नेतृत्व टुङ्ग्याउने जिम्मा ओली र प्रचण्डकै काँधमा



 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जबस, प्रदेश र जिल्ला कमिटीको एकता प्रक्रियाका लागि गठित केही कार्यदलले नेतृत्वको विषय टुंग्याउन नसकेपछि पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डले थप गृहकार्य गर्नुपर्ने भएको छ । तत्कालीन एमाले र तत्कालीन माओवादी बीचको नेतृत्वको बाँडफाँडमा दुई अध्यक्षबीच सहमति बनेपछि मात्र नेतृत्वको विवाद टुंगिने देखिएको छ ।

दुई अध्यक्षबीचको संवादपछि मात्र पार्टी सचिवालय र स्थायी कमिटीको बैठक बस्ने भएको छ । ती दुवै वैठकमा नेतृत्वको विषय हल भएपछि मात्र जबस, प्रदेश र जिल्ला कमिटीको एकता प्रक्रियाले अन्तिम रुप पाउनेछ ।

‘सबै कार्यदलको प्रतिवेदन आएपछि दुई अध्यक्षबीच पहिलो चरणमा संवाद हुनेछ । त्यसपछि प्रतिवेदन माथि सचिवालयमा छलफल हुनेछ । र, अन्तिममा स्थायी कमिटीले अनुमोदन गरेपछि तल्ला तहको एकता प्रक्रियाको घोषणा मात्र बाँकी रहनेछ ।’ सचिवालयका एक सदस्यले  भने, ‘शुक्रबार र शनिवार अध्यक्षद्धय बसेर छलफल गर्नुहुन्छ । वाँकी काम १० र ११ गते सचिवालयको वैठक बसेर एकीकृत खाका तयार पार्ने गरी छलफल भएको छ । घुम्दै फिर्दै अन्ततः तल्ला तहको नेतृत्व टुंग्याउने जिम्मा पनि अध्यक्षद्धयमै पुगेको छ ।’

तेस्रोपटक थप गरिएको समय सीमामा पनि सबै कार्यदलले प्रतिवेदन बुझाउन ढिला गरेका छन् । भदौ ४ गते बसेको सचिवालय बैठकले कार्यदलहरुलाई प्रतिवेदन बुझाउन तेस्रो पटक ७ गते सम्मका लागि म्याद दिएको थियो । तर, बिहिबारसम्म १६ वटा कार्यदलले प्रतिवेदन बुझाएको पार्टी महासचिव विष्णु पौडेलले बताए । पार्टी महासचिवलाई ५ वटा प्रदेश र केही जनवर्गीय संगठनका कार्यदलले पनि अपुरा प्रतिवेदन बुझाएका छन् ।

‘अहिलेसम्म १६ वटा कार्यदलको प्रतिवेदन आयो । बिहिबार सम्मको समय दिएको हो । सायद अब सवै कार्यदलको प्रतिवेदन आउला । कार्यदलका प्रतिवेदन आईसकेपछि सचिवालयको वैठक बसेर छलफल गर्छौ’ पौडेलले  भने ।

प्रतिवेदन बुझाएका कार्यदलले धेरैजसो प्रदेश, जिल्ला र जबसहरुले कमिटीको संख्या भने टुङ्गयाएका छन् । तत्कालीन एमाले र माओवादीको भागमा कुन प्रदेश र जिल्ला रहने भन्ने प्रारम्भिक सहमति बनेको छ ।
कार्यदलहरूले बुझाएको प्रतिवेदन अध्यक्षद्धय र सचिवालयले गृहकार्य गरेपछि मात्र टुंग्याउन सकिन सक्ने अवस्थाका छन् । सचिवालयका एक सदस्यका अनुसार अहिलेसम्म प्रतिवेदन बुझाएका कार्यदलको प्रतिवेदनलाई आधार मान्दा प्रदेश, जिल्ला र जनवर्गीय संगठनको नेतृत्व केन्द्रबाटनै टुंग्याउनुपर्ने अवस्थामा छ । विभिन्न विकल्पसहित प्रतिवेदन आएका छन् । कमिटीको संख्याको विषय भने कार्यदलले टुंग्याएका छन् ।

भदौ १९ र २० गते स्थायी कमिटीको बैठक बस्दैछ । स्थायी कमिटीको बैठक बस्नुअघि सबै प्रदेश र जिल्लाको नेतृत्वको एकीकृत खाका सचिवालयले तयार गर्नेछ । सचिवालयले तयार पारेको प्रस्ताव स्थायी कमिटी बैठकले पास गर्ने र त्यसलाई लागू गर्ने नेकपाको तयारी छ ।

प्रदेशको हकमा अहिलेसम्म प्रदेश नम्बर ६,७,५,४ र ३ ले पार्टी महासचिव पौडेललाई प्रतिवेदन बुझाएका छन् । प्रदेश १ र २ अझै छलफलमा छ ।

प्रदेश तहमा अहिलेसम्म के छ अवस्था ?

प्रदेश १ले शुक्रबारसम्ममा प्रतिवेदन बुझाउने कार्यदलका एक सदस्यले बताए । यो प्रदेशमा पनि प्रदेश र जिल्ला कमिटीको संख्या टुङ्गो लागेको छ । तर जिल्ला र नेतृत्वमा भने टुङ्गो लागेको छैन । आज बैठक बसि सहमति हुन सके पूर्ण नसके अपूर्ण भए पनि भोली सम्ममा प्रतिवेदन बुझाउने तयारी गरेको ती सदस्यले बताए ।

प्रदेश २ मा अझै जिल्ला र नेतृत्व टुङ्गिएको छैन । कार्यदल सदस्य विश्वनाथ शाहका अनुसार यो प्रदेशको कार्यदलले केन्द्रीय सचिवालयले केही मिलाउन नपर्ने गरी पूर्ण प्रतिवेदन बनाएर पठाउने तयारी भएको बताए । उनका अनुसार सवै टुङ्गयाउन अझै एक दुई दिन कार्यदललाई समय लाग्न सक्छ । यो प्रदेशमा पनि प्रदेश र जिल्ला कमिटीको संख्या टुंगिसकेको छ । र केही जिल्लाको इन्चार्जमा सहमति भएको छैन । तत्कालिन माओवादीले ५ इन्चार्ज माग गरेको छ ।

अहिलेसम्म टुङ्गिएका प्रदेश र जिल्ला

प्रदेश नम्बर ३
ले आइतबार पार्टी महासचिवलाई प्रतिवेदन बुझाएका थिए । उनीहरुले बुझाएको प्रतिवेदनमा प्रदेशमा २ सय १७ सदस्यीय प्रदेश कमिटी रहने छ । १३ भूगोल र ४ विशेष जिल्लासहित १७ जिल्ला यो प्रदेशमा छन् । प्रदेश ३ को नेतृत्व तत्कालीन एमालेले गर्ने सहमति भएको छ ।

जिल्लाको नेतृत्व तत्कालीन एमालेलाई १० र माओवादीले ७ गर्ने गरी नेतृत्व सहितको प्रतिवेदन कार्यदलले बुझाएको छ । जसमध्ये तत्कालीन एमालेलाई धादिङ, मकवानपुर, रसुवा, सिन्धुपाल्चोक, दोलखा,काठमाडौं,ललितपुर,भक्तपुर, उद्योगी व्यवसायी विशेष जिल्ला कमिटी र पेसागत जिल्ला कमिटी लिने सहमति भएको छ ।

त्यस्तै तत्कालीन माओवादीलाई चितवन, नुवाकोट, सिन्धुली, काभ्रे, रामेछाप,युवा विद्यार्थी विशेष र मजदुर विशेष जिल्ला कमिटी सहमति गरेको छ । यो प्रदेशको प्रतिवेदनमा भने सचिवालयले धेरै मेहनत गर्नु पर्ने देखिदैँन ।

गण्डकी प्रदेश
यो प्रदेशमा १८७ सदस्यीय प्रदेश कमिटीमा तत्कालीन एमालेबाट १०२ र माओवादीबाट ८५ सदस्य रहने सहमति भएको छ । ११ जिल्ला यो प्रदेशमा रहेका छन् । यहाँ अध्यक्ष र सचिवको दाबेदारमा धेरैको नाम आएपछि सबैको नाम समेटेर प्रतिवेदन बुझाएको थियो । यो प्रदेशमा प्रदेशको नेतृत्व र जिल्लाका अध्यक्ष र सचिवको नाम केन्द्रीय सचिवालयले टुंग्याउनुपर्ने देखिएको छ ।

प्रदेश ५
प्रदेश ५ मा २०३ सदस्यीय प्रदेश कमिटी रहनेछ । तत्कालीन एमाले १०६ र तत्कालीन माओवादी ९७ जना रहने सहमति भएको छ । यो प्रदेशमा १२ जिल्ला रहेका छन् । तीमध्ये ७ जिल्लामा तत्कालीन एमाले र ५ जिल्लामा तत्कालीन माओवादी अध्यक्ष हुने सहमति सहितको प्रतिवेदन बुझाएका छन् । जसअनुसार तत्कालीन एमालेबाट दाङ, अर्घाखाँची, कपिलवस्तु, रूपन्देही, प्युठान, गुल्मी र पाल्पा तथा तत्कालीन माओवादीबाट बर्दिया,बाँके,पूर्वी रुकुम, रोल्पा र नवलपरासीको नेतृत्व लिनेगरी समझ्दारी भएको छ । जिल्लामा सहमति भए पनि जिल्ला अध्यक्ष र सचिव पदमा धेरै आकाङ्क्क्षीको नाम कार्यदलले सिफारिस गरेको छ ।

कर्णाली प्रदेश
१७५ सदस्यीय कर्णाली प्रदेश कमिटीमा तत्कालीन माओवादीबाट ८८ र तत्कालीन एमालेबाट ८७ जना रहने टुङ्गो लागेको छ । प्रदेशका ५ जिल्लामा अध्यक्ष र सचिव पनि ५–५ जना रहने गरी सहमति भएको कार्यदलका एक सदस्यले बताए ।

यो प्रदेशमा १० जिल्ला रहेका छन् । जसमध्ये सुर्खेत, दैलेख, डोल्पा, सल्यान, मुगुमा तत्कालीन एमालेले नेतृत्व लिने सहमति भएको छ । यसैगरी जाजरकोट, कालिकोट, पश्चिम रुकुम,जुम्ला, हुम्लामा तत्कालीन माओवादीले नेतृत्व लिनेगरी सहमति भएको छ । जिल्ला अध्यक्ष र सचिवको नेतृत्वका आकांक्षी धेरै भएपछि कार्यदलले सबैको नाम सिफारिस गरेको छ । यहाँ पनि केन्द्रीय सचिवालयले टुंग्याउनुपर्ने देखिएको छ ।

प्रदेश ७
१ सय ८३ सदस्यीय प्रदेश कमिटीमा तत्कालीन एमालेबाट १ सय र तत्कालीन माओवादीबाट ८३ जना सदस्य रहने सहमति यो प्रदेशमा भएको छ । यो प्रदेशमा ९ जिल्ला रहेका छन् । कार्यदलले ५ जिल्ला तत्कालीन एमाले र ४ जिल्ला तत्कालीन माओवादीले लिने सहमति सहितको प्रतिवेदन बुझाएका छन् । जसअनुसार अछाम, डोटी, बाजुरा, कैलाली र बैतडीको अध्यक्षतत्कालीनएमालेले गर्ने सहमति भएकोे छ ।

त्यस्तै तत्कालीन माओवादीको दार्चुला, डडेलधुरा, बझाङ र कञ्चनपुरको अध्यक्ष भागमा परेको छ । प्रदेशको अध्यक्षमा कर्णबहादुर थापा र सचिवमा लक्ष्मणदत्त जोशीको नाम सहमतिमा सिफारिस गरेको छ । यहाँ पनि जिल्लाको नेतृत्व गर्ने आकांक्षी धेरै भएपछि कार्यदलले केन्द्रीय सचिवालयले टुङ्ग्याउने गरी प्रतिवेदन बुझाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
जनकपुरले जित्यो एनपीएलको उपाधि

    जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को

एनपीएलको फाइनल हेर्न देउवा र प्रचण्ड सँगै

    नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल कांग्रेस सभापति शेरबहादुर देउवा र

सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको विशाल लक्ष्य

    नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्ससामु

मेडिकल व्यवसायी दुर्गा प्रसाईं हिरासतबाट छुटे

    मेडिकल व्यवसायी दुर्गा प्रसाईं हिरासतबाट छुटेका छन् । न्यायाधीशहरू नहकुल सुवेदी