मातृका र वर्षमानले यसरी फुटाए कृषि मन्त्रालय



हाम्रो इकोनोमि

 

 

नेपालको इतिहासमा भागबन्डा मिलाउन बिना कुनै मापदण्ड मन्त्रालय गाभ्ने र फुटाउने गरिँदै आएको छ । विभिन्न पार्टी मिलेर बनेको गठबन्धन सरकार हुँदा मात्र होइन एउटै पार्टीको पूर्ण बहुमत हुँदा पनि मनपरी ढंगले मन्त्रालयहरु फुटाउने गरिएको छ ।

 

जसको उदाहरण केपी ओली नेतृत्वको सरकारलाई लिन सकिन्छ । अहिले नेकपा एक्लैको बहुमत छ । संघीय समाजवादी फोरम सहभागी यतिबेला यो दुई तिहाईको सरकार छ । तैपनि ‘भाग पुर्याउनैका लागि मन्त्रालयहरु फुटाइएका छन् ।

 

केन्द्रमा संविधानले धारा ७६ को उपधारा ९ अनुसार बढिमा २५ सदस्यीय मन्त्री रहने व्यवस्था गरेको छ । यसअघि, २०७४ फागुन ११ मा बसेको मन्त्रीपरिषद बैठकले तत्कालीन ३१ मन्त्रालयलाई गाभेर १८ वटा कायम गरेको थियो । मन्त्रिपरिषद बैठकले कार्यविभाजन नियमावली संशोधन गर्दै मन्त्रालय गाभ्ने निर्णय गरेको थियो ।

 

त्यसको लगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सबै मन्त्रालयहरुलाई पत्र पठाउँदै संशोधित कार्यविभाजन नियमावलीअनुसार १८ मन्त्रालय भएकाले त्यसैअनुसार कामकारवाही गर्न निर्देशन दिएको थियो । अलग–अलग रहेका मन्त्रालय गाभिए पछि सचिवहरूलाई एकीकृत मन्त्रालयमा राख्ने निर्णय सरकारले गरेको थियो ।

 

तर, संघीय समाजवादी फोरम, नेपाल सरकारमा आउने भएपछि सरकारले मन्त्रालयको संख्या १८ बाट बढाएर २२ पु¥याएको छ ।

 

यसरी फुटाइएको थियो कृषि मन्त्रालय

 

प्रधानमन्त्री ओलीले जेठ १८ गते संघीय समाजवादी फोरम, नेपाललाई सरकारमा सहभागी गराए । त्यसदिन भएको सरकार विस्तारमा समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई स्वास्थ्यसँगै उपप्रधानमन्त्रीको जिम्मेवारी दिइयो । फोरमका मोहम्मद इस्तियाक राई सहरी विकास मन्त्री बने । रक्षामन्त्री ईश्वर पोखरेललाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिइयो ।

 

त्यसैगरी यसअघि सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्रीको जिम्मेवारी पाएका गोकुल बाँस्कोटालाई मन्त्रीको जिम्मेवारी दिइएको थियो । जिम्मेवारी हेरफेर भएका दुई र नयाँ दुई मन्त्रीले त्यसैदिन साँझ राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।

 

चौथो र पाँचौ पटकको मन्त्रीपरिषद् विस्तारको बीचमा प्रधानमन्त्री ओलीले मन्त्रालय फुटाउन चाहेका थिए । प्रधानमन्त्रीका एक सल्लाहकारका अनुसार उनले पहिला ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय फुटाउन चाहेका थिए । प्रधानमन्त्री ओलीले पहिला कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई भने फुटाउन चाहेका थिएनन् ।

 

तर, उक्त मन्त्रालय सम्माहलेका मन्त्री बर्षमान पुनले आफ्नो मन्त्रालय फुटाउने प्रधानमन्त्रीको प्रयासमा असन्तुष्टि जनाएका थिए । त्यसपछि ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय फुटाउने प्रधानमन्त्रीको प्रयास रोकिएको ती सल्लाहकारले बताए । मन्त्री पुन निकट स्रोतले पनि उक्त प्रयास भएको पुष्टि गरे । त्यसबेला ऊर्जा र जलस्रोत तथा सिँचाई मन्त्रालय अलग–अलग बनाउन प्रयास भएको स्रोतको भनाई छ ।

 

ती सल्लाहकारले जनाए अनुसार दोस्रोे चरणमा प्रधानमन्त्रीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय फुटाउने प्रयास गरेका थिए । तर, मन्त्री मातृकाप्रसाद यादवले पनि प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेका थिए । उद्योग र वाणिज्य तथा आपूर्ति मन्त्रालय अलग–अलग गराउने प्रधानमन्त्रीको प्रयास थियो ।

 

मन्त्री पुन र यादवले आफ्नो मन्त्रालय फुटाउन नदिएपछि प्रधानमन्त्रीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाउन बाध्य भएका थिए । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले भने प्रधानमन्त्रीको प्रस्तावलाई स्वीकार गरेका थिए ।

 

त्यसपछि गत १० साउनमा सरकारले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाउने निर्णय लिएको थियो । त्यसदिनको मन्त्रिपरिषद् बैठकले कृषि र भूमिव्यवस्था मन्त्रालयलाई अलग–अलग बनाएको थियो । त्यसपछि कृषि तथा पशुपंक्षी विकास र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण अलग–अलग मन्त्रालय भएका थिए ।

 

प्रधानमन्त्री केपी ओलीले साउन १८ गते पाँचौ पटक मन्त्रीपरिषद विस्तार गरेका थिए । त्यसैदिन नवनियुक्त दुई मन्त्री कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाल र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्याललाई पद तथा गोपनीयताको शपथ लिएका थिए । त्यस अगाडि पद्मा अर्याल स्वास्थ्य राज्य मन्त्री थिइन् । स्वास्थ्य मन्त्रीको जिम्मा पाएपछि यादवले अर्याललाई हटाउन माग गरेका थिए ।

 

ओली नेतृत्वको सरकार ०७४ फागुन ३ गते गठन भएको थियो । त्यसपछि उनले फागुन १४, चैत २ र जेठ १८ गते मन्त्रिपरिषद विस्तार गरेका थिए ।

 

विवादास्पद अभिव्यक्तिपछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएपछि कानुन मन्त्रालय खाली थियो । उता स्वास्थ्य राज्यमन्त्री रहेकी अर्याल भने मन्त्री बनिन् । त्यसैदिन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा। सुरेन्द्रकुमार यादवलाई पद तथा गोपनीयताको शपथ गराइएको थियो ।

 

समितीका सुझावलाई पनि कार्यन्वय गरेन सरकारले

२०७४ माघमा मन्त्रिपरिषद् अन्तर्गतको प्रशासनिक पूर्वाधार समायोजन समितिले केन्द्रमा १५ र प्रदेशमा ७ वटा मन्त्रालय राख्ने निर्णय गरेको थियो । सामान्य प्रशासनमन्त्री नेतृत्वको संघीयता प्रशासन पुनर्संरचना समितिले १८ वटा र मुख्यसचिव नेतृत्वको संघीयता कार्यान्वयन तथा प्रशासन पुनर्संरचनासम्बन्धी समन्वय समितिले १६ वटा मन्त्रालय राख्न सकिने सुझाव दिएको थियो ।

 

प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहाल नेतृत्वको प्रशासन सुधार सुझाव आयोगले चाहिँ बढीमा १२ वटा मन्त्रालय बनाउन सुझाव दिएको थियो । भिन्दाभिन्दै समयमा यी सुझाव आउदा केन्द्रमा ३१ मन्त्रालय थिए ।

 

केन्द्रमा चाहिँ संविधानको धारा ७६ को उपधारा ९ अनुसार बढीमा २५ जना मन्त्री रहने व्यवस्था गरिएको छ । प्रदेश सभा सदस्यको २० प्रतिशतमा नबढाइ मन्त्रिपरिषद् गठन गर्न सक्ने संवैधानिक व्यवस्था छ ।

ओली सरकार गठन भएपछि मन्त्रालयको सख्या १८ रहने गरी टुंगाएको थियो ।

 

मन्त्रालयकै कारण यसरी रोकिएका थिए उपेन्द्र

 

उपेन्द्र यादवको पार्टीलाई लिएर यस अघि पनि मन्त्रालय विभाजन भएको थियो । तर, स्रोतका अनुसार उक्त विभाजनले यादवलाई सरकारमा जानबाट भने रोकेको थियो ।

 

स्रोतका अनुसार फागुन १३ गते नै प्रधानमन्त्री ओली, प्रचण्ड र यादवबीच फोरम सरकारमा सामेल हुने सहमति थियो । फोरमलाई दुई मन्त्री र एक राज्यमन्त्री दिने निर्णय थियो । त्यसबेला ‘मधेश आन्दोलनले उठाएका माग सम्बोधन हुने गरी संविधान संशोधन गरिनेछ’ भन्ने राजनीतिक सहमति पनि बनेको थियो ।

 

त्यतिबेला अध्यक्ष यादवले परराष्ट्र मन्त्रालयसहित तीनवटा मन्त्रालय र एउटा राज्यमन्त्री दावी गरेका थिए । त्योसँगै सविधान संशोधनको विषयमा लिखित सहमति गर्नुपर्ने उनको माग थियो । प्रधानमन्त्री ओलीले दुईवटा मन्त्रालय र एउटा राज्यमन्त्री ठीक पारेर राखिएको प्रतिक्रिया पनि दिएका थिए ।

 

उक्त राजनीतिक स्रोतका अनुसार त्यसबेला खानेपानीसहितको सहरी विकास मन्त्रीमा यादव जाने र स्वास्थ्य मन्त्रालयमा फोरमको अर्को नेतालाई पठाउने समझदारी भएको थियो । सहमति अनुसार १४ गते सपथ ग्रहण गर्ने भनिएको थियो । यादवले भने फागुन १५ गतेको लागि प्रस्ताव राखेका थिए । त्यतिबेला पार्टीको बैठक राखेर निर्णय गराउनु पर्ने बाध्यता यादवले सुनाएका थिए । १५ गते नै सपथ लिन यादव सहमत थिए ।

 

उर्जा, जलस्रोत एउटा मन्त्रालय र सिँचाई अर्को छुट्टै मन्त्रालय रहने सहमति पनि बनेको थियो । त्यहि वैठकमा बिना मगरलाई सिँचाई मन्त्री बनाउने समझदारी भएको थियो । स्रोतका अनुसार सहमतिसहित दह्रो हात मिलाएर बालुवाटारबाट यादव, राजेन्द्र श्रेष्ठ, प्रचण्ड र ओली उठेका थिए ।

 

फागुन १३ गते बेलुका ६।३० मा उपेन्द्र र प्रचण्ड बालुवाटारबाट हिँडेका थिए । सोही दिन ७ः३० मा मन्त्रिपरिषदको बैठक ओलीले बालुवाटारमै बोलाएका थिए । त्यही बैठकबाट ओलीले सिँचाई मन्त्रालयलाई उर्जा र जलस्रोतमा राखेर सहरी विकासबाट खानेपानी मन्त्रालय अलग गराउने निर्णय लिए ।

 

सहरी विकास मन्त्रालयबाट खानेपानी निकालेको थाहा पाएपछि यादव झस्किए । यादवलाई शंका लाग्यो–फोरमलाई सरकारमा नलैजाने खेल शुरु भयो । स्रोतका अनुसार त्यतिबेला प्रचण्डले यादवलाई परराष्ट्र वा सूचना तथा सञ्चार मन्त्रालय दिउँ भनेर प्रस्ताव पनि राखेका थिए । तर प्रधानमन्त्री ओलीले मानेका थिएनन् ।

 

प्रधानमन्त्री ओली यादवलाई उनले खोजेको मन्त्रालय दिन तयार नभएपछि फोरम रिसाएको थियो । त्यसपछि फोरमको सरकारमा सहभागी हुने योजना ढिला हुँदै गयो । फागुन १४ गते बिग्रिएको खेल पुरानै ठाउँमा आउन तीन महिना लाग्यो । अन्ततः जेठ १४ गते सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी र फोरमबीच लिखित सहमति भयो । त्यही सहमति अनुसार यादव जेठ १८ गते सरकारमा सहभागि भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...