दिल्लीबाट ६८ नेपाली महिलाको उद्धार, खाडीमा रोजगारीका लागि पैसा बुझाएका महिला होटेलमा बन्धक



हाम्रो इकोनोमि

 

नयाँदिल्लीबाट गतसाता उद्धार गरिएका ६८ नेपाली महिलालाई गैरकानुनी रूपमा अरब मुलुक पठाउन खोजिएको पुष्टि भएको छ । उद्धार गरिएका ७१ नेपाली महिलामध्ये ६८ जनालाई दिल्ली हुँदै अरब पठाउन लागिएको पुष्टि भएको हो । उनीहरूमध्ये १६ जनालाई मंगलबार काठमाडौं ल्याइएको छ, ३६ जनालाई शनिबार साँझ दिल्लीबाट भैरहवातर्फ ल्याइएको छ । बाँकी १६ जनालाई मंगलबार मात्रै दिल्लीबाट नेपाल फर्काउने तयारी छ ।

 

नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरिप्रसाद ओडारीले दिल्ली महिला आयोग र दिल्ली प्रहरीको समन्वयमा तीन स्थानमा छापा मार्दा ७१ नेपाली महिला भेटिएको बताए । उनका अनुसार १४ साउनमा दक्षिण दिल्लीको मुनिरकामा १६, १५ साउनमा मैदानगढीमा १६ र १६ साउनमा पहाडगन्जमा ३९ युवती भेटिएका थिए । पहाडगन्जमा सुरुमा ५२ जना महिला भेटिएका थिए ।

 

 

तीमध्ये १३ जना स्वेच्छाले दिल्ली पुगेको र त्यहीँ रहने पुष्टि भएपछि उनीहरूलाई छाडिएको थियो । बाँकी ३९ जनामध्ये तीनजनाले दिल्ली महिला आयोगको सेल्टर होममा बयान बदलेका थिए । उनीहरू स्वेच्छाले दिल्ली पुगेको र त्यहीँ रोजगारीका लागि बस्न चाहेको प्रमाणित भएपछि बाँकी ३६ जनालाई मात्रै शनिबार नेपाल फर्काइएको प्रवक्ता ओडारीले जानकारी दिए ।

 

 

मंगलबार जहाजबाट काठमाडौं ल्याइएकामाथि केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ । दूतावासका काउन्सलर पुरुषोत्तम कँडेलले उनीहरूलाई काठमाडौं ल्याएका हुन् । मैदानगढीमा भेटिएका १६ जनालाई माइती नेपाल र रेस्क्यु फाउन्डेसन दिल्लीको जिम्मा लगाइएको छ । उनीहरूलाई पनि केही दिनभित्रै काठमाडौं ल्याइने जानकारी दूतावासले दियो । हाल उनीहरू दिल्ली महिला आयोगको सेल्टर होममा छन् ।

 

 

दलाल पक्राउ परेपछि पु-याइयो वनासरबाट दिल्ली
दिल्लीको मैदानगढीमा भेटिएका १६ जना महिलालाई वनारस हुँदै दिल्ली लगिएको थियो । तर, वनारसमा १ सय ५० नेपाली महिलालाई बन्धक बनाएको पुष्टि नभएको दूतावासले जनाएको छ । वनारसमा स्थानीय प्रहरीले छापा मारेको थियो । तर, प्रहरीले नेपाली फेला पर्न नसकेको जानकारी दिएको र प्रहरीलाई थप निगरानी बढाउन आग्रह गरिएको प्रवक्ता ओडारीले बताए ।

 

 

२ साउनमा अमर उजाला पत्रिकाले वनारसमा नेपाली युवतीलाई बन्धक बनाइएको समाचार सार्वजनिक गरेको थियो । त्यसपछि विभिन्न स्थानमा छापा मारेर प्रहरीले ६ जना सन्दिग्ध व्यक्तिलाई पक्राउ गरेको थियो । नेपाली युवतीलाई देहव्यापारमा समेत संलग्न गराएको उजुरीका आधारमा स्थानीय जय सिंह (पप्पु) नामका व्यक्तिलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो । उनी भारतीय जनता पार्टीनिकट रहेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । असार दोस्रो साता वनारसमा राखिएका नेपाली युवतीलाई पप्पु पक्राउ परेपछि दिल्ली पु-याइएको थियो ।

 

 

अमर उजालाका अनुसार वनारसबाट साउदी अरबको साहजहाँ जान लागेका युवतीलाई दुईपटक फकाइएको छ । एकपटक ४७ जना र अर्कोपटक दुई दर्जन नेपाली युवतीलाई विमानस्थलबाट फिर्ता गरिएको प्रहरीलाई उद्धृत गर्दै अमर उजालाले ३ साउनमा समाचार प्रकाशित गरेको छ ।

 

 

नेपाली दलालले नै दिल्ली पु-याए
नेपाल सरकारको अनुरोधमा भारतले वनारसको बाबतपुर विमानस्थलबाट खाडी देशमा नेपाली नागरिक जान रोक लगाएको छ । उद्धार गरिएका मध्ये सबैजसोले तेस्रो देश जान नेपाली दलालले दिल्ली पु-याएको बयान दिएका छन् । उनीहरू सुनौली, नेपालगन्जस्थित सीमाबाट दिल्ली पुगेका थिए । ‘एक हप्ताकै बीचमा ७१ जना नेपाली युवती दिल्लीमा फेला पर्नुको कारण देशभित्रै खोज्नुपर्छ, हाम्रो सीमा प्रशासनलाई प्रभावकारी बनाउनुपर्ने अवस्था देखियो,’ नेपाली दूतावासका प्रवक्ता ओडारीले टेलिफोनमा नयाँ पत्रिकासँग भने । पछिल्ला २ वर्षमा वनारसबाट सयौँ नेपाली महिला साउदी लगिएका छन् ।

 

 

२ वर्षदेखि घरेलु कामदार पठाउन कडाइ
सरकारले घरेलु कामदारका रूपमा महिलालाई वैदेशिक रोजगारीमा जान कडाइ गरेको छ । ३ चैत ०७३ को मन्त्रिपरिषद्ले घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका संशोधन गरी गन्तव्य मुलुकसँग श्रम सम्झौता वा समझदारी भए मात्रै घरेलु कामदार पठाउन सकिने व्यवस्था गरेको हो ।

 

 

हाल सरकारले धेरैजसो श्रम गन्तव्य मुलुकसँग श्रम सम्झौता वा समझदारी नै गरेको छैन । श्रम सम्झौता भएको भनिएका केही मुलुकसँगको सम्झौतामा समेत घरेलु कामदारका विषयमा कुनै कुरा उल्लेख नै छैन । घरेलु कामदारका लागि छुट्टै श्रम सम्झौता गर्नुपर्ने आवश्यकता छ । म्यानपावर व्यवसायीहरू भने सरकारले घरेलु कामदार पठाउन कडाइ गरेकाले भारतबाट हुने मानव तस्करी बढेको दाबी गर्दै आएका छन् ।

 

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरू भने खुला सीमाका कारण मानव तस्करी बढेको बताउँछन् । ‘घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा जानै नपाउने भन्ने व्यवस्था होइन,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘जथाभावी घरेलु कामदारका रूपमा पठाउँदा निकै समस्या आएपछि श्रम सम्झौतापछि मात्रै पठाऔँ भन्ने कुरा हो । त्यसो हुन सके कामदार सुरक्षित, मर्यादित र व्यवस्थित रूपमा वैदेशिक रोजगारीमा जान सक्ने अवस्था बन्छ ।’

 

 

अवैधानिक रूपमा विदेशी विमानस्थल प्रयोग
वैदेशिक रोजगार ऐनले वैदेशिक रोजगारीमा जाने कामदारले अनिवार्य स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । विदेशी विमानस्थल प्रयोग गर्नुपर्ने अवस्थामा प्रस्थानविन्दुको अध्यागमन कार्यालयमा तोकिएअनुसार दर्ता गराउनुपर्ने हुन्छ । तर, सम्बन्धित निकायको स्वीकृतिविना नै भारतीय बाटो भएर नेपाली श्रमिक पठाइँदै आएको छ ।

 

 

अमेरिकी प्रतिवेदन भन्छ : सरकारको प्रयास नै अपूर्ण
संयुक्त राज्य अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटले जुन २०१८ मा प्रकाशित गरेको मानव तस्करी प्रतिवेदनअनुसार नेपाल सरकारले मानव तस्करी निवारणका लागि न्यूनतम मापदण्डसमेत पूर्ण रूपमा पालना गर्न सकेको छैन । नेपालको कानुन बाध्यकारी श्रम र यौनकर्मीका लागि हुने मानव तस्करी रोक्न पर्याप्त नभएको प्रतिवेदनको निष्कर्ष छ । ‘पीडित पहिचान गर्न र उनीहरूको पुनस्र्थापनाका लागि स्तरीय सञ्चालन प्रक्रिया (एसओपी)मा समेत सरकार असफल भएको छ,’ प्रतिवेदनमा भनिएको छ ।

 

हुन त सरकारले मानव तस्करीविरुद्ध कानुनी व्यवस्थामार्फत कडाइ बढाएको छ । ०६४ को मानव बेचबिखन तथा ओसार–पसार ऐनले निश्चित किसिमको श्रम र यौनजन्य क्रियाकलापका लागि हुने मानव तस्करीलाई आपराधिक गतिविधिका रूपमा व्याख्या गरेको छ ।

 

 

तर, ऐनले म्यानपावरमार्फत बँधुवा श्रमिकको भर्ना प्रक्रिया, तिनको ओसार–पसारलाई भने मानव तस्करीका रूपमा स्वीकार गरेको छैन । प्रतिवेदनले सन् २००० को संयुक्त राष्ट्रसंघको मानव तस्करीसम्बन्धी अभिसन्धिअनुसार मानव बेचबिखन तथा ओसार–पसार ऐनमा नयाँ किसिमले परिभाषित गर्नुपर्ने आवश्यकता औँल्याएको छ । खासगरी बँधुवा श्रमिक, नेपाली पुरुष श्रमिकको अन्तरदेशीय मानव तस्करी, यौनकर्मका लागि नेपाली महिलाको तस्करी नियन्त्रणका लागि सरकार गम्भीर रूपमा प्रस्तुत हुनुपर्ने बताइएको छ ।

मानव तस्करीका आधारमा विभिन्न मुलुकलाई ४ समूहमा विभाजन गरिएको छ । जसमा नेपाल तेस्रो जोखिमपूर्ण मुलुकहरूको सूचीमा परेको छ ।

 

 

बर्सेनि १६ सय चेलीको उद्धार
-नेपाल प्रहरीका प्रवक्ता शैलेस थापाका अनुसार वर्षमा १६ सयभन्दा बढी चेलीको उद्धार हुने गरेको छ । ‘हाम्रो प्रत्येक सीमानाकामा हेल्प डेस्क छन् । शंकास्पद देखिए हामीले जोकोहीलाई पक्राउ

 

-अहिले दिल्लीबाट उद्धार गरेर ल्याइएका १६ जनालाई प्रहरीले आफन्तको जिम्मा लगाएको छ । नेपाली दूतावासले थप अनुसन्धानका लागि उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को जिम्मा लगाएको थियो । सिआइबीले उनीहरूलाई दुई दिन सेल्टरमा राखेर अनुसन्धान

 

-मानव बेचबिखनको पर्याप्त आधार र प्रमाण नभेटिएपछि सामान्य सोधपुछपछि आफन्तको जिम्मा लगाइएको सिआइबी प्रवक्ता कृष्णहरि शर्माले बताए । उनले भने, ‘उनीहरू आफूखुसी नै वैदेशिक रोजगारीमा गएको खुल्यो । बेच्न लगिएको प्रमाणित भएन । त्यसकारण उनीहरूलाई आफन्तको जिम्मामा छाडियो ।’

-प्रहरीका अनुसार फिर्ता गरिएका सबै चेली वैदेशिक रोजगारीका लागि भारतको दिल्ली हुँदै खाडी मुलुक जान लागेको देखिन्छ । सिआइबीका अनुसार उद्धार गरिएकामध्ये नौजना यसअघि पनि खाडी क्षेत्रमा गएका छन् ।नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...