लोकतन्त्रविरुद्धका गतिविधि नसच्याए सरकारको ढाँड सेक्ने भन्दै यसरी कड्किए डा. खड्का



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री डा. नारायण खड्काले सत्तारुढ दल नेकपा नेतृत्वको वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाउँदा यो ६ महिनाको अवधिमा जनतामा उत्साह भर्ने काम गर्न नसकेको आरोप लगाएका छन् ।

सरकारले माईतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्नु, प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने, न्यायालयमाथि हस्तक्षेप गर्ने र प्रधानमन्त्रीले आँफैले सिफारिश गरेको प्रधानन्यायाधीशलाई अस्विकृत गर्नेलगायत नागरिकको अधिकार खोस्ने खालको निर्णय गरेकोप्रति गम्भिर आपत्ति जनाउँदै नेता खड्काले सरकारले यस्ता लोकतन्त्रविरुद्धका गतिविधि नसच्याए आफ्नो पार्टी सडक र सदन दुवै ठाउँबाट संघर्षमा उत्रिन बाध्य हुने चेतावनी दिए ।

 

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘सत्तारुढ दल नेकपा दुई तिहाईको दम्भ देखाएर संसदीय अभ्यासलाई कुल्चेर अघि बढ्न खोजेको छ । सरकारले यस्तै गतिविधि कायमै राखे हामी सडक र सदन दुवै ठाउँबाट घनिभूत संघर्ष गर्छौं।’

 

सरकारले ७८ पृष्ठ लामो ५ महिने उपलब्धिहरु सार्वजनिक गरेको बताउँदै उनले भने,‘७८ पृष्ठमा उल्लेख गरिएका अधिकांश उपलब्धिहरु ५ महिनामा गर्न सकिने कामहरु छैनन् । तुईन विस्थापित् गरेर झोलुङे पुलहरु बनाउने, सडक पुलहरु बनाएको र २८ मेगावाट विद्युत उत्पादनको परियोजना बनाएको कुरा उल्लेख गरिएको छ । जुन ५ महिनामा हुनै नसक्ने कुरा छन् । ती कामहरु त पहिल्यैदेखि हुँदै आएका हुन् ।’ सरकारले यातायात क्षेत्रको एकाधिकार हटाउन सफल भएको भनेर दाबी गरेपनि अहिलेसम्मपनि सिण्डिकेटको समस्या यथावत नै रहेको उनको आरोप छ ।

 

खड्काले भने,‘रुट परमिटको समस्या अहिलेपनि यथावत छ । सुन तस्करी प्रकरणमा साना माछा समात्ने काममात्रै भयो । ठूला माछाहरु समात्ने काम भएन् ।’ त्यस्तै उनले राजश्व लक्ष्य गरिएकोभन्दा २ अर्ब बढि नै उठेको सुनाउँदै भने,‘राजश्व त पहिलेदेखि नै उठिरहेको छ । लक्ष्यभन्दा बढि नै उठिरहेको छ । यो साउनको लक्ष्यपनि लगभग पूरा हुन्छ ।’

 

नेता खड्काले वर्तमान सरकारले करको दर बढाएर जनतामा ठूलो आर्थिक बोझ थोपरेका पनि आरोप लगाए । उनले भने,‘जनतामा करको बोझ लगाउनुहुँदैन् । यसले आर्थिक उच्छृखंलता पैदा गर्छ । यो पनि सरकारको असफलता हो ।’

 

यद्धपी उनले वर्तमान सरकारले ६ महिनामात्रै समय व्यतित गरेकोले यसका कामहरु अझै दुई÷अढाई वर्ष हेर्नुपर्ने धारणा राखे । सरकार गठन भएदेखि आजको दिनसम्म सेयर बजार दिनप्रतिदिन ओरालो लागेको बताउँदै उनले सरकारमाथि निजी क्षेत्रको विश्वास नभएको स्पष्ट पारे ।

 

उनले भने,‘सरकारले समृद्धि हाँसिल गर्नको लागि परिणाममुखी काम गर्नुपर्छ । प्रमुख प्रतिपक्षी दललाई विश्वासमा लिएर सम्वाद गर्न तयार हुनुपर्छ ।’ समृद्धिको नारा दिएपनि यसबारे सरकारको अहिलेसम्म मिशन स्पष्ट नभएको उनको आरोप छ । उनले थपे,‘सरकारले खाली समृद्धि, समृद्धिमात्रै भनेको छ । पानीजहाज र रेलको कुरा गरेको छ । तर, समृद्धिको जग बसाल्नेगरि कुनै काम गरेको पाईएन ।’ अहिले सरकार कुनैपनि दृष्टिकोणले सफल नभएको बताउँदै खड्काले सरकार रुमलिएको आरोप लगाए ।

 

फरक प्रंसगमा नेता खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो प्रदेश नम्बर २ को सभामा गरेको सम्बोधनलाई लिएर टिप्पणी गर्दै भने,‘उहाँले बोल्न पाउनुहुन्छ । तर यसको लागि विधि बनाउँदा राम्रो हुन्छ । जुन कुरा राजपाका साथी लालजीले उठाउनुभएको छ । हाम्रो संसदमा भारतीय प्रधानमन्त्री मोदी आउँदापनि सम्बोधन गर्नुभएको थियो । परराष्ट्र र सुरक्षा संघले हेर्ने भएकोले प्रधानमन्त्रीको सम्बोधनलाई अन्यथा भन्न मिल्दैन् ।’

 

प्रधानमन्त्री ओलीले हिजो प्रदेश सभामा सम्बोधन गर्ने क्रममा संविधान संशोधन हुन्छ भनेर बोलेकोप्रति टिप्पणी गर्दै उनले भने,‘पोहोर साल हामीले संविधान संशोधनको लागि संसदमा प्रस्ताव गर्दा उहाँकै पार्टीले फेल गरायो । आखिरअ अहिले आएर उहाँले संशोधन गर्ने कुरा गर्नुभयो । त्यतिवेलै गरेको भए हुन्थ्यो नि । आज आएर उहाँले संविधान धर्मशास्त्र होईन, संशोधन गर्न सकिन्छ भन्नुभयो । मैले पनि यो कुरा पहिल्यैदेखि भन्दै आएको छु ।’

 

संविधान संशोधनबारे संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई अहिले कुनै चिन्ता नभएको पनि उनले आरोप लगाए । उनले भने,‘संविधान संशोधनको मुद्दालाई थाँती राख्नुहुँदैन् । भोलि यी मुद्दा कुनै न कुनै रुपमा उठ्न सक्छन् । यसमा सबै पक्ष गम्भिर हुन जरुरी छ।’

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...