भत्तपुर इन्काउन्टर सही हो, अपराध बिरुद्ध नेपाल प्रहरीले कडा कदम चाल्छ : सर्वेन्द्र खनाल, आइजीपी



 

नागरिकले प्रहरी संगठनबाट सुरक्षित समाजको आशा र अपेक्षा गरेका हुन्छन्। सोहीअनुसार प्रहरीले पनि काम काम गर्दै आएको छ। तर, प्रहरी संगठनभित्र बेला बखत घट्ने केही घटनाले भने प्रहरीलाई विवादमा तान्ने काम गर्दै आएको छ। नेपाली प्रहरीको नेतृत्व सम्हालेपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफू विगतमा संगठनभित्र रहेको सकारात्मक कामलाई निरन्तता दिँदै प्रहरीभित्र योग्यता र क्षमताको आधारमा मूल्याङ्कन गर्ने विधि स्थापित गर्ने अभियानमा रहेको दाबी गर्नुभएको छ।

 

जिम्मेवारी सम्हालेको एक सय दिनको अवधिमा उहाँले प्रहरीमा लामो समयदेखि रोकिएको नियमित बढुवाको काम अगााडि बढाउनुका साथै भनसुनकै भरमा कार्यक्षेत्र नगई काजमा बस्ने कर्मचारीलाई तोकिएको ठाउँमा खटाउनुभएको छ। यसै विषयमा प्रहरी महानिरीक्षक भएपछि प्रहरी संगठनमा गरेको सुधारको काम, प्रहरी संगठनभित्रको समस्या र आगामी योजनालगायतको विषयमा केन्द्रित गरेको कुराकानी :

 

तपाईंले प्रहरी महानिरीक्षकको जिम्मवारी सम्हालेको अवधिमा प्रहरी संगठनलाई थप सदृढ बनाउनका लागि के–के काम गर्नुभयो ?
नागरिले अपराधरहित समाज, न्यायको पहुँचका लागि समान व्यवहार होस् भन्ने चाहना राखेका हुन्छन्। मैले प्रहरी संगठनको नेतृत्व सम्हालेपछि नागरिकको चाहना र भावनाअनुसार नै कामको थालनी गरेको छु। मेरो मताहतलाई स्पष्ट निर्देशन छ। प्रहरीले दिने सेवा शुल्करहित हो, निःस्वार्थ सेवा हो। प्रहरी संगठन पसल थापेको जस्तो पनि होइन। कहाँ मर्का परेको छ, त्यहाँ जाने हो। कतिको भ्वाइस हुन्छ। कतिको भ्वाइस हुँदैन।

 

ठूलो भ्वाइस आउनेको कुरा सुन्ने तर भ्वाइस नआउनेको कुरा नसुन्ने भन्ने हुँदैन। संगठनभित्र राम्रो काम गर्ने वातावरण बनाइएको छ। प्रहरीभित्र कामको आधारमा मूल्याङ्कन गर्ने परिपाटीको विकासलाई थप सुदृढ बनाएको छु। मातहतको कर्मचारीको मर्का हेरिदिने प्रमुखहरूको काम हो। नागरिकले प्रहरीसँग गरेको अपेक्षा प्रहरीको शुद्ध नैतिक आचरण र व्यवहार हुन भन्ने मैले बुझेको छु। सुरक्षित समाज निर्माण गर्ने कुरामा प्रहरी प्रतिबद्ध छ। कहींकतैबाट समाज असुरक्षित हुने वातावरण सिर्जना हुन नदिन दृढ छु।

 

हिजो फिल्डमा बसेर काम गर्दा र अहिले नेतृत्वमा रहँदा केही फरक महसुस गर्नुभयो?

म धेरै फिल्डमा पनि बसेर आएँ। फिल्डको काममा नै प्रहरीको समग्रता प्रतिबिम्बित हुन्छ। नीतिगत रुपमा जे काम भए पनि फिल्डमा कस्तो सेवा दिइएको छ, त्यो कुरा महत्वपूर्ण हुन्छ। त्यसकारण फिल्डका समस्या समाधानमा म केन्द्रित छु। करिब १४ सय प्रहरी कार्यालयमा त शौचालय नै रहेनछन्। यही वर्षभित्र त्यहाँ शौचालय बनाउने अभियान सुरु भएको छ। नेतृत्वमा रहेर फिल्डका समस्या समाधानमा म अघि बढेको छु।

 

प्रहरी संगठनभित्र योग्यता र क्षमताको आधारभन्दा पनि सोसफोर्स धेरै चल्छ भन्छन् नि अझै पनि ?
विगततिर म धेरै फर्किन चाहन्न। संगठनलाई एकताबद्ध बनाएर क्षमताको आधारमा संगठनभित्र काम गर्ने परिपाटी विकास गर्नुपर्छ भन्ने मेरो स्पष्ट मान्यता छ। म आउनुअघि सबै कर्मचारीको वृत्ति विकास रोकिएको अवस्था थियो। संगठनभित्र केही निराशाजनक अवस्था जस्तो देखिएको थियो। अहिले उत्साह जागृत भएको छ। संगठनमा केही अप्ठेरो आउने गर्छन्। यस्तो विषयको समाधान गर्नका लागि सजाय र पुरस्कारको व्यवस्था गरिएको छ। प्रहरीले आफूलाई दिएको म्यान्डेट निष्ठा र इमान्दारीतापूर्वक डेलिभरी गर्नुपर्छ। यिनै काम गर्नका लागि मैले मेरो नेतृत्वलाई यसरी नै बुझेको छु । सगसँगै कर्मचारीको मनोबल उच्च बनाउने काममा म दृढ छु।

 

काम गर्ने शैली राम्रो हुनुपर्यो। प्रहरी संगठनभित्र काम गर्ने भएपछि भनसुन शैली छोडनुपर्छ। अब गलत प्रवृत्ति हावी हुन दिन्नँ। गलत प्रवृत्ति हावी हुन दिँदा न्यायमा पहुँच हुँदैन। त्यो कुरा रोकिनुपर्छ। प्रहरीले काम गर्दा सेवाभावले काम गर्नुपर्यो। राष्ट्र र नागरिकको सेवा गर्छु भन्ने कुरा संगठनभित्र आबद्ध सबैले हृदयबाटै लिन जरुरी छ। दक्षताअनुसारको काम पाउने, दक्षता अभिवृद्धि गर्ने, तालिमका वृत्ति विकासको कुराहरूमा सचेत छु। भनसुनकै आधारमा केही पाउँछु भन्ने गलत मानसिकता अब त्याग्नुपर्छ। योगदान र क्षमताको आधारमा अगाडि बढ्नु भन्ने मानसिकता राख्न जरुरी छ। संगठनभित्र पुर्याएको सेवा, क्षमताको आधारमा आफूलाई विश्वास गर्ने परिपाटीको विकास गर्नुपर्छ।

 

संघीय प्रहरी ऐन कानुन मन्त्रालयमा पुगेको छ, यसमा प्रहरीको सेवा अवधिलगायतका बारेमा प्रहरी प्रधान कार्यालयलले सरकारलाई के–के सुझाव दिएको छ ?
प्रहरी संगठनलाई संघीय मोडलमा लैजानका लागि धेरै पहिलादेखि नै होमहर्क भए। विभिन्न चरणमा समिति, आयोगहरू पनि बन्यो। त्यसमा हामीले कसरी प्रभावकारीरूपमा पुलिसिङ गर्न सक्छौं। अहिलेको संरचनामा अधिकारको पनि समुचित व्यवस्थापन गर्न जरुरी छ। त्यो अधिकार व्यवस्थापन गर्ने सन्दर्भमा जटिल अवस्था पनि हो। किनभने संघीय प्रहरी ऐन बनाएर संघीय प्रहरी ऐनअन्तर्गतको प्रादेशिक संरचनामा पनि जानुपर्नेछ। संविधानमा जे कुरा राखिएको छ, त्यसको कार्यान्वयन गर्न धेरै नै अगाडि बढेका छौं। ऐन राम्रो आउनुपर्छ। दीर्घकालीन पनि होस्। मूलतः सर्भिस डेलिभरीमा राम्रो क्वालिटीको सर्भिस दिन सक्ने हुनुपर्छ।

 

नयाँ संरचनाअनुसार सबै स्थानीय तहमा प्रहरी कार्यालय स्थापना हुन सकेको छैन नि किन ?
अहिलेको अवस्थामा विभिन्न स्थानीय तहमा ५ सय चौकी माग छ। नगरपालिका र गाउँपालिकामा प्रहरी चौकी नभएको स्थानमा प्रहरी चौकी स्थापना गर्दै छौं। गाउँपालिका र नगरपालिकामा नै ३० वटा चौकी आवश्यक छ। जसमध्ये १७ वटामा पुगिसकेका छौं, बाँकी १३ वटामा केही समयभित्र नै स्थापना गछांै।

 

टोल–टोलमा प्रहरी पुर्याउने अभियान कसरी अगाडि बढिरहेको छ ?
टोल–टोलमा प्रहरी भन्ने एउटा अवधारणा हो। प्रहरी यहाँ पनि आउँछ। प्रहरीको उपस्थिति हुनु भनेको सुरक्षाको प्रत्याभूति हुनु हो। समस्या बुझ्न र सही समाधान गर्नका लागि टोल–टोलमा प्रहरी भनिएको हो। यसका लागि कतिपय गोष्ठी गरेका छौं। गृह मन्त्रालयबाट जारी भएको ८२ बुँदामा पनि यो कुरा परेको छ। प्रहरीप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक सोच आउँछ। तब प्रहरीप्रति विश्वास पनि बढ्छ। नागरिकले पनि प्रहरीलाई सहयोग गर्नुपर्छ। सबै मिलेर मात्र समाज सुरक्षित र अपराधमुक्त बनाउन सकिन्छ भन्ने मान्यताको साथ यो अभियान अगाडि बढेको हो।

 

प्रहरी संगठनभित्र बढी राजनीतीकरण हुँदा प्रहरीले अपेक्षाअनुसारको काम गर्न नसकेको हो ?
प्रहरीभित्र गलत अभ्यास रोक्न म दृढ छु। प्रहरीले इमान्दार भएर अगाडि पेस हुनुपर्छ र जहाँ प्रहरी चुक्दैन त्यहाँ प्रहरीले उपस्थिति दह्रो हुन्छ। अनि मात्र उसले सही र गलत छुट्याउन सक्छ। सही के गलत के भन्नका लागि त ऊ आफू सही हुनुपर्यो। आफू गलत छ भने सही र गलत छुट्याएको कुरा समाजले कहाँ मान्छ ? मैले रोल मोडलका रूपमा प्रहरी संगठन रहनुपर्छ भनेको छु। म प्रहरी संगठनको प्रमुखको हैसियतले म जसरी अगाडि बढ्छु मेरो मताहतका कर्मचारी सोहीअनुरूप अगाडि बढनेछन्।

 

मेरो मातहतका कर्मचारी नैतिकरूपमा जिम्मेवार हुनै पर्छ। म गलत भएर राम्रो अफिसर खोज्न पाउँदिन। मेरो स्पष्ट बुझाइ के हो भने– मैले राम्रो काम गरेर देखाउनुपर्छ, अनि मातहतका कर्मचारीले गर्छन्। खटाएको ठाउँमा जाँदा मैले कमान्डका रूपमा प्रस्तुत हुनुपर्यो। बहादुर कमान्डर हुनका लागि नैतिक साहस चाहिन्छ। त्यो नैतिक बल मसँग छ। यो संगठन मजबुद हुनुपर्छ। ‘रुल अफ ल’ मेन्टेन्स हुनुपर्छ।

 

कतिपय कुरा सोधिन्छन्। कतिपय कुरामा फेबर खोजिन्छ। तर, त्यो काम हुन्छ, यो काम हुँदैन। यो कारणले काम हुन सक्छ, यो कारणले काम हुन सक्दैन भन्न सक्नुपर्छ। राम्रो कामबाहेक मैले केही सोचेको छैन। केही कुरा आए भने यो कारणले नराम्रो काम हो भन्न म सक्छु। त्यो नैतिक आँट र साहस मैले राखेको छु। विगतमा राजनीतिक भए भन्ने कुरामा गलत अभ्यास रोकिनुपर्छ।

 

विगतमा प्रहरीको महानिरीक्षक आर्थिक चलखेल हुन्छ भन्ने कुरा आउँथे, तपाईंको अनुभव के छ ?
यो सरकारले मलाई राम्रो काम गर्नका लागि बनाएको हो। प्रहरी महानरीक्षक हुँदा म जसरी भएँ, त्यसरी नै काम गरिरहेको छु। विगतमा के–के भए म त्यतातिर जान चाहन्नँ। म महानिरीक्ष बन्दा कोही कसैसँग कसैले एक रुपियाँको कुरा पनि भएन। मैले संगठनमा आजसम्म गरेको कामको निष्ठा कदर गरेर मलाई जिम्मेवारी दिइएको छ। म दृढताको साथ भन्छु– संगठनमा सबैले खोजेको उपयुक्त बेला आएको छ। नराम्रो गर्नुपर्ने कुनै गुन्जायस नै छैन। नागरिकको आशा, विश्वास र भरोसाअनुसार नै प्रहरी राम्रो बन्छ भन्ने विश्वास दिलाउन चाहन्छु।

 

समाजमा हुने गुन्डागर्दी नियन्त्रण गर्न के योजना अगाडि सार्नुभएको छ ?
पुलिस पुलिस जस्तो हुनुपर्छ। जहाँ प्रहरी हुन्छ, त्यहाँ गुन्डा रहन सक्दैन। अपराधीको मनोविज्ञान हतोत्साहित हुनै पर्छ। प्रहरी कमजोर छैन। गलत गतिविधिका विरुद्ध प्रहरी लाग्छ। घर–घरमा प्रहरी हुन सक्दैन। जब समाज सुरक्षित हुँदैन तब बोलवाला र अपराधमा लाग्नेको दबदबा चल्छ। अनि नागरिकमा वितृष्णा आउँछ। समाजमा गुन्डागर्दी हाबी भएको अवस्थामा विकासको काम अवरुद्ध हुन्छ। जब विकास हुँदैन तब सुरक्षित समाज पनि रहन सक्दैन। यस्तो कार्यले त राष्ट्रियतामा समेत असर पुर्याउँछ। हरेक नागरिकले म सुरक्षित छु, देशभित्र सुरक्षित वातावरण छ, भन्ने वातावरण निर्माण गर्न प्रहरी प्रतिबद्ध छ।

 

गरिकले प्रहरीलाई हेर्ने दृष्टिकोणमा थप परिवर्तन ल्याउन के गर्नुपर्छ जस्तो लाग्छ ?
मैले प्राथमिकताको आधारमा रणनीतिक योजनहरू निर्माण गरेको छु। प्रहरीलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउनुपर्छ। पहिला बन्ने काम गरौं। म प्रहरी महानिरीक्षकको हैसियतमा के गर्नुपर्ने हो, त्यो गर्न चाहन्छु। अनि प्रहरीले गर्नुपर्ने काम गर्नुपर्छ। प्रहरी हाम्रै लागि हो भन्ने अनुभूति नागरिले गर्नुपर्छ, त्यो वातावरण बनाइन्छ। प्रहरीले नारा दिएर होइन व्यवहारमा नै काम गरेर देखाउँछ। प्रहरीलाई आधुनिक साधन तथा प्रविधिले सम्पन्न बनाउनेतर्फ मेरो ध्यान छ।

 

प्रहरी संगठनमा तल्लो तहका कर्मचारीलाई मुटुमा राखेर काम गर्छु भन्नुभएको थियो, अहिलेसम्म के–के काम गर्नुभयो ?
सब–इन्सपेक्टर प्रहरी सहायक निरीक्षक, प्रहरी जवानको रोकिएको बढुवाको काम भएको छ। यो संगठनमा उनीहरूको ठूलो योगदान छ।

 

यहाँले प्रहरी संगठनभित्र पनि केही भाइरस छन् भन्नुभएको थियो। भाइरस नियन्त्रणको काम कहाँ पुग्यो ?
एन्टी भाइरस इन्स्टल भएको छ। अहिले नियन्त्रण हुँदै छ। अब निर्मूल हुन्छ। प्रहरीमा भाइरस रहनुहुँदैन। भाइसरले धेरै ठूलो ड्यामेज गर्छ। घुनजस्तो छ भने छानेर निकाल्नुपर्छ। ठूलो कुरा विगतमा कमी–कमजोरी छ भने पनि सच्चिएर जानुपर्छ। विगतको गलत प्रवृत्तिको निरन्तरता बिल्कुल हुँदैन। प्रहरी संगठन राम्रो छ। प्रहरी संगठनलाई संसारभरबाटले हेर्ने दृष्टिकोणमा फरक ल्याउँछु। राम्रो सर्भिस दिन चाहन्छु।

 

सुनकाण्डका कारण प्रहरीको छवि धुमिल्याउने काम भयो। अहिले पनि सुन पक्राउ पर्ने क्रम रोकिएको छैन नि ?
तस्करहरूको काम नै तस्करी हो। यिनीहरूलाई गलत काम गर्न नदिने हो। हाम्रो काम त तस्करी रोक्ने हो। ल्यायो कि समात्ने हो। राजस्व, भन्सार जस्ता निकायलाई पूर्ण सहयोग गर्ने हो।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सीमानाकामा आपराधिक गतिविधि रोक्नका लागि के योजना अगाडि सार्नुभएको छ ?
अबको प्रहरीलाई प्रविधिसँग जोडेर लैजानुपर्छ। डाटा शेयर गर्नुपर्छ। एक ठाउँको सूचना अर्को ठाउँमा पुग्ने गरी सिस्टम बनाएर नै काम गर्नुपर्छ। हरेक सूचनाको विश्लेषण गर्दै उपयुक्त तहसम्म शेयर गर्नुपर्छ। जसका कारण आपराधिक क्रियाकलाप गर्नेहरू उम्कन पाउँदैनन्। बोर्डर नाकाहरूमा प्रविधिको निगरानी बढाउनुपर्छ। जसका कारण अपराधीको पहिचान गर्न सहज हुन्छ। काउन्टर पाटसँग राम्रो समन्वय कायम गरी आपराधिक क्रियाकलाप निस्तेज पार्नुपर्छ।

 

प्रहरीभित्र सञ्चालन भएका मेस राम्रो छैन भन्ने गुनासो छ नि ?
गुनासोको उचित सम्बोधन हुन्छ। प्रहरी संगठनभित्रको मेस, ब्यारेक, शौचालयलगायतको काममा सुधारको काम शुरू भइसकेको छ।

 

पछिल्लो समयमा बलात्कारको घटना बढेका छन्, यस्ता घटनामा प्रहरीले तत्काल उजुरी नलिने गरेको गुनासो छ नि ?
बलात्कारको घटना न्यूनीकरण गर्नका लागि हामीले काम गरिरहेका छौं। सबैभन्दा ठूलो नैतिक शिक्षाको कुरा हो। बलात्कारको घटना नियन्त्रण गर्न समाजका सबै पक्ष मिलेर अगाडि बढ्नुपर्छ। यसमा कुनै सम्झौता हुँदैन। त्यो कुरामा स्पष्ट निर्देशन दिएको छु– यदि कहींकतै मिलेमतो गरेर गम्भीर अपराधमा संलग्न व्यक्तिहरूलाई बचाउने काम हुन्छ भने त्यस्ता प्रहरीलाई ठाउँको ठाउँ कारबाही हुन्छ।

‘कानुनी कठोरतापूर्व र विवेकपूर्ण निर्ममता’ भनेको छु, यस्ता केसमा त्यो लागू हुन्छ। पीडितलाई न्याय दिनका लागि प्रहरी प्रतिबद्ध छ। केही समयभित्र नै बलात्कारको घटनामा नियन्त्रण गर्नका लागि विशेष अभियान नै सञ्चालन गर्छाैं।

इन्काउन्टर विशेष कुराकानी:

भक्तपुरको इन्काउन्टर घटनाले प्रहरीमाथि नै प्रश्न उठ्यो नि ?
दानवहरूको प्रवृत्तिलाई निरुत्साहित गर्न प्रहरीको उपयुक्त ‘एक्सन’ जरुरी छ। जसरी अपराधी प्रस्तुत भए त्यसमा प्रहरी कमजोर भएर प्रस्तुत हुनुहुन्न। अपराधीले मानिस मार्दै जाने, समात्नका लागि प्रहरी नै घाइते भएर मारिनुहुन्न। त्यस्ता एक्सनहरू आइपर्ने एक्सन हुन्, नियतवश होइन। यसलाई कतिपयले नचाहिने नियतले गरेको हो कि भन्ने आशंका व्यक्त गरेका छन्। प्रहरीले समाजमा शान्ति सुरक्षा कायम गर्नका लागि दृढतापूर्वक परिस्थितिअनुरूप एक्सन लिनुपर्छ र लिन्छ।

 

प्रहरीले कानुन हातमा लिन खोजेको हो ?
हतियारको प्रयोग उचितरूपमा गर्नुपर्छ। कानुनले पनि भनेको छ– भाग्दा उम्किन खोज्दा गोलीसमेत चलाउन सकिन्छ। नियन्त्रणमा लिने क्रममा समुचित बल प्रयोग गर्नुपर्छ। प्रहरीले कानुन हातमा लिन खोजेको होइन। कानुनको पालना गर्न प्रतिबद्ध छ।

 

तपाईंले त इन्स्पेक्टर हुँदादेखि नै इन्काउन्टर शुरू गर्नुभएको थियो। यस्तो घटना किन हुन्छ ?
म जनकपुर, बारालगायतका जिल्लाहरू बसें। काठमाडौं परिसर, अपराध महाशाखामा बस्दा समाजलाई सुरक्षित राख्ने क्रममा आपराधिक तत्वहरू सल्बलाउँदा एक्सन लिएको हो। इन्काउन्टर परिस्थितिको परिणाम हो। समाजलाई सुरक्षित राख्नुपर्छ। यो कुरा मानव अधिकारको कुरा गर्नेहरूले पनि बुझ्नुभएको छ। सुरक्षित समाज निर्माण गर्नका लागि आइपर्ने रिक्सलाई पनि सामना गर्दै जाने हो। सकारात्मक दृष्टिकोण राखेर गरेको काममा हुन सक्छ सहयोग गर्नुपर्छ सकिँदैन समर्थन गर्न उचित हो जस्तो लाग्छ।

 

प्रहरी प्रधान कार्यालयभित्र सिन्डिकेट थियो, त्यो तोड्नुभयो भन्ने चर्चा छ, प्रहरीभित्रै कस्तो खालको सिन्डिकेट रहेछ?

त्यो हो। कतिपय प्राविधिक जनशक्तिलाई हामीले ‘रिप्लेस’ गर्न सक्दैनौं। लामो समयदेखि मुख्यालयमा बस्दै आएकाहरुलाई हटाइएको छ। लाभका पदमा बसेका भनिएकाहरुलाई पनि सरुवा गरिएको छ।प्राविधिक रुपमा २०/२२ वर्षसम्म बढुवा नभएका कर्मचारीको समेत बढुवा गरिएको छ। तीव्र रुपमा व्यावसायिक तालिमहरु भइरहेका छन्। सबै जिल्लामा अहिले व्यावसायिक तालिम भइरहेको छ। प्रहरी सेवामा निखार ल्याउन तालिमलाई प्राथमिकतामा राखिएको छ। फौजदारी संहिताको कार्यान्वायनका लागि २७ हजारभन्दा धेरै कर्मचारीलाई तालिम दिइएको छ।

 

प्रहरी संघीय संरचनामा रुपान्तरण हुँदैछ, संघीयतामा प्रहरी कस्तो हुन्छ भन्ने अन्योल छ, यसमा पर्याप्त छलफल नभएको हो कि?

छलफल नभएको कुरै होइन, यसमा पर्याप्त छलफल भएको छ। २ वर्ष अघिदेखि नै यसमा धेरै छलफल भएको थियो। म पनि पहिला २ वटा कमिटीमा बसेर काम गरिसकेको छु। यसका लागि पूर्व प्रहरी महानिरीक्षकको संयोजकत्वमा कमिटी समेत गठन भएको थियो। धेरै छलफल भएर कुराहरु आएका छन्। विभिन्न तहमा छलफल भएका छन्। पिसिसीमा पनि धेरै छलफल भएको छ। अझै प्रहरीलाई काम गर्न सहज बनाउन के-के गर्न सकिन्छ भन्नेमा मेरो प्रयास जारी छ। पहिले बनाइएको मस्यौदालाई अझै परिष्कृत बनाइको छ।

 

संघीयतामा रुपान्तरण हुँदा प्रहरी कमजोर हुने हो कि भन्ने चिन्ता पनि देखिन्छ नि?

प्रहरी कमजोर हुनु हुँदैन भन्ने सबैको धारणा छ। प्रहरी कमजोर बनाउँदा, कानुनी शासन कमजोर बनाउँदा त राज्यका अन्य अंग पनि कमजोर हुनेछन्। प्रहरीलाई बलियो बनाउनुपर्छ भन्ने हाम्रो प्रस्ट धारणा छ र त्यसलाई सम्बन्धित ठाउँमा राखेका छौं।

कमजोर नबनाउन प्रदेश र संघीय प्रहरीबीच ‘लिंकअप’ हुनुपर्छ। जनताले सेवा राम्रो पाउनुपर्‍यो। देश संघीयतामा प्रवेश गर्नुको कारण पनि जनताले सहज रुपमा सेवा पाउन् भन्ने त हो। प्रहरीको सेवा गाउँगाउँमा पुगोस् भन्ने हो। पावर तल गयो भन्ने सोच राख्नु हुन्न। तर ‘कन्ट्रोल’ र ‘ओभरसाइड’ मेकानिजम हुनुपर्छ। ठूला-ठूला घटनाका अनुसन्धान तथा राष्ट्रिय चासोका विषयमा केन्द्रीय प्रहरीलाई अधिकार दिनुपर्छ भन्ने छ। मलाई यसमा ‘अन्डरमाइन’ हुँदैन।

 

प्रहरीको बढुवा सम्बन्धी प्रावधान संशोधन हुन लागेको हो ?

केही कुरा हेरफेर गर्न लागेका छौं। विगतमा ‘करिअर ग्रोथ’का कुरामा अवरुद्ध भएको थियो। बढुवाका लागि समय तोकिएको थियो। जस्तो, एसपीबाट एसएसपीमा जान ४ वर्ष पुग्नुपर्ने भन्ने थियो। त्यो अवधि घट्नुपर्छ भन्ने छ।

प्राविधिक पदमा पनि प्रशासनतर्फको जस्तै कार्यसम्पादन मूल्यांकनको फरम्याट राखेर त भएन नि। डाक्टरले शान्ति सुरक्षामा कति गर्‍यो, अपराध अनुसन्धान के गर्‍यो भन्ने कुरा व्यावहारिक हुँदैन। बढुवाका मापदण्ड छुट्टाछुट्टै हुनुपर्छ। कामको आधारमा कार्यसम्पादन मूल्यांकन हुनुपर्छ। त्यससम्बन्धी प्रस्ताव अघि बढाएका छौं।

 

अहिले इन्स्पेक्टरमा भर्ना भएको एउटा अधिकृतको जागिरको झन्डै आधा अवधि त्यही पदमा बित्ने गरेको छ, यस्तो खालको ‘करिअर ग्रोथ’ले संगठनमा कसरी उत्साह ल्याउला?

यसमा भर्नादेखि नै पुनर्विचार आवश्यक छ। इन्स्पेक्टरमा कति जनाको भर्ना लिने ? ५० जनाको लिँदा हुन्थ्यो कि? हामीले सयभन्दा धेरै लियौं। यसमा पनि हामीले विचार गरिरहेका छौं।
कर्मचारीको सरुवा-बढुवा समयमा हुनुपर्छ। यसका लागि ‘करिअर प्लानिङ’ गर्दै छौं। यसलाई सरल बनाउने प्रयास गरेका छौं। जस्तो लामो समयदेखि रोकिएको प्राविधिकको बढुवा सम्बन्धी समस्या सुल्झायौं। यस्ता समस्या हल गर्ने प्रक्रिया अघि बढिरहेको छ।

 

तपाईले धेरै सुधार गरें भन्नुभयो, तर प्रहरी अधिकृतहरुको सरुवा र बढुवामा राजनीतिक दबाब खेप्न सक्नुभएन, नेता निकट प्रहरीहरु हाबी भए भन्ने छ नि?

यो विल्कुलै गलत हो। राम्रो मान्छे कसैको पिएसओ बसेको छ भने उसले बढुवा नपाउने त कुरा भएन नि। राम्रो भएर नै त ऊ पिएसओमा बस्यो होला। कि राम्रा प्रहरीहरु पिएसओमा बस्नै भएन। राम्रो कारणले ऊ पिएसओमा खटिएको छ, अनि उसले बढुवा नपाउने भन्ने कसरी हुन्छ?

पहिले के थियो भन्नेमा मैले धेरै सुनें। अत्यधिक नेताको टेलिफोन आउँथ्यो भन्ने थियो। तर, अहिले प्रहरी महानिरीक्षकले गर्ने निर्णयमा पूर्ण रुपमा सहयोग छ। कोही प्रहरी कसैको नाता भएकै आधारमा ऊ चाहिँ गलत भन्न मिलेन नि । यो सोच नै गलत हो।

 

आफ्नो कार्यकालमा संगठनभित्र के-के गर्छु भन्ने योजना छन्?

प्रहरी गजबै भयो भन्ने बनाउँछु। हामीले सोेचेको भन्दा प्रहरी राम्रो भयो भन्ने बनाउँछु। त्यसका विभिन्न मापदण्ड हुन्छन्। मुद्दाको सफलतादेखि शान्ति सुरक्षाको अवस्थासम्मले त्यसको मापन गर्छ।

शान्ति सुरक्षामा अपनाइएका विधिहरु कस्ता छन् ? विदेशमा गएर काम गरेको अवस्थाले पनि त्यसको प्रतिनिधित्व गर्छ। जस्तो फर्म्ड पुलिस युनिट (एफपियू)मा लजिस्टिकका कुरा अघि बढाएको छु, त्यसले यूएनमा हाम्रो छवि नै अर्काे हुनेछ। प्रहरीको छवि त कामले नै सुधार्ने हो। समाजलाई लागूऔषधरहित बनाउने अभियान सुरु गरेका छौं।

संस्थागत विकास र सुधारका कामहरु धेरै अघि बढेका छन्। २ वर्ष भन्ने मात्र होइन, दीर्घकालीन योजना कार्यान्वायन अघि बढ्नेछन्। भौतिक संरचनामा सँगसँगै प्रहरीको बानी-व्यहोरामा सुधार, भ्रष्टाचारमा शून्य सहनशीलतामा लान्छौं।सबैभन्दा ठूलो कुरा बानी र आचरण सुधार नै हो। यो कुरामा प्रहरी समाजमा रोलमोडल हुनुपर्छ भन्ने हो र बन्छ भन्नेमा म ढुक्क छु।

 

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
हामी नागरिकको सेवामा समर्पित छौं। नागरिकको तर्फबाट कुनै पनि आपराधिक गतिविधि र क्रियाकलाप हुन खोज्दै छ भन्ने सूचना आएमा धेरै राम्रो हो। हामीले परिवार नभनीकन, आफ्नो सुविधा नहेरीकन देश र जनताप्रति सर्मपित भएर काम गरिरहेका छौं। हामीलाई पनि ऊर्जा र प्रोत्साहन जरुरी छ। कमी–कमजोरी छन् भने सुधार गर्दै लैजान्छांै। हाम्रो सोच नागरिकले खोजेको प्रहरी बनाउने हो। म राम्रो काम गर्न आएको हुँ। मेरो स्पष्ट धारणा छ, संगठनलाई विश्वसनीय बनाउन म अडिक र कृत संकल्पित छु। मेरो आग्रह छ– मिलेर काम गर्दा नै परिणाम निकाल्न सकिन्छ। यदि मेरो काम गलत छ भने सोध्न बुझ्न सक्नुहुन्छ। गलत नियत राख्नेलाई मेरो भन्नु केही छैन। प्रहरी संगठन राम्रो भयो भने सबैको हित हुन्छ। प्रहरी राम्रो बनाउनुपर्छ।

प्रतिक्रिया दिनुहोस
टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको