नेपालका राजाले भीमसेन थापा देखि माथवरसिंह सम्मको यसरी गरेका थिए हत्या, थापाका सन्तानले पेन्सन पनि पाएनन्
आधुनिक नेपालको निर्माणमा उल्लेखनीय योगदान पु-याएका प्रधानमन्त्रीसरहको मुख्तियार भीमसेन थापा तत्कालीन जेठी महारानी साम्राज्यलक्ष्मीको षड्यन्त्रबाट नजरबन्दमा परे । दरबारको अपमानपूर्ण व्यवहार सहन नसकेर बन्दी अवस्थामै मृत्युवरण गरे या षड्यन्त्रपूर्वक उनको हत्या भयो । उनको शव परिवारलाई सद्गत नै गर्न दिइएन । विष्णुमतीमा लगेर फालियो । कुकुर, स्याल र कौवाले उनको शरीर खाए ।
भीमसेनको अपमानजनक मृत्युवरणपछि भतिजा माथवरसिंह थापा भारतको पन्जाब पसे । तत्कालीन राजा राजेन्द्र शाहले राजकाज सम्हाल्न मुस्किल भएपछि माथवरलाई नेपाल फर्काए । तर, उनले भीमसेनमाथिको अपमानजनक आरोप निरूपण नभई दरबार नफिर्ने अड्डी कसे ।
पछि भीमसेनमाथिको आरोप झुटो सावित भएपछि माथवरलाई जिताह पत्र थमाइयो । नाति शेरजंगले कुसको शव बनाएर भीमसेनको सद्गत गरे । त्यसलगत्तै उनको सम्झनामा कालिमाटीमा भीममुक्तेश्वर स्थापना गरियो । माथवर नेपालकै पहिलो प्रधानमन्त्री बन्न पुगे । तर, वि.सं. १९०१ मा दरबारकै षड्यन्त्रबाट उनको हत्या भयो ।
श्रीविक्रम थापा कर्णेल थिए । पछि राणाहरूलाई हटाउन षड्यन्त्र गरेको र काका माथवरसिंहको हत्याको बदला लिन खोजेको आरोपमा पदबाट हटाएर शंखमूलमा लगेर गर्धन काटियो । उनको हत्यासँगै तत्कालीन सरकारले परिवारको सबै सम्पत्तिमा लखनउलुट (कारबाहीस्वरूप सबै सरकारले लुट्ने) मच्चायो । जनै खोसियो । जात झारेर दलित बनाइयो । काम गर्ने धाई तथा सुसारे सबै जफत गरियो । कसैले पनि थापा परिवारसँग सम्पर्क गर्न नसकोस् भन्ने उद्देश्यले विष्णुमती नदी कटाइयो । दीपेन्द्रविक्रम थापा त्यही थापा वंशको पछिल्लो पुस्ताको रूपमा कालिमाटीमा जन्मिए ।
टुहुरो बालापन
बाल्यकाल कालिमाटी क्षेत्रमै बिताएका दीपेन्द्रविक्रम थापाले आफू ७ वर्षको हुँदा बुबा वेदविक्रमलाई गुमाउनुप-यो । आमा विष्णुकुमारी २३ वर्षको कलिलो उमेरमै विधवा बनिन् । बाबु बितेपछि दीपेन्द्रविक्रमको बाल्यकाल सुखद हुन सकेन । विष्णुकुमारीले जग्गाजमिन बेचेरै भए पनि दुई भाइ छोरा पढाइन् ।
दीपेन्द्रविक्रम सानैदेखि पढाइमा अब्बल थिए । सधैँ कक्षामा पहिलो हुन्थे । ट्युसन पढेरै प्रारम्भिक शिक्षा लिएका उनी कक्षामा सँगै पढ्ने साथीहरूको गृहकार्य जाँच्थे । एकैपटक उनले ५ कक्षाबाट औपचारिक शिक्षा सुरु गरे । ०३२ को एसएलसी बोर्डमा टप टेनभित्र पर्न सफल थापा आइएस्सी पढ्न कलेज भर्ना भए ।
कतै झुकाब नराखी काम गर्नेको कोही नहुँदोरहेछ । राजनीतिक नेतृत्वमा ‘हाम्रा सधैँ राम्रा हुने, राम्राचाहिँ हाम्रा नहुने’ प्रवृत्ति छ ।
जागिर नखाने परिवार
भीमसेन र माथवरको हत्या भइसकेको थियो । माथवरसिंहको दोस्रो पुस्ता श्रीविक्रम थापासम्मले जागिर खाए । कर्णेल हुँदाकै बखत श्रीविक्रमको हत्या भएपछि भने थापा परिवारमा कसैले पनि जागिर खाएनन् । जागिरकै कारण तीन पुस्ताले भयानक पीडा सहनुपरेको थियो । त्यसपछि जागिर नखानु थापा परिवारमा एककिसिमको परम्पराजस्तै बन्यो ।
जुद्धशमशेरले जागिरका लागि आह्वान गर्दासमेत पूर्णविक्रमसिंह थापाले ठाडै अस्वीकार गरिदिए । तर, थापा परिवारमा दीपेन्द्रविक्रमको पुस्तासम्म आइपुगेपछि भने त्यो परम्परा तोडियो । दाइ राजकुमारले तथ्यांक विभागमा तथ्यांक अधिकृतको रूपमा जागिर खाए । त्यसपछि दीपेन्द्रविक्रम नेपाल सरकारको सचिव नै बने । तर, दाइ राजकुमार पार्किन्सन रोगबाट ग्रस्त भएपछि बीचैमा जागिर छोडे ।
डाक्टर–इन्जिनियर बन्ने सपना
परोपकार हाइस्कुलबाट एसएलसी दिएर बोर्ड टप टेनमा परेका थापा डाक्टर–इन्जिनियर बन्ने सपना बोकी विज्ञान विषय लिएर पढ्न थाले । तर, उच्च शिक्षामा त्यसवेला भर्खरै लागू भएको सेमेस्टर प्रणालीसँग भने घुल्न सकेनन् । आइएससी, बिएससी लगातार पास गरेका थापाले सोचेजस्तो परिणाम ल्याउन सकेनन् । त्यसैको परिणामस्वरूप उनले डाक्टर–इन्जिनियर बन्ने सपना त्याग्नुप-यो । त्यसपछि स्टाफ कलेज भर्ना भएर जनप्रशासन (एमपिए) पढ्न थाले ।
०४४ सालमा ७८ दशमलव ४ प्रतिशत अंक ल्याएर नेपाल टप गरे । अहिलेसम्म पनि उनको त्यो रेकर्ड कसैले तोड्न सकेको छैन । त्रिभुवन विश्वविद्यालयबाट वनस्पति विज्ञानमा एमएससी गरेका उनले बेलायतबाट विकास तथा आयोजना व्यवस्थापनसमेत गरी तीन विषयमा स्नातकोत्तर गरेका छन् । त्यसबाहेक थापा सार्वजनिक नीति तथा सुशासन विषयका फेलोसमेत हुन् ।
खुला प्रतिस्पर्धाबाट पहिलो सहसचिव
थापा ०४७ मा तालिम तथा अनुसन्धान अधिकृतका रूपमा आफैँ पढेको स्टाफ कलेज जावलाखेलमा आबद्ध भए । त्यसअघि उनी ०३७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्राविधिक अधिकृत थिए । अध्यापन र अनुसन्धानको काममा रुचि राख्ने उनले आकर्षक तलब भएको जागिर ५ वर्षमै छोडिदिए । जनप्रशासन विषयको पढाइमा होमिए । त्यसपछिका उनका ७ वर्ष त्यहीँ बिते ।
०४८ सालको ‘गिरिजाप्रसाद कोइराला प्रशासनिक सुधार आयोग’ले निजामती सेवाका माथिल्ला पदमा पनि सेवाबाहिरका प्रबुद्ध र विज्ञ व्यक्तिलाई छड्के प्रवेशको बाटो खोल्यो । कुल सिटमा १० प्रतिशत त्यस्तो खुला प्रतिस्पर्धाबाट आउन सक्ने व्यवस्था गरियो ।
स्टाफ कलेजको प्रथम तहसम्म पुगिसकेका उनी ०५४ मा सरकारको सहसचिव पदमा नाम निकाल्न सफल भए । त्यस वर्ष निजामती सेवाबाहिरबाट सहसचिवमा नाम निकाल्नेमा उनी एक्ला थिए । त्यसयता हालसम्म युवकध्वज जिसी र उत्तम भट्टराई गरी थप दुईजनाले मात्रै खुला प्रतिस्पर्धाबाट थापाले जस्तै निजामती सेवा प्रवेशको मौका पाएका छन् ।
नचाहेको बढुवा
निजामती सेवामा प्रवेश गरेपछि उनले ८ वर्ष सहसचिव भएर काम गरे । श्रम तथा रोजगार विभागमा महानिर्देशकमा नियुक्त भएका उनी ४ महिनामै सचिवमा बढुवा भए । निजामती सेवामै रहेर सकेसम्म धेरै समय सेवा गर्ने आशामा रहेका उनलाई सचिव हुँदा त्यो अवधि सीमित हुने चिन्ता थियो । ‘सकेसम्म छिटो सचिव हुन नपरोस् भन्ने चाहन्थेँ,’ उनले भने । सचिव भएपछि उनको सेवा अवधि ५ वर्षमा सीमित भयो ।
कर्मचारीको विद्यमान तलबले चार–पाँचजनाको परिवार धान्न मुस्किल छ । तलब केही बढाउन आवश्यक छ । पुग्दो तलब दिएर पनि भ्रष्टाचारमा संलग्न भएको पाइएमा त्यस्ता कर्मचारीलाई फाँसीको सजाय दिनुपर्छ ।
बनेन पेन्सनपट्टा
थापाले निजामती सेवामा १३ वर्ष २ महिना बिताए । नागरिक उड्डयनमा अधिकृत हुँदाको अवधि जोड्दा उनको निजामती सेवाको अवधि १८ वर्ष मात्रै पुग्छ । २० वर्ष सेवा अवधि नपुगी निजामती कर्मचारीले पेन्सन पाउँदैनन् । निजामती सेवाको माथिल्लो तहमा पुगेका थापा पेन्सनपट्टाविना रित्तै घर फर्किए ।
उनीभन्दा अघि सचिव भएका कोही पनि विनापेन्सन घर फर्कनुपरेको थिएन । एकजना कर्मचारीको विषय भएर होला, राज्यले निजामती सेवाबाट अवकाश पाउँदा विनापेन्सन घर फर्केको कर्मचारीको विषयलाई गम्भीरतापूर्वक लिएन । त्यस विषयमा उपल्लो तहमा जानकारी नपुगको पनि होइन ।
सरकारका मुख्यसचिवदेखि राष्ट्रपतिसम्म सबै जानकार थिए । सबैले उनीमाथि अन्याय भएको स्वीकार गरे । कसैले वास्ता गरेनन् । सबैजसो ठूला पार्टीका मुख्य नेता चिनजानकै थिए । उनीसँग कुनै पार्टीको सदस्यता भने थिएन । ‘कतै झुकाब नराखी काम गर्नेको आखिर कोही पनि नहुँदोरहेछ,’ थापा भन्छन्, ‘राजनीतिक नेतृत्वमा ‘हाम्रा सधैँ राम्रा हुने, राम्राचाहिँ हाम्रा नहुने’ प्रवृत्ति छ ।’
उपदान लिन गएनन्
पेन्सन नपाउँदा कुनै गुनासो नरहेको थापा बताउँछन् । राज्यको उपल्लो ओहदामा बस्नेले आफ्नो योगदानको कदर नगरेको उनको बुझाइ छ । राज्यसँग चित्त दुखाएरै होला, अवकाशपछि पाउने उपदानसमेत उनले लिएनन् ।
उपदान नलिएर उनले राज्यलाई भद्र चुनौती दिए । राज्यको निवृत्तिभरणको सुविधाबाट वञ्चित उनी जीविकोपार्जनका लागि अहिले पनि अध्यापन, तालिम, अनुसन्धानलगायत क्षेत्रमा सक्रिय छन् ।
एक लाख कर्मचारीका गुरु
०४७ तिरदेखि स्टाफ कलेज पढाउन थालेका थापाले निजामती सेवामा रहँदासमेत सरकारको अनुमति लिएर अध्यापनलाई निरन्तरता दिए । एमपिएका अलावा एमफिल, लोकसेवा तयारी, विभिन्न तालिमका प्रशिक्षकका रूपमा उनको अध्यापन अहिले पनि जारी छ । हालसम्म आफूले पढाएका एक लाखभन्दा बढीले निजामती सेवामा नाम निकालिसकेको उनको दाबी छ । जुनसुकै सरकारी कार्यालयमा गए पनि आफूले पढाएका कम्तीमा एक–दुईजना कर्मचारी भेट्ने गरेको उनले बताए ।
दैनिक ८–१० घन्टा अध्ययनमा बिताउने उनले पढाउन थालेको ३० वर्ष नाघिसक्यो । उनले पढाएका विद्यार्थी खरिदारदेखि वर्तमान मुख्यसचिवसम्मका पदमा छन् । यामकुमारी खतिवडा, राजन खनाल, शिशिर ढुंगाना, शंकर अधिकारी, शान्तबहादुर श्रेष्ठदेखि वर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीसम्म थापाकै चेला हुन् ।
लोकसेवा कक्षाको सुरुवातकर्ता
थापाले सरकारी कर्मचारीका रूपमा स्टाफ कलेज मात्रै पढाएनन्, त्रिपुरेश्वरमा प्रशासन तथा व्यवस्थापन अध्ययन केन्द्रको नाममा साथीहरूसँग मिलेर नेपालकै पहिलो लोकसेवा तयारी कक्षा सुरु गरे । पछिल्लो समय लोकसेवा तयारी कक्षाका नाममा विकृति झाँगिँदै गएपछि उक्त संस्था नै बन्द गरे । अहिलेको बजारमा पैसा मात्रै कमाउने उद्देश्यका साथ सञ्चालन भइरहेका कक्षा गलत रूपमा चलिरहेको उनको बुझाइ छ ।
देखेको विसंगति
सरकारी कर्मचारीको तलब आवश्यकताअनुसार कम रहेको थापाको बुझाइ छ । विद्यमान तलबले चार–पाँचजनाको परिवार चलाउन मुस्किल हुने उनको ठम्याइ छ । ‘कर्मचारीको तलब केही बढाउन आवश्यक छ । पुग्दो तलब दिएर पनि भ्रष्टाचारमा संलग्न भएको पाइएमा त्यस्ता कर्मचारीलाई फाँसीको सजाय दिनुपर्छ,’ थापा भन्छन् ।
संगीतमा अब्बल
सानैदेखि गीत–संगीतमा रुचि राख्ने उनले आइएस्सीको पढाइ सक्नेबित्तिकै पहिलो गीत गाए । रेडियो नेपालको राष्ट्रिय गायन प्रतियोगितामा ०४४ सम्म आधुनिक र राष्ट्रिय गीतमा गरी तीनपटक द्वितीय भए । त्यस अवधिमा रेडियो नेपालमा उनका आठवटा गीत रेकर्ड भए । राजेन्द्र रिजालको शब्द र शम्भुजित बास्कोटाको संगीतमा धेरै धेरै प्रयास गरेँ.. बोलको गीत त्यसताका सुपरहिट नै बन्यो ।नयाँपत्रिकाबाट
दोष कसैको बोलको उनको अर्को गीत पनि खुबै चल्यो । निजामती सेवामा प्रवेश गरेपछि भने उनले गायनलाई निरन्तरता दिन सकेनन् । अभ्यास अझै टुटेको छैन । उनी पछिल्लो समय एकसाथ भजन र आधुनिक गरी तीनवटा एल्बम ल्याउने तयारीमा छन् ।