साफ यू–१५ महिला फूटबल टोली भुटान प्रस्थान
भुटानमा हुने दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा सहभागी हुन ३२ सदस्यीय नेपाली टोली आज त्यसतर्फ प्रस्थान ग¥यो ।
टोलीमा २३ खेलाडी, तीन प्रशिक्षक, पाँच अफिसियल र एक खेल पत्रकार छन् ।
भुटानको थिम्पुमा यही साउन २४ देखि भदौ २ गतेसम्म हुने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ ।
नेपालसँगै यो समूहमा अघिल्लो विजेता बंगलादेश र पाकिस्तान छन् । प्रतियोगिताको यो दोस्रो संस्करण हो ।
समूह ‘ए’ मा भारत, आयोजक भुटान, अफगानिस्तान र श्रीलंका छन् । माल्दिभ्सले प्रतियोगितामा सहभागिता जनाएको छैन ।
प्रीति राईको कप्तानीको नेपाली टोलीमा गोलकिपर सावित्री किसान, पूजा थापा, करिना धिमाल, डिफेन्डर खुस्मा राई, पुष्पा गुरुङ, सुरक्षा सिंह, सरिष्मा थामामगर, सलोनी रानामगर, सरिता न्यौपाने, सविना चौधरी र मनमाया परियार छन् । मिडफिल्डरमा सुष्मा तामाङ, रिया बानु, मनिषा विष्ट, सविता रानामगर, पुनम घिमिरे, अस्मिता चौधरी, सरस्वती हमाल र फरवार्डमा रजनी थोकर, निकिता थोकर, चन्द्रा भण्डारी र अनुष्का शेर्पा छन् ।
मुख्य प्रशिक्षकमा गंगा गुरुङ, प्रशिक्षकमा श्याम मानन्धर र गोलकिपर प्रशिक्षक विनोद महर्जन टोलीमा छन् ।
च्याम्पियनसीप खेलाउन दुई नेपाली रेफ्री, फिफा रेफ्री अस्मिता मानन्धर र फिफा सहायक रेफ्री बीना श्रेष्ठ नेपाली टोलीसँगै भुटान जाँदैछन् ।
नेपालले पहिलो खेल यही साउन २६ गते पाकिस्तानसँग खेल्नेछ । बंगलादेशसँग २८ गते प्रतिस्पर्धा गर्नेछ ।
यसअघि बंगलादेशमा भएको पहिलो संस्करणमा नेपाली टोलीले सन्तोषजनक प्रदर्शन गर्न सकेको थिएन् ।
त्यतिबेला नेपालले कुनै पनि खेलमा जित हासिल गर्न सकेन । नेपाल आयोजक बंगलादेशसँग ६–० गोलअन्तर, भारतसँग १०–० फराकिलो गोलअन्तर र भूटानसँग १–१ गोलको बराबरीमा खेलेको थियो ।