नेकपा एकीकरणको १०० दिन पुग्दै : किन पूरा भएन एकता प्रक्रिया, अझै भएन भावनात्मक एकता



 

दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएको करीब एक सय दिन पुग्न लागेको छ ।

मदन आश्रित स्मृति दिवसको अवसर पारेर जेठ ३ गते पार्टी एकीकरण तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठनको घोषणा भएको थियो ।

एकताले ५६ वर्षपछि नेपाली कम्युनिस्ट आन्दोलनका मुख्य दुई धारलाई एउटै बाटोमा ल्यायो ।

जेठ ३ गते पार्टी एकताका क्रममा नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ʻप्रचण्डʼले एकता प्रक्रिया ३ महिनामा सकिने बताएका थिए । तर तीन महिना पूरा हुन लाग्दा पनि तल्ला कमिटीको एकताले पूर्णता पाएको छैन ।

प्रदेश, जिल्ला, भातृ संगठनहरूको एकता प्रक्रिया जारी रहेको भए पनि अहिलेसम्म दुई पार्टी भावनात्मक रूपमा एक भएका छैनन् ।

 

तीन महिनामा के के भयो काम ?

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका जिल्ला र प्रदेश जनवर्गीय संगठनहरूको एकता प्रक्रिया शुरू भए पनि सम्पन्न भएको छैन ।

आकांक्षी धेरै देखिएपछि नेताहरूको व्यवस्थापनमा समस्या भएको नेताहरू बताउँछन् । तर नेकपाका नेता एवं प्रदेश ३ का कार्यदल सदस्य अग्निप्रसाद सापकोटा भने पार्टीको तल्ला कमिटीको एकतामा कुनै समस्या नभएको बताउँछन् ।

उनले भने, ʻपार्टीका तल्ला कमिटीको एकतामा कुनै समस्या छैन । छलफल त हुनु पर्‍यो नि !’ सापकोटाले भने, ‘एकताको स्पिरिटअनुसार भावनात्कम एकता हुने गरी काम भइरहेको छ ।ʼ

तीन महिनामा एकताको सम्पूर्ण काम गर्ने भनिएको भएपनि त्यस अनुरूप काम भने हुन नसकेको नेकपाका नेताहरू स्वीकार्छन् ।

 

कार्यदललाई समस्या !

नेकपाका एकीकरण कार्यदलहरूले सयममै प्रतिवेदन नबुझाएपछि प्रदेश, जिल्ला र जनवर्गीय संगठनको एकता प्रक्रिया लम्बिएको छ । साउन मसान्तसम्म एकीकरण सम्बन्धी प्रस्ताव बुझाउन केन्द्रले निर्देशन दिएको भए पनि कतिपय कार्यदलले प्रतिवेदन नबुझाएका कारण नेकपाको सचिवालयले कार्यदलहरूलाई भदौ सात(भोलि) सम्मको समय दिएको छ ।

राजीनामा स्वीकृत नभएका नेकपाका प्रवक्ता नारायणकाजीले सबै कार्यदलले तोकिएको अवधि(भोलि) भित्र जे जस्तो अवस्था छ त्यसको प्रतिवेदन बुझाउनुपर्ने निर्णय भएको जानकारी दिए ।

नेकपाले विधि, प्रक्रिया र मापदण्ड बनाएर एकीकरणसम्बन्धी प्रस्ताव तयार पार्न निर्देशन दिएको थियो, तर धेरै कार्यदलहरूले नेतृत्व, नाम लगायका विषयमा सहमति गर्न नसकेपछि नेकपाको सचिवालयले प्रतिवेदन मागेको हो ।

 

जिल्ला अध्यक्षहरू छानिँदै 

नेकपाले गठन गरेका प्रदेश कार्यदलहरूले एकीकरण प्रक्रियालाई अन्तिम रूप दिइरहेका छन् । केही जिल्लामा भने समस्या देखिएको छ । नेकपाले गठन गरेका प्रदेश ३, ५ र ७ का साथै कर्णाली र गण्डकी प्रदेश कार्यदलले प्रतिवेदन बुझाएका छन् । तर प्रदेश १ र २ ले भने प्रतिवेदन बुझाउन सकेका छैनन् ।

 

जनवर्गीय संगठनमा अलमल

नेकपाले विभिन्न २२ जनवर्गीय संगठनको एकताका लागि कार्यदल बनाएको थियो ।

तोकिएको समय सकिन लाग्दा इञ्जिनियरहरूको मात्र एकीकरण भएको छ । अन्य २१ वटा जनवर्गीय संगठनको एकता अन्तिम चरणमा पुगेको छ । उनीहरूले विधान, नियमावली अन्तिम चरणमा पुर्‍याएका छन् । केहीले

एकतापछि बन्ने संगठनको नाममा सहमति गरेपनि नेतृत्वको विषयमा कुरा मिलाउन सकेका छैनन् ।

यस्तै नेकपा निकट पत्रकारहरूको संस्था प्रेस चौतारी र प्रेस सेन्टरबीच एकता गरी प्रेस संगठन बनाउने सहमति भएको छ । महिला संघको कार्यदलले पनि एकताका लागि सुझाव सहितको प्रतिवेदन इञ्चार्जलाई बुझाएको छ ।

 

प्रदेश कार्यदलको प्रतिवेदनपछि निर्णय

सातवटै प्रदेशका कार्यदलले प्रतिवेदन बुझाएछि प्रदेश र जिल्ला नेतृत्व टुंगोमा पुर्‍याउने तयारी केन्द्रीय सचिवालयले गरेको छ ।

पूर्व एमाले र पूर्व माओवादीबीच एउटा पक्षले अध्यक्ष र सहइन्चार्ज तथा अर्को पक्षले इन्चार्ज र सचिव पाउने गरी तयारी भएको छ ।

नेकपाको विधानले प्रदेश र जिल्लामा इन्चार्ज, अध्यक्ष र सचिव मात्र पदाधिकारी रहने व्यवस्था गरेको छ ।

 

जनप्रतिनिधिले कार्यकारी पद नपाउने

नेतृत्व आकांक्षी धेरै भएपछि नेकपाले त्यसको व्यवस्थापनका लागि संघ, प्रदेशका मन्त्री, संसदीय दलका नेता, उपनेता, प्रमुख सचेतक, सचेतक, स्थानीय तहका प्रमुख, उपप्रमुखलाई पार्टीको कुनै पनि कार्यकारी पद अध्यक्ष र सचिव नबनाउने निर्णय गरेको छ । यसो गर्दा पद व्यवस्थापनमा सहजता हुनेछ ।

 

पार्टी हेर्डक्वाटर धुम्बाराही

दुई पार्टीबीच एकता भएसँगै सर्वसाधारणसहित पूर्व एमाले र माओवादी केन्द्रका नेता कार्यकर्ताले चासोका साथ हेरेका थिए पार्टी कार्यलय कहाँ बस्छ भन्ने कुरा ।

शुरूमा दुईवटै पार्टीका कार्यलयलाई नेकपाको कार्यालय मानिए पनि साउन २३ गते बसेको सचिवालय बैठकले पार्टी हेर्डक्वाटर धुम्बराही र जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडा बनाउने निर्णय गरेको छ ।

 

नियमावली प्रकाशन

नेकपाले पार्टी सञ्चालनका लागि नियमावली निर्माण सकेको छ । केन्द्रीय नेताहरूको कार्यविभाजनको समेत नियमावलीमा व्यवस्था गरिएको छ । ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीका सबैलाई खटाउने गरी तयार गरिएको नियमावलीमा ३२ वटा केन्द्रीय विभाग बनाइएको छ ।

 

त्यस्तै सात प्रदेशका संयोजक प्रभावशाली नेतालाई दिने तयारी गरिएको छ । यस्तै ७७ जिल्ला, चार विशेष जिल्ला कमिटी, केन्द्रीय सम्पर्क समन्वय कमिटीमा केन्द्रीय सदस्यहरूलाई इन्चार्जको रूपमा जिम्मेवारी दिने तयारी गरिएको छ । त्यस्तै भदौको दोस्रो साताभित्र कार्यविभाजन सकिएसँगै केन्द्रीय सल्लाहकार, केन्द्रीय आयोग, जेष्ठ कम्युनिस्ट मञ्चको गठन र केन्द्रीय विभागलाई पूर्णता दिने तयारी नेकपाले गरेको छ ।

नेकपाले भदौ ८ र ९ मा स्थायी समिति बैठक बोलाएको छ । त्यसअघि प्रदेश र जिल्ला तहको एकता सक्ने र स्थायी समितिमा कार्यविभाजन प्रस्तावमाथि छलफल गर्ने तयारी गरिएको छ ।

 

अझै भएन भावनात्मक एकता !

पार्टी एकता भएको तीन महिना बितिसक्दा पनि पूर्व एमाले र पूर्व माओवादी कार्यकर्ताबीच अझै भावनात्मक एकता भने देखिएको छैन ।

 

नेकपाका एक जिल्ला तहका नेताले भने, ‘पार्टी एकता भएपनि सार्वजनिक कार्यक्रमहरूमा एउटै पार्टीको रूपमा बस्ने, पार्टीका कार्यक्रमहरूमा, बैठकमा बस्ने गरे पनि पहिलेको एमाले र माओवादीको पार्टी संरचना हटेको छैन । दिल खोलेर एमाले नेता कार्यकर्ता माओवादीकोमा र माओवादीका नेता कार्यकर्ता एमालेको पार्टी कार्यलयमा आउजाउ भएको छैन ।ʼ

 

जिल्ला तहमा मात्र होइन केन्द्रीय तहको समस्या पनि उस्तै छ । पूर्व माओवादीका दोस्रो तहका र जिल्ला तहका नेता पूर्व एमालेको कार्यलय धुम्बाराही कमै जाने गरेका छन् भने पूर्वएमाले नेता कार्यकर्ता पेरिसडाँडा जाने गरेका छैनन् ।

प्रतिनिधिसभा र प्रदेशसभामा अलगअलग रूपमा चुनाव लडेका एमाले र माओवादीको सिंहदरबारमा संसदीय दलका कार्यलयहरू छन् । संसदको सीटमा पनि एमाले र माओवादीका सांसदहरू गुटमा बसिरहेका छन् । फरक–फरक रहेका कार्यलयमा आफ्ना पक्षका सांसदहरूमात्र उपस्थित हुने गरेका छन् ।

नेकपाको संसदीय दलको बैठकमा दलका नेता केपी ओली र प्रचण्डले सम्बोधन गर्दा मात्र यी दुई दलका सांसदहरू एक ठाउँमा उभिने गरेका छन् ।

 

पार्टी एकताको भावनात्मक सन्देश दिन कुनै कार्यक्रममा शीर्ष नेताहरू उपस्थित हुने गरेका छन् । जस्तो कि पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रचण्ड र ओलीले सम्बोधन मात्र गरेनन्, ओलीले जनयुद्धको प्रसंग कोट्टाए, संविधानसभाको एजेन्डा आफ्नो पार्टीले उठाएको पनि भने ।

 

पार्टी एकताको औपचारिक घोषणा भइसक्दा पनि दुवैको मन मिल्न नसक्नुमा फरक राजनीतिक स्कुलिङका कारण भएको नेताहरू बताउँछन् । लोकान्तरले जनाएको छ ।

नेकपाका एक नेता भन्छन्– ʻफरक राजनीतिक स्कूलिङबाट आएका नेता कार्यकर्ता एकआपसमा घुलमिल हुन समय लाग्नु स्वभाविकै हो ।ʼ

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा