सिंहदरबार घेराउ गर्ने प्रदेशमन्त्री यादवले दिए यस्तो चेतावनी



 

प्रदेश सरकारले दिएको विदा अवज्ञा गरेको भन्दै आन्तरिम मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव आफैं राष्ट्र बैंक, जनकपुरको कार्यालयमा धर्ना बसे । धेरैले उनलाई ‘स्टन्ट’ गरेको टिप्पणी गरे ।

 

तर, प्रदेशमन्त्री यादव भने सरकारी कार्यालयमा धर्ना बस्नु आफ्नो रहर नभएर बाध्यता भएको बताउँछन् । केन्द्र सरकार प्रदेशप्रति अनुदार भएको भन्दै उनले प्रदेशका मुख्यमन्त्रीहरुले सिंहदरबार घेराउ गर्ने अवस्था आउन सक्ने चेतावनी दिए ।

 

 

पहिले ताला लगाउनुभयो । अब धर्नामा बस्नुभयो । मन्त्री आफैं धर्ना दिनुपर्ने अवस्था आइसकेको हो ?

प्रदेश सरकारले आफ्नो संवैधानिक र कानुनी अधिकार प्रयोग गरेर सार्वजनिक विदा दिएको हो । विदा कार्यान्वयन गर्न हामीले संघीय सरकार र उसका मातहतमा रहेका कार्यालयहरुलाई पत्राचार गर्‍यौं । तर, नटेरे पनि बाध्य भएर धर्ना दिन पुगेको हुँ ।

 

संघीय सरकारलाई पनि भन्नुभयो ?

हामीले सीडीओ कार्यालय, राष्ट्र बैंक सबैमा परिपत्र परेको हुँ । मैले आफ्नै समन्वयमा बैठक बोलाएर पनि भनेँ । तर, उनीहरुको गुनासो छ, हामी पनि प्रदेश सरकारसँग समन्वय गरेर काम गर्न खोजेका हौं । संघीय सरकारले नै विदा नदेउ भनेर परिपत्र गरेपछि कसरी विदा दिनु ? त्यसपछि मैले संघीय सरकारलाई परिपत्र गरेँ । मुख्यमन्त्रीले प्रधानमन्त्रीसँग पनि कुरा गर्नुभयो ।

 

तर, सकारात्मक जवाफ दिएपछि कार्यान्वयनमा नकारात्मक रुपमा जानुभयो । नागरिकताको सन्दर्भमा त संविधान कानुनमा भएको व्यवस्था समेत उल्लंघन गर्नुभयो । सर्वोच्च अदालतको आदेशलाई समेत उल्लंघन गरेको छ । यस्तो अवस्थामा हामी प्रदेशका मन्त्रीहरुसामू अर्को के विकल्प छ र ?

 

नागरिकताको सन्दर्भमा त सरकारले नागरिकता ऐन संशोधनका लागि विधेयक संसदमा दर्ता गरिसकेको छ त ?

थुप्रै संघर्ष भएर संशोधन आएको हो । हामीले परिपत्र गर्‍यौं, त्यसलाई सुनिएन । हामीले प्रदेशसभामा विशेष प्रस्ताव लैजाने तयारी गरेपछि बल्ल सरकारले संघीय सरकारले विधेयक दर्ता गराएको छ । यो त्यतिकै दर्ता भएको होइन, हामीले थुप्रै संघर्ष गर्नुपर्‍यो ।

 

आज हामी आफ्नो संस्कृति, सम्भ्यता बचाउन लागेका छौं, संघीय सरकारमा बाधक बनेको छ । जबकि कानुनले यो अधिकार हामीलाई दिएको छ । आफैंले कानुन बनाउने, अनि आफैंले कानुन मिच्नु भन्दा अर्को दुर्भाग्य के हुन्छ ?

प्रदेश २ मात्र होइन, २०र२१ गते सातै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन हुँदैछ । हुनसक्छ, सातै प्रदेशका मुख्यमन्त्रीहरु घेराउ कार्यक्रम लिएर प्रधानमन्त्री कहाँ नजाओस् ।

 

हामी भर्खर संघीयता कार्यान्वयनको चरणमा छौं । संविधानले दिएको अधिकार भए पनि झगडा गरेर नभई समन्वयनमा कार्यान्वयन गर्नु उपयुक्त होला । प्रदेश २ को सरकार भने सुरुदेखि नै केन्द्रसँग द्वन्द्व गर्ने मुडमा देखियो नि ?

हामी संघीय सरकारसँग सहकार्य र समन्वय गर्न तयार छौं, इच्छुक छौं । हामी चाहन्छौं, प्रदेशलाई समृद्ध बनाऔं, देशलाई समृद्ध बनाऔं । तर, संघीय सरकारले कुनै सहकार्य गरेन । त्यसैले आफ्नो हक अधिकार, पहिचान जोगाउन आन्दोलन गर्नुपरेको हो । आन्दोलन हाम्रो रहर हुँदै होइन ।

 

अर्को, हामी चाहन्छौं कानुनको शासन होस् । सबै पक्षले कानुनको सम्मान गरोस् । त्यसकारण पनि हामीले संघर्ष गर्नुपरेको छ । प्रदेश २ मात्र होइन, २०/२१ गते सातै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन हुँदैछ । हुनसक्छ, सातै प्रदेशका मुख्यमन्त्रीहरु घेराउ कार्यक्रम लिएर प्रधानमन्त्री कहाँ नजाओस् ।

 

स्थिति त्यति जटिल भइसक्यो र ?

भइसकेको छ । प्रदेश सरकारलाई अधिकारविहीन पारेर आफ्नो भ्राृत संगठन वा शाखा कार्यालय जस्तो ठान्यो भने प्रदेशका मन्त्री, मुख्यमन्त्री र जनता कसैको मुख हेरेर बस्दैनन् । यो असन्तुष्टि प्रदेश २ को मात्र होइन, सातै प्रदेशको हो । फरक यति मात्र छ, हामी अगाडि छौं, पर्दा पछाडि सबै छन् ।

 

केन्द्र सरकार संघीयता कार्यान्वयनमा गम्भीर छैन, प्रदेशलाई बलियो बनाउन चाहँदैन भन्ने निष्कर्षमा तपाईहरु पुगिसक्नुभएको हो ?

एकदम । १०० प्रतिशत ।

 

उसो भए अब प्रदेशको निर्णय नमान्ने केन्द्र सरकार मातहतका कार्यालयमा ताला लगाउँदै हिँड्ने हो ?

हामीले अझै समन्वयको बाटो छाडेका छैनौं । सहकार्य गर्ने अपेक्षा राखेका छौं । तर, त्यसलाई सुनिए भने सडक संघर्षमा पनि जान्छौं, कानुनी उपचार पनि खोज्छौं । सातै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन पनि संघर्षको एउटा स्वरुप हो ।

 

तपाईका कुरा सुन्दा त केन्द्र र प्रदेश सरकारबीच दुरी निकै बढेपछि धर्नामा बस्नुभएको रहेछ । तर, धेरैले यसलाई मन्त्रीको स्टन्टका रुपमा बुझेको पाइन्छ नि ?

सामाजिक सञ्जाल तथा मिडियाहरुमा विभिन्न धारणा आउँछ, जुन स्वाभाविक पनि हो ।

तर, एउटा कुरा भन्न चाहन्छु, प्रदेशको शान्ति सुरक्षा र सुशासनको जिम्मेवारी कसको हो ? शान्ति सुरक्षा र सुशासन भएन भने जनताले गम्भीर उठाउन थालेका छन्, सदनमा प्रश्न उठ्न थालेको छ ।

 

म आन्तरिक मामिला तथा कानुनमन्त्री जवाफ दिन सक्ने स्थितिमा छैन । मैले कति दिन संघीय सरकारको मुख हेरेर बस्ने ? संविधान र ऐन कानुनले दिएको अधिकार कार्यान्वयन गर्न आन्तरिक मामिला मन्त्री अगाडि बढ्नु गल्ती हो ?

 

यदि संघीय सरकारले कानुन कार्यान्वयन गर्न उदासीन हुन्छ भने संघर्ष त गर्नैपर्‍यो, बोल्नैपर्‍यो, लेख्नैपर्‍यो, बन्द गर्नैपर्‍यो । यसको विकल्प के हुन सक्छ ?रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल