तीन प्रदेशले बुझाए प्रतिवेदन, यसरी हुँदैछ नेतृत्व बाँडफाँट



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिस्ट पार्टी (ने क पा) केन्द्रमा एकीकरण भएको आज तीन महिना पूरा भयो । तर, प्रदेश र जिल्ला तहमा भने अझै एकीकरण हुन सकेको छैन ।

 

प्रदेश र जिल्ला तह एकीकरण गर्न १५ दिनको समयसीमा दिएर १६ जेठमै अन्तर पार्टी निर्देशन जारी भएको थियो । निर्धारित समयभित्रमा एकीकरणको खाका बुझाउन असमर्थ भएपछि २५ साउनको डेडलाइन तोकिएको थियो । तर, सातवटा प्रदेश, २२ वटा जनसंगठन र प्रवास कमिटी एकीकरण गर्न कार्यादेश पाएका कुनै पनि कार्यदलले काम सक्न सकेनन् । तेस्रो पटक साउन मसान्तसम्मको समय पार्टी सचिवालयले थपेको थियो ।

 

तेस्रो पटक थपिएको समयभित्रमा तीनवटा प्रदेशलेमात्रै प्रतिवेदन बुझाएका छन् । दुईवटा पार्टी मिलाउने प्रक्रिया कल्पना गरेजस्तो सजिलो नभएको बताउँछन् पार्टी स्थायी कमिटी सदस्य बेदुराम भुसाल । “एकीकरणको मर्म र भावना आत्मसात गर्नैपर्यो । फेरि शुरूमा हामीले एउटा कार्यविधि तयार गरेका थियौँ । अभ्यस्त भएर काम हुँदै पनि थियो । बीचमा फेरि नेतृत्वको व्यवस्थापनमा अर्कै विधि अपनायौँ, काम गर्न गाह्रो भइहाल्छ नि १” उनको तर्क छ ।

 

अदालतको म्याद तामेलीजसरी समय नतोकिएको बताउँदै कार्यदलले द्रूत गतिमा काम गरिरहेको उनको भनाइ थियो । त्यस्तै १ नम्बर प्रदेशका कार्यदलका सदस्य भीम आचार्यले पनि कार्यदलले काम गर्दागर्दै समय अभाव भएको बताए । उनले छिट्टै प्रतिवेदन बुझाउने जिकिर गरे ।

 

त्यस्तै दुई नम्बर प्रदेशका सत्यनारायण मण्डलले पनि कार्यदलले काम गर्न नभ्याएको बताए । “बीचमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले दुई नम्बर प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम थियो, त्यसमा तयारी गर्दा यताको काम गर्न भ्याइएन । अब दुई दिनभित्र बुझाउँछौँ,” उनले भने ।

 

त्यस्तै ३ र ६ नम्बर प्रदेशले पनि प्रतिवेदन बुझाएका छैनन् । ६ नम्बर प्रदेशले यसबीचमा प्रदेशको प्रदेश कमिटी, प्रदेशको सचिवालय र प्रदेश पदाधिकारीको नाममात्रै पठाउन भ्याएको कार्यदलका सदस्य युवराज ज्ञवालीले जानकारी दिए । “प्रदेशको मात्रै पठाएका छौँ, जिल्लाको पठाउन भ्याएका छैनौँ,” उनले भने ।

 

यी हुन् टुंगिएका प्रदेश

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा कार्यदलले १८७ सदस्यीय प्रदेश कमिटीको टुंगो लगाएको छ । जसमा पूर्वएमालेबाट १०२ जना सदस्य रहनेछन् भने पूर्वमाओवादी केन्द्रको भागमा ८५ सदस्य परेको कार्यदलका सदस्य किरण गुरूङले जानकारी दिए ।

 

११ जिल्ला रहेको गण्डकी प्रदेशका अधिक जिल्ला पूर्व एमालेकै भागमा पर्नेगरी प्रतिवेदन बुझाइएको छ । गोरखाबाहेक १० वटै जिल्लामा पूर्वएमालेको बाहुल्यता रहेको गुरूङले जानकारी दिए ।

 

“हामीले घटीमा ४२–४३ प्रतिशत हुने र बढीमा ५६ प्रतिशतसम्म पर्ने गरी जिल्ला कमिटीको भागवण्डा मिलाएका छौँ,” गुरूङले जानकारी दिए । उनका अनुसार कार्यदलले प्रदेश र जिल्लाको नेतृत्व भने टुंग्याएको छैन ।

 

“हामीले कतै दुईजना, कतै सर्वसम्मतसमेत नाम सिफारिस गरेका छौँ, प्रदेशको हकमा पनि हामीले कुनै निर्णय लिएका छैनौँ, केन्द्रीय सचिवालयलाई जिम्मा दिएका छौँ,” उनले भने ।

गण्डकी प्रदेश कार्यदलमा किरण गुरूङ, हितराज पाण्डे, जगत विश्वकर्मा र हरि अधिकारी सदस्य छन् ।

 

प्रदेश ५ मा ७ जिल्ला पूर्वएमाले, ५ जिल्ला पूर्वमाओवादीलाई

५ नम्बर प्रदेशका १२ वटा जिल्लामध्ये ७ जिल्ला पूर्वएमालेलाई र ५ जिल्ला पूर्वमाओवादी केन्द्रको भागमा पर्ने गरी प्रतिवेदन बुझाइएको छ ।

 

कार्यदलका सदस्य दलबहादुर रानाका अनुसार पाँच नम्बर प्रदेशले २०३ सदस्यीय प्रदेश कमिटी तय गरेको छ । जसमध्ये १०६ जना पूर्वएमालेबाट सदस्य हुनेछन् भने पूर्वमाओवादीको भागमा ९७ परेको छ । नेतृत्व भने टुंगो लागि नसकेको रानाले जानकारी दिए ।

 

त्यस्तै, कार्यदलमा भएको सहमतिअनुसार प्रदेश मुख्यालय बुटवलमा रहनेछ । बुटवलमा रहेको तत्कालीन एमाले कार्यालय नै प्रदेश मुख्यालय रहने रानाले बताए ।
रानाका अनुसार पार्टी सचिवालयको निर्देशन मुताविक प्रदेश कार्यदल केन्द्रीय निकाय (लेखा, अनुशासन आयोग) मा रहने सदस्य र केन्द्रीय विभाग, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्का लागिसमेत सदस्यहरूको नाम सिफारिस गरिएको छ ।

 

त्यसमा पूर्वएमाले र पूर्वमाओवादी केन्द्रबाट ५०–५० प्रतिशत सिफारिस गरिएको छ । पाँच नम्बर प्रदेश कार्यदलमा शंकर पोखरेल, दलबहादुर राना, मणि थापा र गणेशमान पुन रहेका छन् ।

 

सात नम्बर प्रदेशमा अध्यक्षसमेत टुंगियो

सात नम्बर प्रदेश कार्यदलले पनि प्रतिवेदन बुझाएको छ । निर्धारित समयसीमाभित्रै प्रतिवेदन तयार पारी बुझाइएको कार्यदलका सदस्य कर्ण थापाले जानकारी दिए ।
सात नम्बर प्रदेश प्रमुख पूर्वएमालेको भागमा परेको छ । त्यस्तै सचिव पूर्वमाओवादीले पाउनेछ । प्रदेश प्रमुखमा उनकै (कर्णबहादुर थापा) कै नाम सर्वसम्मतिले कार्यदलले सिफारिस गरि पठाएको छ । त्यस्तै सचिवमा प्रदेश सातका मुख्यमन्त्रीसमेत रहेका त्रिलोचन भट्ट सिफारिस भएका छन् ।

 

९ जिल्ला रहेको सात नम्बर प्रदेशमा ५ जिल्लाको नेतृत्व पूर्व एमालेले पाएको छ भने ४ जिल्ला पूर्व माओवादीको भागमा परेको छ । अध्यक्ष पूर्वएमालेले लिए सचिव पूर्वमाओवादीबाट रहने केन्द्रीय सचिवालयले यसअघि नै निर्णय गरिसकेको छ ।

 

त्यस्तै प्रदेश कार्यदलले १८३ सदस्यीइ प्रदेश कमिटी निर्माण गर्ने सहमति गरी प्रतिवेदन बुझाएको छ । जसमा पूर्वएमालेबाट १०० र ८३ जना पूर्वमाओवादीबाट रहनेछन् ।
त्यस्तै प्रदेश मुख्यालय कैलालीमा रहने सहमति यसअघि नै भइसकेको छ भने कार्यालयका अतिरिक्त प्रदेश ७ को नाममा बैंक खातासमेत सञ्चालनमा आइसकेको थापाले जानकारी दिए ।

 

सात नम्बर प्रदेश कार्यदलमा भीम रावल, लेखराज भट्ट, कर्णबहादुर थापा र लक्ष्मीदत्त जोशी सदस्य रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...