हत्या अभियुक्त राज्यमन्त्रीलाई ३ घण्टा मै अदालतले छोड्यो, घटनाको दिन ससुराको उपचारमा



 

सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक (असई) थमन विकको हत्या आरोप लागेका २ नम्बर प्रदेशका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा साधारण तारेखमा रिहा भएका छन् ।

 

महोत्तरी जिल्ला अदालतको न्यायाधीश ब्रजेश प्याकुरेलको इजलाशले थुनछेक बहसका क्रममा सोमवार आदेश गर्दै शर्मालाई साधारण तारेखमा रिहा गरेका छन् । शर्मासँग महोत्तरी जिल्ला अदालतले करीब २२ वटा प्रश्नमा बयान लिएको शर्माका तर्फबाट बहस गरेका कानून व्यवसायी रामनरेश पाण्डेले बताए ।

 

घटना भएको दिन ‘२०७२ भदौ २५ गते तपाई कहाँ हुनुहुन्थ्यो’ भन्ने सवालमा ‘आफ्नो ससुराको शारीरिक अवस्था ठीक नभएकाले उपचारको सिलसिलामा ससुराली महोत्तरीको पिपरामा थिएँ, त्यसको भोलिपल्ट बिहान २६ गते मात्र जलेश्वर फर्किएको’ बयान शर्माले अदालतमा दिएका छन् । घटनामा आरोपी बनाइएका अन्य प्रतिवादीलाई चिन्नुहुन्छ भन्ने सवालमा धेरैलाई चिनेको बताएका छन् ।

 

तत्कालीन समयमा मधेश आन्दोलन भएको बेला आफू तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) को महोत्तरी अध्यक्ष समेत भएकाले आरोपितमध्ये धेरै जना राजनीतिकर्मी भएकाले पनि चिनेको जवाफ उनले दिएका छन् । आफूहरूको आन्दोलन शान्तिपूर्ण रहेको समेत उनले बताएका छन् ।

 

अदालतले शर्मालाई थमन विकको हत्या गरिरहेको क्रमका तस्बिर पनि देखाउँदै ‘ती मानिसलाई चिन्नुभएको छ वा छैन’ भन्ने सवालमा शर्माले ‘भन्न सकिन्न’ भन्दै जवाफ दिएका जनाइएको छ ।

 

शर्मासँग अदालतले ३ घण्टा समय लगाएर बयान लिएको थियो । ११ बजेदेखि लिइएको बयान २ बजे सकिएको थियो । बयान सकिएलगत्तै महोत्तरी जिल्ला अदालतका मुख्य न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासमा थुनछेकको बहस भएको थियो ।

 

राज्यमन्त्री शर्मा सोमवार करीब १० बजे अंगरक्षक सशस्त्र प्रहरीका हवल्दार र कानून व्यवसायीसहित अदालत पुगेका थिए । उच्च अदालत जनकपुरले साउन १५ गते असई थमन विकको हत्या आरोपीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई परमादेश जारी गरेको १३ दिनपछि राज्यमन्त्री शर्मा अदालतसमक्ष निवेदन साथ उपस्थित भएका हुन् ।

 

असई विक हत्यामा २८ जनालाई आरोपी बनाइएको छ । जसमध्ये अधिकांश प्रहरीको सूचीमा फरार देखिन्छन् । तेस्रो मधेस आन्दोलन चलिरहँदा महोत्तरीमा कार्यरत सशस्त्र प्रहरीका असई विकको २०७२ भदौ २५ गते हत्या गरिएको थियो ।

 

आन्दोलनकारीको आक्रमणमा परेर गम्भीर बनेका विकलाई उपचारका लागि जनकपुर ल्याउने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । विक हत्याका २८ जना आरोपीमध्ये महोत्तरीका सञ्जय साह र प्रदिप साह पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । अर्का आरोपी मोहन ठाकुर तारेखमा छन् ।

 

असई विकको हत्यामा संलग्न २८ जनाको नामै किटेर उनका दाजु प्रेमबहादुर विकले २०७२ असोज १ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिएका थिए । त्यही जाहेरीको आधारमा जिल्ला अदालत महोत्तरीले २०७२ फागुन २७ गते बयानका लागि इजलाससमक्ष पेश गर्न र फरार रहेका प्रतिवादीको हकमा वारेन्टको ७० दिने म्यादी पूर्जी जारी गरेको थियो ।

 

फरार आरोपीलाई पक्राउ गर्न वारेन्ट जारी गरेको ७० दिनसम्म पनि महोत्तरी प्रहरीले आलटाल गरेपछि असई विककी श्रीमती शोभा गहतराजले २०७४ चैत २८ गते परमादेशका लागि उच्च अदालत जनकपुरमा रिट दायर गरेकी थिइन् । उनको रिटमा जिल्ला प्रहरी कार्यालय महोत्तरी र कार्यालयका प्रमुखलाई विपक्षी बनाइएको थियो ।

 

एम्बुलेन्स आगजनी मुद्दामा सुनुवाइ भएन

राज्यमन्त्री शर्माविरुद्ध एम्बुलेन्स तोडफोड तथा आगजनी मुद्दा समेत लागेको थियो । उक्त मुद्दामा प्रहरीले शर्माको घरमा ७० दिने म्याद पूर्जीको सूचना समेत टाँस गरेको भएपनि मुद्दामा वारेन्टेड मुद्दा नभएकाले बाँकी सबै प्रतिवादी एकसाथ जम्मा भएर बेरीतपूर्वक टाँस गरिएको म्याद बदर गरिने शर्माका कानून व्यवसायी पाण्डेले लोकान्तरलाई बताए ।

प्रतिक्रिया दिनुहोस
टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको