कहाँ हरायो भारत र मलेसियामा राजदूत सिफारिसको निर्णय ?



हाम्रो इकोनोमि

 

 

असार ३२ गतेको मन्त्रिपरिषदले भारतका लागि नेपालको राजदूतमा पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती र मलेसियाका लागि उदयराज पाण्डेको नाम सिफारिस गरेको समाचार सार्वजनिक भएपछि ठूलो विवादको विषय बन्यो । विशेष गरेर, उप्रेतीलाई लिएर ।

 

तर, सिफारिस भएको ३५ दिन बितिसक्दा पनि दुवैजनाको नाम अहिलेसम्म संसदीय सुनुवाइ समितिमा नआएको संसद सचिवालयले जनाएको छ ।

 

लामो समयदेखि विभिन्न देशका नेपाली राजदूताबास राजदूतविहिन छन् । नेपालीहरुको ठूलो श्रम बजार मानिने मलेसिया र छिमेकी देश भारतमा समेत सरकारले राजदूत नियुक्त गर्न सकेको छैन ।

 

राजदूत नियुक्तिको सामान्य प्रकृयाअनुसार सरकारले नियुक्तिका लागि निर्णय गरेका नाम सो पदका लागि उपयुक्त छ या छैन भनेर संसदीय सुनुवाई समितिमा पठाउनु पर्छ । त्यसपछि संसदीय सुनुवाई समितिमा छलफल गरी उपयुक्त छ भने उपयुक्त भनेर राष्ट्रपतिसमक्ष अनुमोदनका लागि पठाउनुपर्ने व्यवस्था छ ।

 

समितिले पठाएको नामलाई राष्ट्रपतिले प्रमाणिकरण गरेपछि बल्ल सिफारिस भएको व्यक्तिले नियुक्ति पाएको ठहरिन्छ । तर, राजदूतबारे सरकारले निर्णय गरेको यति लामो समयसम्म पनि उप्रेती र पाण्डेको नाम समितिमा पुगेको छैन ।

 

सरकारले सिफारिस गरेका नाममा समितिले ४५ दिनभित्र सुनुवाई गर्न नसके सरकारले स्वतः आफ्नो प्रकृया अघि बढाउन पाउने व्यवस्था छ ।

 

निर्णय नै गायब

राजदूत नियुक्तिका लागि उप्रेती र पाण्डेको नाम ३२ गतेको मन्त्रिपरिषदले सिफारिस गरेको त्यसबेला परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सञ्चारमाध्यमलाई जानकारी दिएका थिए । तर, मन्त्रिपरिषदले राजदूत नियुक्तिका लागि गरेको उक्त निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषदको वेबसाइटमा राखिएको छैन । प्रधानमन्त्री कार्यालयको वेबसाइटमा असार ३२ गतेका ६० वटा निर्णय राखिएपनि राजदूत नियुक्तिसम्बन्धी निर्णय नै छैन ।

 

उप्रेतीबारे विवाद
सरकारले भारतका लागि नेपाली राजदूतमा पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई सिफारिस गर्ने समचार सार्वजनिक भएसँगै विवाद भएको थियो । त्यसबेला संविधानअनुसार आयोगको प्रमुख भैसकेको व्यक्ति फेरी सरकारी पदमा रहन नपाउने भन्ने जान्दा जान्दै मन्त्रिपरिषदले उप्रेतीलाई सिफारिस गरेर संविधानको उल्लंघन गरेको भन्दै सरकारको आलोचना समेत भएको थियो । संविधानको धारा २४५ को उपधारा ८ मा ‘निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्त भइसकेका व्यक्ति अन्य सरकारी सेवामा नियुक्तिका लागि ग्राह्य हुने छैन,’ भन्ने उल्लेख छ ।

 

मैले फलोअप गरेको छैन : उप्रेती

सरकारले आफुलाई राजदूतमा नियुक्त गर्न गरेको निर्णयबारे आफूले सञ्चारमाध्यममा आएपछि थाहा पाएको उप्रेतीले बताएका छन् । उनले सरकारको निर्णयका बेला आफू तीर्थयात्रामा रहेको र त्यसको केही दिनपछि काठमाडौ आएपछि सरकारको निर्णयबारे थाहा पाएको बताए । ‘म त्यसवेला तीर्थयात्रामा थिए, आएपछि थाहा पाए । तर, त्यसपछि मलाई सरकारका तर्फबाट कुनै जानकारी पनि दिइएको छैन । म नै के हो भन्नेमा अन्योल छु । मैले सोध्ने कुरा पनि भएन,’ उप्रेतीले भने ।

 

उनले तपाईको नाम सिफारिस गरेपछि विवाद पनि भएको थियो नि भन्ने प्रश्नमा भने ‘त्यो त सरकारले कानुन हेरेरै गरेको हुनुपर्छ भन्ने मेरो बुझाई हो । म संविधानको व्याख्या गर्ने मान्छे त होइन तर, सरकारले पनि त्यति नबुझी निर्णय गर्ला भन्ने मलाई लाग्दैन । जहासम्म राजनीतिक पदमा नियुक्ति गर्न सक्ने भन्ने कुरा छ त्यो पदको पनि आफु अनुकुल व्याख्या हुने गरेको मैले पाएको छु ।’

 

परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्–प्रकृयामा छ

 

राजदूत नियुक्तिबारे छलफल जारी रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । ‘त्यसवारे छलफल जारी छ, प्रकृयामै छ । केही दिनमा टुंगिन्छ,’ मन्त्री ज्ञवालीले भने ।

 

दलहरुबीचमै विवाद

उप्रेतीको नाम राजदूतका लागि सिफारिस गर्ने निर्णय विवादमा परेपछि सत्तारुढ दलभित्रै पनि छलफल भएको थियो । यसमा तत्कालिन एमाले र तत्कालिन माओवादी पक्षधरबीच उप्रेतीलाई राजदूत बनाउनपर्ने र नहुनेबीच विवाद भएको नेकपाका एक शीर्ष नेताले बताए । ‘तर, त्यसवारे निर्णय गर्ने अधिकार मन्त्रिपरिषदमा भएकाले पार्टीले अरु केही गर्न सक्ने स्थिति होइन’ ती नेताले भने । यसैवीच राष्ट्रपति विद्यादेवी भण्डारीले पनि उप्रेतीका विषयमा विवाद आएपछि त्यसबारे चासो देखाएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...