाए हुन्थ्यो भन्ने बनाएकै छ । त्यसको प्रभाव साङ्गठनिक संरचना जसलाई हामी ओएनएम सर्भे भन्ने गरेका छौँ, त्यहाँ परेको छ ।

 

ओएनएम सर्भे तयार गर्दा प्रशासनिक संरचनाले के गर्छभन्दा आफू काठमाडौँमा रहने गरी प्रस्ताव गर्छ । सामूहिक रूपमा आएर एउटा व्यक्तिलाई कन्भिन्स गर्छ । त्यसलाई तपार्इं दबाब भन्न सक्नुहुन्छ । अर्कोतर्फ मोटिभेसन गर्छ । यी अधिकारहरू त माथि नै राखौँ भन्छ । मन्त्रीज्यू कन्भिन्स हुनुहुन्छ ।

 

 

त्यस अर्थमा राजनीतिक तहको समस्या के हो त भने सामूहिक छलफल गरेर निष्कर्षमा नपुगी, व्यक्ति व्यक्ति केन्द्रित भएर कार्यान्वयनमा जाँदा ठूलो जमातले एक जना मन्त्रीलाई प्रभावित गर्दो रहेछ । किनकि ओएनएम सर्भेमा लागेका बाहिर जान नचाहनेको जमात ठूलो हुन्छ । मन्त्री सिङ्गल हुन्छ । सिङ्गल मन्त्री बहुसङ्ख्यक प्रशासनिक नेतृत्वबाट कन्भिन्स हुन्छ । त्यो कारणले कार्यान्वयन प्रक्रिया विलम्ब भयो भन्ने कुरालाई ध्यानमा राखेर प्रधानमन्त्रीको तहबाट थाल्नुपर्यो । जहाँ समस्या भएको छ, त्यसको समाधान यही त हो । त्यस अर्थमा हामीले दिएको व्यावहारिक अनुभव आधारित सुझाव हो भन्ने लाग्छ ।

 

 

तपाई पार्टीमा सिनियर नेताको हिसाबले प्रधानमन्त्रीसँग नजिक बसेर काम गर्नुभयो । अहिले मुख्यमन्त्री भएपछि पनि वान टु वान संवाद गर्नुभएको होला । तर पनि प्रधानमन्त्रीलाई कन्भिन्स गर्न ढिला किन भयो भन्ने प्रश्न त स्वाभाविक उठ्छ ?

त्यो त एउटा प्रक्रिया अगाडि बढिसकेको हुन्छ । त्यसबाट ब्याक हट्नुभन्दा पनि त्यसलाई हेरौँन त के हुन्छ भन्ने कुरा पनि हुन्छ । त्यो मानवीय स्वभावको कुरा पनि हो । आफै अगाडि बढाइसकेको प्रक्रियाबाट परिणाम नआई अर्को प्रक्रियामा जाने कुरा स्वभाविक रूपमा नेतृत्वले गर्दैन । तर सामान्यतया सङ्घ र प्रदेशको हकम फरक छ । सङ्घलाई बितिहालेको छैन, चलिराखेकै छ भन्ने छ । प्रदेशको हकमा काम गर्न चाहनेहरूका लागि वातावरण बनिसकेको छैन । सङ्घले पुराना कानुनले पनि काम गर्न सक्छ । प्रदेशका लागि कानुुन बनाउनै पर्छ, अन्तर यहाँ छ ।

 

 

यो राजनीतिक नेतृत्वले मात्रै भनिराख्या होइन, जो प्रदेशमा गएर काम गर्छ, प्रशासनिक नेतृत्व उसले पनि यही बोध गर्छ । फेरि तपाईं के नबुझ्नु होला भने यो मुख्यमन्त्रीहरूको आफ्नो निजी कन्र्सनको विषय हो भनेर । यो संस्थाको कुरा हो ।

 

फेरि प्रदेशको संरचनाले के ठान्छ भन्दा हामी कानुन र संरचनाहरू नभई काम गर्न सकिँदैन । यी कुराहरू भयो भने बल्ल प्रदेश फङ्सनमा आउँछ भन्ने कुरा त सिस्टमले ठान्छ । यहाँ त व्यक्तिगतरूपमा मुख्यमन्त्रीहरूले आफ्ना कुरा राखे भन्ने बुझिन्छ । त्यो होइन । यो संस्थागत कुरा हो । कि त यो चीज आवश्यकता नै छैन भन्ने निष्कर्षतर्फ पुगेको भए प्रसङ्ग नै फरक हुन्थ्यो । त्यो ठाउँमा त हामी पुगेका छैनौँ ।

 

 

संविधान कार्यान्वयन गर्ने नै हाम्रो रोडम्याप छ । मोटामोटी हिसाबले हेर्दा स्थानीय तहका लागि पनि आधारभूत फाउन्डेसन पहिलेदेखि थियो । किनकि गाउँ विकास समिति, नगरपालिकामा जनशक्तिसहितको भौतिक संरचना विद्यमान थियो । सङ्घका लागि त झन् सबै छँदै थियो । नभएको प्रदेशमा हो । त्यस अर्थमा सबैभन्दा ध्यान दिनुपर्ने प्रदेशमा हो ।

 

अर्को एउटा के भयो भन्दा विगतमा सङ्घीय मामिला मन्त्रालय अथवा स्थानीय विकास मन्त्रालय जो अहिले जोडिएर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनेको छ । उसको परम्परागत रिलेसन स्थानीय तहसँग थियो । प्रदेशसँग त थिएन । त्यसकारण उसको काम गर्ने शैलीमा पनि नयाँ संरचना छ भन्ने बोध नै छैन । संविधानमा लेखिदिएको मात्रै त छ । नयाँ ढङ्गले त्यसलाई स्थापित गर्ने खालको संरचनाभित्र रूपान्तरण गर्ने प्रक्रिया बाँकी नै छ । स्थानीय तहले माथि सहजै छलफल गरेर निष्कर्षमा पुग्न सक्ने । प्रदेशका हकमा सीमा छ ।

 

 

अघि तपाईंले भन्नुभयो, काम गर्न चाहनेहरूलाई ब्यारियर छन् भनेर । तपाईंहरूलाई नपुगेको के हो ? 

सबैभन्दा पहिलो कुरा त संविधानले जे–जे भनेको छ ती पूर्ण नहुँदाका कुराहरू हुन् । किनकि पहिलो पटक सङ्घीय सरकारले नै गर्नुपर्छ । स्वयम् हामी आफै गर्न सक्दैनौँ । पछि त्यही काम हामी आफै गर्न सक्छौँ । एक पटक सङ्घले गर्नुपर्छ भनेर संविधानले लेखेपछि त्यसको प्रतीक्षा त गर्नुपर्यो । त्यो एक पटक गर्ने कामभित्र सबैभन्दा पहिलो काम प्रशासनिक पुनरसंरचना जसलाई हामी कर्मचारी समायोजन भन्छौँ ।

 

एकीकृत प्रशासनलाई तीन तहको प्रशासनमा बदल्नुपर्छ । अहिले भइराखेको काम व्यस्थापन मात्रै हो, समायोजन होइन । संविधानमा समायोजन गरेर तीन तहको प्रशासन बनाउने भन्ने छ । समायोजन पछाडि प्रदेशको आफ्नै निजामती ऐन हुन्छ । आफ्नै निजामती प्रशासन हुन्छ । समायोजन नहुँदासम्म त्यो हँुदैन ।

 

 

एउटा समस्या संविधान कार्यान्वयको गाँठो परेको विषय त यही हो । दोस्रो, संविधानले अधिकारको सूची त बनाइदियो तर ती अधिकार कस्तो प्रकारका कार्यहरूद्वारा जनताका बीचमा पुग्छन् भन्ने कुरा त संविधानमा लेखेको छैन । ती कार्यहरू कस्तो प्रकारको सङ्गठनद्वारा कार्यान्वयन गरिन्छ भन्ने कुरा पनि संविधानमा लेखिएको छैन ।

 

 

अधिकारको सूची लेख्ने वित्तिकै सबै भइहाल्छ भन्ने पनि होइन । अधिकारको सूचीमा आधारित एउटा रिपोर्ट तयार गरेर विगत दुई वर्षअघि मन्त्रिपरिषद्ले पास गरेको छ, कार्य विस्तृतीकरण प्रतिवेदनका रूपमा । त्यसले संविधानको सूचीसँग सम्बन्धित कामहरू के–के हुन् र कोसँग सम्बन्धित छन् भनेर व्याख्या गर्छ, त्यो भइसकेको छैन । यद्यपि त्यो काम केन्द्रीय प्रशासनले गर्यो । त्यो कति प्रदेशका पक्षमा छ भन्ने कुरा आफ्नो ठाउँमा छ । तर मोटामोटी रूपमा यसले गरेको छ ।

 

 

अघिल्लो पटक बैठकमा आउँदा अहिले हामीले काम गर्दाको आधार के हो भनेर मैले ध्यानाकर्षण गरेको थिएँ । संविधान भनेको स्वतः लागू हुँदैन । संविधान अन्तर्गतका कार्यहरू के–के हुन् भन्ने कुराको व्याख्या हुनुपर्थ्यो ।

 

 

त्यो दुई वर्षअघि भएको छ । त्यसमै टेकेर ती कामहरू जनताकाबीचमा सम्पादन गर्ने सम्बन्धमा कस्तो सङ्गठन चाहिन्छ भन्ने कुराको निरूपण सङ्घीय सरकारले गर्नुपर्छ भनेर भन्दै आयौँ, त्यो अहिलेसम्म भएको छैन । अहिले भएको कति मात्रै हो भने पहिले क्षेत्रीय निर्देशनालयका रूपमा थिए । क्षेत्रीय निर्देशनालयका रूपमा रहेका संरचनाहरू प्रदेश संरचनामा तल जाँदैछन् । त्यो संविधानको कार्यान्वयनमा पूर्णता होइन । अस्थायी प्रवन्ध हो ।

 

 

हामीले के भनेका छौँ भने यो अस्थायी प्रबन्ध पनि प्रयोग गरौँ । किनकि काम रोकिएको अवस्थामा त्यति भयो भने पनि एउटा आधार हुन्छ । तर यो प्रयाप्त हँुदैन, किनकि यसले संविधानअन्तर्गतका अधिकारहरूको सूचीहरूमा आधारित कार्य विस्तृतीकरण रिपोर्टलाई प्रतिनिधित्व गर्दैन । कार्य विस्तृतीकरण रिपोर्टको आधारको सङ्गठन संरचना आवश्यकता हुन्छ । त्यो संरचना सङ्घले नै नेतृत्व गरोस् र प्रदेशसँग पनि छलफल गरोस् भनेर भनेका छौँ । यो अनुचित त होइन, उचित नै हो । तेस्रो, ऐनको कुरा छ । सङ्घीयता कार्यान्वयनका सम्बन्धमा जरुरी केही ऐन, केही संरचनाहरू आवश्यक छ । अर्कोतर्फ हाम्रो संविधानले साझा अधिकारका सूचीहरू पनि राखेको छ ।

 

 

तीन तहका सरकारका बीचका साझा, दुई तहका सरकारका बीचका साझा अधिकार । साझा सूचीहरूको कानुन बनाउने सन्दर्भमा के भएको छ भने तिनै तहले कानुन बनाउन त पाउँछन् तर सङ्घको कानुनसँग बाझिएको हकमा तल्ला कानुन निष्क्रिय हुन्छन् भनिएको छ । त्यसअर्थमा कानुन नबाझिउन् भन्नका लागि पहिला त सङ्घले कानुन बनाउनु पर्यो । त्यसअर्थमा साझा सूचीमा आधारित कानुन सङ्घले प्राथमिकताका साथ पहिल्यै बनाइदियोस् भनेका छौँ । गर्ने पर्ने काम हो, कुनै अनुचित कुरा त होइन । चौथो, प्राकृतिक स्रोत तथा वित्त आयोग संवैधानिक आयोका रूपमा गठन गर्ने ।

 

 

त्यो आयोगले तीन तहका सरकारहरूको दायित्वका आधारमा स्रोत बाँडफाँट गर्ने संवैधानिक व्यवस्था छ । यो प्रयोग नहुँदा कसलाई कति स्रोत चाहिन्छ भनेर तजबिजीय आधारमा व्याख्या हुन थाल्यो । जस्तो कि दुई तहको सरकार छ तर पनि प्रदेशहरूलाई भन्डै ६० प्रतिशत बजेट उपलब्ध छ ।

 

सङ्घका लागि प्रिभिलेज के हुन्छ भन्दा उसले बाह्य लगानीहरू प्राप्त गर्न सजिलै सक्छ । तर प्रदेशले सक्दैन । त्यसकारण प्रदेशलाई आन्तरिक स्रोत ज्यादा उपलब्ध गराउनुपर्छ । सङ्घले बाह्य स्रोत परिचालन गर्न सक्छ भन्ने सिद्धान्तमा आधारित भएर अगाडि बढ्नुपर्ने हो । तर यहाँ सङ्घलाई धेरै स्रोत चाहिन्छ भन्ने मानसिकताबाट वित्त व्यवस्थापन प्रभावित भयो । यो सिद्धान्त त्रुटिपूर्ण भयो । यसो भन्नु अनुचित कुरा होइन ।

 

 

तपाईंले जे जे व्याख्या गर्नुभयो त्यो हेर्दा तपार्इंहरूले बोकेको भारी ठूलै देखिन्छ । यही भारी बिसाउने वा छलफल गर्ने भनेर अन्तरिम प्रदेश परिषद्को बैठक बोलाइएको थियो त्यो पनि सर्यो त ? 

औपचारिक बैठक बस्नलाई जति गृहकार्य हुनुपथ्र्यो, त्यो भएकै छैन भन्ने मलाई लाग्छ । त्यस अर्थमा बैठक केही दिन सर्यो भन्ने कुरालाई हामीले स्वाभाविक रूपमा लिनुपर्छ । बरु दस पन्ध्रदिनपछि सर्यो भने पनि केही बिगिँ्रदैन । तर यी विषयहरू सम्बोधन हुने गरी तयारी गर्नुपर्छ । त्यसो हो भने संविधान कार्यान्वयनमा प्रभावकारी ढङ्गले जान्छ । बैठकका लागि बैठक समस्याको समाधान होइन ।

 

त्यसकारण बैठक मुख्य कुरा होइन । मुख्य के हो भने समस्या समाधानका लागि व्यावहारिक उपायहरूको प्रयोगको कुरा हो । अर्कोतर्फ हामी समन्वय परिषद्को बैठकको आयोजना गर्छौं तर त्यसले के काम गर्ने भन्ने कुरामा कानुन चाहिन्छ । अहिलेसम्म कानुन बनाएकै छैन । त्यसकारण गर्नुपर्ने कुरा धेरै छन् । अनौपचारिक रूपले बैठक बसौँ भने त अघिल्लो पटक म आफैले पनि अनुरोध गरेर बैठक बसेको हो । तर त कानुन नबनाई अब फेरि बैठक बसौँ भने त्यो पनि अनौपचारिक जस्तै हुन्छ ।

 

 

एउटा व्यक्तिगत कुरा, पार्टीको जिम्मेवार तहमा बसेर काम गरेको नेता तपाईं । केन्द्रमै बसेर केही जिम्मेवारी लिऊँ भने पनि पाउनुहुन्थ्यो होला । त्यस्तो अवस्थामा पनि केही गरौँ भनेर प्रदेशको मुख्यमन्त्रीका लागि जानुभयो । यो ६ महिनाको अनुभव कस्तो रह्यो ?

म केही गरौँ भनेर तल गएको होइन । त्यतिबेला दुई अध्यक्षहरूले झण्डै दुई दिन मसँग गम्भीर छलफल गरेर तपार्इं तल जानुपर्छ भन्नुभयो । किन कि म तल जाने सोच नै थिएन । तपाईंं तल जानैपर्छ भन्ने कुराका सन्दर्भमा उहाँहरूले गरेका तर्कहरू म अहिले पनि सम्झन्छु । किनकि संविधान कार्यान्वयका सन्दर्भमा तपाईंले जुन रूपमा बुझ्नु भएको छ । तपाईं त्यहाँ जानु भएन भने सङ्घीयता कार्यान्वयमा समस्या हुन्छ । प्रदेश सफल नबनाई हाम्रो मिसन पूरा हुँदैन । त्योबीचमा धेरै छलफलपछि म त्यहाँ गएको हुँ । संविधानले एउटा संरचनाको परिकल्पना गर्यो । नयाँ संरचना आयो त्यसपछि महत्व ज्यादा छ भनेर पहल गरेर म त्यहाँ गएको होइन ।

 

पार्टी निर्णय प्रधान भयो ?

निर्णय भन्नुहुन्छ भने पनि औपचारिक रूपमा निर्णय भएको होइन । त्यतिबेला अलग अलग दुई पार्टीका अध्यक्षहरूले छलफल गरी पठाएको निर्णयलाई पार्टीको निर्णयभन्दा पनि राष्ट्रिय आवश्यकता बोधका रूपमा बुझेँ त्यतिबेलाका सन्दर्भमा ।

 

 

त्यसो भए तपाईं जाँदा निःशर्त जानुभयो कि सशर्त ?

सशर्त निःशर्त केही पनि होइन । उहाँहरूले जानुस् भन्नुभयो म गएँ । एक प्रकारले मुख्य कुरा त संविधानको कार्यान्वयन नै थियो ।

 

 

सङ्घीय सरकारका मन्त्रीहरूबीचको समन्वय राम्रो नभएको कुराहरू आइरहेको बेला प्रदेशको हकमा के छ ? तपाईंहरू सबै प्रदेशहरूको बीचमा समन्वय सहकार्य हुन्छ कि हुँदैन ?

छलफल गरिरहेका छौँ । आफूले गरेका प्रशासनिक संरचनाबाट पनि सेयरिङहरू भएका छन् । अन्तरमन्त्रालय सेयरिङ भइरहेको छ । मुख्य न्यायाधिवक्ताको माध्यमबाट पनि सेयरिङ भइरहेको छ । पहिलो पटक बन्न लागेको संरचनाहरू हो ? कहाँ कसले के गरिरहेको छ भन्ने छलफल स्वाभाविक रूपमा भइरहेको छ । प्रदेशहरू बीचको परस्पर सम्बन्ध अत्यन्त राम्रो छ ।

 

 

यहाँले महत्वपूर्ण कुरा गर्नुभयो । संविधान कार्यान्वयन, प्रदेशलाई अधिकार सम्पन्न बनाउने कुरामा ढिला हुँदैजाँदाका साइड इफेक्ट के हुन सक्छन् ?

दुईवटा हुन्छ । एउटा के हुन्छ भने परिवर्तन भनेको कस्तो हुन्छ भने समयमा त्यसलाई पहलकदमी लिँदा स्थापित गर्न सजिलो हुन्छ । विलम्ब गर्दा स्टाटस–को (यथास्थिति ) तर्फ फर्किने सम्भावना हुन्छ । यो त प्राकृतिक कुरा हो । त्यसकारण परिवर्तनको प्रक्रिया समयमा संस्थागत गर्नु धेरै ठूलो महत्व हुन्छ । नेपालको राजनीतिको सबैभन्दा कमजोर पक्ष के हो भने हामी क्रान्तिकारी आन्दोलनहरूमा त हामी च्याम्पियन छौँ, सडकमा जानुपर्यो भने । एउटा पुस्ताले तीन चरणका आन्दोलनको नेतृत्व गर्यो भनेर भाषण गर्छांै ।

 

 

तर क्रान्तिका उपलब्धिहरू किन गुम्यो भनेर कहिल्यै गम्भीर छैनौँ । दुनियाँमा एउटा राजनीतिक क्रान्तिले युग बदलिन्छ । हामी कहाँ तीनवटा राजनीतिक क्रान्ति गरेर युगलाई घिसेपिटे रूपमा हाँक्न खोज्दै छौँ । समस्या त यहीँ हुन्छ । ढिलो र छिटोको अन्तर के कुरासँग हुन्छ भने परिवर्तनलाई सही ढङ्गले संस्थागत गर्ने कि नगर्ने भन्नेसँग जोडिन्छ । छिटो गर्दा संस्थागत हुन्छ, ढिलो गर्दा स्टाटस–को (यथास्थिति) तर्फ फर्किने सम्भावना ज्यादा हुन्छ । अथवा प्रदेशहरू भोलि के हुन्छ भने सङ्घीयताका संरचनाको रूपमा भन्दा पनि विकेन्द्रीकरणका एकाइका रूपमा सीमित हुन्छन् ।

 

 

होइन एकात्कम राज्यभित्रको हामीले विकेन्द्रीकरणको तहमा सीमित गर्न खोजेको भने ढिलो उचित हुन्छ । होइन साँच्चै सङ्घीयता कार्यान्वय गर्न खोजेको हो भने ढिलो गर्नु उचित हुँदैन । म परिवर्तनलाई समयमै संस्थागत गर्नुपर्छ भन्ने मान्यतामा छु । धेरैलाई के होला भने सङ्घीयता, राज्यको पुनर्संरचनाजस्ता विषयहरू राजनीतिमा जनताले अघिसारेका एजेन्डा होलान् । म जनतालाई मोटिभेसन गर्ने व्यक्तिका रूपमा पर्छु । त्यसअर्थमा के होइन भने यो कतैबाट लादिएको एजेन्डा भन्ने कुरा मेरा लागि स्वीकार्य छैन । मेरो अध्ययनको निष्कर्ष हो ।

त्यस अर्थमा यसलाई कसरी सफल पार्नुपर्छ भन्ने कुरामा मेरा आफ्ना सोचहरू छन् । ती सोचहरूद्वारा म के कुरामा विश्वस्त छु भने अहिले हामीले भन्या कुरा गरेर मुलुक कमजोर हुँदैन, बलियो हुन्छ भन्ने मान्यता राख्छु । नेपालको राजनीतिमा यसरी अगाडि बढ्दा मुलुक कमजोर हुन्छ भनेर मत राख्नेहरू पनि छन् ।

 

 

म मुलुक साँच्चै समृद्धिको बाटोमा अगाडि बढ्ने हो भने अहिले प्रदेशले उठाएक मुद्दाहरू सम्बोधन गर्दा नै उचित हुन्छ भन्ने लाग्छ । यद्यपि सङ्घीयता र प्रादेशिक अवधारणाभित्र विचलन पनि छन् । फेरि म के ठान्दिनँ भने सङ्घीयता र प्रादेशिक अवधारणाभित्र सही दृष्टिकोण मात्रै छ भन्ने पनि लाग्दैन । त्यहाँभित्र पनि भड्काव, विचलनहरू छन् । ती भड्काव र विचलनबाट जोगाउन पनि सही बाटोलाई समयमै पछ्याउनुपर्छ । नत्र सही समयमा सही बाटोलाई स्थापित गर्न सकिएन भने भड्काव र विचलनहरू प्रोत्साहित हुन्छन् ।

 

 

अब थोरै तपार्इंको कार्यकालको समीक्षा गरौँ । ६ महिने कार्यकालको समीक्षा के हो ? 

यो त बडा गाह्रो कुरा हो । एकतिर संविधान कार्यान्वयमा हाम्रो गति कम भयो । गति बढाऊँ भन्ने कुरा गरेका छौँ र छ महिनामा के उपलब्धि भन्ने कुरा परस्पर विरोधी जस्तो लाग्छ । अरू प्रदेशका हकमा मैले अध्ययन गर्न पाएको छैन । मेरो प्रदेशको हकमा जनता आआफ्ना आकाङ्क्षा जोडेर प्रदेशमा आउन थालेका छन् । मोटोमोटी रूपमा हेर्दा म प्रदेशको राजधानीमा बसेको हुँदा जनताका कन्र्सनहरू जति आउन थालेका छन् । ती कन्र्सनहरू यति छोटो समयमा, यति ठूलो रूपमा आउनु भनेको धेरै ठूलो उपलब्धि हो जस्तो लाग्छ ।

 

 

जनताले आफू नजिकको सरकारलाई आफ्नो ठानेर आउनुभनेको उन्नतिका हिसाबले धेरै ठूलो उपलब्धि हो भन्ने मलाई लाग्छ । खोज्न थालेका छन् जनताले । अर्को कुरा त पाँच नम्बर प्रदेशको जुन संरचनाभित्रबाट प्रदेश बनाएका छौँ । विकास क्षेत्रको हिसाबले दुईवटा र अञ्चलका हिसाबले तीनवटा मिलेर बनाएको हो । त्यो हिसाबले भन्नुहुन्छ भने आञ्चलिक मनोविज्ञानलाई सामूहिक मनोविज्ञानम बदलेर प्रदेशको स्थिति के हो भनेर उजागर गर्ने काम मोटामोटी गरिसकेका छौँ । हाम्रो प्रदेशको टिमलाई सोध्नुभयो भने जोसुकैले पनि बताउन सक्छ । हाम्रो प्रदेशभित्रको टिमले आफ्नो प्रदेशको तागत के हो, कसरी अगाडि बढ्नुपर्छ वा हाम्रो रोडम्याप के हो भन्ने कुरामा स्पष्ट छ ।

 

 

धेरैले प्रदेश अलमलिएको छ भन्छन् । हामी अलमलिएका छैनौँ । हामीले देखेको स्पष्ट भिजन कार्यान्वयन गर्ने सम्बन्धमा केही अवरोधहरू छन् । अवरोध हुनु र अलमल हुनु फरक कुरा हो । अलमल हुनु दिशाहीन हुनु हो । हामी हाम्रो दिशामा स्पष्ट छौँ र के गर्दा समस्या पार लगाउन सकिन्छ भन्ने सोच हामीसँग छ । त्यस अर्थमा म यो कुरालाई सफलता मान्छु ।

 

 

अर्कोतिर हामीले जुन स्रोतहरू प्राप्त गरेका छौँ, त्यो स्रोतहरूको प्रोपर मोबिलाइजेसनको कुराकानी गर्नुहुन्छ भने हामीले हाम्रो प्रदेशभित्र राम्रो हिसाबले गरेका छौँ । साधारण खर्च र विकासशील खर्चका बीचको सन्तुलन हामीले रामै्रगरी मिलाएका छौँ । मान्छेहरू के भन्छन् भने प्रदेशहरू बोझ भए । खर्चहरू गर्ने ठाउँ भए भन्छन् । तर साधारण खर्च सबैभन्दा कम भएको कुनै निकाय छन् भने ती प्रदेशहरू हुन् । तथ्य कसैले हेरेको छैन । त्यसपछि प्रदेशहरू खर्च गर्ने ठाउँ भन्ने अर्थमा व्याख्या गरेका छन् । तर मेरो प्रदेशको हकमा हेर्नुभयो भने हामीले पुँजीगत खर्चमा जोड दिएका छौँ ।

 

अर्को, हाम्रा आयोजनाहरू रणनीतिक छन् । म के भन्छुभन्दा डिमान्ड ओरिएन्टेड होइन । प्लानिङ ओरिएन्टेड छन् । ती आयोजनाका बारेमा सोध्नुभयो भने म त्यहीअनुसार व्याख्या गर्न सक्छु । मेरा मन्त्रीहरूले अगाडि सारेका कार्यक्रमका बारेमा म व्याख्या गर्नु सक्छु । भन्नुको अर्थ यो कार्यक्रम किन ल्याइएको होला भनेर कुनै द्विविधा छैन र प्रत्येक कार्यक्रमको दीर्घकालीन सोच छ । जस्तो एकै पटक हामीले १ सय ९ पालिकाहरूमा खेलमैदान बनाउँदै छौँ । खेलमैदान कनिका छरेको जस्तो होइन ।

 

के पटक लगानी गरेपछि सधैँका लागि हुन्छ । त्यो हामी अहिलै गरिरहेका छौँ । हामी सबै पालिकाहरूमा एकै पटक बहुउद्देश्य भवनहरू बनाउँदै छौँ । हामी सबै निर्वाचन क्षेत्रहरूमा स्मार्ट एग्रिकल्चर भिलेजहरू बनाउँदै छौँ । त्यसका लागि हामीले पाइलटिङ गराउन खोजेका छौँ । एउटा मोडेल देखाउन खोजेका छौँ । सडक पूर्वाधारका रूपमा तीनवटा अञ्चललाई जोड्ने कुरा एउटा साझा प्रदेशका रूपमा निर्माण गर्ने कुराका सन्दर्भमा हिजो अञ्चल सदरमुकाम केन्द्रित सडक सञ्जाल थिए भने अब नयाँ हिसाबले जोड्नुपर्छ । अर्को प्रत्येक पालिकाको केन्द्र जोड्ने सडकलाई प्राथमिकता दिएका छौँ ।

 

हामीकहाँ ३२ वटा पालिकाका केन्द्र जोड्ने उपयुक्त सडकहरू रहेनछन् । ती सडक हाम्रो प्राथमिकतामा छन् । अर्को, महाभारत रेन्जमा हिल स्टेसनहरू निर्माण गर्ने प्रयोजनका लागि प्रादेशिक राजमार्गको परिकल्पना गरेका छौँ । जसको उद्देश्य भनेको पर्यटकीय गन्तव्य निर्माण गर्ने । यस्ता थुप्रै कुराहरू हामी गरेका छौँ । त्यसअर्थमा म के ठान्दिन भन्दा यो छ महिनाको अवधिमा के गर्नुभयो भन्दा हामीले हाम्रो प्रदेशको समग्र डेभलपमेन्टको क्लियरिटी प्राप्त गरेका छौँ । हाम्रो प्रदेशका जनतालाई विकाससँग जोड्न चाहान्छौँ ।

 

 

विकास भनेको के हो त भन्दा लगानी कर्तामुखी होइन । प्रतिफल जनताले पाउँछ कि पाउँदैन वा लगानीको प्रतिफल जनताले कति पाउँछ भन्ने कोणबाट हामीले सोचेका छौँ । त्यसैले हाम्रो प्रदेशको नारा नै के बनाएका छौँ भने ‘समृद्ध प्रदेश, खुसी जनता’ । अर्थात जनताको ह्याप्निेससँग विकासलाई जोड्नुपर्छ भन्ने मान्यताको आधारमा । त्यसको आरम्भ हामी कृषिबाट गर्छौं । त्यसपछि हामी कृषि र खनिज आधारित औद्योगीकरणको प्रक्रियामा लान्छौँ र हाम्रो प्रदेशको समृद्धि पर्यटनको विकासबाट हुन्छ भन्नेखालको निष्कर्षमा हामी छौँ । छोटो समयमा कङ्क्रिट सोचहरू बनाउने कुरा भनेको आफै उपलब्धि हो ।

 

 

चुनावका बेला जसरी प्रदेश राजधानीलाई लिएर निकै तनाव भयो । अहिले अलि शान्त छ । तर, फेरि तनाव बढन सक्छ । पछिल्लो समय तपाईले कहाँ राजधानी बनाउने होइन, कस्तो राजधानी बनाउने भन्ने तर्फ छलफल गरौँ भन्नु भएको थियो । त्यो भनेको नयाँ विकल्पसहित अगाडि बढ्ने भन्ने हो ?

म त हिजो पनि ती मान्यता त्यही रूपमा राख्थँे । चुनावमा फलानो हुँदा हाम्रो ठाउँको विकास सम्भव छ भन्ने कुराको जवाफ दिने सन्दर्भमा प्रतिवाद गरियो । तर पनि राजधानी कस्तो बनाउने भन्ने कुरा मुख्य हो । विगतमा धेरै नेताहरूले कस्तो राजधानी बनाउने भन्ने विषयमा भन्दा पनि ठाउँ तोक्दै हिँड्नुभयो । मैले विगतकै भाषणहरूमै पनि ठाउँ तोक्दै हिँडिनँ । विशेषताका पक्षमा फोकस गरेको हुँ । अहिले पनि म त्यो मान्यतामा छु । कमसेकम २० वर्षपछि आहा भन्ने त बनाउन पर्यो नि ।

 

फेरि अर्को काठमाडौँ जन्माउने हो र सात ठाउँमा ? अर्को काठमाडौँ जन्माउने पक्षमा हामी कोही रहनुहुँदैन भन्ने मलाई लाग्छ । कम्तीमा एउटा व्यवस्थित राजधानीको परिकल्पना प्रत्येक मुख्यमन्त्रीले गर्नुपर्छ । यो पाँच नम्बरको कुरा मात्रै होइन । एउटा व्यवस्थित क्यापिटल सिटी बनाउने कुरामा सबैले ध्यान दिनुपर्छ । सक्ने हो भने केन्द्रीय नेतृत्वले पनि त्यो आँट गर्नुपर्छ । तर हामीकहाँ जोखिम मोल्ने आँट कसैको छैन ।

 

हाम्रो राजनीति भनेको निर्वाह मुखी राजनीतिक देखिएको छ । राजनीतिज्ञ पनि निर्वाहमुखी उत्पादन पद्धतिको मनोविज्ञानबाट धेरै बाहिर गइसक्नुभएको छ भन्ने मलाई लाग्दैन । फरक हिसाबले सोचौँ भन्नेहरूका विरुद्ध त घेराबन्दी भइहाल्छ । जसरी प्रधानमन्त्री केपी ओलीका विरुद्ध घेराबन्दी भरहेको छ । यो घेराबन्दी उहाँले काम नगरेका कारण भएको हो र ? काम गर्न खोज्दा हामीले खाईपाई आएको गुम्छ भन्ने चिन्ता त हो नि । त्यसअर्थमा के ठान्छु भन्दा साँच्चै समाज बदल्ने हो भने फरक ढङ्गले सोच्नुपर्छ ।

 

 

तपार्इंले कस्तो राजधानी बनाउने भन्ने बहस थाल्नुभएको छ, त्यसमा खासगरी विपक्षी दलहरूको र आफ्नै पार्टीका माननीयहरूको कन्भिन्सन कस्तो रहन्छ । उहाँहरूले पनि मलाई सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ ?

उहाँहरूले सहयोग गर्नुहुन्छ । सहयोग गर्ने बनाउनुपर्छ । जस्तो मेरो प्रदेशका कार्यदलका कोही सदस्यहरूले बहस गरेको सुन्नुभएको छ ? कार्यदलका सदस्यहरू यो ठाउँ त्यो ठाउँ भनेर छलफल गरेको सुन्नुभएको छ ? आखिर हुँदो त रैछ नि । सही विधि र तरिका प्रयोग गर्यो भने मान्छे कन्भिन्स हँुदैन भन्ने हुन्छ र ? मैले स्वार्थ राखेर छलफल गर्न थाले भने अर्कोले पनि स्वार्थ राख्छ । जब भिजनसहित छलफलको प्रक्रियामा सामेल हुनुहुन्छ भने मान्छे तयार हुन्छ ।

 

कहिलेसम्म टुङ्गिन्छ ? 

समय लाग्छ । म फेरि के पक्षमा छैन भने असल काम गर्ने कुरा हतारमा हुँदैन । त्यसले मान्छे तयार नहुन सक्छ । समय लाग्न सक्छ । अहिले त मान्छेले तत्काल गरिदियोस् भन्ने चाहना राख्छन् तर त्यसो नहुन सक्छ । फरक के हुन सक्ला भने सबैले गर्न लागिसकेपछि बल्ल पाँच नम्बर प्रदेशले गर्न लाग्यो भन्ने आरोप पनि लाग्ला । तर अरूको भन्दा पाँच नम्बर प्रदेश व्यवस्थित हुन्छ भन्ने कुरामा म विश्वस्त छु ।

 

 

अब अर्को प्रसङ्ग, सीडीओ कार्यालय कसको मातहतमा रहने भन्ने विवाद देखिन्छ ?

जिल्ला तहमा केन्द्रका तीनवटा दायित्वहरू छन् । नागरिकता, राहदानी र जिल्लास्थित सीमाहरूको सुरक्षा । यी तीनवटा कामहरू सङ्घकै हो । यी काम गर्ने निकाय सङ्घलाई चाहियो नै । त्यो काम विगतमा सीडीओ कार्यालयले गर्दै आएको थियो । त्यसअर्थमा सीडीओ कार्यालय सङ्घको हुनुपर्छ भन्ने अनुचित कुरा होइन । तर सीडीओ कार्यालयले गर्ने अरू धेरै काम जस्तै शान्ति सुरक्षासम्बन्धी काम, प्रशासनिक संवेदनशील कामहरूलगायत अहिले प्रदेशअन्तर्गत गइसकेको छ । त्यस अर्थमा सीडीओ कार्यालय कसको मातहतमा रहने भन्ने खालको कुरा गर्दा सीडीओले के काम गर्ने भन्ने प्रश्न जोडिन्छ ।

 

 

सीडीओले अहिले जस्तै काम गर्ने हो भने सङ्घका लागि तीनवटा कामका सन्दर्भमा उत्तरदायी हुन्छ । अरू धेरै कामका लागि प्रदेश सरकारसँग उत्तरदायी हुनुपर्छ । कामका आधारमा परिभाषा गर्ने हो भने । होइन सङ्घका लागि अगल खालको कार्यालयको रूपमा चाहिन्छ भन्ने हो भने प्रदेशको काम गर्नका लागि अर्को संरचना कस्तो हुने प्रश्नको उत्तर पनि सम्झिदिनुपर्छ । हामी सेपरेट कार्यालयको पक्षमा छैनौँ ।

 

सीडीओ कार्यालयहरू प्रदेशका कामहरू पनि हेर्ने हो भने प्रदेशअन्तर्गत रहनुपर्छ । उसले सङ्घका निश्चित दायित्वहरू पनि पूरा गर्नुपर्छ भन्ने मान्यता नै हाम्रो मान्यता हो । हामीले त्यही भनेका छौँ । पहिलो काम भनेको यही तरिकाबाट जाऊँ, त्यसमा सङ्घको कामलाई प्रभावकारी ढङ्गले सम्पादन गर्न कुरामा समस्या हुन्छ भन्ने निष्कर्ष सङ्घको हो भने । त्यो प्रदेशको होइन ।

 

 

हामी अहिले पनि शक्तिशाली प्रशासकका रूपमा सीडीओ कार्यालय रहिरहोस् भन्ने नै चाहान्छौँ । तर त्यसका लागि हाम्रो काम गर्न ऊ हामीप्रति उत्तरदायी हुनुपर्यो । सीडीओको मुख्य काम भनेको शान्ति सुरक्षाको काम हो । शान्ति सुरक्षाको काम प्रदेशअन्तर्गत आएको छ । अहिलेको संविधानका हिसाबले प्रदेशले नसकेको विषय मात्रै बल्ल सङ्घसँग जोडिन्छ । जब प्रदेशले यो हाम्रो बुँताबाट बाहिर गयो । अब सङ्घको सहयोग चाहियो भन्ने भयो भने सङ्घले सहयोग गर्नुपर्छ । अर्को तरिका प्रदेश नै गलत बाटोमा हिँड्दै छ भने उसलाई प्रदेश सरकार नै भङ्ग गर्ने अधिकार छ ।

 

त्यो विशेषाधिकार त छँदै छ नि । अहिले जुन ढाँचाले शान्ति सुरक्षाको काम गरिरहेको छ । त्यो ढाँचाले भोलि के हुन्छ भने जनताले आफू नजिकको सरकारले भूमिका खेलोस् भन्ने चाहने तर भूमिका जति सबै सङ्घले खेल्दा स्थानीय आकाङ्क्षाहरू सम्बोधन हुन सक्दैन । जस्तो अहिले कञ्चनपुरकै घटना हेरौँ । प्रदेश सरकारले ट्याकल गरेका भए यति हदसम्म समस्या हुन्थ्यो र ? किनकि जनभावना उसले छिटो बुझ्थ्यो ।

 

कञ्चनपुरको कुरा काठमाडौँ आउनुभन्दा पहिले धनगढी पुग्थ्यो होला । त्यस अर्थमा प्रभावकारी के हुन्छ भन्ने कुरामा स्वभाविक रूपमा प्रदेशहरूलाई संविधानले दिएको अभ्यास गर्दा नै शान्ति सुरक्षा प्रभावकारी हुन्छ भन्ने नै हो । के ठान्नु भएन भने केही गर्न दिएकै छैन, त्यसकारण उसले गर्न सक्दैन भन्न त भएन ।

 

माथि सक्ने तर तल नसक्ने भन्ने त हुँदैन । सबै बराबर हो । जस्तो यही शङ्कर पोखरेल माथि आउँदा सक्ने, त्यही शङ्कर पोखरेल तल आउँदा नसक्ने भन्ने पनि हुन्छ र ? काठमाडौँ बस्ने व्यक्ति सबै देश नै हाँक्न सक्छ भन्ने सोच्ने, त्यही व्यक्ति कर्णालीका कुर्सीमा बस्दा केही गर्न सक्दैन भन्ने त हुँदैन । यो त हाम्रो एक प्रकारको केन्द्रीकृत मानसिकताको कुरा हो । अहिलेको जटिलता के हो भने मूलतः केन्द्रीकृत प्रशासनिक संरचनालाई संविधानअन्तर्गत रूपान्तरित गर्ने प्रक्रियामा उत्पन्न भएको समस्या हो । त्यो समस्या राजनीतिक पहल कदमीद्वारा नै हल गर्न सकिन्छ भन्ने हाम्रो निष्कर्ष हो ।

 

 

अब अन्तिम प्रश्न, स्थानीय करका विषयमा मिडिया रिपोटिङहरू हेरिरहनुभएको छ । त्यसलाई लिएर कतिपय मान्छे वा बुद्धिजीवीले पनि सङ्घीयतालाई सेट ब्याकमा लैजान्छ भन्नेहरू पनि छन् । करका विषयमा जनताका गुनासा तपाईंसमक्ष पुग्छन् कि पुग्दैनन् ?

सबैभन्दा पहिलो कुरा त प्रदेशका बारेका प्रश्न उठाउने कोशिस भएको छ । तर करका बारेमा सबैभन्दा संवेदनशील प्रदेश नै देखियो । सत्य त यही हो । करका मामलामा प्रदेशसभाले तय गरेका दररेटका बारेमा कहीँ प्रश्न उठेको छैन । उसले पनि करको दररेट त तय गरेको छ नि । अहिले त के छ भने प्रदेशले आफ्नो औचित्य प्रमाणित गर्न सकेन भनिएको छ । जसले राम्रो काम गरेको छ, उसको औचित्य प्रमाणित भएन । जहाँ समस्या छ ऊ जरुरी छ भनेर व्याख्या भएको छ । फेरि समस्या समाधान हुन नसक्ने प्रकृतिको होइन ।

 

जे प्रचार भएको छ, त्यो अर्ध सत्य मात्रै हो । एउटा पालिकाले कुनै मान्छेलाई चित्त नबुझ्ने वा टिपिकल खालको कुरा गरेको रहेछ भने त्यसलाई आधार बनाएर सबै पालिकाले यही गरेका छन् भनेर लेखिदिने । यो त हाम्रो मिडियाहरूको स्वभाव पनि त्यस्तै छ । जनेरलाइज गरिदिने । रिपोर्ट भनेको स्पेसिभिक हुन्छ नि । कुन पालिकाले गरेको हो भन्ने त आउनु पर्यो नि । त्यो पालिकाको निर्णयबाट गरेको हो कि त्यो कुनै वडा विशेषले आफ्नो स्रोत बढेको देखाउनलाई गरेको हो भन्ने त आउनु पर्यो नि ।

 

कहिले काहीँ संस्थागत निर्णय नभएको हुन सक्छ तर अभ्यासका हिसाबले प्रयोग भएको हुन सक्छ । खोजी त त्यहाँ गर्नुपर्यो नि । एउटा पालिकाको रसिदको टुक्रो ल्यायो अनि सबै पालिकाले गरेका छन् भनेर प्रचार गर्न थाल्यो । यो नेपालको आम सञ्चारको सबैभन्दा कमजोर पक्ष यही लाग्छ मलाई । वास्तवमा भन्ने हो ऊ तथ्यप्रति जवाफदेही छैन । सेन्सेसन क्रिएट गर्ने कुरालाई आफ्नो सफलता मान्छ ।

 

त्यो अनुचित हो भन्ने लाग्छ । त्यसले मुलुकको समृद्धिको यात्रालाई नकारात्मक असर गर्छ । अब मेरो प्रदेशभित्र भन्नु हुन्छ भने प्रश्न उठिसकेपछि सबै पालिकाको प्रमुखलाई बोलाएर के हो त, तथ्य भनेर अध्ययन गर्ने र उनीहरूलाई मोटिभेसन गर्ने काम भएको छ । अब कसरी अगाडि बढ्दा उपयुक्त हुन्छ भनेर तरिका सिकाउने काम पनि भएको छ ।

 

वास्तवमा यहाँ दुईवटा कुरामा समस्या भएको छ । हिजो परम्परागत रूपमा गर्दै आएका कामहरू पनि पालिकाले गरिराखेका छन् । त्यसलाई पनि आफ्नै ठाने । तर अहिले संविधानले दिएको अधिकार पनि तिमै्र काम भनेर थपियो । उनीहरूलाई के बताइएन भने पुराना कुरा र नयाँ कुराका बीचमा अन्तर परेको छ भने पुराना कुरा अब हँुदैनन् है भनेर भन्ने काम कसैले गरेनन् । पहिले पनि विभिन्न प्रकारका कर लिइराखेका थिए । त्यो करलाई पनि आफ्नो हक ठाने । अर्को संविधानले दिएको अधिकारलाई पनि आफ्नो हक ठाने । दुईवटा चीज जोडिँदा अलिकति समस्या भएको देखिन्छ ।

 

अहिलेसम्म साँचो भन्ने हो भने स्थानीय तहलाई समन्वय गर्ने खालको अधिकार प्रत्यायोजन गरेको पनि छैन । अहिले अनौपचारिक हिसाबले गरेका छौँ । जस्तो; मैले हाम्रो प्रदेशम मैले जे गर्न लगाइराखेको छु, त्यस चीजले त ठूलो गुनासको देखिएको छैन । भनेपछि त यस्ता कुराहरूमा प्रदेश नै इफेक्टिभ हुन्छ भन्ने त देखियो । अर्कोतर्फ के छ भने विगतमा हामीले स्थानीय सरकार ऐन बनायौँ सङ्घबाट ।

 

त्यो ऐनले साझा सूचीका करहरू उठाउने व्यवस्थाका सन्दर्भमा जे निर्णय गर्यो त्यो व्यवस्था नै त्रुटिपूर्ण थियो । यद्यपि यो सरकार आइसकेपछि त्यसलाई सच्यायो । त्यो निर्णय नभएको भए के हुन्थ्यो होला झ्न् ? जस्तो; एकीकृत सम्पत्ति करको पुराको मोडेलबाट लागू गरेको भएको सबैतिर विद्रोह हुन्थ्यो । त्यो अहिलेको सरकारले गरेको हो र ? अहिले जुन साथीहरू जुलुस निकाल्दै हुनुहुन्छ, त्यो आफ्नै नेतृत्वले गरेको काम हो ।

 

जबकि त्यो कुरा लागू भएको छैन । भएको भए के हुन्थ्यो । आफ्ना पालाम भएका कमजोरीको जवाफदेहिता यो सरकारबाट खोज्ने ? जस्तो देवानी संहिताको कुरा पनि त्यही भइराखेको छ । एक वर्षअघि बनेको संहिताबारेमा अहिले आएर बहस चलिरहेको छ । त्यो बहस कसले गर्छ भने जसको नेतृत्वको पालामा बनेको थियो उसैले ।

 

कतै पश्चाताप छैन । कतै गल्ती गरियो भन्ने कुराको अुनभूति छैन । जसरी अहिले आन्दोलनमा जानेहरूले के गर्नु पर्थ्यो भने कमसेकम त्यतिबेलाको नेतृत्वले कमजोरी गर्यो भन्ने आँट त गर्नु पर्थ्यो । दोस्रो कुरा त्यतिबेला ध्यान दिन नसकेर नागरिक कर्तव्य निर्वाह गर्न चुकेछौँ भन्नु पर्यो नि । त्यसअर्थमा हामीलाई मर्का पर्यो भनेर भन्नु पर्थ्यो तर सडकमा जानु हुँदैनथ्यो । देख्छु पत्रकार महासङ्घ पनि आन्दोलनमा जाने ।

 

सबैभन्दा सचेत तप्का एक वर्षसम्म सुतेर बसेके पश्चाताप गर्न पर्दैन ? सबै चीज एउटा ठाउँमा लगेर थोपरदिने ? अहिले पनि हामी नागरिक दायित्वको जवाफदेहिता स्थापित गर्न सकिएको छैन । त्यसको समस्या अहिले भोगिरहेका छौँ । यो समस्या पनि त्यही हो । सबै चीजलाई जनेरलाइज गर्दा एक प्रकारले भयाभह स्वरूप देखा पर्यो । जबकि सत्य त्यो हुँदै होइन ।

रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

प्रेम आले, किसान श्रेष्ठ नेकपा एस फुटाउने अन्तिम तयारीमा

    नेकपा एमाले विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीभित्र विवाद झन्

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको