प्रदेश १ को नाम र राजधानी राख्ने बिषयमा पुर्व एमाले र माओवादीबिच नै चर्को विबाद, मुख्यमन्त्री राई तनावमा



 

प्रदेश १ को नाम र स्थायी राजधानी तोक्ने विषय पेचिलो बन्दै गएको छ । प्रदेशको नामांकन जातीय पहिचानका आधारमा गरिनुपर्छ भन्ने मत बलियो भएकाले यो मुद्दा झनै पेचिलो बनेको छ । यो मुद्दामा सत्तारुढ दलकै वीचमा मतभेद देखा परेको छ ।

 

बिराटनगरलाई अस्थायी राजधानी बनाएर प्रदेश नम्बर १ को सरकार ०७४ फागुन ११ गते गठन भएको हो । तर, सरकार गठन भएको ६ महिना पूरा हुँदा पनि प्रदेश १ को नाम र स्थायी राजधानी अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन ।

 

प्रदेश १ को स्थायी राजधानीका लागि विराटनगरसहित अहिले धनकुटा, धरान, इटहरी, गोठगाउँमा आदि स्थानहरुमा छलफल अघि बढेको छ, जसमा स्थायी राजधानी विराटनगरलाई नै कायम गराउने भन्ने बहुमत सांसद छन् ।

प्रदेशको नामको विषयमा सगरमाथा, कोशी, किरात, लिम्बुवानलगायत बढी चर्चामा आएका छन् ।

 

सात प्रदेशमध्ये अहिलेसम्म गण्डकी र कर्णाली प्रदेशले नाम र स्थायी राजधानी तय गरिसकेका छन् भने पाँचवटा प्रदेशको स्थायी राजधानी र नाम तय हुन सकेको छैन ।

 

आश्वासन बाँड्दै सत्तापक्ष

प्रदेश सरकारका मन्त्रीहरुले यसअघि पटक–पटक साउन महिनाभित्रै प्रदेशको नाम र स्थायी राजधानी तोक्ने बताएका थिए । तर, भदौको तेस्रो हप्ता बितिसक्दासम्म यो विषयले प्रदेश सभा बैठकमै प्रवेश पाउन सकेको छैन ।

 

मुख्यमन्त्री शेरधन राई र अन्य मन्त्रीहरुको केन्द्रीय राजधानी काठमाडौं आउजाउ गर्ने क्रम बाक्लिएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रको एकताबाट नेकपा गठनपछि केन्द्र नेताहरु केन्द्र धाउने क्रम झनै बढेको छ । यता प्रदेश सरकारले प्रदेशको नाम र राजधानी टुंगो लगाउनेजस्तो मुख्य मुद्दालाई बेवास्ता गरेको भन्दै आलोचना हुने गरेको छ ।

 

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की प्रदेशको नाम र राजधानी टुंगो लगाउन गृहकार्य भइरहेको बताउँछन् ।

 

‘प्रदेशको नाम र स्थायी राजधानी तोक्ने कुरा अहिले जटिल विषयवस्तु हो,’ मन्त्री कार्कीले अनलाइनखबरसँग भने, ‘भदौमा टुंगो लगाउने भनेको सकिएन, अब आगामी असोज १५ भित्रै टुंग्याउने तयारीका साथ गृहकार्य भइरहेको छ ।’

 

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले सरकारको आलोचना गर्दै भने– ‘मुख्यमन्त्री शेरधन राई र नेकपाका सांसदहरु राजधानीको नाम र स्थायी राजधानी टुंग्याउने पक्षमा देखिँदैनन् । उनीहरु प्रदेश, जिल्ला हुँदै स्थानीय तहसम्म पुग्ने नेकपाको एकीकरणको बढी चिन्ता छ ।’

 

यसैवीच कुमार लिङ्देन नेतृत्वको संघीय लिम्बुवान पार्टीले जातीय पहिचानको आधारलाई मूल मुद्दा बनाएर प्रदेश १ को अस्थायी राजधानी बिराटनगरमा आन्दोलन धर्नालगायतका कार्यक्रम गर्दै आएको छ । उसले प्रदेश एकलाई लिम्बुवान नामाकरण गर्न माग गर्दै आएको छ ।

 

सत्तापक्ष नै विभाजित

प्रदेश १ को नाम र स्थायी राजधानी तोक्ने विषयमा सत्तापक्षकै सांसदहरु विभाजित छन् । खासगरी पूर्वमाओवादी नेताहरु जातीय पहिचानकै आधारमा प्रदेश १ को नाम राख्न चाहन्छन् । तर, पूर्वएमाले नेताहरु भने प्रदेशको नामकरण जातीय पहिचानबाट नभई भौगोलिक पहिचानको आधारमा गर्नुपर्ने पक्षमा छन् ।

 

प्रतिपक्ष कांग्रेसले भने प्रदेश १ को नाम सगरमाथा राख्न दबाव दिइरहेको छ । तर, नेकपाका पूर्वएमाले नेताहरु भने कोशी नामाकरणको पक्षमा छन् ।

 

पूर्वएमाले नेता एवम् मुख्यमन्त्री शेरधन राई भने सुनसरीको धरान, इटहरी र बिराटनगरलाई समेट्दै बृहत विराट कायम गरी स्थायी राजधानी तोक्नुपर्ने सोचमा छन् ।

 

तथापि उनकै मन्त्रिमण्डलमा रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की भने कुनै पनि हालतमा विराटनगरलाई नै स्थायी राजधानी कायम गराउनुपर्ने पक्षमा छन् । सत्तारुढ नेकपाका धनकुटे नेताहरु धनकुटालाई राजधानी बनाउनुपर्ने लबिङ गरिरहेका छन् ।

 

धेरै सत्ता पक्ष र प्रतिपक्षका सांसदहरु पनि स्थायी राजधानी बिराटनगरलाई नै काम गरिनुपर्ने दौडमा देखिएका छन् ।

तथापि स्थायी राजधानी बिराटनगर बनाउने र केही मन्त्रालयको सम्पर्क कार्यालय अन्य जिल्लामा राखेर भए पनि सहमति जुटाउने विकल्प प्रदेश सरकारलाई छ ।

 

विभिन्न नाम र क्षेत्र बहसमा ल्याइए पनि प्रदेश नम्बर १ मा नेकपाको स्पष्ट बहुमत छ र उसकै निर्णयबाट नाम तथा स्थायी राजधानी तोकिने पक्का छ । संविधानमा प्रदेशको नामाकरण सम्बन्धित प्रदेश सभाको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट गर्ने व्यवस्था छ । प्रदेश १ मा नेकपा एक्लैको दुईतिहाइ छ ।

 

प्रदेश १ मा ९३ जना सांसदहरुमध्ये नेकपाका ६७, कांग्रेसका २१, संघीय समाजवादीका ३ तथा राप्रपा र लिम्बुवान १–१ जना सांसद छन् ।

 

कुमार लिङ्देन नेतृत्वको संघीय लिम्बुवान पार्टीले जातीय पहिचानको आधारलाई मूल मुद्दा बनाएर प्रदेश १ को अस्थायी राजधानी बिराटनगरमा आन्दोलन, धर्नालगायतका कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रेम आले, किसान श्रेष्ठ नेकपा एस फुटाउने अन्तिम तयारीमा

    नेकपा एमाले विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीभित्र विवाद झन्

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका