तक्मा पाउँछु भन्ने आशा थियो तर जेल हाले : कंसाकार



 

नेपाल वायुसेवा निगम अर्थात् ‘आरए’का महाप्रबन्धक सुगतरत्न कंसाकार मंगलबार आफ्नै निवासमा साँझ बडो सन्तुष्ट भेटिए । त्यो स्वाभाविक नै थियो । त्यसको भोलिपल्ट बुधबार (१६ साउन)बाट आरएले इतिहासमै पहिलोपटक आफ्नै वाइडबडी जहाज उडाउँदै थियो । त्यसको तयारी सकेर ढिलो गरी उनी निवासमा आइपुगेको उनको अनुहारमा जति आत्मसन्तुष्टि देखिन्थ्यो, भावभंगीमा त्यति नै दृढता पनि ।

 

 

आफ्नै प्रयासमा निगममा ४ वटा नयाँ जहाज भित्र्याउन सफल भएका उनी बताउँदै थिए, ‘यो त टेक–अफ मात्रै हो, निगमले निकै लामो उडान गर्न बाँकी छ ।’ अब आरएमा ब्याक गियर नलाग्नेमा उनी ढुक्क थिए । तत्कालै उनले अर्को उत्साहपूर्ण विषय सुनाइहाले– आजै मात्रै निगम कार्यकारी समितिले अन्तर्राष्ट्रिय उडानमा जहाजको संख्या १७ र आन्तरिक उडानमा २० पु-याउने निर्णय गरेको छ ।

 

कुनै समय करिब जहाजविहीन भइसकेको नेपाल एयरलायन्सलाई कंसाकारले नवजीवन दिएका छन् । २८ वर्षसम्म एउटा पनि जहाज नकिनेको निगमसँग अहिले ४ वटा नयाँ जहाज छन् भने एउटा पुरानो जहाजले पनि सेवा दिइरहेको छ । विकास निर्माण ठप्प रहेको, नेतृत्वमा बस्नेहरू निर्णय गर्न डराइरहेको अवस्थामा नेपाल एयरलायन्समा यो कसरी सम्भव भइरहेको छ ? हामीले यही जिज्ञासा कंसाकारलाई राख्यौँ । उनले ९ वर्षअगाडिको इतिहास यसरी कोट्याए ।

 

 

‘त्यसवेला नेपाल वायुसेवा निगमको महाप्रबन्धक मै थिएँ । एकैपटक ६ वटा जहाज ल्याएर अन्तर्राष्ट्रिय उडानमा निगमको बलियो पक्कड जमाउने मैले योजना बनाएँ । सोहीअनुसार निगमले एक न्यारोबडी र एक वाइडबडी जहाजका लागि टेन्डर आह्वान ग-यो । करिब तीन दशकदेखि जहाज किन्न नसकेको निगमका लागि नयाँ जहाज अर्डर गरेको थिएँ । राष्ट्रिय ध्वजाबाहकको सेवा विस्तार हुँदा पर्यटक बढ्ने विश्वास थियो । त्यसैले उक्त निर्णय र त्यसको कार्यान्वयनसँगै राष्ट्रपतिबाट तक्मा पाइन्छ भन्ने लागेको थियो । तर, तक्मा दिनुको साटो जेलमा हाले ।’

 

साँच्चै सञ्चालक समितिको स्वीकृतिविनै एयरबस कम्पनीलाई बैना पठाएको आरोपमा उनलाई त्यसवेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको थियो । उनी हिरासतमा बस्नुपरेको थियो । विमान खरिद प्रक्रिया पनि लामो समय अवरुद्ध भएको थियो । सम्झौताअनुसार बैना फिर्ता गर्न एयरबस बाध्य थिएन । तर, उसले बैना फिर्ता गरिदियो र कंसाकारले अदालतबाट सफाइ पाए ।

 

त्यसवेला नेपाल युरोपेली युनियनको हवाई कालोसूची (प्रतिबन्ध)मा थिएन । बजार खुला थियो । त्यसकारण पनि नेवानिलाई निकै माथि लान सकिन्छ भन्ने विश्वास थियो । तर, ‘तर, उल्टै मलाई नै सिकार बनाइयो । स्वयं नेपाल एयरलायन्स पनि सिकार बन्यो ।’

 

विदेशी विमान कम्पनीले एकैपटक ५०, ६० जहाज अर्डर गर्छन् । तर, नेपालमा भने सकेसम्म आरएलाई जहाज अवरोध हुन्छ किन ? कंसाकार भन्छन्, धेरै मानिस नेपाल एयरलायन्सले जहाज चलाउन सक्ला र ? भन्दै अविश्वास गर्छन्, त्यसैले होला । तर, पछिल्लो समय निगमले आफूलाई खरो रूपमा प्रस्तुत गर्दै आएको उनी बताउँछन् । यद्यपि, काम गर्न खोज्ने कर्मचारीलाई तर्साएर काम हुन नदिने र आफ्नो स्वार्थसिद्धि गर्नेहरू अझै पनि सक्रिय रहेको उनको अनुभव छ ।

 

अहिले आरए बोइङ कम्पनीका पुराना जहाज विस्थापित गरी एयरबस जहाजमा केन्द्रित भएको छ । तर, प्रारम्भमा निगम यी जहाज विस्थापित गर्ने पक्षमा थिएन । कंसाकार भन्छन्, नेवानिजस्तो थोरै हवाईजहाज हुने वायुसेवा कम्पनीमा एउटै ब्रान्डका जहाजको संख्या अलि धेरै भएपछि मात्र दोस्रो ब्रान्डमा जानुपर्छ भन्ने मान्यता छ । तर, टेन्डर प्रक्रियामा जाँदा बोइङलाई एयरबसले उछिन्यो, अन्ततः नेपालमा एयरबस युगको सुरुवात भयो । कंसाकारकै पालामा सुरु भएको प्रक्रियालाई टेकेर अन्ततः सन् २०१५ मा पहिलोपटक एयरबस ३२० जहाज नेपाल ओर्लिएको थियो ।

 

उनी पहिलोपटक जहाज खरिद गर्ने वेला पनि बोइङसँग सीधै सम्पर्क गरेर बिनाटेन्डर छोटो प्रक्रियाबाटै जहाज ल्याउने पक्षमा थिए । किनभने, सार्वजनिक खरिद प्रक्रियाअनुसार एउटा जहाज किन्न ३ वर्ष लाग्थ्यो । नेपाल टेलिकममा काम गर्दा उनले टेन्डरमा हुने जालजेललाई नजिकबाट नियालेका थिए । अर्कातिर, ‘पोलिटिकल प्राइस’का कारण अर्को कम्पनी छिर्ने सम्भावना पनि हुन्थ्योे ।

 

तर, मन्त्रिपरिषद्बाट जहाज किन्ने निर्णय गराउन उनी असफल भए । र, टेन्डरमा गए । टेन्डर प्रक्रियामा गएपछि त्यसवेला एयरबसले अन्य मुलुकलाई बेच्नेभन्दा नेपाललाई करिब २० करोड रुपैयाँ कम मूल्यमा एयरबस ३२० जहाज दिएको उनी बताउँछन् । ‘बोइङ चलाइरहेकाले एयरबस खरिद गर्दा समस्या हुन्छ कि भन्ने डर थियो । तर, अहिले भने टेन्डर गर्दा राम्रै परिणाम निस्किएछ भन्ने उनलाई लागेको छ । ‘पहिलो त सस्तोमा जहाज पाइयो, दोस्रो पछिल्लो समय बोइङको तुलनमा एयरबसको बजार विस्तार राम्रो छ र सञ्चालन सजिलो भएको छ,’ उनी भन्छन् ।

 

पछिल्लो समय २ वटा वाइडबढी खरिद गर्दा ग्लोबल टेन्डर गरियो, ६ वटा मुलुकका १० कम्पनीले भाग लिए । ‘हामीले अलिकति पुरानो जहाज भए पनि हुन्छ भनेर टेन्डर गरेको र ब्रान्ड न्यू जहाज नै पाइयो । त्यो पनि एयरबसले दिनेभन्दा पनि कम मूल्यमा,’ उनले भने । दुवै वाइडबडी आइसकेपछि बजारमा चलेका अनियमितताका हल्लाको जवाफ पनि थियो यो । ‘हामीलाई त यसपालि आकाश भैरवले हेरेको हो कि पशुपतिनाथले । नेपालले यति सहजै नयाँ जहाज पायो, यति हुँदाहुँदै पनि कर्मचारीलाई अनेक बहानामा तर्साउन छोडिएको छैन । यो गलत भइरहेको छ,’ उनी भन्छन् ।

 

नेपाल प्रक्रियामा रमाइरहेको मुलुक हो । उनको मूल्यांकन छ, ‘रिजल्ट जेसुकै होस्, कसैलाई मतलब छैन, प्रक्रिया ठीक भयो भने मान्छे ठीक हुने देश हो नेपाल ।’ त्यसकारण दुई जहाज किन्दा ३ वर्ष लाग्दा पनि प्रक्रिया ठीक हुँदा राम्रो भयो भन्ने परिपाटीलाई बदल्नुपर्ने सुझाब उनी दिन्छन् । त्यस अवधिमा जहाज उडाएर कम्पनीले निकै नाफा गरिसक्ने थियो भन्ने मान्यतालाई सरोकारवालाले नबुझ्नु नै उनी विडम्बना ठान्छन् ।

 

मेरो संस्था, मेरो देश डुबोस् मतलब भएन, तर ऐन–नियम कानुनभन्दा एक कदम हट्दिनँ भन्ने मानसिकता रहेसम्म देश बन्दैन– उनको भनाइ छ । ९ वर्षअगाडिको प्रक्रिया सफल भएको भए आज नेवानिसँग १५ हवाईजहाज पुग्थे । त्यसैले नेतृत्वले प्रक्रिया मात्रै हेर्ने होइन, जोखिम उठाउन तयार हुनुपर्ने उनको धारणा छ ।

 

अब उनी आरएको उडान रफ्तारलाई अझै तीव्र बनाउने अभियानमा छन् । कार्यकारी समितिले ५ वर्षभित्र निगमका लागि अन्तर्राष्ट्रिय उडानमा जहाज संख्या १७ पु-याउने निर्णय गरेको छ । ‘मैले यसमा सबै निर्देशकलाई सोधेको छु, आँट छ भनेर सबैले हिम्मत देखाएले यो निर्णय गरिएको हो,’ उनले भने ।

 

यति धेरै जहाज ल्याउँदा व्यापार गर्न नसकिने हो कि भन्ने चिन्ता राजनीतिक र उच्च सरकारी नेतृत्वले मात्रै होइन, आफ्नै कर्मचारीले समेत गर्ने गरेको अनुभव उनीसँग छ । ‘टिकट बेच्ने मान्छेलाई दिल्लीको टिकट बेच्न सजिलो र न्युयोर्कको टिकट बेच्न गाह्रो हो र ? होइन । हङकङ र सिड्नीको टिकट बेच्नुमा कुनै फरक छैन ।

 

इन्जिनियर डिपार्टमेन्टले हेर्नुपर्ने जहाज सबै गन्तव्यमा एउटै मोडलकै हुन्छ । दिल्ली जाने जहाज र अस्टेलिया जाने जहाज मर्मत गर्ने तरिका फरक हुँदैन,’ उनी भन्छन् । अझ पाइलटहरू त भन्छन्— दिल्ली या बम्बईभन्दा त लन्डन, न्ययोर्क र सिडनीमा विमान उडाउन सजिलो छ । किनकि, त्यहाँ त सबै काम प्रविधिबाट हुन्छ । त्यसैले ठूला लक्ष्य लिएर अगाडि बढ्न कुनै समस्या नरहेको उनको भनाइ छ ।

 

नेपाल पर्यटनको विशाल सम्भावना र निराशाजनक वास्तविकता भएको हो । विश्वका धेरै देशमा नेपालले पर्यटनको बजारीकरण गर्नै सकेको छैन । भियतनाम, कम्बोडिया, श्रीलंका, लाओसजस्ता मुलुकमा आरएको मात्रै होइन, कसैको पनि सीधा उडान सेवा छैन । म्यानमार होस् या चीन र भारतकै धेरै सहर, जहाँबाट निरन्तर नेवानिको सीधा उडानको माग छ । तर, जहाज अभावकै कारण त्यो सम्भव हुन सकेको छैन ।

 

कसैले उनलाई सोधेका छन्, त्यसो भए म्यानमारको कम्पनी किन नेपाल आएन त ? किनकि उनीहरूको प्राथमिकता नेपाली पर्यटक हँुदै होइनन्, उनीहरू नेपाललाई गरिब भन्छन्, उनको विश्लेषण छ । तर, हामीलाई त उनीहरू नै चाहिएको छ, त्यसकारण हामी आफँै बजार खोज्दै जाने हो । एकातर्फ सम्भावना र अर्कोतर्फ जहाज नल्याउने, गन्तव्य विस्तार नगर्ने र कर्मचारीले केही गर्न सकेनन् भन्दै गाली गर्ने परिपाटी बदल्न उनी आग्रह गर्छन् ।

 

नेवानिलाई जहाज किन्न सरकार जमानी बस्ने निर्णय गराउन तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले ठूलो पहल गरेको उनको बुझाइ छ । सरकारको ऋण तथा जमानत ऐनमा कुनै पनि कम्पनीले ऋण लिँदा सरकार जमानी बस्ने भन्ने व्यवस्था नै थिएन । तर, तत्कालीन अर्थमन्त्री भट्टराईले ऋण तथा जमानत ऐनमा संशोधन नै गरेर निगमलाई ऋण लिँदा सरकार जमानी बस्ने बाटोे खुलाए । त्यसैमा टेकेर अहिले निगमले ऋण लिई सहजै जहाज भित्र्याउन सकेको हो । ‘नेपाल वायुसेवा निगमलाई पनि जनकपुर चुरोट बनाउन खोज्ने प्रयास धेरै भयो । तर, अब त्यो प्रयास पनि असफल भयो ।

 

२८ वर्षसम्म जहाज नकिन्नु नै निगम धराशयी बनाउने खेल हो,’ उनले भने । हवाईजहाज कम्पनीले बजारमा गएर सजिलै विमान किन्न पाउनुपर्ने उनको भनाइ छ । ‘विमान ल्याउन नरोकौँ, विमान आइसकेपछि अनियमितता भएको रै’छ भने मलाई फासीमा चढाऊ, म तयार छु,’ उनी आत्मविश्वासी देखिए  ।नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
रविलाई सांसद पदबाट निलम्बन नगर्न सभामुखलाई रास्वपाको अनुरोध

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न

डीपी अर्याललाई कार्यवाहक सभापति बनाउने तयारी

    राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ । आज अपरान्ह ४

ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा

    ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा

रास्वपाले बोलायो सचिवालय बैठक

    सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले