मुलुकलाई समृद्ध पार्न कृषिबाटै संभव छ : मन्त्री दावा लामा



हाम्रो इकोनोमि

दावा लामा प्रदेश ३ अन्तर्गतको चितवन क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभामा प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । उनले १६ फागुन २०७४ मा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीका रूपमा शपथ लिँदै जिम्मेवारी सम्हालेका हुन् । यसअघि उनी सुकुम्बासी समस्या समाधान आयोगको चितवन अध्यक्ष पनि बनेका थिए । राप्ती नगरपालिका ५ चितवन निवासी लामा २०३५ सालदेखि राजनीतिमा निरन्तर सक्रिय छन् । २०४३ मा लामा जनपक्षीय मञ्च चितवन जिल्ला कमिटीका सदस्य, २०४४ मा पार्टी इलाका कमिटी सचिव, २०४७ देखि २०६० सम्म तत्कालीन एमाले जिल्ला कमिटी तथा सचिवालय सदस्य रहेका थिए । समाजसेवाका विभिन्न क्षेत्रमा समेत योगदान पु¥याएका लामा राजनीतिमा शालीन व्यक्तिका रूपमा परिचित छन् । कृषि क्षेत्रको समस्या समाधान र सम्भावनाका साथै राजनीतिक विषयवस्तुमा केन्द्रित रहेर प्रदेशमन्त्री लामासँग  गरेको कुराकानीको संपादित अंश :

 

० प्रदेश ३ को भूमिसुधार, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको ६ महिना बित्यो, कस्तो अनुभव गर्दै हुनुुहुन्छ ?

म हिजो पनि जनताकै लागि निरन्तर काम गर्दै आएको व्यक्ति हुँ । मैले सिंग्गै जीवन समाज रूपान्तरणका लागि बिताएको छु । राजनीतिमा सक्रिय भएर देशको सेवा गर्ने उद्देश्यले नै यो क्षेत्रमा होमिएको हुँ । अहिले प्रदेशको मन्त्रीका रूपमा कार्यरत रहँदा जिम्मेवारी थपिएको छ । मैले मेरो भूमिकालाई थप उच्चस्तरको व्यवस्थापनसहित क्रियाशील हुनुपर्छ । फराकिलो जिम्मेवारी वहन गर्ने अवसर पाएको अनुभूति गरेको छु ।

० तपाईंले जुन विषय र विभागको जिम्मेवारी पाउनुभएको छ, त्यस हिसाबले प्रदेश ३ मा सम्भावनाका क्षेत्रहरू के कस्तो देख्नुभएको छ ?

प्रदेश ३ केन्द्रीय राजधानीसहितको प्रदेश हो । समृद्धि र विकासको प्रशस्त सम्भावना यो प्रदेशले बोकेको छ । गौरीशंकर हिमाल र गोसाइ“कुण्डजस्तो धार्मिक तीर्थस्थल यहीँ छ । रेडपाण्डाजस्तो जनावर पनि पाइन्छ । यार्सागुम्बा, चिराइतो जस्ता बहुमूल्य जडीबुटी पाइने हिमाली क्षेत्र पनि छ । प्रदेशको मध्यभागमा धेरै फलफूल खेती हुन्छ । हजारौं सामुदायिक वनहरू प्रदेश ३ मा छन् । हिमाल, पहाड र तराई क्षेत्रसमेत समेटिएको यो प्राकृतिक स्रोत साधनका हिसाबले अति सम्पन्न क्षेत्र हो ।

० यति सम्पन्न क्षेत्रको स्रोतसाधनको व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?

मुलुकमा राजनीतिक आन्दोलनको चरण समाप्त भइसकेको छ । अब हरेक नागरिक उत्पादनमूलक काममा लाग्नुपर्छ भन्ने मान्यता कृषि मन्त्रालयले राखेको छ । हामीले यही विषयलाई नीति तथा कार्यक्रममा पनि समेटेका छौं । कोही नागरिक बेरोजगार भएर हात खाली बस्न नपरोस् भन्नेमा हामी गम्भीर छौं । मुलुकलाई समृद्ध बनाउने र सबैलाई सुखी बनाउने काम कृषि अभियानबाटै सम्भव छ । यी सम्भावनाहरूलाई अगाडि बढाउन प्रदेश सरकारले जोड दिइरहेको छ । यसका लागि बजेटको पनि व्यवस्था गरिएको छ ।
यहाँका वन जंगललाई संरक्षण गर्ने, त्यसभित्रका बोटबिरुवा र फलफूलको विस्तृत अध्ययन गर्ने, माटो परीक्षण गरेर उपयुक्त स्थानमा बहुमूल्य जडीबुटी र फलफूल खेतीका लागि प्रोत्साहन गर्ने हाम्रो नीति छ । काभ्रेको तिमाल क्षेत्रमा बोधिचित्त मालाको खेती हुन्छ । रसुवामा चिराइतो यार्सागुम्बा जस्ता चीजहरू उपलब्ध छन् । सिन्धुपाल्चोक, दोलखा, रामेछापलगायतका जिल्लामा चौंरी गाईपालन व्यवसायको ठूलो सम्भावना छ । त्यसलाई क्रमशः प्रवद्र्धन गरिनेछ ।
चिउरी र मौरीपालन व्यवसायलाई अभियानकै रूपमा अघि बढाउने हाम्रो लक्ष्य छ । चिउरीमा मौरी आउँछ, मौरीले मह उत्पादन गर्छ । यस्ता चीजलाई व्यवस्थित गर्ने काम हुन सकिरहेको छैन । विभिन्न स्थानमा मौरीको जोन स्थापना गर्ने कार्यक्रम नै छ । रसुवामा ट्राउट र असला माछा व्यवसायको प्रचुर सम्भावना छ । यसलाई पनि थप प्रोत्साहित गरिनेछ । रसुवा पर्यटकीय क्षेत्र हो । रसुवाको गोसाइकुण्ड पुग्नका लागि प्रदेश सरकारले केबुलकारको सर्वे गर्ने निर्णय गरिसकेको छ । केबुलकारको निर्माणले यस क्षेत्रमा कृषि उत्पादन र बजार विस्तारमा समेत अवश्य टेवा पुग्ने हाम्रो विश्वास हो ।
चीनसँग जोडिएको रसुवा नाकालाई व्यवस्थित गर्न सक्ने हो भने नेपालमा उत्पादित कृषि उपजलाई पनि चीनमा निर्यात गर्न सकिनेछ । यसमा पनि पहल हुनेछ । किसानले रोपेका उत्पादनको प्रत्यक्ष लाभ उनीहरूले लिन पाउने गरी कार्यक्रम सञ्चालन गर्ने नीति छ ।
चक्लाबन्दी र सामूहिक खेतीलाई प्रोत्साहित गरी हरेक ठाउँमा कृषिलाई आधुनिकीकरण र व्यावसायिक बनाउने कामलाई तीव्र बनाइनेछ । कृषिलाई यान्त्रिकीकरण गर्न राज्यले पूर्ण सहयोग उपलब्ध गराउनेछ । अब कृषिमा यान्त्रिकीकरण हाम्रो मुख्य लक्ष्य हो । हजारौं मान्छेले गर्ने काम मेसिनले एक दुई घण्टामै गर्दा समय र लगानीको बचत हुन्छ । यसबाट स्वाभाविक रूपमा फाइदा बढी हुन्छ । कृषि क्षेत्रमा अनुभूति हुने गरी काम हुनेछ ।

० यहाँले भन्नुभए जसरी परम्परागत खेतीप्रणालीलाई सबै ठाउँमा विस्थापित गर्न आधुनिकीकरण भिœयाउन कति सम्भव छ ?

पक्कै पनि त्यति सहज त नहोला । चुनौती धेरै छन् । आमकृषकमा समयअनुसारको चेतना अभिवृद्धि गर्नुपर्ने दायित्व पनि छ । कृषक वर्गलाई बुझाउन नसकेसम्म कृषिमा धेरै कुरा सम्भव छैन । तर असम्भव पनि छैन । किनभने परम्परागत खेतीप्रणालीबाट निराश हुनेको जमात बढ्दो छ । पुरानो परम्परामा लागिरहँदा श्रम र लगानीअनुसारको लाभ छैन । अर्कोतिर हरेक चीजको मूल्य बढ्दा खेतीमा पनि लगानी नदेखिने गरी बढ्दो छ । यसबाट हात लाग्ने भनेको निराशा नै हो । विदेश पलायन हुने स्थितिको सिर्जना यत्तिकै भएको होइन । यो अवस्थाको अब अन्त्य गर्नुको कुनै उपाय छैन । यसका लागि कृषिप्रणालीमा व्यापक सुधार गर्नु आवश्यक छ ।
यसका लागि हामीले प्रदेश ३ मा केही योजनाहरू बनाउँदै छौं । विदेश गएर फर्किएका र विदेश जान तयार युवालाई माछापालन, पर्यटकीय क्षेत्र निर्माण, गाईपालन, भैंसीपालन, बाख्रापालन, सामूहिक खेतीप्रणालीजस्ता विभिन्न विषयमा तालिमको व्यवस्था गरिनेछ । तालिमपछि उनीहरूलाई आफूलाई रुचिको क्षेत्रमा लागेर व्यवसाय अनुदान, सहुलियतसहित सघाउने योजना छ ।

० वर्तमानमा सरकारले जेजस्ता कार्यक्रम अघि सारे पनि युवाहरूमा कृषिप्रतिको खासै आकर्षण देखिएको छैन नि ?

पक्कै पनि हो । हिजो परिस्थिति अर्कै थियो । राजनीतिक संक्रमण थियो । लामो समयसम्म स्थायी सरकार थिएन । यसले गर्दा घोषित कार्यक्रमले निरन्तरता पाएन । व्यवस्था तलमाथि भइरहँदा युवाहरूमा लगानी सुरक्षित हुने विश्वास भएन । आफ्नो व्यवसाय सफल हुन्छ भन्नेमा विश्वास नहुनु स्वाभाविक पनि थियो । अब स्थिति बिल्कुल बदलिएको छ । राजनीतिक संक्रमण अन्त्य भएको छ भने स्थायी सरकार गठन भएको छ । यसको सकारात्मक प्रभाव कृषिमा पनि पर्नेछ । हामी कृषिमा केही गर्न चाहनेलाई बाटो देखाउनेछौं । यसैले हिजोको दृष्टिकोणमा अवश्य पनि परिवर्तन आउनेछ । कृषिमा छाएको निराशाको अन्त्य हुनेछ ।

० कृषिमा भएको स्रोतलाई परिचालन गर्ने र युवालाई आकर्षित गर्ने ठोस कार्यक्रम केके छन् ?

धेरै कार्यक्रमहरू छन् । अघि नै भनियो, हामी सामूहिक खेतीका लागि प्रोत्साहित गर्नेछौं र आवश्यक स्रोतसाधनको व्यवस्था गर्नेछौं । परम्परागत खेतीमा भर परी हलो जोतेर अब आर्थिक रूपान्तरण सम्भव छैन । हरेक वर्ष फागुन चैतमा मकै छर्ने र असार साउनमा धान रोप्ने प्रवृत्तिमा परिवर्तन आवश्यक छ । उही माटो र उही बालीनाली हुँदा पनि उब्जनी राम्रो हँुदैन । जमिनले पनि परिवर्तन खोजिरहेको हुन्छ । नयाँ खेती प्रणाली र नयाँ नयाँ बीउ हुँदा मात्रै उत्पादन बढी हुन्छ ।
प्रदेश सरकारले खेतीयोग्य जमिनको माटो परीक्षण गर्ने भेन खरिद गर्ने भएको छ । ठाउँठाउँमा तरकारी र फलफूलमा हुन सक्ने विषादी चेक संयन्त्र राखिने भएको छ । यसैगरी, पशुपालनमा लागेका किसानको राहतका लागि भेटेरीनरी एम्बुलेन्स पनि खरिद गर्दै छौं । ल्याबसहितको यस्तो भेनमा चार पाँच जना डाक्टरसहितको टिम निरन्तर खट्नेछ । भेनमा सबै औषधि उपलब्ध हुनेछ । कुनै पनि पशु बिरामी भएकै स्थलमा पुगेर उपचारको व्यवस्था गरिनेछ । यसबाट किसानले घरघरमै सहज सेवासुविधा पाउनेछन् ।
यसैगरी, तरकारी व्यवसायमा लागेका किसानलाई राहतस्वरूप एक जिल्लामा एउटा शीतभण्डार (कोल्डस्टोर) स्थापना गर्ने योजना छ । यस्तो योजनाअन्तर्गत प्रदेश ३ को १३ वटा जिल्लामै शीतभण्डारको व्यवस्था हुनेछ । प्रदेश ३ लाई दूधमा आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य छ । यसको प्रभावकारी व्यवस्थापनका लागि प्रदेशस्तरको दुग्ध विकास बोर्डको स्थापना हुँदै छ ।

० यसरी नयाँ योजनाको चर्चा गरिरहँदा किसानले अहिले जे जति उत्पादन गरिरहेका छन्, त्यसका लागि पनि उचित बजार व्यवस्थापन हुन नसकेको गुनासो छ नि ?

हाम्रो देशको समस्या के छ भने जब किसानले राम्रो उत्पादन गर्छ, त्यतिखेर भाउ घट्छ । यसको मुख्य कारण भारतसँगको खुला नाका हो । यहाँ जे उत्पादन हुन्छ, त्यही चीज भारतबाट मूल्य घटाएर सप्लाई गरिन्छ । यो खुला सिमानालाई व्यवस्थित गर्ने जिम्मेवारी केन्द्रीय सरकारको हो । भाउ नपाएर उत्पादन खेर जाने यस्तो विशेष परिस्थितिमा चिस्यान केन्द्रबाट लाभ लिन सकिनेछ । किनभने शीतभण्डारमा लागेर कृषि उत्पादनलाई सुरक्षित पार्न सकिनेछ । भाउ राम्रो भएको बेला उत्पादनलाई बजारमा पु¥याउन सकियोस् भनेर यस्तो अवधारणा अघि सारेका हौं । अर्को कुरा किसानले बजार नभेट्ने र बजारले किसानको उत्पादन नपाउने स्थिति पनि छ । अब नयाँ परिस्थितिमा विशेष ढंगले बजार सञ्चालन र जिम्मेवारी तोकिनुपर्छ । यसअनुसार अनुगमन र व्यवस्थापनको काम प्रदेश सरकारले गर्नेछ ।

० बिचौलियाको बिगबिगी हटाउने र किसानलाई आफ्नो लगानीअनुसारको लाभ पाउने खालको वातावरण निर्माणका लागि के कस्तो पहल भइरहेको छ ?

पक्कै पनि मालपोत कार्यालय, तरकारी बजार जताततै बिचौलियाको बोलवाला देखिन्छ । उनीहरूको मनपरीले किसानहरू पनि मारमा परेका छन् । उनीहरूले श्रम र लगानी गर्ने किसानले भन्दा पनि बढी फाइदा लुटिरहेका छन् । यस्ता बिलौलियालाई निरुत्साहित गर्नैपर्छ । त्यसका लागि प्रयास पनि भइरहेको छ । अब यस्तो अवस्था लामो समयसम्म रहँदैन । स्वयं बिचौलियालाई पनि कुरा बुझाउनुपर्छ । ‘यो बाटो सही होइन रहेछ, उत्पादनमूलक काममा आफैं लागेर आफ्नो कमाइ खाँदा मात्रै मुलुकलाई समृद्धिको दिशामा लैजान सकिन्छ । यो मुलुक हाम्रो पनि हो । सुशासन र समृद्धिका लागि योगदान पु¥याउनु मेरो पनि कर्तव्य हो भन्ने बुझाउनुपर्छ । मुलुकमा लामो समयसम्म कायम रहेको संक्रमणकै कारणले यस खालका बिचौलियाहरूको जन्म भएको हो ।

० उत्पादनसँग नजोडिएका व्यक्तिहरू कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता बन्न योग्य हुन सक्दैनन् भनिन्छ । हाम्रो सन्दर्भमा स्थिति ठीक विपरीत छ नि ?

यो निकै गहन सवाल हो । हिजो शासन व्यवस्थाकै विरुद्ध लाग्नुपर्ने भएकाले परिस्थिति भिन्नै थियो । अब आर्थिक समृद्धिको दिशामा एकजुट भएर लाग्नुपर्ने भएकाले यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ । कसरी प्रत्येक कार्यकर्तालाई उत्पादनसँग जोड्ने भन्ने विषयमा हामी गम्भीर छलफलमा छौं । यसो गर्न नसकिएसम्म मुलुकलाई समाजवादउन्मुख दिशामा लैजान सकिँदैन ।

० भूमि व्यवस्थापनका लागि के कस्तो योजना ल्याउँदै हुनुहुन्छ ?

यसमा विविध खालका समस्या छन् । वर्षौंवर्षदेखि भोगचलन गरेर खाइरहेको छ । जग्गा नापी नभएको पनि ४५ वर्ष भइसक्यो । अहिले जनसंख्या बढेको छ । हिजोको नापीबाट छुटिसकेको छ । केही नयाँ मान्छेको बसाइ बढेको छ । कतिको बसाइँसराइ भइसकेको छ । ४५ वर्षअगाडिको नक्साअनुसारको जग्गा छैन । खासगरी वन क्षेत्रको समस्या छ । सहर बजार बनिसकेको छ, स्थायी संरचनाहरू बनिसकेका छन् । वनको पुरानो नक्सा कायम छ । अब संघ, प्रदेश, स्थानीय तह सबैले समन्वय गरी भूमि व्यवस्थापनमा लाग्नुपर्नेछ ।

० धेरै योजनाहरू सुनाउनुभयो, मन्त्रालय सञ्चालनका लागि भौतिक सुविधाको अभावले गर्दा दैनिक कार्यसम्पादनमा प्रत्यक्ष असर परिरहेको गुनासो चर्कै थियो । तपाईंको आफ्नै मन्त्रालय चाहिँ कत्तिको व्यवस्थित भयो ?

मन्त्रालयको भौतिक अवस्थालाई लिएर खासै गुनासो गर्नुपर्ने स्थिति छैन । ३६ वटा कार्यालयहरू मेरो मन्त्रालयको मातहतमा रहेका छन् । ७४८ कर्मचारी आएका छन् । उनीहरूलाई कामको जिम्मेवारी र कार्य विभाजन हुन
बाँकी छ । सबै कार्यालय सुचारु भइसकेका छैनन् । स्रोतसाधन बिस्तारै जुट्दै छ ।

० प्रसंग बदलौं, संघीय व्यवस्थाकैविरुद्ध आवाजहरू सुनिन थालेका छन् । वास्तवमा स्थिति के हो ?

हिजोको सिंहदरबारको अधिकार गाउँमा लैजाने हाम्रो योजना हो । हिजोको केन्द्रीकृत राज्य सत्ताको अभ्यासलाई तल्तो तहसम्म पु¥याउने अहिलेको व्यवस्थाको परिकल्पना हो । २०६२÷२०६३ को राष्ट्रिय जनआन्दोलनले नै यसको आधार कोरिसकेको हो । नयाँ संविधानले त्यसलाई थप व्यवस्थित गरेको मात्रै हो । अहिले यो संघीय व्यवस्था हिजोको एकारात्मक राज्यमा मोज गर्नेहरूलाई मात्र काम छैन । एकात्मक राज्य र यथास्थितिवादी चिन्तन बोक्नेहरूलाई काम छैन । जनता सार्वभौमसत्ता सम्पन्न हुनु, राज्य सत्ता अभ्यास गर्ने विषयले व्यापकता पाउनु कसरी अस्वीकार्य हुन सक्छ ? त्यसैले, यस्तो चर्चा एकाध मानिसले उठाएका हुन् । राणाले बनाएको दरबार, पञ्चायतले बनाएको केही पुल देख्ने तर खुला व्यवस्थामा आएपछि गाउँगाउँमा राज्यको बजेट विनियोजन भएको, सडक खुलेको, स्कुल कलेज स्थापना भएको, खानेपानी, बिजुली पुगेको नदेख्ने । यो सरासर नयाँ व्यवस्था नरुचाउनेहरूको दृष्टिदोष मात्रै हो ।

० अहिले विभिन्न तहका सरकारले अनावश्यक ढंगले करको दायरा बढाउँदै कर वृद्धि गरेको आरोप छ नि ?

यथार्थमा हिजो पञ्चायतमा पनि कर उठाइन्थ्यो । राणाशासनमा चाहिँ आफूखुसी थियो । अहिले स्थानीय तहले आआफ्ना गाउँसभाले तोकेबमोजिमको कर उठाउने निर्णय गरेको हो । मात्रै के हो भने जनतालाई नोक्सान पु¥याउने खालको कर बढी उठायो कि भन्ने चिन्ता मात्रै हो । दोहोरो नहोस् भन्ने पनि सबैको चासो हो । करमा जभाभावी नहोस् भनेर प्रदेश ३ अन्तर्गतका महानगर, नगर, गाउँपालिकासमेत गरी जम्मा ११९ वटै स्थानीय तहलाई प्रदेश सरकारले पत्राचार गरी विवरण संकलन गरेको छ । अहिले त्यसको अध्ययन हुँदै छ । अस्वाभाविक र मनोमानी देखिएमा पक्कै
पनि सच्याइनेछ ।
तर धेरैजसो अहिले करको विषयमा भ्रमपूर्ण प्रचारबाजी पनि भइरहेको छ । ‘जन्म, मृत्यु, विवाह दर्ता गर्दा २ हजार कर लियो’ भनिएको छ । बुझ्दा त्यस्तो छैन । हल्ला मच्चाउने काम भएको छ । कतिपयमा हिजोको चिन्तन मेटिएको छैन । यथास्थितिवादी चिन्तनमा रमाउने र मुलुकको समृद्धि नचाहनेहरूले अनावश्यक चर्चा गरिरहेका छन् । विकास र सुशासन नचाहनेहरूको यस्तो हर्कतलाई बुझ्नु आवश्यक छ । मुलुकलाई अस्थिर बनाएर राख्ने र फेरि चलखेल गर्न पाइयोस् भन्नेहरूको खेल हो ।

० अब मुलुकमा समृद्धि भित्रिन्छ भन्नेमा कति विश्वस्त हुनुहुन्छ ?

म त एकदमै विश्वस्त छु । प्रधानमन्त्री केपी शर्मा ओलीको दिनचर्यालाई हेर्छु । उहाँ बिरामी हुनुहुन्छ तर दिनको १८ घन्टा खटिरहनुभएको छ । मुलुकको समृद्धि र सुशासनका लागि उहाँको खटाइले यो मुलुकको अवस्था फेरिने सन्देश दिइरहेको छ ।
हरेक प्रदेशका मुख्यमन्त्रीहरू पनि उत्तिकै खटिरहेका छन् । यसमा सबैलाई साथ दिनुपर्छ । साँच्चै भन्ने हो भने यो मुलुक बनाउने बेला हो । समाजवाद उन्मुख समाज निर्माणका लागि एकाकार भएर जुट्ने बेला हो । सरकार गठनको ६ महिना कानुन निर्माणमा बित्यो, अबको ६ महिनामा नागरिकले देखिने खालको समृद्धि र विकासको काम हुनेछ ।

राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...