सिंहदरबार भित्रै जारको पानीमा किरा, खानेपानी संस्थानको पानीमा लेदो र हिलो



 

सिंहदरबार भित्रै जारको पानीमा किरा भेटीएको छ । खानेपानी संस्थानले बितरण गरेको पानीमा पनि लेदो र हिलो आउने गरेको । निजी कम्पनीहरुले बितरण गर्ने पानीमा सिंहदरबार भित्रै यस्तो हालत भएपछि जनताको घरमा के हालत होला ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)द्वारा वितरित पानीमा भने उपभोक्ताको धेरै गुनासो छ । केयुकेएलले काठमाडौं उपत्यकाको घरघरमा खानेपानी उपलब्ध गराउने जिम्मा लिएको छ । खानेपानीको नाममा खानै नमिल्ने हिलो गनाउने पानीसमेत उपभोक्ताको घरमा पठाउने गरेको छ । लिमिटेडले जमिनमुनिबाट तानेर विनाप्रशोधन सीधै पठाउँदा पैसा तिरेर पनि काठमाडौंका उपभोक्ता हिलो पानी थाप्न बाध्य छन् ।

 

केयुकेएलका जिम्मेवार अधिकारी उपभोक्तालाई जानकारी गराएरै फोहोर पानी वितरण गरेको जवाफ दिन्छन् । प्रवक्ता सुरेश आचार्यले नयाँ पत्रिकासँग भने, ‘उपभोक्तालाई जानकारी दिएरै त्यस्तो पानी पठाउने गछौंँ । नपिउनुहोला, थिग्र्याएर घरको अरू काम गर्न मिल्छ भनेर उनीहरूलाई प्रस्ट भनिदिएका छौँ ।’ तर, त्यही फोहोर पानी पठाउने पाइपबाटै लिमिटेडले समय–समयमा रुटिनअनुसार पिउने पानी पनि पठाउने गरेकोसमेत प्रवक्ता आचार्यले हाकाहाकी भने ।

 

‘लिमिटेडले उपत्यकाको विभिन्न ठाउँमा गाडेको डिप ट्युबेलमा पानी प्रशोधन गर्ने ट्रिटमेन्ट प्लान्ट नराखेकाले जस्तो तान्यो त्यस्तै वितरण गर्दै आएको छ,’ उनले भने, ‘रुटिनअनुसार कहिलेकाहीँ पिउने पानी पनि सोही पाइपमार्फत वितरण हुँदै आएको छ ।’

 

पानी नै नआए पनि पैसा तिर्नुपर्छ
यो वर्ष लगातार वर्षा भएकाले पानी उत्पादन केही बढेको छ । अहिले दैनिक उत्पादन १० करोड लिटर छ । तर, उपत्यकावासीको माग ३८ करोड लिटर छ । अहिले एकपटक पानी थाप्न ५ देखि १३ दिनमा पालो आउने आचार्यले बताए ।

 

तर, धारामा पानी नखसे पनि उपभोक्ताले महिनैपिच्छे न्यूनतम शुल्क भने बुझाउनैपर्छ । समयमै शुल्क नतिरे केयुकेएलले जरिवाना भराउँछ । ‘टेलिकमको फोन राखेपछि न्यूनतम शुल्क बुझाउनुपर्छ कि पर्दैन ?’ प्रवक्ता आचार्यले तर्क पेस गरे ।

 

नउमाली पिउन नमिल्ने
लिमिटेडका अनुसार राजधानीका विभिन्न भागमा पानी वितरण गर्ने संरचना वर्षौँ पुरानो, खिया लागेको र मक्किएका छन् । त्यस्तै कति स्थानमा खानेपानीको पाइप र ढलका पाइप सँगसँगै गाडिएको छ । खिया लागेर मक्किएको पाइपबाट ढलको पानी मिसिन सक्ने भएकाले उमालेर मात्र पिउन आचार्यको सुझाब छ । यद्यपि पिउनकै लागि भनेर पठाएको पानी प्रशोधन हुने भएकाले कुनै समस्या नरहेको पनि उनले बताए । आफूहरूको पानीमा भन्दा पनि पठाउने संरचनामा समस्या रहेको उनको दाबी छ ।

 

लिमिटेडले वितरण गर्ने पानीमा ब्लिचिङ पाउडर, आल्मोनियम सल्फेट र पोलिआल्मोनियम क्लोराइड आवश्यक मात्रामा मिसाएर शुद्धीकरण गर्छ । पानी प्रशोधनका लागि महांकाल चौर, सुन्दरीजल, बा“सबारी, बालाजु, बोडे–मनोहरा र सैंबु–भैँसेपाटीमा लिमिटिडका प्रशोधन केन्द्र छन् । ती केमिकल्सहरू लिमिटेडले प्रशोधन केन्द्रमा नै मिसाउने गर्छ । त्यसरी प्रशोधन गरिएको पानीको क्वालिटी कन्ट्रोलका लागि उपत्यकाको विभिन्न भागबाट पानीको नमुना संकलन गरी परीक्षण गर्दै आएको छ ।

 

के मिसाइन्छ पिउने पानीमा ?
काठमाडौं उपत्यका खानेपानी लिमिटेडले वितरण गर्ने पानीमा ब्लिचिङ पाउडर, आल्मोनियम सल्फेट र पोलिआल्मोनियम क्लोराइड मिसाएर शुद्धीकरण गर्छ । पानी प्रशोधनका लागि महांकालचौर, सुन्दरीजल, बाँसबारी, बालाजु, बोडे–मनोहरा र सैंबु–भैँसेपाटीमा प्रशोधन केन्द्रहरू छन् । ती केमिकल्स केयुकेएलले प्रशोधन केन्द्रमा नै मिसाउने गर्छ । प्रशोधन गरिएको पानीको क्वालिटी कन्ट्रोलका लागि उपत्यकाका विभिन्न भागबाट नमुना संकलन गरेर परीक्षण गरिँदै आएको छ ।

 

काठमाडौंका जनताको घरको धारामा स्वच्छ खानेपानी उपलब्ध नभएको गुनासो आइरहेका वेला नेपाल खानेपानी संस्थान भने जारको पानीको व्यापारमा लागेको छ । संस्थानले देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारबाटै व्यापार सुरु गरेको हो । उसले हाल गृह मन्त्रालयलगायत अन्य केही कार्यालयमा जारको पानी बेचिरहेको छ ।

 

खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादले आफूहरूले उत्पादन गरेको पानीको माग बढेको बताए । तर, जनशक्ति अभावका कारण दैनिक १ सय ५० जार मात्रै उत्पादन गर्दै आएको बताए ।

 

‘हामीले पानी उत्पादन गर्ने थाहा पाएर कर्मचारी सञ्चय कोषले माग गरेको छ, छिटै सप्लाई गर्दै छौँ,’ प्रसादले भने । उनका अनुसार संस्थानको पनौतीस्थित प्लान्टबाट दैनिक पाँच सय जार पानी उत्पादन गर्न सकिन्छ ।

 

बजारमा अन्य कम्पनीले उपलब्ध गराएकोभन्दा सुरक्षित र गुणस्तरीय भएकाले आफूहरूको पानीको माग बढी भएको महाप्रबन्धक प्रसादले दाबी गरे । ‘माग त धेरै छ, तर मागअनुसार उत्पादन गर्न सकिएको छैन,’ उनले भने, ‘कम्तीमा सिंहदरबारलाई पुग्ने गरी उत्पादन गर्ने लक्ष्य लिएका छौँ ।’

 

संस्थानका मिनरल वाटर आयोजना प्रमुख मोहनदत्त भट्ट पानीको गुणस्तरमा निकै सावधानी अपनाएको बताउँछन् । ‘बजारमा उपलब्ध अधिकांश जारको पानीमा हानिकारक जीवाणु फेला पर्दै गर्दा हाम्रो उत्पादनमा त्यस्तो केही छैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति