किन टुङिगएन निर्मला हत्याको अनुसन्धान, गृहमन्त्रीलाई दिईयो यस्तो झुटो सूचना



 

 

साउन १० गते बिहीबार कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महुलियाकी १३ वर्षीय निर्मला पन्त भीमदत्त नगरपालिका–१८ स्थित साथी रोश्नी बमको घर गइन् । कक्षा ९ मा सरस्वती माविमा अध्ययनरत निर्मला रोश्नीको घरमा विज्ञान विषयको पुस्तिका ल्याउन गएकी थिइन् । साँझसम्म पनि नफर्किएपछि आमा दुर्गाले निर्मलाको सोधखोज गर्न थालिन् ।

 

निर्मला नआएपछि आमा रोश्नीकै घरमा पुगिन् । दिउँसो २ बजे नै निर्मला अम्बा लिएर घर गइसकेको जानकारी रोश्नी र उनकी दिदी अनिताले दिए । तर, आमाको मन मानेन, दुर्गाले छोरीको खोजी गर्न थालिन् ।

 

एकछिनपछि फेरि दुर्गा रोश्नीकै घरमा पुगिन् र भित्र हेर्न अनुमति मागिन् । तर रोश्नीकी दिदी अनिताले घरभित्र हेर्न दिइनन्, बरु ‘तिम्री छोरी पोइल गएकी होली’ भनेर उडाइन् ।

निर्मलाका आफन्तजनले वडा प्रहरी कार्यालय र प्रहरी बिट सालघारीमा खबर गरे । निर्मलाकी आमा दुर्गा भन्छिन्, ‘‘प्रहरीले फोटो लिएर भोलि बिहान आउनु भनेर टार्यो ।’’ रातको १२–१ बजेसम्म निर्मलाकी आमा र आफन्त प्रहरी बिट सालघारीमै बसिरहे । बाहिर पानी दर्किरहेको थियो ।

 

साउन १० गते प्रहरीले बमको घरमा कुनै तलासी गरेन । साउन ११ गते अर्थात् अर्को दिन बिहान फेरि निर्मलाकी आमासहितका गाउँले रोश्नीको घरमा पुगे । गाउँलेहरु जम्मा भएकै बेला एकजनाले खोला किनारमा साइकल भेट्टियो भन्ने खबर सुनाए । निर्मलाकी आमा दुर्गा भन्छिन्, “साइकल भेटियो भन्नेबित्तिकै रोश्नीकी दिदी अनिताले साइलक भेटिए लाश पनि त्यतै होला भनिन् ।’’

 

दुर्गाको प्रश्न छ– साइकल भेटियो भन्दा लाश त्यतै होला भनेर अनिताले कसरी दाबी गर्न सकिन् रु नागरिकको आशंका पनि यसैमा छ । नजिकै रहेको उखुबारीमा निर्मलाको शव भेटियो । निर्मलाले साथीको घरबाट लगेको अम्बा, विज्ञान विषयको पुस्तिका र चप्पल पनि घटनास्थलमै भेटियो । पीडितका आफन्तले शव उठाए । तर, कतिपयको भनाइमा– निर्मलाको शव पाइएको स्थानमा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट नआएको आक्रोशमा निर्मलाको शव केहीबेर नगरपालिकाको गेटमा राखिएको थियो ।

 

कञ्चनपुर प्रहरीका एसपी डिल्लीराज विष्ट प्रहरीले घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको बताउँछन् । तर, प्रहरीले हालसम्म घटनाको बारेमा र घटनास्थलको बारेमा आफ्नो स्पष्ट धारणा तयार पार्न सकेको छैन । घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) को एक टोली पनि कञ्चनपुर पुगेको छ ।

 

 

अनिता शंकाको घेरामा, तर प्रहरी भन्छ– संलग्नता छैन

पीडित परिवारका आफन्त र स्थानीय नागरिकको शंका अनितामाथि छ । स्थानीयले अनिताको विगतदेखिको पुष्ठभूमिमा पनि शंका व्यक्त गर्ने गरेका छन् । निर्मलाकी आमा दुर्गाको दाबी छ, ‘निर्मलाको हत्याबारे अनितालाई सबै जानकारी छ । छोरी हराएपछि घरभित्र खोज्न नदिनु र साइकल भेट्नेबित्तिकै लाश पनि त्यतै होला भनेर अभिव्यक्ति दिनुले अनितामाथि आशंका बढाएको हो ।’ योबीचमा कञ्चनपुर प्रहरीले १ सय जनालाई सोधपुछ गरेको बताए पनि दोषी को हो सुराकसम्म पाएको छैन । घटना घटेको ४ साता बित्न लाग्दा पनि दोषीको पहिचान नहुनु दुखद् भएको स्थानीय अधिकारकर्मी नन्दा चन्द बताउँछिन् ।

 

कञ्चनपुर प्रहरीको हिरासतमा अहिले एकजना छन् । पक्राउ परेका बडु थरका युवकको घर घटनास्थल नजिकै छ । त्यसैले निर्मलाको शरीरमा भेटिएका केही शंकास्पद जिवाणु उनको हो कि भन्ने आशंकामा परीक्षणका लागि प्रहरीले काठमाडौं पठाएको छ । तर, प्रहरी अधिकारी नै बडुको संलग्नताको सम्भावना कम भएको बताउँछन् । निर्मला हत्याकाण्डकै अनुसन्धानका क्रममा काठमाडौंमा पनि केही व्यक्तिको बयान लिइएको बताइएको छ । तर, प्रहरी दोषीको नजिकसम्म पुग्न नसकेकोमा स्थानीयको असन्तुष्टि छ ।

 

शंकाको घेरामा रहेकी अनितालाई प्रहरीले पटक–पटक जिल्ला प्रहरी कार्यालयमा झिकाएर बयान लिएको छ । तर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी डिल्लीराज विष्ट भने अनिताको संग्लनताको आधार नै नभेटिएको दाबी गर्छन् । २२ दिनदेखि आन्दोलनको नेतृत्व गर्दै आएकी दबाबमूलक संघर्ष समितिकी अध्यक्ष हेलन श्रेष्ठ घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताउँछिन् । श्रेष्ठ भन्छिन्, “घटना भएको २२ दिन बितिसक्दा पनि प्रहरीले दोषी पहिचान गर्न सकेको छैन, प्रहरीले घटनालाई गम्भीर रुपमा लिएको देखिएन ।’’

 

किन अनितालाई नियन्त्रणमा लिँदैन प्रहरी ?

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुरक्षा अधिकारीहरुका अनुसार अनिताको संलग्नताबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । तर पक्राउ गर्नुपर्ने आधार देखिएको छैन । जानकारहरुका अनुसार अनिता विवाहित हुन् । समाजमा उनको बारेमा विभिन्न खालका टिप्पणी पनि हुने गरेको रहेछ । उनका बुबा सरकारी शिक्षक र आमा दार्चुलाको एक गाउँपालिकामा कार्यरत कर्मचारी हुन् ।

 

स्थानीयको आरोप छ– नेपाल प्रहरीमा अनिताका उच्च ओहदाका व्यक्तिहरु कार्यरत छन्, जसका कारण उनीमाथि प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाउन सकेको छैन । निर्मलाका आफन्तले त कञ्चनपुरका एसपीकै राम्रो सम्बन्ध अनिताको परिवारसँग रहेको बताएका छन् । किनभने एसपी विष्ट र अनिताको परिवार दुवैको पुख्र्यौली थलो पहाड दार्चुला नै हो ।

 

९यसबारे निर्मलाका आफन्तले दिएको बयान बाह्रखरीसँग सुरक्षित छ । निर्मला हत्या प्रकरणमा स्थलगत रिर्पोटिङ गर्ने क्रममा कैयौं व्याक्तिहरुसँग बाह्रखरी टिमले कुराकानी गरेको थियो । कतिपय सन्दर्भ गोपनियताका कारण हामी समाचारमा उल्लेख गर्न सक्दैनौं ।

 

भीमदत्तका मेयर र एसपीप्रति नागरिक असन्तिुष्ट

अहिले यो घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान व्युरोले गरिरहेको छ । निर्मला हत्याकाण्डबारे प्रदेश र केन्द्रीय संसदमा समेत चर्चा भइरहेको छ । निर्मला हत्याकाण्डबारे कञ्चनपुरका एसपी र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट आफन्तको निशानामा छन् । आफन्तको बुझाइमा एसपी विष्टले घटनाबारे सुरुदेखि नै शंकास्पद बयान र व्यवहार देखाएका छन् भने मेयर विष्टले घटनाबारे चासो दिएका छैनन् ।

 

तर, मेयर विष्ट भने घटनाबारे आफू गम्भीर रहेको र दोषीमाथि कारबाही गराउनका लागि आफू हरेक निकायमा धाइरहेको बताउँछन् । त्यसो त बिहीबारमात्रै मेयर विष्टको टोलीले निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका थिए ।

 

मृतक निर्मलाका बुबा यज्ञराज पन्तका अनुसार एसपी विष्टले ४ दिनसम्म शव नउठाएपछि कर्फ्यु लगाएर आन्दोलनकारीलाई गोली हान्ने धम्की दिएका थिए । प्रहरीले घटनाको सुक्ष्म अध्ययन नगरिरहेको स्थानीय पत्रकार अम्बादत्त तिवारीको पनि ठहर छ ।

 

गृहमन्त्रीलाई कञ्चनपुर प्रहरीको झुटो सूचना

सांसदहरुले निर्मला हत्याकाण्डको विषय उठाएपछि गृहमन्त्री रामबहादुर थापाले जवाफमा घटनामा संलग्न दुईजना पक्राउ परेको बताएका थिए । कञ्चनपुर प्रहरीका एसपी विष्टले कैलालीको मोहन्याल गाउँपालिका–५ का २२ वर्षका जीवन घर्तीमगर र कञ्चनपुरका १७ वर्षका दीपक नेगीलाई पक्राउ गरेको जानकारी गृह मन्त्रालयमा दिएका थिए । त्यसैका आधारमा गृहमन्त्रीले संसदमा सांसदहरुलाई जवाफ दिएका थिए ।

 

पक्राउ परेका दुवैजना पछि रिहा भए । पक्राउ परेकामध्ये एकजना एचआईभी संक्रमित रहेको बताइएको छ । उनको लिंग नै घाउले पाकेर काम नलाग्ने भइसकेको प्रहरी बताउँछ । अर्का एकजना मानसिक सन्तुलन ठिक नभएका युवा हुन् । यस्तो अवस्थामा कञ्चनपुर प्रहरीले गृहमन्त्रीलाई झुटो सूचना दिनुका पछाडिको नियत आशंकाको घेरामा रहेको स्थानीय बताउँछन् । पोष्टमर्टम रिपोर्टमा निर्मलाको हत्या घाँटी थिचेर भएको पाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको