पानीजहाज आउँदैछ, बबण्डर गर्नेबेला भएको छैनः देवेन्द्र पौडेल



 

नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका बाग्लुङका सांसद देवेन्द्र पौडेल अहिले गण्डकी प्रदेशमा सक्रिय बनेका छन् । पार्टीका प्रदेश कमिटीहरु र स्थानीय कमिटीको एकता प्रक्रियालाई मूर्त रुपमा दिनका लागि पोखरा आइपुगेका बेला हामीले प्रतिनिधिसभधा सदस्य पौडेललाई पार्टी एकता कहाँ पुग्यो भनेर प्रश्न गर्‍यौं ।

 

पार्टी एकता प्रक्रियामा कतै समस्या नदेखिएको पौडेलले दाबी गरे । साथै सरकारले ५ महिनामा राम्रा कामहरु गरिरहेको भन्दै उनले अहिले अधिनायकवाद आउन लाग्यो भनेर बबण्डर गर्ने बेला नभइसकेको बताए ।

 

पार्टी एकतापछि यतिबेला नेकपाभित्र के-के भइरहेको छ ? जिल्ला र प्रदेशतिर के हुँदैछ ?

साउन २५ गतेभित्र भूगोल र प्रदेशका जनवर्गीय संगठन, पेशागत संगठनका बनाइएका कार्यदलहरुले रिपोर्ट बुझाउने भनेका थियौं । यसको म्याद साउन मसान्तसम्म थपिएको छ । रिपोर्ट लगभग सबै आइसकेको छ । कतैकतै सिफारिस दोहोरिएका कारण अझै मिलाउन बाँकी छ । पार्टी एकताको काम करिब ८० प्रतिशतसकियो भने पनि हुन्छ ।

 

इञ्चार्ज, संयोजक, सचिव पार्टीका फरकफरक पृष्ठभूमिका साथीहरुलाई भूगोल, जनवर्गीय संगठनमा मिलाएर लैजान छलफल चलिरहेको छ । सबै रिपोर्ट आइसकेपछि केन्द्र र प्रदेशले समेत आवश्यक निर्णय गरेर भदौ ५ गतेसम्म करिब एकीकरण गरिसक्ने भन्ने हाम्रो निर्णय छ ।

 

एकीकरण प्रक्रिया मिलाउन कत्तिको सकस छ ?

भयानक सकसको महसुस गरेका छैनौं । दुई अलग-अलग अस्तित्व र संरचनालाई एउटै सूत्रमा बाँध्न, एउटै प्रणालीमा ल्याउन केही होमवर्क हुनुपर्छ र त्यो भइरहेको छ । यो क्रममा अन्तरंग छलफल आवश्यक भएकाले हामी त्यही क्रममा छौं ।

 

चुनाव अघिसम्म माओवादी र एमालेले हिँडेका बाटा र शैलीहरु फरक थिए । एउटै मूलबाटो बनाउन त गाह्रै होला नि ?

हिजो आन्दोलनको अवस्था थियो । एकात्मक निरंकुशता, राजतन्त्रका विरुद्ध आन्दोलन गर्दा यसका रुपहरु फरक थिए । हामीले बल प्रयोगको व्यवहारिक सिद्धान्तलाई कार्यान्वयन गरौं भनेर सशत्र संघर्षको बाटो हिँड्यौं । तत्कालीन नेकपा एमालेले जनता जनार्दनको बाटोद्वारा राजतन्त्रको अन्य गर्न सकिन्छ भनेर हिँडेको थियो । तर, हाम्रो लक्ष्य एउटै थियो ।

 

एकाथरिले बायाँतिरबाट फरकरुपमा राजतन्त्रको विरोध गरे, अर्कोथरिले दायाँतिरबाट फरकरुपको आन्दोलन गरे । अहिले अवस्था फेरियो । राजतन्त्र फालियो, सबैको चाहाना अनुसार लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्‍यौं । संघीयता, समावेशी, समानुपातिक पहुँच र प्रतिनिधित्वको आंशिक भए पनि सुनिश्चित गर्‍यौं । स्वभाविकरुपमा विद्रोहको राजनीति र आन्दोलनको राजनीतिबाट सिफ्ट भएर विकासका मुद्दाहरुमा केन्द्रित भएका छौं । यसैक्रममा हाम्रा मुद्दा र एजेन्डाहरु मिल्न गए । अनि हामी पार्टी एकताको निश्कर्षमा पुग्यौं ।

 

अब अगाडि बढ्ने सन्दर्भमा विचार र राजनीतिका सम्बन्धमा असाध्यै नजिक पुगेर एकीकरण गर्दैछौं । श्रमिक र उत्पीडन समुदायको हित, साधन र आर्थिक समृद्धिसहितको समाजवाद भनेर हाम्रो लक्ष्य पनि मिल्यो ।

 

फरक विगत र आˆनै इतिहासको पनि त हिसाब-किताब गर्नुपर्‍यो होला नि ?

विगतको हाम्रो इतिहास, प्राप्त भएका सबै उपलब्धि र त्यसलाई दुबैले स्वीकार गरेरमात्रै एकतामा लागेका हौं । फरक-फरक कोणबाट तानाशाही शासन फाल्न भएका आन्दोलनलाई एकले अर्कालाई स्वीकारेका छौं । दुवै आन्दोलनको महत्व थियो र त्यसैको बलले आजको परिवर्तन आएको हो भन्नेमा हामी एक मत छौं ।

 

पार्टी एक हुने कुरा पार्टीको अवस्था र सत्ताको स्वार्थले पनि प्रभावित पारेको होला नि ? नत्र लामो गृहकार्य र वैचारिक- सैद्धान्तिक बहसविना फरक विचारको मिलन कसरी हुन्छ ?

विल्कुल सत्ताको स्वार्थले काम गरेको हो भन्ने आधार छैन । यो त समय र आश्यकताको माग हो । प्रचण्डलाई चुनावमा कांग्रेसले आधा-आधा सिट गरौं, प्रधानमन्त्री तपाईंलाई ५ वर्ष लेखेर दिन्छौं भनेको थियो । यो बनावटी कुरा होइन, साँचो हो । सरकार र सत्ताका लागि त्यो बाटो हुन सक्थ्यो । तर, त्यो अवसरवादी हुन्थ्यो ।

 

नेपालका वामपन्थी विचार बोकेका यी दुई शक्तिहरु, त्यसमा पनि दुई पार्टी फरक-फरक धार र फरक प्रकारले देशैभरि संरचना भएका पार्टी हुन् । यी दुई पार्टीको आवश्यकताले एकता भएको हो । प्रचण्ड स्वयमले सेफल्यान्डिङ गर्न वा समस्या परेर मिल्न लागिएको होइन । यो नै इतिहासको आवश्यकता, जनताको माग, अन्तर्राष्ट्रिय समुदाय सबैका कारण दुबै पार्टीका अध्यक्षज्यूहरुले एकताको प्रक्रिया अगाडि बढाउनु भएको हो ।

 

दुई पार्टीका नेता कार्यकर्ताका आ-आफ्नै चरित्र छन् । अब तल्लो तहसम्म सबैको पद, अस्तित्व र अपनत्व हुने गरी मिलाउन गाह्रो छैन ?

दुई शैली भएका पृष्ठभूमिका व्यक्तिहरु हामी छौं । पूरै समय राजनीति गरेका विद्रोही स्वाभावका र अलि बढी समर्पण गरेका साथीहरु बढी माओवादीमा हुनुहुन्छ । अलि बढी जनतासँग जोडिएका, संघसंस्थासँग जोडिएका, जनताका दैनिकीसँग जोडिएका अलि बढी व्यक्ति एमालेमा हुनुहुन्छ । दुवैथरिको आवश्यकता हामीले महसुस गरेका छौं ।

 

संगठित भएर, पार्टीले खटाएका ठाउँमा पुग्ने कार्यकर्ता पनि आवश्यक छ र जनताका अबको दैनिकीहरुसँग पार्टीलाई जोड्ने कार्यकर्ता पनि आवश्यक छ । महाधिवेशनसँग यो कोर्ष सम्भवतः पूरा हुन्छ । त्यसपछि एमाले, एमालेका रुपमा रहँदैन, माओवादी माओवादीको रुपमा रहँदैन । दुबै एकअर्कामा विलय भएर नेपाल कम्युनिस्ट पार्टी र हामी नेकपाका कमरेड हुनेछौं ।

 

 

तपाईं गण्डकी प्रदेशमा पार्टी मिलाउन सक्रिय भइराख्नुभएको छ । यहाँ कस्ता कस्ता आवाजहरु आइरहेका छन् ? आकांक्षा कस्ता देखिइरहेका छन् ?

यो प्रदेश ठूलो होइन, चिटिक्कको प्रदेश हो । नेकपाले यो प्रदेशमा एकीकरणलाई पनि पर्यटन र यहाँको सम्भावनाको रणनीतिक हिसाबले जोड्दैछ । प्रदेशलाई व्यवस्थित बनाउनका लागि सक्षम व्यक्ति नेतृत्वमा आउँछन् । म कहाँ परें होइन कि पार्टीले जनताको आवश्यकतालाई पूरा गर्नुपर्छ, हामीले समृद्धिका ढोकाहरु खोल्नुपर्छ र त्यसका लागि म, ऊ, यो भन्नुभन्दा पनि निडर, समक्ष व्यक्ति आउँछन् । र, उसलाई सबैले आत्मसात गर्ने गरी निर्णय हुन्छ ।

 

कार्यदलमा गम्भीर छलफल भइरहेको छ । जिल्ला-जिल्लाबाट त्यसरी नै सिफारिस भइरहेका छन् । हामीबीच आत्मिक र भावनात्मक सम्बन्ध छ । फरक-फरक पृष्ठभूमिबाट आएका कारणले कुनै-कुनै जिल्लामा सानातिना बहस होलान् । तर, म एकदमै आशावादी छु । हामीले दुई तहमा मिलाउँदैछौं ।

 

पहिलो तहमा जिल्ला र प्रदेशलाई मिलाएर एकै ठाउँमा ल्याउँछौं । केन्द्रका विभागहरुसँग जोड्ने कुरा हुन्छ । केन्द्रको सचिवालयदेखि अन्य कुरा पनि मिल्छन् । दास्रोमा नगरपालिका र गाउँ तह मिलाउने काम हुन्छ । त्यसमा पनि त्यति धेरै समस्या आउँदैन । अझ बढी स्थानीय तहमा अन्तघुलित छन् । त्यसैले मिलाउन गाह्रो छैन ।

 

गण्डकी प्रदेशको नेतृत्व लिन यहाँको आकांक्षा छ भन्ने आइरहेको छ नि ?

पार्टीले कुन कमरेडलाई के भूमिका दिँदा ठीक हुन्छ भनेर निर्णय गर्छ, उसैले नेतृत्व गर्ने हो । स्थायी कमिटी र केन्द्रीय सचिवालय तथा पार्टीले दिएको जिम्मेवारी सम्हाल्न हामी तयार छौं । हामीबीच धेरै आकांक्षा छैन । पार्टीले जुन कमरेडलाई जुन जिम्मेवारी दिए पनि कार्यभार पूरा गर्नेछौं ।

 

अन्त्यमा, नेकपाको सरकार बनेको आधा साल बित्न लाग्यो । तर, उसका गतिविधिमाथि आलोचना चर्को हुन थालेको छ । अधिनायकवादी शैलीमा दुई तिहाईको सरकार हिँडिरहेको छ भन्ने आवाज उठिरहेको छ नि ?

आलोचना आवश्यक छ । लोकतान्त्रिक अभ्यासमा आलोचना, विरोध, खबरदारीलाई गलत ढंगले हेरिनुहुँदैन । यो चाहिने कुरा हो । अनि अहिले नै सरकारले केही पनि गर्न सकेन भनेर निश्कर्ष निकालेर बबन्डर गर्नेबेला भएको छैन । बल्ल पाँच महिना बितेको छ । योबीचमा सरकारले दुई शक्तिराष्ट्र भारत र चीनलाई सन्तुलित गर्न महत्वपूर्ण भूमिका खेल्यो ।

 

राष्ट्रिय गौरवका आयोजनाका सपना देखाउने रेलमार्गका कुरा, सुरुङमार्गका कुरा, एयरपोर्ट निर्माण र स्तरोन्नति गर्ने कुरा भएका छन् । मान्छेले जतिसुकै जे भने पनि पानीजहाज ल्याउन प्रक्रियागत हिसाबले अगाडि बढाउने कुरामा गम्भीरतापूर्वक सरकार अघि बढेको छ ।

 

यो सरकारले जनतालाई आशा जगाउने केही काम पनि गरेको छ । जस्तो सिन्डिकेटको कुरा भयो । यही सरकारले तीनै तहको सरकारको अभ्यास पनि गरिरहेको छ । तीनै तहमा सरकारको टुंगो लगाउने काम, त्यसलाई व्यवस्थित गर्ने काम भएको छ । एकाध महिना यसले समय लियो । यो वर्ष नियमन गर्ने काममै समय बित्छ । अर्को वर्षबाट बल्ल कामले गति लिन्छ ।

 

सरकारको काम कारवाही र कार्यशैलीलाई प्रतिपक्षीले खबरदारी गर्नु स्वाभाविकै हो । तर, अधिनायकवाद भनेको पूर्वाग्राही हिसाबले आरोप लगाइएको शब्द मात्रै हो । जतिबेला कांग्रेसको दुईतिहाई सरकार हुँदा पनि सडकमा भएको कम्युनिस्टले अधिनायकवाद देखायो भन्थ्यो । त्यही पृष्ठभूमिको कांग्रेसले अधिनायकवादको नारा लगाइरहेको छ । यसको कुनै तुक छैन । अर्थ छैन ।रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस
टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको