तत्काल मन्त्रिमण्डलमा हेरफेर हुँदैन प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिमण्डल तत्काल हेरफेर हुने कुनै सम्भावना नरहेको बताउनुभएको छ ।

जिल्ला समन्वय समिति महासङ्घ नेपालले आज आयोजना गरेको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई अस्थिर बनाउन चाहनेले मन्त्रीहरु हेरफेर हुने हल्ला चलाएको उल्लेख गर्दै भन्नुभयो, “केही हुनेवाला छैन । राम्रो काम गरिरहेमा कुनै मन्त्री हट्ने छैनन् ।”

कार्यक्रममा सहभागी अर्थमन्त्री डा युवराज खतिवडा, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापासहित सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले आलोचना र हमलाबाट नडराउन पनि आग्रह गर्नुभयो ।

आफ्नो नेतृत्वमा पार्टी र सरकार बलियो बनेकाले विरोधीले आफ्नोविरुद्ध पनि हमला गरिरहेको भन्दै उहाँले भन्नुभयो, “सरकार दूरदर्शी र स्पष्ट सोचका साथ विकास र समृद्धिका लागि काम गरिरहेको छ । छिमेकीसँगको सम्बन्ध सुधार र सहकार्य बढाउँदै हामी अघि बढिरहेका छौँ । कतिपयलाई यो मन परिरहेको छैन ।”

प्रधानमन्त्री ओलीले थप्नुभयो, “छ महिनापछि धूलो र हिलोरहित काठमाडौँ हुन्छ । बाटो, ढल बन्छ । हामी इमान्दारिताका साथ काम गर्छाैं । पानी ल्याउन पाइप हाल्न खन्नैपर्यो । बनाउने क्रममा यस्तो हुन्छ । दुई वर्षभित्र काठमाडौँका बाटा पक्की हुन्छ । कालोपत्र सकिन्छ । यसमा कोही आत्तिएर केही हुँदैन, सरकार ढल्दैन ।”

चीनसँगको पछिल्लो पारवहन सहमति उल्लेखनीय भएको जनाउँदै उहाँले अब चाँडै कोशी र गण्डकीमा पानीजहाज चलाउन सर्भेक्षण शुरु हुने बताउनुभयो ।

 

उहाँले सङ्घीय गणतन्त्रको सफलता र असफलता स्थानीय तहको प्रभावकारितासँग जोडिएकाले गतिशील, सेवामुखी, पारदर्शी र स्वच्छ तथा जनताका साथमा रहेका जनप्रतिनिधिका रुपमा काम गर्न जिससका प्रतिनिधिलाई आग्रह गर्नुभयो ।

मुलुकी फौजदारी देवानी कार्यविधि संहिता एक वर्षअघि संसद्बाट पारित भई हाल कार्यान्वयनमा आएकाले कुनै संशोधन गर्नुपर्ने भएमा सरकार तयार रहेको बताउँदै उहाँले त्यसका नाममा सडकमा प्रदर्शन नगर्न आग्रह गर्नुभयो ।

 

महासङ्घका प्रतिनिधिले आफूहरुलाई स्रोत र साधन दिएर अनुगमन र समन्वयको प्रभावकारी भूमिका राख्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...