ममाथि ठाडो अन्याय भयो, लडाइँ जारी छ, ओली र प्रचण्ड मिलेर मलाई घटुवा गरे : झलनाथ खनाल
एमाले–माओवादी एकतासँग जोडिएका दुईवटा विषयले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाललाई बेला–बेला झस्काउँछ । पहिलो घटना– एमाले–माओवादीबीच पार्टी एकता हुँदा उनी चीनमा थिए । त्यसैले पार्टी घोषणा समारोहमा सहभागी हुन पाएनन् ।
एकता सभामा सहभागी हुन नपाएका खनाललाई दोस्रो झड्का त्यसबेला लाग्यो जब एकीकृत पार्टीमा उनको बरियता तोकियो । तत्कालीन एमालेमा अध्यक्ष केपी शर्मा ओलीपछि दोस्रो बरियतमा रहेका खनाल एकीकृत पार्टीमा दुई अध्यक्ष र माधव नेपालपछि चौथो बरियतामा धकेलिए । खनाल एकीकृत पार्टीमा आफ्नो तेस्रो बरियता हुनुपर्ने पक्षमा छन् ।
उनी नेकपाको नौ सदस्यीय सचिवालयका सदस्य हुन् । नेकपाले नेताहरूको बरियता तोक्दा पनि खनाल दोस्रो पटक उपचारका लागि चीनमा थिए । नेतृत्वले पार्टीको चौथो वरियतामा राखेकोमा उनको असन्तुष्टि कायमै छ । पार्टीको सचिवालय बैठकमा खनालले यो मुद्दा प्रवेश पनि गराएका छन् । आफ्नो असन्तृष्टि जारी रहेको र न्याय नपाउँदासम्म लडिरहने उनको भनाइ छ ।
चीनबाट स्वास्थ्य उपोचार गरेर केही दिन अगाडि फर्किनुभयो, अहिले कस्तो छ स्वास्थ्य अवस्था ?
मेरो स्वास्थ अहिले राम्रो छ । म निकै वर्ष अगाडिदेखि प्याराथाइराइडको समस्या र किड्नीमा ढुङ्गाको समस्याले ग्रस्त थिएँ । म त्यसलाई अरू उपायबाट हल गर्ने कोसिस गरेको थिएँ । तर त्यो ठीक हुन सकेन, त्यसले गर्दा म अप्रेसनको बाटोमा जानुपर्यो । मैले चीनको सिचुवान प्रान्तको छन्तुस्थित ‘वोइस्ट चाइना इन्टरनेसनल हस्पिटल’मा उपचार गराएँ । धेरै राम्रो, एड्भान्स हस्पिटल रहेछ । करिब करिब ४६ हेक्टर जमिनमा फैलिएको विशाल हस्पिटल छ । हस्पिटलको व्यवस्थापनदेखि हरेक कुरा राम्रो लाग्यो । त्यहाँ मैले अप्रेसन गराएँ । अप्रेसन राम्रो भयो । अहिले मलाई राम्रो महसुस भइरहेको छ ।
२०७५ जेठ ३ गते एमाले र माओवादीबीच एकीकरण भएको दिन तर एकीकरण घोषणा समारोहमा तपाईं देखिनुभएन । मानिसहरूले तपाईंको अनुपस्थितिलाई अचम्म नै माने । तपाईं त्यसबेला चीनमा हुनुहुन्थ्यो । तपाईंलाई पार्टी एकताको पूर्वजानकारी थिएन कि, खासमा भएको चाहिँ के थियो ?
त्यो एउटा संयोग थियो । पार्टी एकताको प्रक्रिया अघि बढ्दै छ, त्यो कुनै पनि बेलामा हुन सक्छ भन्ने एकातिर सुनिश्चित त थियो । अर्कोतिर त्यहिबेला हुन सक्छ भन्ने जानकारी चाहिँ थिएन । न मलाई जानकारी थियो न त पार्टीका अध्यक्षहरूले यो दिन गर्ने भनेर टुङ्गो नै गरेका थिए । अहिले जुन अप्रेसन गरेर आएँ यही उपचारकै सिलसिलामा अध्ययन गर्न म चीन गएको थिएँ । त्यहीबेलामा यहाँ एकता भयो । यो एउटा संयोग हो ।
यसको मतलव अध्यक्षद्वय केपी ओली र प्रचण्डसँग सल्लाहमै जानुभएको थियो ?
म चीन जानुपूर्व सरसल्लाह गरेर नै गएको हुँ । तर पार्टी एकीकरण कतिबेला हुन्छ भन्ने कुनै सुनिश्चितता थिएन । त्यहीबेला अचानक एकीकरण गरिहालौँ भन्नेखालको कुरा आयो, त्यसपछि अघि बढौँ भन्ने भयो ।
चीनबाट फर्केपछि तपाईंले बरियताका विषयमा असन्तुष्टि राख्नुभएको थियो । पार्टी बैठकमा कुरा राख्ने भन्नुभएको थियो । तपाईं महाधिवेशनबाट बरिष्ठ नेता हुनुभयो । तर पनि अहिले तपाईं पार्टीमा दुई जना अध्यक्ष र माधव नेपालपछि चौथो बरियतामा हुनुहुन्छ । कसरी लिनुभएको छ ?
इतिहासका धेरै कुरातर्फ म जान चाहन्नँ तर म पूर्व नेकपा मालेको ३९ सालमै महासचिव भएको मान्छे हुँ । त्योभन्दा अगाडि कोअर्डिनेसन केन्द्र थियो, त्यसको सचिव भएको हुँ । मैले कम्युनिस्ट मुभमेन्टलाई निरन्तर नेतृत्व गर्दै आएँ । पटक–पटक मैले पार्टी प्रमुख भएर काम गरेँ । ६४ सालमा पनि पार्टी अध्यक्ष भएर काम गरेँ । पार्टी महासचिव भएँ । त्यसपछि अध्यक्ष भएँ आठौँ महाधिवेशनबाट ।
७० सालसम्म मैले पार्टीलाई हाँकेर आएँ । यी सम्पूर्ण कुराहरू इतिहासले जे प्रमाणित गर्छ, त्यो तथ्यहरूले विश्लेषण गरिनु पर्थ्यो । तर तथ्यहरू एकातिर, निश्चित नेताहरूका इच्छा एकातिर भयो । तिनै निश्चित नेताहरूले आफ्नो इच्छा बमोजिम पनि गर्ने काम भयो । यो अन्यायपूर्ण काम भएको छ । त्यो अन्यायको बारेमा मैले बोलिसकेँ अब पटक पटक दो¥याइ रहन चाहन्नँ ।
यो विषय पार्टी बैठकमा पनि राख्छु भन्नुभएको थियो ?
पार्टीको सचिवालय बैठकमा यो कुरा राखिसकेको छु । त्यसबारेमा छलफल पनि भएको छ ।
तर तपाईंको असन्तुष्टि हल भएन नि ?
अहिले पनि मेरो असन्तुष्टि जारी छ र मेरो लडाइँ पनि जारी छ ।
–यो विषय पार्टीमा कहिलेसम्म राख्नुहुन्छ ?
यो निरन्तर राखिरहन्छु । जबसम्म कम्युनिस्ट पार्टीले न्याय दिदैँन, न्याय प्राप्त नहुँदासम्म मेरो लडाँइ जारी रहन्छ ।
–यसको मतलव बरियतामा तपाईं आफूमाथि धोका भएको मान्नुहुन्छ ?
मैले यसको जवाफ दिइसकेँ । यो धोकाभन्दा पनि अन्याय हो, सोझो र ठाडो अन्याय । कम्युनिस्ट पार्टीमा पनि अन्याय हुन्छ भन्ने कुराको उदाहरण अहिलेको पार्टी नेतृत्वले दिएको छ । यो कुरालाई नेतृत्वले सच्याउनुपर्छ । सत्य त्यो होइन, तथ्य त्यो होइन । त्यो कुरालाई उनीहरूले सच्याउन सक्नुपर्छ, तब मात्रै परिस्थिति ठीक ठाउँमा आउँछ ।
–राष्ट्रपतिमा दाबी गर्नुभएको थियो, त्यहाँ पनि धोका पाउनुभयो ?
अब धेरै विगतका प्रसङ्गमा म जान चाहन्नँ । तपाईंलाई मेरो अनुरोध, नयाँ पश्नहरू छन् भने तिनै सोधिदिनुस् । पुराना कुरामा धेरै नजाऊँ ।
–तर पनि झलनाथ खनाललाई धोका मात्र हुन्छ । तपाईंको स्वभावले कि तपाईंसँग बलियो गुट नभएर हो ?
मैले तपाईंलाई स्पष्ट बताइसकेँ । मेरो भूमिका के हो, मैले के काम गरेर आएँ । मेरो जीवन सिङ्गो खुला किताबजस्तै छ । तर त्यो खुला किताबको विषयमा कसैले ढाँटेर, कसैले छलेर, कसैले उचालेर वा कसैले पछारेर तलमाथि पार्न सक्दैन । त्यसैले कसैले मलाई उचालेर वरिष्ठता बनाइदिने, कसैले फेरि पछारिदिने हुँदैन । तथ्य के हो ? त्यसको आधारमा सत्य पत्ता लगाउनुपर्छ । माक्र्सवादी पद्धति भनेको त्यो हो । अहिलेको नेतृत्वले माक्र्सवादी पद्धतिलाई छाडेको छ ।
–तत्कालीन एमाले र माओवादी मिलेर नेकपा बनाउनुभयो । एकीकृत पार्टीको शीर्ष नेता भएर काम गर्दाको समग्र तीन महिनाको अनुभव कस्तो रह्यो ?
एकताको प्रक्रिया अहिले पनि अघि बढिरहेको छ । माथिल्लो तहमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी निर्माण भयो । यिनीहरूले विभिन्न नीति निर्णयहरू गरिरहेका छन् । अब एकताको प्रक्रियालाई प्रान्तीय, जिल्ला तह, प्रारम्भिक गाउँ, नगरसम्म पुर्याउनेमा हामी लागिरहेका छौँ । सिङ्गो पार्टी अहिले यसैमा केन्द्रित भएको छ । भदौ ५ गतेसम्ममा यी सम्पूर्ण काम गरिसक्नुपर्ने हुन्छ । मलाई लाग्छ भदौ ७ र ८ गतेको स्थायी कमिटीको बैठकले पूर्णरूपले अनुमोदन गरेर सिङ्गो पार्टीलाई एकीकृत गराउँछ ।
–जति स्पिडमा पार्टी एकताको घोषणा गरियो वा माथिल्लो तहका कमिटी निर्माण गरियो । तर तल्लो तहका कमिटीको एकीकरण त्यो स्तरमा भएन । के नेतृत्वको विषयमा विवाद आएर ढिला भएको हो ?
तपाईंले ठीक भन्नुभयो । जति स्पिडमा पार्टी एकता भयो त्यही स्पिडमा तलसम्मको एकता प्रक्रियालाई लैजानु पर्थ्यो । तर त्यसमा ढिलाइ भएको छ । ढिलाइ हुनुको कारणले पार्टीमा एक किसिमको गतिहीनता वा शून्यता छाउन खोजेको छ । त्यसलाई अविलम्ब तोड्नुपर्छ । आउने हप्तामा हामी यी कुरालाई तोड्छौँ र पार्टीले फेरि गति लिन्छ । तल नेतृत्वमा विवाद छैन ।
–प्रदेश, जिल्ला र जवसको नेतृत्व तत्कालीन माओवादी र एमालेले कति–कति लिने भन्ने केही समझदारी भएको होला नि ?
त्यो बारेमा त हामीले विभिन्न कार्यदल बनाएका छौँ । ती कार्यदलले हरेक जिल्लाको वस्तुस्थितिको बारेमा, हरेक जनवर्गीय सङ्गठनका बारेमा छलफल गरेका छन् । प्रस्ताव बनाएका छन् । ती प्रस्ताव यो महिनाको अन्तिमसम्ममा केन्द्रमा आइसक्छन् । त्यसपछि बल्ल हामी अन्तिम टुङ्गो गर्छौं । अबको एकता भनेको फर्मुलाका आधारमा हुँदैन, अबको एकता आवश्यकताको आधारमा हुन्छ, यथार्थताका आधारमा हुन्छ । कहीँ–कहीँ ४०–६० पनि हुन सक्ला, कतै २०–८० पनि हुन सक्ला । त्यहाँको आवश्यकताअनुसार दुवै पार्टीका कस्ता कमिटी छन्, कस्ता मान्छे क्रियाशिल छन् त्यसलाई हेरेर एकता गर्ने काम अघि बढाइन्छ ।
अघि भन्नुभयो भदौ ५ गतेसम्म तल्ला कमिटी र जनवर्गीय सङ्गठनको एकता सकिन्छ भनेर केही दिनअघि दुई दिन चलेको सचिवालय बैठकमा अहिलेसम्म भएको प्रगतिमाथि छलफल भएको होला नि ?
अहिलेसम्म सबै कार्यदलले काम गरिरहेका छन् । कैयौँ जिल्लाहरूमा क्रमशः कार्यदलले आफ्नो प्रस्ताव तयार पारिसकेका छन् । केही अझै बाँकी छन् । केहीले अलिकति समय लिने सम्भावना पनि देखियो । त्यो कारणले गर्दा यो महिनाको मसान्तमा प्रस्ताव बनाउने काम टुङ्गो लगाउने र भदौ ५ गतेसम्ममा सबै कुरालाई टुङ्गोमा पुर्याउने भन्ने कुरा गरिरहेका छौँ । भदौ ५ सम्ममा सबै प्रस्ताव तयार हुन्छ । मलाई लाग्छ, भदौ ७ र ८ गतेको स्थायी समितिको बैठकले सबैकुरा टुङ्ग्याउँछ ।
–भदौ ८–९ गतेतिर स्थायी समिति बैठक बोलाउनुभएको छ । त्यहाँ यही विषयमा छलफल गर्नुहुन्छ ?
हामी सबै एकताका प्रक्रियालाई टुङ्ग्याउनेदेखि लिएर सरकारको कामको समीक्षा गछौँ । पार्टीकै समीक्षा पनि गर्छौं । पार्टी र सरकारलाई अरू गति कसरी दिन सकिन्छ, त्यो विषयमा निर्णय गरिन्छ ।
–प्रवक्ताले दिएको राजीनामाको विषय हल भएको हो कि ?
त्यो खासै ठूलो विषय होइन । पार्टीको आन्तरिक बैठकमा छलफल गरेर टुङ्ग्याउँछौँ ।
– बिहीबार बसेको सचिवालय बैठकले जनप्रतिनिधिलाई कार्यकारी पद नदिने निर्णय गर्नुभएको छ । यो लागू गर्न कठिन हुँदैन ?
केही कठिन हुँदैन । माथिदेखि तलसम्म हामीले ठूलो सङ्ख्यामा जनप्रतिनिधि जितेका छौँ । ती जनप्रतिनिधिलाई पहिचान गर्नका निम्ति पार्टी अलग्गै र सरकार अलग्गै गरेर चल्नुपर्ने हुन्छ । सरकार र पार्टी एकै ठाउँमा हालमुल गरेर चलाउन मिल्दैन । पार्टीले स्वतन्त्रतापूर्वक सरकारलाई सञ्चालन हुन दिनुपर्छ । नीति निर्देशन दिने कुरा पार्टीले गर्नुपर्छ । पार्टीको नेतृत्वमा, पार्टीको मार्गदर्शनमा सबै तहका सरकारहरू विधि समवत ढङ्गले, संविधानअनुरूप चल्नुपर्छ ।
–प्रधानमन्त्रीका हकमा चाहिँ यो विशिष्ट केस हुने भयो । उहाँ पार्टी अध्यक्ष पनि प्रधानमन्त्री पनि हुने । कि प्रधानमन्त्रीको हकमा पनि नयाँ मोडल खोज्ने हो ?
यो माथिको हकमा लागू नहुने र अरू तलको हकमा लागू हुने भन्ने छ । हामी जति तल गयो पार्टीको कामलाई अलग सञ्चालन गर्न आवश्यक देखिएकाले त्यो निर्णय गरेको हो ।
–तपाईंहरूले उमेरको हदबन्दी हटाउनुभयो । कतिपय युवा नेताहरूले विरोध गरे । ७० वर्षपछि नेताहरूले आराम गर्दा के विग्रन्थ्यो र ?
यसबारेमा हामी आउने महाधिवेशनमा छलफल गर्छौं । छलफलको ढोका खुला छ, त्यो बन्द छैन । उमेरहद भनेर ७० वर्ष राखिएको थियो, त्यसलाई हटाइएको छ । अब महाधिवेशनले जे निर्णय गर्छ, त्यो नै लागू हुन्छ ।
–दुई वर्षपछि यहाँहरूले पार्टीको महाधिवेशन गर्ने भन्नुभएको छ । पार्टी नेतृत्व गर्ने रहर पुग्यो कि फेरि पनि कोसिस गर्नुहुन्छ ?
म अहिले सरसल्लाह गरिरहेको छु । आम कार्यकर्ताको जस्तो सुझाव हुन्छ, त्यो ढङ्गले जान्छु । म जुनसुकै दायित्व लिनका लागि अहिले पनि तयार छु र सक्षम पनि छु । अब कुनै पनि प्रकारको दायित्व लिनुपर्ने अवस्थामा म पछाडि हट्ने छैन ।
–छोटो समयका लागि प्रधानमन्त्री हुनुभयो । काम गर्ने इच्छा थियो होला, तत्कालीन परिस्थितिले तपाईं लामो समय प्रधानमन्त्री बन्न सक्नुभएन । देशको कार्यकारी भएर शक्तिशाली प्रधानमन्त्री बन्ने सम्भावना देख्नुहुन्छ ?
अब यो पार्टीको विकास र देशको परिस्थितिमा निर्भर हुने कुरा हो । म कुनै पदको आकाङ्क्षी भएर अहिलेसम्म चलिनँ । अब पनि कुनै पदको आकाङ्क्षी भएर चल्ने पक्षमा छैन । राष्ट्र र जनताको निमित्त समर्पित भएर काम गर्ने हो । त्यसरी नै काम गरेर अगाडि जान्छु । त्यसो गर्दैजाँदा मैले मेरो काँधमा जतिसुकै गह्रौँ दायित्व लिन परे पनि म तत्पर हुन्छु । पार्टी, देश र जनताका निम्ति योगदान हुुन्छन्, ती योगदान दिन म कहिल्यै पछि हट्दिनँ । अब कुनै पनि नेताले काम गर्ने कुरामा वा नेतृत्व लिने कुरामा म अगुवाइ गर्छु नेतृत्व लिन्छु भन्नु त्यो सामान्य कुरा हो । तर यही पद प्राप्तिका लागि काम गर्छु भनेर पदको आकाङ्क्षा लिएर काम गर्ने नेता म हैन ।
इच्छा त छ, सम्भावना कति देख्नुहुन्छ ?
यो परिस्थितिमा निर्भर गर्छ । अहिलेको अवस्थामा हामीले एउटा व्यवस्था गरिसेका छौँ । अब आगामी दिनमा नयाँ परिस्थिति आयो र मैले अगुवाइ गर्ने स्थिति आयो भने स्वाभाविक रूपले प्रधानमन्त्री बन्न सकिन्छ । तर म अगुवाइ गर्छु नै भन्ने ग्यारेन्टी पनि छैन ।
किन ?
धेरै साथीहरू हुनुहुन्छ नि अब । अहिले धेरै युवा साथी आइरहनुभएको छ । म त युवा साथीलाई बढीभन्दा बढी प्रोत्साहित गर्ने पक्षमा छु ।
–पार्टी नेतृत्व र प्रधानमन्त्री आलोपालोे गर्ने विषयमा ओली र प्रचण्डबीच ‘फिक्सिङ’ भएको भन्नेहरू पनि छन् । तपाईंहरूलाई त यसको सत्यता थाहा होला नि ?
यसबारे मलाई थाहा छैन । मसँग कुनै कुराकानी भएको पनि छैन ।
–पूर्वप्रधानमन्त्रीको आँखाबाट हेर्दा केपी ओली नेतृत्वको सरकारको पाँच महिना कस्तो रह्यो ?
हामीले भदौमा स्थायी समितिको बैठक बोलाएका छौँ । त्यो बैठकमा सरकारको कामको समीक्षा गर्छौं । सरकारले ६ महिना पार गर्दै छ । त्यहाँ स्वाभाविक ढङ्गले सरकारको कामको समीक्षा हुन्छ । अहिलेसम्म कति राम्रा काम भए, कति कमिकमजोरी रहे, त्यो कुरालाई उठाउने अवस्था सिर्जना भएको छ । पहिला हामी कमिटीमा छलफल गर्छौं, त्यसपछि मिडियामा छलफल गरौँला ।
तर जनगुनासो त सुन्नुभएको होला नि ? सरकारले जति काम गर्नुपर्थ्यो त्यो गरेन भन्ने ?
सरकारले जस्तो गति लिएर वा लोकप्रियता हाँसिल गरेर विकास निर्माणका काममा लहर सिर्जना गर्नुपर्थ्यो त्यो भएन भन्ने जनगुनासो बढिरहेको छ । यो कुरालाई हामी पनि हेरिरहेका छौँ । यस विषयमा हामी चाँडोभन्दा चाँडो समीक्षा गरेर अगाडि बढ्न चाहन्छौँ ।
–कहिलेकाहीँ प्रधानमन्त्रीले व्यक्तिगत रूपमा सुझाव माग्नु पनि हुन्छ होला नि ?
अहिलेसम्म हामीले सरकारको बारेमा त्यस्तो छलफल गरेका छैनौँ । सामान्यत प्रधानमन्त्रीले नै सरकारलाई सञ्चालन गर्ने काम गरिरहनुभएको छ । अब हामी समीक्षाको विन्दुमा आइपुगेका छौँ ।
–मैले यो प्रश्न गरे भने पनि बैठकमै छलफल गर्छु भन्नु होला । त्यही पनि म यहाँलाई सोधे प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिनुपर्दा के दिनु हुन्छ ?
त्यो चाहिँ केपी ओली र मेरोबीचमा हुने वार्तामा निर्भर गर्छ । प्रधानमन्त्रीलाई यो सुझाव दिन्छु भनेर कुनै मिडियालाई भनेर म सुझाव दिन जाँदिनँ । जतिबेला उहाँको र मेरो आमने–सामने हुन्छ वा भेटघाट हुन्छ, त्यो क्रममै मैले दिनुपर्ने सुझाव दिन्छु । त्यो पनि उहाँले माग्नुभयो भने मात्र ।
–प्रधानमन्त्री र मन्त्रीहरूले पार्टीको समन्वयमा काम नगरेको भन्ने गुनासो छ । तपाईंहरू कस्तो अभ्यास गरिरहनुभएको हो अहिले ?
त्यसैले त हामी समीक्षा गर्दै छौँ । त्यो समीक्षाबाट धेरै कुराहरू निस्कन्छन् । सरकार किन प्रभावकारी हुन सकिरहेको छैन । मन्त्रीहरूले किन प्रभावकारी ढङ्गले काम गर्न सकिरहेका छैनन् । यसमा के कठिनाइ छन्, के बाधा छन् । यी सबै कुराहरू समीक्षा गरेर एउटा निष्कर्षमा पुग्छौँ ।
अहिले नेकपाले सरकार चलाइ रहेको छ कि सरकारले नेकपा चलाइरहेको छ ?
नेकपाले सरकार चलाउनुपर्छ । नेकपाले नीति निर्णय गर्नुपर्छ । नेकपाले कार्यक्रम, योजना दिनुपर्छ र सरकार सञ्चालित हुनुपर्छ । सरकार अगाडि बढेर पार्टीलाई सञ्चालन गर्न खोज्यो भने यो उल्टो हुन्छ । त्यसले मुलुकलाई दुरगतितर्फ लान्छ । त्यसैले नेकपाले पहलकदमी लिँदै छ । उसले समीक्षा गर्ने कोशिस गर्दै छ र सरकारलाई गति दिन प्रयत्न गर्दै छ । सरकारलाई पार्टीको नेतृत्व भएन भने त अगाडि बढ्नै सक्दैन । त्यसकारण पार्टीको देशव्यापी नेतृत्व स्थापित गर्ने कुरालाई हामीले गम्भीरतापूर्वक ध्यान दिनुपर्छ ।
तपाईंको मतलब अहिले सरकारले नेकपा चलाएको छ ?
यो मामलामा केही समस्या देखिएका छन् । यी समस्यामा सचेत भएर हामीले पार्टी नेतृत्वलाई प्रभावकारी ढङ्गले स्थापित गर्नका लागि कोशिस गर्दैछौँ । यो कुरा स्थायी कमिटीको बैठकमा पनि छलफल हुन्छ ।
–पार्टी सचिवालय बैठकमा केही विदेशी शक्तिले सरकार असफल बनाउन लागेको भनेर प्रधानमन्त्रीले ब्रिफिङ गर्नुभयो, त्यस्ता के घटना भए, जसले प्रधानमन्त्रीले यस्तो सोच्नुभयो ?
कुनै कङ्क्रिटरूपमा यो विदेशी शक्ति सरकारलाई असफल बनाउन लागेको छ भन्ने कुरा भएको होइन । तर कतिपय अन्तर्राष्ट्रिय शक्तिको यस्तो चाहना हुन सक्छ भन्ने कुरा मात्र भएको हो ।
–काँग्रेसले सरकारमाथि निकै हमला गरेको छ तर तपाईंहरू सरकारको बचाउमा हुनुहुन्न ? प्रधानमन्त्रीले पनि गुनासो गरिरहनुहुन्छ ?
सिङ्गो पार्टी सरकार प्रभावकारी ढङ्गले सञ्चालित होस्, राम्रोभन्दा राम्रो काम गरोस् भन्ने पक्षमा छ । सिङ्गो पार्टीले प्रशंसा गर्नलायकका काम कारवाही सरकारले गर्नुपर्छ । सरकारले राम्रा काम गर्यो भने सिङ्गो पार्टी त्यसै उभिरहेको हुन्छ । कसैले गुनासो गरिरहनुपर्ने आवश्यकता पर्दैन । तर सरकारले काम राम्रो गर्नुपर्छ । मेरो बुझाइमा सरकारले ६ महिना पूरा गर्दै छ । यो समयमा जति स्पिडमा काम हुनुपर्थ्यो त्यो भएको छैन । हामी त्यसमा समीक्षा गर्नेछौँ । त्यो समीक्षाबाट धेरै कुरा पत्ता लाग्नेछन् । अब एकीकरण पनि सम्पन्न हुन्छ । त्यसपछि सायद यो सरकारले गति लिन्छ ।
–काँग्रेससँग मिलेर काम गर्ने कि पेलेर जाने ?
हाम्रो पार्टी कसैलाई पेल्ने पक्षमा छैन । हामी एउटा डेमोक्रेटिक सेटअपमा छौँ । डेमोक्रेटिकल्ली मुलुकलाई सञ्चालन गर्ने हो । सबैसँग डेमोक्रेटिक रिलेसन राख्ने हो र हाम्रो संविधान जे छ, त्यो संविधानका प्रावधान अनुरूप मुलुकलाई अगाडि बढाउने क्रममा हामी धैर्यतापूर्वक अगाडि बढ्छौँ । प्रतिपक्षले रचनात्मक भूमिका खेल्नुपर्छ । उसले डिस्ट्रक्टिभ भूमिका खेल्यो भने त्यसको परिणाम उसैले भोग्ने हो । त्यसकारण प्रतिपक्षले कस्तो भूमिका खेल्ने भन्ने विषयमा सुझबुझका साथ अगाडि बढ्ने छ ।
–विप्लव पार्टीका एक वरिष्ठ नेतालाई हथकडी लगाएर अदालत लगियो । राजनीति व्यक्तिमाथि त्यस्तो व्यवहार गर्न मिल्थ्यो ?
यो सरकारको कुरा हो । कुन व्यक्तिले के काम गरिरहेको छ, त्यो सरकारलाई थाहा छ । अपराध गरेका छन् भने त्यो सामान्य कुरा हो । कुनै अपराध छैन वा राजनीतिक विरोध गरेको आरोपमा हतकडी लगाइराख्नुपर्ने हुँदैन । उहाँले अपराध गरेको छ कि छैन मलाई थाहा छैन । उहाँले अपराध गरेकै छैन भन्ने कुरा हो भने त्यो सरकारले जान्ने कुरा हो । तर अपराध गरेको छ र संविधान विपरीत गएको छ भने हतकडी लाग्नु स्वभाविक हो ।
– त्यसो भए विप्लव समस्या राजनीतिक हो कि आपराधिक, तपाईं के मान्नुहुन्छ ?
नेपालमा लामो सङ्घर्षपछि डेमेक्रेसी आयो । हामीले संविधान निर्माण गरेका छौँ । अहिले हामी शान्तिपूर्ण तरिकारले अघि बढेका छौँ । अब पनि यो राज्यका विरुद्ध फेरि सशस्त्र विद्रोहको कुरा कसैले गर्छ भने त्यो शत प्रतिशत अपराध हो । म यसलाई अपराध ठान्छु । जुन पार्टीले हिंसाको बाटो लिँदै छ, त्यो नितान्त गलत बाटो हो । उनीहरूले सच्याउनुपर्छ । सशस्त्र सङ्घर्षलाई सधैँभरि न्यायपूर्र्ण ठान्न सकिँदैन । रातोपाटीबाट