ओली सरकारले दुई तिहाइको दम्भ देखाए तराई बल्छ, फेरी नाकाबन्दी हुन्छ



 

सरकारलाई समर्थन गरेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल यतिबेला बेखुस देखिएको छ । सरकारले संविधान संशोधनलगायत मुद्दाहरूमा उदासीनता देखाएको उसको आरोप छ । यही कारण केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने मनस्थितिमा पुगिसकेको राजपाले असन्तुष्टिका स्वरहरू ओकल्न थालेको छ ।

महंगी, भ्रष्टाचार बढिरहँदा समेत सरकारले यसमा ध्यान नदिएको राजपाको आरोप छ । राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव सरकार जनअपेक्षा विपरीत अघि बढेको बताउँछन् ।  मलेठ घटनामा राष्ट्रिय मानव अधिकार आयोगले समेत झूठो विवरण दिएको भन्दै उनले सरकार र आयोगप्रति तीव्र असन्तोष जनाए ।

 

० सरकारसंग रिसाउनु भा’ हो ?
–केपी ओली नेतृत्वको सरकारले हामीले उठाएका मधेससंग सम्बन्धित मुद्दा सम्बोधन गर्ने आश गरेका थियौं । तर हाम्रा मुद्दाहरू कुनै पनि पूरा गरिएन । यसले गर्दा राजपाको सरकारप्रतिको विश्वास घट्दै गएको छ । ओली सरकारले दुई तिहाइको दम्भ देखाए तराई बल्छ अनी फेरी नाकाबन्दी हुन सक्छ ।

 

० भनेपछि सरकारलाई समर्थन गरेको अनुभूति तपाईंहरूलाई भइरहेको छैन ?
–हाम्रा चासोहरू सम्बोधन हुने विश्वासमा समर्थन गरे पनि सरकारले उदासीनता देखाउँदै गएको छ । प्रतिबद्धता जनाएर पनि पूरा गरिरहेको छैन । सरकारको यस्तो रवैयाले तपाईंले भनेजस्तै सरकारलाई आफूहरूले समर्थन गरेको अनुभूति हुन सकिरहेको छैन ।

 

० प्रधानमन्त्रीलाई केही दिनअघि भेट्नु भएको थियो । आफ्ना असन्तुष्टि राख्नु भएन त ?
–प्रधानमन्त्री केपी ओलीलाई भेट्दा सबै कुरा राख्यौं ।  संविधान संशोधन गर्न यो सरकारसंग दुई तिहाई छ । तर, उसले हाम्रा न्यूनतम् मागसमेत पूरा गर्न आनाकानी गर्दै आइरहेको छ । जेलबाट हाम्रा नेता तथा कार्यकर्ताहरू रिहाई भएनन् । सांसद् तथा मन्त्री भएकाहरूमाथि अझै मुद्दा छ, फिर्ता भएको छैन ।  हाम्रो मुख्य माग ती मुद्दाहरू फिर्ता पनि हो । तर यो विषय पनि अलपत्र परेको छ । आन्दोलनका घाइतेहरूको उपचारलगायतका सवालहरूमा सरकारले चासो देखाएको छैन । हामीले १० बुँदे ज्ञापनपत्र बुझाएर सरकारलाई यी सबै कुरामा गम्भीर भइदिन आग्रह गरेका छौं ।

 

० प्रधानमन्त्री केपी ओलीको खास भनाइ चाहिं के थियो त ?
–राजपालगायतका दलका कतिपय मुद्दा असान्दर्भिक भए, परिमार्जन गर्नुस् भनेर भन्नु भएको छ । समग्र मधेसको विकासमा वृहत् योजना बनाउन पनि प्रधानमन्त्री केपी ओलीले प्रस्ताव गर्नु भएको छ ।

 

० तपाईंहरूले उठाउनु भएको मुद्दा असान्दर्भिक भएको सत्य हो उसो भए ?
–हामीले मधेससंग सम्बन्धित जे जति मुद्दाहरू संविधान जारी पूर्वदेखि उठाउँदै आइरहेका छौं, त्यसको सान्दर्भिकता अहिले पनि उत्तिकै छ । प्रधानमन्त्रीज्यूले भनेजस्तो असान्दर्भिक भएको छैन । बरु सान्दर्भिकता बढ्दै गएको अनुभूति हामीले गरिरहेका छौं ।

 

० बजेट पनि तपाईंहरूलाई चित्त नबुझेको हो ?
–यो सरकारले ल्याएको बजेट पनि सन्तुलित भएन । मधेसका प्राथमिकताहरूलाई यस पटकको बजेटले समेट्न सकेको छैन । बर्सेनि बाढीले तराई तथा मधेसका क्षेत्रमा ठूलो धनजनको क्षति भइरहेको छ । बजेटले यी कुराहरू समेटेको छैन । हामीले यो कुरा प्रधानमन्त्रीसंग प्रष्ट राखेका छौं ।

 

० प्रधानमन्त्रीलाई तपाईंहरूले चाहिं खास कुरा के भन्नु भयो त ?
–सरकारलाई हामीले समयसीमाभित्र माग पूरा गर्न दबाब दिएका छौं । प्रधानमन्त्री केपी ओलीले हाम्रा मागहरू चाँडै पूरा गर्छौं भन्नु भएको छ ।

 

० सरकारमा सहभागी हुने कुरा पनि थियो नि ?
–राजपा सरकारमा सहभागी हुन्छ भन्ने कुरा भ्रममात्रै हो । हाम्रो प्राथमिकता हिजो पनि सरकार थिएन र आज पनि छैन । विगतदेखि नै हामीले भन्दै आइरहेका छौं कि हाम्रा मागहरू पहिलो प्राथमिकता हुन् । हाम्रा मुद्दाहरूसंग राजपाको कोहीसंग पनि कुनै सम्झौता हुँदैन ।

 

हाम्रा मागहरू पूरा भएको खण्डमा यसबारे सोच्न सकियला तर माग नै छाडेर राजपा सरकारमा कुनै हालतमा जाँदैन । राजपाले आफ्ना मुद्दाहरू स्थापित गर्ने जनमत यसपटक पाएको छ । अब जनताको आदेश नै संविधान संशोधन गर, तराई मधेसको अधिकारका लागि संघर्ष गर भन्ने रहेकाले सरकारमा सहभागिता टाढाको विषय हो । यसमा सबैजना प्रष्ट भए हुन्छ ।

 

० माग पूरा भएन भने कडा रुपमा राजपा प्रस्तुत हुन्छ भन्न खोज्नु भएको हो ?
–हाम्रो समर्थन सरकारले निरन्तरता चाहेको हो कि होइन भन्ने कुरा उसले हाम्रा मागहरू कति छिटो पूरा गर्छ भन्नेमा भर पर्छ ।

 

० बजारमा राजपाले सरकारलाई दिएको समर्थन फिर्ता गर्दैछ भन्ने चर्चा छ । यसमा कति सत्यता छ ? 
–हामीले प्रधानमन्त्रीज्यूलाई आफ्ना कुराहरू ज्ञापनपत्रमार्फत् राखेका छौं । उहाँले पनि सकारात्मक रुपमा लिनु भएको छ । हाम्रा चासो सम्बोधन गर्ने बचन दिनु भएको छ । अब उहाँले प्रतिबद्धता पूरा गर्नु हुन्छ कि हुन्न ? हामी प्रतिक्षारत छौं । राजपालाई यो विश्वास छ कि सरकारले हाम्रा जायज मागहरू सम्बोधन गर्नेछ । हामी अझै पनि सरकारप्रति आशावादी रहेकाले ओली सरकारलाई दिएको समर्थनबारे केही सोचेका छैनौं । बजारमा चलेजस्तो अहिले नै समर्थन फिर्ता लिने कुरा सत्य होइन ।

 

० राष्ट्रिय मानव अधिकार आयोगले मलेठ घटनाबारे दिएको प्रतिवेदन मान्दैनौं भन्नु भएछ । संवैधानिक निकायप्रति किन यति धेरै अविश्वास जनाउनु भएको ?
–मलेठ घटनाका सम्बन्धमा मानव अधिकारको प्रतिवेदन उचित र सही छैन ।  सरकारले हिजो विभिन्न कालखण्डमा भएका मधेश आन्दोलनका प्रतिवेदनहरू किन सार्वजनिक गरेन ?  गिरिशचन्द्र लालको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ ।

 

० संविधान संशोधनलगायतका मद्दा उठाउनु हुन्छ तर जनजीविकाका मुद्दा खासै प्राथमिकतामा छैनन् । जनताका दैनन्दिन समस्यामा तपाईंहरूको नजर किन नपरेको ?
–हामीले जनताका दैनन्दिन समस्या पनि उत्तिकै उठाएका छौं । आज उखु किसानहरूले वर्षौंदेखिको १० औं अर्ब मूल्य पाएका छैनन् । हामीले भनेका छौं सरकार जनजीविकाको विषयमा पनि सरकार गम्भीर भएन । सरकारले यातायात क्षेत्रलगायतमा रहेका एकाधिकार (सिण्डिकेट)को अन्त्य ग¥यौं भनेपनि अहिलेसम्म एकाधिकार जारी रहेको छ । राजपा तत्काल यातायात क्षेत्रलगायतको सिन्डिकेट खारेज गर्न माग गर्दछ ।
अर्बौं र करोडौंको निर्माणको ठेक्का लिएर वर्षौंसम्म काम नगर्ने, राष्ट्रलाई ठग्ने, गलत र अनियमित गर्ने ठेकेदारहरूलाई पनि सरकारबाट कुनै कारबाही भएको छैन । ठग, काम चोर ठेकेदारुहरूलाई कारवाही गर्ने बारेमा केही दिन चर्का कुरा भए, पछि सबै सामसुम ! यसको पछाडिको रहस्य के हो ? सरकार किन चुप छ ?

 

० यसको मतलब सरकार भएको अनुभूति जनताले गर्न पाएनन् भन्ने हो ?
–हो, सरकार छ भन्ने अनुभूति कतै पनि भएको पाइँदैन । केपी ओली सरकारबाट जनताले कुनै राहत पाउन सकेका छैनन् ।  सरकारले महंगी नियन्त्रणमा त झन कुनै चासो नै दिएको छैन । सरकारीका सेवा प्रदायक निकायहरूमा भ्रष्टाचार पनि उसैगरी बढिरहेको छ । आर्थिक संकट देशमा चुलिंदो छ । यसतर्फ समाजवाद उन्मुख सरकारले यतातिर चासो दिनु पर्दैन ?

 

० विपक्षीले दुई तिहाइको दम्भ देखाएको भनेर सरकारमाथि लगाएको आरोपबारे के भन्नु हुन्छ ?
–हामीले नेपाली कांग्रेसका नेता वीपी कोइरालाको पनि दुई तिहाइको सरकार देखेकै हौं, त्यसैले ओली सरकारले दुई तिहाइको दम्भ देखाउनु हुँदैन । मेरो गोरुको बाह्रै टक्का गर्दा देश दुर्घटनामा पर्न सक्छ, त्यसैले दम्भ देखाउन हुँदैन । सरकार आग्रह र पूर्वाग्रहबाट मुक्त भएर देश र जनताको हितमा अघि बढोस् भन्ने हाम्रो सुझाव छ ।

 

० फरक प्रसंग, सरकारले केही गरेन भन्ने राजपा नेताहरूले पार्टीलाई गति दिनु पर्दैन ? 
–हामीले निरन्तर तराई मधेसका मागहरू उठाइरहेका छौं । जनताका दैनन्दिन समस्यामा हाम्रो आँखा परिरहेको छ । हामीले सरकारका लागि नभएर जनताका लागि राजनीति गरिरहनुबाटै थाहा हुन्छ कि हामी कति गतिशील भइरहेका छौं भन्ने ।

 

० तर, पार्टी गठन भएको यतिका समयसम्म विधान निर्माणजस्तो मामुली काम समेत गर्न नसकेको त सत्य हो नि ?
–मधेसका ६ पार्टी मिलेर हामीले राजपा बनाएका हौं । यति धेरै दलहरूलाई एउटै पार्टीमा रुपान्तरण गर्नु आफैंमा चानचुने कुरा होइन । त्यसैले तपाईंले भनेजस्तै विधान निर्माणमा बिलम्ब भएको छ । हामीले यो निर्माणका लागि पार्टीभित्र समिति बनाएका छौं । अब यसले छिट्टै विधानलाई अन्तिम रुप दिनेछ ।

 

० पार्टी गठन गर्दा १ वर्षमा महाधिवेशन गर्ने बताउनु भएको थियो । तर सक्नु भएन । महाधिवेशनचाहिँ कहिले गर्नु हुन्छ नि ? 
–हामीले पार्टी गठन गर्दा जनतालाई एक वर्षभित्र महाधिवेशन गर्ने वचन दिएका थियौं । तर, विविध कारणले आफ्नो प्रतिबद्धता पूरा गर्न सकेनौं । अर्को वर्ष महाधिवेशन गरेर पार्टीलाई गतिशील र चलायमान बनाउँछौं । त्यसका लागि हामी अहिलेदेखि नै लागिपरेका छौं ।

 

० अन्तिममा राष्ट्रिय राजनीतिमा राजपा कसरी अघि बढ्छ बताइदिनुहोस् न ? 
–मैले अघि नै भनेँ सत्ता नभएर जनता हाम्रा प्राथमिकता हुन् । त्यसैले विगतदेखि जुन मुद्दा बोकेर राजपा हिँडिरहेको छ, त्यसबाट कत्ति पनि विचलित नभई अबका दिनमा पनि लागिरहनेछ ।साँघुबाट

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति