रौतहटको लालबकैया खोलमा डुंगा पल्टिँदा १८ बेपत्ता, पौडिएर २२ जना जोगिए
रौतहटको गौर नगरपालिका–४ स्थित लालबकैया खोलामा शनिबार साँझ डुंगा डुब्दा १८ यात्रु बेपत्ता भएका छन् । ईशनाथको औरैयाबाट गौरको टिकुलियातर्फ आउँदै गरेको डुंगा खोलाको बीचमा पल्टिएको हो । खोलापारि खेतमा काम गरेर फर्किएका महिला, पुरुष र बालबालिका गरी डुंगामा करिब ४० जना थिए ।
डुंगा तर्दै गर्दा बकैया नदीमा बाढी आएको थियो । पानीको बहाव बढेको जान्दाजान्दै साँझ ७ बजेतिर डुंगा टिकुलिया घाटतर्फ अगाडि बढेको थियो । पानीको बहावकै कारण छालमा डुंगा फसेर पल्टिएको स्थानीयले बताए ।
दुर्घटनापछि करिब २२ जनाले पौडेर ज्यान जोगाएको स्थानीय बासिन्दा सञ्जय सहनीले जानकारी दिए । उनले १८ जनाभन्दा बढी बेपत्ता भएको बताए । बेपत्ता भएकाको राति अबेरसम्म कुनै अत्तोपत्तो नलागेको तथा घरपरिवारको सम्पर्कमा नआएको सहनीले बताए ।
बेपत्ताको उद्धार कठिन
डुंगा पल्टिएको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय गौरबाट पौडीबाजसहितको टोली घटनास्थल पुगेको रौतहटका एसपी केदार ढकालले जानकारी दिए । खोलामा ठूलो बाढी आएको र रात परेकाले बेपत्ताको उद्धारमा कठिनाइ भएको उनले बताए ।
अहिलेसम्म कतिजना बेपत्ता भएको भन्ने यकिन जानकारी नभएको उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल आफैँ घटनास्थलमा उपस्थित भएर नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई परिचालन गरेका छन् ।