श्रममन्त्री गोकर्ण विष्टले ६ महिनामा गरे यस्तो जनताको मन छुने काम, बेरोजगार भत्ता देखि एक लाखलाई देशमै रोजगार



हाम्रो इकोनोमि

 

नयाँ सरकार गठन भएको ६ महिना पूरा हुँदै गर्दा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको कार्यकाल भने ५ महिना पूरा भएको छ । यस अवधिमा उनले आन्तरिक रोजगारी व्यवस्थापनदेखि वैदेशिक रोजगारीको क्षेत्रमा केही महत्वपूर्ण काम गरेका छन् ।

 

नेपाली कामदारहरूको व्यावसायिक सुरक्षा, करार सम्झौता प्रभावकारी बनाउने, श्रमिकलाई २४सै घन्टा बिमा सुविधाको व्यवस्था मिलाउन तथा आकर्षक रोजगार गन्तव्य मुलुकमा श्रमिकको कोटा बढाउन मन्त्री विष्टले पहल गरिरहेका छन् । त्यस्तै इपिएसमार्फत दक्षिण कोरिया लैजाने कामदारको कोटा बढाउनुका साथै इन्जिनियर, नर्सलगायतका दक्ष कामदार लैजाने विषयमा पनि सकारात्मक संकेत प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

 

श्रम नियमावली, रोजगारसम्बन्धी विधेयकको मस्यौदालाई संसद्मा पठाउने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ कार्यान्वयनका लागि नियमावलीको मस्यौदा तयार छ । बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना, २०७५ कार्यान्वयनमा ल्याइएको छ । त्यस्तै, वैदेशिक रोजगार ऐन तथा वैदेशिक रोजगार नियमावली संशोधनको प्रक्रिया पनि अगाडि बढेको छ ।

 

वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकहरूका लागि ३९ वटा संस्थाहरूले कायम गरेको सिन्डिकेट खारेज भएको छ । त्यससँगै मेडिकल दर्ता, वन स्टप सेन्टर, आइएससी, भिसा प्रोसेसिङ र राहदानी संकलनका नाममा कामदार ठगी गर्ने संस्थालाई कारबाही अगाडि बढाइएको छ ।

 

यही आर्थिक वर्षदेखि सबै प्रकारका संस्थाका कर्मचारीको पारिश्रमिक बैंक खातामार्फत भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ ।स्वदेशभित्रै रोजगारी उपलब्ध गराउन सूचना सम्प्रेषणका लागि देशभर १४ वटा रोजगार सूचना केन्द्रहरूमार्फत काम अगाडि बढाइएको छ ।

 

यसै आर्थिक वर्षदेखि सातवटै प्रदेशमा प्रादेशिक स्तरका श्रम तथा रोजगार कार्यालयमार्फत वैदेशिक रोजगारीका लागि प्रारम्भिक श्रम स्वीकृति प्रदान गर्ने गरी व्यवस्था मिलाइएको छ । श्रम स्वीकृतिलगायत विभागअन्तर्गतका निकायहरूबाट दिइने सेवाहरूलाई अनलाइनमार्फत प्रवाह गर्ने व्यवस्था गरिएको छ ।

 

विदेशमा मृत्यु भएका नेपाली कामदारको शव बुझ्ने व्यवस्थाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कक्षसँगै वैदेशिक रोजगार सूचना केन्द्रसमेत स्थापना गरिएको छ ।

 

रोजगारीको ग्यारेन्टी गर्ने विधेयक संसद्मा पेस गरिँदै
सरकारले प्रत्येक नागरिकलाई रोजगारीको हक सुनिश्चित गर्नेसम्बन्धी विधेयक संसद्मा पेस गर्ने निर्णय गरेको छ । साउन ३० गते बसेको मन्त्रिपरिषद् रोजगार उपलब्ध गराउन नसके बेरोजगार भत्ता दिने व्यवस्थासहितको रोजगारीको हकसम्बन्धी विधेयक संसद्मा पठाएको हो । सो व्यवस्थाअनुसार एक आर्थिक वर्षमा कम्तीमा एक सय दिनको न्यूनतम रोजगारी सरकारले नै उपलब्ध गराउनेछ । रोजगारी दिन नसकेमा निर्वाह भत्तास्वरूप ५० दिनको पारिश्रमिक दिइने उल्लेख छ ।

 

सरकारले सेवा केन्द्रमा सूचीकृत बेरोजगारहरूलाई न्यूनतम रोजगार उपलब्ध गराउन नसकेमा निर्वाह भत्ताका रूपमा ५० दिनको पारिश्रमिक उपलब्ध गराउनेछ । यद्यपि, यस्तो भत्ताका लागि कुनै पनि सदस्यले रोजगारी नपाएको, वैदेशिक रोजगारीमा नगएको, स्वरोजगार नभएको तथा न्यून आय भएका परिवारलाई लक्षित गरिएको छ ।

 

बेरोजगार सहायता कार्यक्रमअन्तर्गत सरकारले रोजगारीको अवसरसम्बन्धी सूचना उपलब्ध गराउनुका साथै सीपमूलक तालिम प्रदान गर्ने, बैंक तथा वित्तीय संस्थामार्फत सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेलगायतका कार्यक्रमहरू सञ्चालन गर्नेछ ।

 

आर्थिक वर्षभरिमा न्यूनतम एक सय दिन रोजगारी नपाएको तथा तोकिएको आम्दानी गर्न नसक्ने व्यक्तिलाई बेरोजगारको सूचीमा राखिनेछ । त्यसमा १८ देखि ५९ वर्ष उमेरसमूहका नागरिकलाई समेटिनेछ । सरकारले भदौभित्रै सेवा केन्द्र स्थापना गर्ने तयारी गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले बताए । रोजगारसम्बन्धी अन्य सेवा प्रदान गर्न सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्ने तयारी सरकारको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...