‘अधिकारजकुमार ज्ञानेन्द्र’को बाटो गजुरीमा छेकिँदा



 

जेठ १९ गते आफ्ना पिता राजा वीरेन्द्रलाई मारेर आफू राजा बन्ने योजना दीपेन्द्रले बनाएका थिए । तर, उनले यसबारेमा दिवानीबाहेक अन्य कसैसँग पनि सेयर गरेका थिएनन् । पिताको हत्या गर्नेबित्तिकै आफू स्वतः तत्क्षण राजा हुने, राजा हुनु भनेकै सेनाको परम् सेनाधिपति पनि बन्नु हो भन्ने बुझेका दीपेन्द्र आफ्ना पिताको हत्या गर्न सेनाको औपचारिक पोसाकमा सजिएका थिए ।

 

एकपछि अर्को गर्दै परिवारका सदस्यहरूको हत्या गरेर दीपेन्द्रले त्यस रात जुन अवतार देखाएका थिए त्यसले हिरण्यकश्यपु र बकासुरलाई पनि बिर्साएको महसुस प्रत्यक्षदर्शीहरूले गरेका थिए ।

 

यति हुँदाहुँदै पनि त्यस रात यदि दीपेन्द्र बाँच्न सफल भएका भए उनी स्वतः राजा बन्ने निश्चित थियो । दीपेन्द्र राजा भएको अवस्थामा उनले हत्याकाण्डका निम्ति शाहज्यादा पारस या अरू कसैलाई ‘जिम्मेवार’ ठहऱ्याउँदै आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाएका भए दुनियाँले पनि त्यसलाई स्वाभाविक र जायज ठान्ने निश्चित थियो ।

 

किनकि पारसको छवि यति धमिलिएको थियो कि दरबारभित्र जसले जे अपराध गरे पनि त्यो पारसले नै गरे–गराएको ठान्ने स्थिति बनिसकेको थियो ।

 

शायद दीपेन्द्र पनि यही चाहन्थे । पारससँग दीपेन्द्रको मित्रता गज्जबकै थियो, दीपेन्द्रका हरेक आदेशहरूको पालना पारसले गर्थे र दीपेन्द्रबाट भए–गरेका भारी गल्तीको बोझ आफ्नो काँधमा लिन पनि पारस हिचकिचाउँदैनथे । दीपेन्द्रले हत्यारोपमा ‘तिमी अहिले नजरबन्दमा बस’ भनेका भए पनि पारसले त्यसलाई स्वीकार गर्न सक्थे ।

 

कदाचित पारसले नमाने पनि उनलाई हत्या–आरोपमा बलजफ्ती मुद्दा चलाइएको भए शाही परिवारका प्रत्यक्षदर्शीबाहेक अरू सबैले दीपेन्द्रलाई नै समर्थन गर्ने स्थिति थियो । यस प्रकरणले पनि मानिसका निम्ति छवि कति महत्वपूर्ण पाटो हो भन्ने स्पष्ट गरेको बुझ्न सकिन्छ । तर, दीपेन्द्रले यसो गरेनन्, चाहेको केटीसँग विवाह गर्न पाउनुपर्ने विषयबाट सुरु भएको विवाद राजा वीरेन्द्र र उनको वंशनाश गरेर टुङ्गियो ।

०००

रत्नमन्दिर पोखरामा भर्खर डिनर लिएर अधिराजकुमार ज्ञानेन्द्र सुत्ने तयारी गर्दै थिए । अङ्गरक्षक हस्याङफस्याङ गर्दै उनको शयनकक्षमा आए र अधिराजकुमारलाई नारायणहिटी राजदरबारमा भएको घटनाबारे जानकारी गराए । केहीअघि डिनरमा बस्दा अफ गरिएको मोबाइल फोनको स्विच अझै अफ थियो ।

 

अधिराजकुमारले मोबाइल अन गरे । मोबाइल खुल्नासाथ शाही अङ्गरक्षकमध्येका कसैको फोन आएको थियो । उनले फोन रिसिभ गरे, आँखामा भय थियो, हात र ओठहरू कामिरहेका थिए । ‘के भएको हो यस्तो’ भन्ने आवाज मात्र निस्कियो ज्ञानेन्द्रका मुखबाट । उताबाट बोल्नेले यति मात्र भनेको बाहिरसम्म सुनियो, ‘सबै कुरा बर्बाद भइसक्यो, सरकार तुरुन्त काठमाडौं फिरिबक्सनुप¥यो । स्थलमार्गबाटै काठमाडौं आउने व्यवस्था मिलाइएको छ ।’

 

फोन–संवाद सकिएपछि ‘लौ बर्बाद भयो, तुरुन्त काठमाडौं जानुपर्ने भयो’ भन्दै उनी कपडा बदल्नतिर लागे र एकैछिनमा बाहिर निस्किए । बाहिर सेना र प्रहरीका गाडी अधिराजकुमारको प्रतीक्षामा बसिरहेका थिए ।

 

झमझम पानी परिरहेको थियो । अधिराजकुमारलाई लिएर मुग्लिन, मलेखु हुँदै गजुरीसम्मको यात्राका लागि सुरक्षाकर्मीको गाडी बढ्यो ।

 

कास्की, तनहुँ र चितवन जिल्ला प्रहरी प्रमुखहरूलाई प्रहरी प्रधान कार्यालयबाट आवश्यक निर्देशन गइसकेको थियो । पोखराबाट आएको टोलीले मुग्लिनसम्म पु¥याउने र मुग्लिनदेखि काठमाडौंसम्म अधिराजकुमारलाई सुरक्षासहित ल्याइपुऱ्याउने जिम्मा चितवन प्रहरीलाई दिइएको थियो । राति साढे एघार बजेभन्दा अगाडि नै चितवन प्रहरी टोली मुग्लिन पुलको छेउमा प्रतीरक्षारत हुन पुगिसकेको थियो ।

 

घनघोर वर्षा भइरहेको थियो । सुनसान सडकमा पानीको लहर बज्रिँदा उत्पन्न आवाजले कोलाहल मच्चाइरहेजस्तो लाग्थ्यो । रातको साढे एक बजेतिर केही गाडी हुइँकिएर पुलतर्फ आउँदै गरेको देखिएपछि चितवन प्रहरीको कमान सम्हालेर बसिरहेका नारायण बस्ताकोटी गाडीबाट बाहिर निस्किएर सडकमै उभिए, साथमा प्रहरीको सानो टुकडी पनि उनीसँगै उभियो । पोखरातर्फबाट आएका गाडीहरू रोकिए ।

 

नारायण बस्ताकोटीलाई अधिराजकुमार ज्ञानेन्द्र बसेको गाडीमा बसेर आउन भनिएको थियो र अदबसाथ अभिवादन गरेपछि उनले अधिराजकुमारसँग गाडीमा बस्ने अनुमति मागे । मलीन र खिन्न मुद्रामा देखिएका अधिराजकुमारले नारायणलाई गाडीमा बस्न इसारा गरे । त्यसपछि पोखराबाट आएको सुरक्षा टोली फर्कियो, चितवन प्रहरीको गाडीले स्कर्टिङ सुरु गर्दै मलेखुतर्फ बढ्यो ।

 

गाडीको इन्जिनबाट निस्केको आवाज र भीषण वर्षाले पैदा गरेको कोलाहलमय आवाज बाहिर थियो । गाडीभित्र निष्पट्ट सन्नाटा, कोही बोलिरहेका थिएनन् । बोल्नुपर्ने अधिराजकुमारले थियो, उनी बोल्ने मुडमा नभई त्रसित र चिन्तित देखिन्थे । गाडीले मलेखु पार गर्दा करिब रातको पौने तीन बजेको हुँदो हो, त्यसको दश मिनेट नबित्दै गजुरी पुगियो ।

 

गजुरी बजार सकिनै लाग्दा घुम्तीनजिक सेनाको ब्यारेक छ र ब्यारेकको एउटा द्वार पृथ्वी राजमार्गतर्फ फर्काइएको छ । गाडी ब्यारेकको द्वारनजिकै पुग्न लाग्दा सडकमा हतियारधारी सैनिक पोजिसनसहित बाटो छेक्ने उद्देश्यले उभिइरहेको अवस्थामा देखिए । नजिकै पुगेपछि ज्ञानेन्द्र सवार गाडी रोकियो ।

 

गाडीबाट नारायण बस्ताकोटी ओर्लिए र सैनिक भएतर्फ गए । बस्ताकोटीले आफ्नो परिचय दिँदै ‘गाडीमा श्री ५ अधिराजकुमार ज्ञानेन्द्र सरकार सवारी भएको र जसरी भए पनि बिहान उज्यालो हुनुभन्दा अगाडि नै मौसुफलाई काठमाडौं पुऱ्याउनैपर्ने आदेश छ, त्यसैले तपाईंहरू बाटो खाली गरिदिनुहोस्’ भनी जोडदार आग्रह गरे । तर, उनको कुरा ड्युटीमा खटिएका सेनाका जवानले सुनेनन् ।

 

बरु ‘मिल्दैन, कसैलाई पनि यहाँबाट अघि बढ्न नदिनू भन्ने आदेश छ’ भन्दै सैनिक जवान बाटोबीचमै उभिइरहे ।

नारायण बस्ताकोटी परे सकसमा ! एकातिर उज्यालो नहुँदै काठमाडौं ल्याइसक्नु भन्ने आदेश अर्कोतर्फ बर्दिवाला सेनाको अवरोध । के गरौँ–गरौँ भयो उनलाई । अनि ‘अधिराजकुमार ज्ञानेन्द्रको आदेश लिएर यी सैनिकलाई गोली हानी अघि बढ्नु नै उपयुक्त हुने’ निष्कर्षमा नारायण पुगे ।

 

अधिराजकुमारलाई सेनाले बाटो छेकेको, अघि बढ्न नदिने आदेश भएको बताएको र आफूलाई जसरी भए पनि काठमाडौं ल्याइपुऱ्याउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको जानकारी गराउँदै उनले बाटो छेक्ने सैनिकलाई गोली हान्न अनुमति मागे । तर, अधिराजकुमार ज्ञानेन्द्रबाट कुनै प्रतिक्रिया प्रकट भएन ।

 

उनको मुखाकृतिमा झनै गम्भीर भाव देखियो । त्यसरी अधिराजकुमार मौन रहेपछि नारायण फेरि सैनिक जवान भएतिर गए र पुनः अनुनयविनय गर्न थाले । यसपटक पनि तिनले नारायणलाई सुनेको नसुन्यै गरे । नारायण पुनः अधिराजकुमारसमक्ष गए र पहिलेझैँ सेनालाई गोली हानेर अघि बढ्ने अनुमति मागे । यसपटक पनि अधिराजकुमारको मौनता तोडिएन ।

 

त्यसैबीच ब्यारेकभित्रबाट सेनाको एउटा सानो टोली मूलद्वारमा देखापऱ्यो । तिनले गाडीलाई ब्यारेकभित्र लैजान इसारा गरे । सडकमा उभिएका जवानले पनि पोजिसनमा उभिएर हतियार हल्लाउँदै गाडी ब्यारेकभित्र हुल्न सङ्केत गर्न थाले । त्यतिबेला नारायणले अधिराजकुमारको मुहारतर्फ दृष्टि पुऱ्याए ।

 

अधिराजकुमारको मुहारमा आतङ्क र त्रासको कालो बादल यसरी दौडिएको उनले पाए कि ‘लौ यिनले अब आफू पनि मारिने या कारागारमा थुनिने भइयो भन्ने ठानेजस्तो’ महसुस नारायणले गरे । सैन्य ‘कू’ भएको महसुस अधिराजकुमारले गरेको हुनसक्ने अनुमान नारायण बस्ताकोटीको थियो ।

 

गाडी ब्यारेकभित्र लैजाने बाध्यता भयो । गाडीमा सवार सबै डराउँदै ब्यारेक प्रवेश गरे । ब्यारेकमा प्रमुखले राम्रैसँग स्वागत गरेपछि मात्र अधिराजकुमारलगायत सबैको अनुहारमा केही राहत महसुस भएको तरङ्ग दौडिएको देखियो । केही घन्टा सबैले त्यही ब्यारेकभित्र बिताए । सुत्नका लागि बिछ्यौनाको बन्दोबस्त गरिएको थियो, तर निदाउने अवस्था थिएन । केहीबेरमै रात ढल्यो र पूर्वक्षितिज रातो देखियो ।

 

उज्यालो भएपछि काठमाडौंबाट पठाइएको हेलिकोप्टर ब्यारेकको हेलिप्याडमा अवतरण भयो । अधिराजकुमारलाई काठमाडौंबाट बिहान हेलिकोप्टर लिन आउँदै छ भन्ने कुराको जानकारी पहिले नै त्यहाँका मेजरले गराएका थिए । मलीन एवम् बेचैन मुद्रामा अधिराजकुमार ज्ञानेन्द्र हेलिकोप्टर चढे र जेठ २० गते बिहान काठमाडौंमा अवतरण गरे ।

 

उनी विमानस्थलबाट राजपरिवारका सदस्यहरूको उपचार भइरहेको स्थल छाउनीस्थित सैनिक अस्पतालतर्फ लागे, जहाँको वातावरण महाप्रलयपछिको पृथ्वीसँग तुलना गर्न योग्य रहेको महसुस सायद उनले गरे ।

नारायणहिटी राजदरबार हत्याकाण्डबारे पत्रकार देवप्रकाश त्रिपाठीको अनुसन्धानमा आधारित पुस्तक ‘महानिशा’को धारावाहिक अंश–१५

प्रतिक्रिया दिनुहोस
हामी अहिले कसैसँग ऋण लिने अवस्थामा छैनौं : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमण सफल रहने बताएका छन्

यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्म अहिलेको समीकरण

एमालेले भ्रष्टाचारीको संरक्षण गर्दैन : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुशासनको मामिलामा एमाले अरु राजनीतिक पार्टीभन्दा

काठमाण्डौमा एमालेको शक्ति प्रदर्शन, एक लाख जनता उतार्ने तयारी

    नेकपा (एमाले) ले आज सडकमा शक्ति प्रदर्शन (जागरणसभा) गर्दैछ । दरबारमार्गमा