मानसरोवरमा राहुल गान्धीको कैलाश यात्रा, भारतीय राजनीतिमा खैलाबैला
सत्ता राजनीतिको खेलमा अछुतो रहने कुनै क्षेत्र हुँदैन । त्यसले धर्म वा आस्थाको कुरालाई त छोड्ने कुरा नै भएन, कम्तिमा भारतीय राजनीतिमा ।
भारतीय राजनीति ‘हिन्दु’ र ‘इतर हिन्दु’ मा विभाजित छ लामो समयदेखि । हिन्दु बहुलवादको पक्षमा रहेको भारतीय जनता पार्टी, भाजपा सत्तामा आएदेखि त्यसले अझ प्राथमिकता पाएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदी आफै धार्मिक गतिविधिमा संलग्न हुने गरेको अवस्थामा भाजपाले कांग्रेस र विशेष गरी कांग्रेस अध्यक्ष राहुल गान्धीलाई हिन्दु विरोधीको रुपमा प्रस्तुत गर्दै आयो ।
पछिल्ला महिनामा विभिन्न राज्यमा हुँदै आएका चुनावमा राहुल गान्धी मन्दिरमा गए, पूजा गरे । भाजपाले यसलाई पनि खोटको रुपमा देख्यो र ढोंगको रुपमा चित्रत गर्दै आएको छ ।
हिन्दु विरोधीको रुपमा चित्रित गरिएका कांग्रेस अध्यक्ष राहुल गान्धी ‘शिव भक्त’ को रुपमा देखिए । यसको पछिल्लो कडी बनेको छ, राहुलको मानसरोवर यात्रा ।
मानसरोवर यात्राका लागि राहुल शुक्रबार काठमाडौँ आइपुगेका छन् । उनी शनिबार मानसरोवर धार्मिक यात्राका लागि त्यसतर्फ प्रस्थान गर्दैछन् । राहुल गान्धीको यो धार्मिक यात्रालाई लिएर भाजापा र कांग्रेसबिच वाकयुद्ध चलेको छ ।
भाजपाले राहुलको धार्मिक भनिएको यात्राको विस्तृत विवरणमा प्रश्न गरेको छ । उ राहुलको यो यात्रामा राजनीतिक गन्ध रहेको मान्छ । चिनियाँ पक्षसँग राजनीतिक साँठगाँठको प्रयासका रुपमा पनि राहुलको यो यात्रालाई भाजपाले चित्रित गर्न थालेको छ । तर कांग्रेसले भने राहुलको मानसरोवर धार्मिक यात्रामा खोट देख्नेहरु ‘पापी रहेको र यसबाट अभिसाप मिल्ने’ बताएको छ ।
कांग्रेस पार्टीका सञ्चार प्रमुख रणदीप सूर्जेवालाले राहुलको यात्राका बारेमा शुक्रबार भनेका छन्, ‘शिव भक्त राहुल गान्धी कैलाश मानसरोवर यात्राका लागि त्यस तर्फ लागेका छन् । उनले त्यहाँ कैलाश पर्वतको परिक्रमा गर्ने छन् । यस्तै भगवान शिवको निवास तथा मानसरोवर तालको पनि गान्धीले परिक्रमा गर्ने छन् । यात्रा १२ देखि १५ दिनमा सकिनेछ ।’
राहुलको मानसरोवर यात्राको रुट भने खुलाइएको छैन । राहुलले मानसरोवर यात्रामा जाने आफ्नो इच्छा बारे सार्वजनिक रुपमा गएको अप्रिल २९ मा बताएका थिए । उनले दिल्लीमा भएको एक र्यालीका क्रममा यस्तो खुलाएका थिए । त्यसको केही दिनअघि मात्रै उनी चढेको विमानको आकश्मिक अवतरण गर्नु परेको थियो ।
उनले त्यो बेला भनेका थिए, ‘केही दिनअघि कर्नाटक जाँदै गर्दा म चढेको विमान एकैचोटी ८००० फिट तल आयो, लाग्यो अब सबै सकियो । त्यही बेला नै मलाई कैलाश मानसरोवर जाने कुरा दिमागमा आयो ।’
तर भाजपाले भने राहुल गान्धीलाई चीनको मानिस भएको गम्भीर आरोप लगाएको छ । मानसरोवर यात्रामा निस्केका राहुल गान्धीले चिनियाँ राजदूतबाट सेरेमोनियल सि–अफ चाहेको भन्दै यसले उनको चीनसँगको सम्बन्धलाई देखाउने भाजपाका प्रवक्ता समित पात्राले आरोप लगाएका छन् ।
भाजपाले ‘एडिक्सन, अबसेसन अर समथिङ्ग एल्स’ शिर्षकको भिडियो पनि बनाएको छ । भिडियोमा राहुलले चीनले गरेका प्रगतिको प्रशंसा गरेका क्लिपहरु समेटिएको छ ।
पात्राले गान्धीले यात्राको क्रममा राजनीतिक भेटघाट गर्ने आशंका पनि गरेका छन् ।