युरोप भन्दै मरिससमा बेचिँदै नेपाली विद्यार्थी, यसरी दलालको फन्दामा पर्छन् नेपाली



 

अफ्रिकी महाद्वीप तटको दक्षिण–पश्चिममा करिब ९ सय किलोमिटरको दूरीमा हिन्द महासागरमा एउटा सानो टापु छ । २ हजार ४० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको एउटा सानो टापु, जहाँको प्रतिव्यक्ति आय भने आकर्षक छ । वार्षिक करिब २० हजार अमेरिकन डलर प्रतिव्यक्ति आय भएको देश नराम्रो होला त भनेर कसले पो सोच्ला र !

 

तर मरिससको यथार्थ भने अलिक फरक छ । सानो देश र करिब १३ लाख मात्रै जनसङ्ख्या भएकाले यहाँको प्रतिव्यक्ति आय राम्रो देखिए पनि यहाँ बस्न भने ज्यादै कठिन छ । मुख्यतः पर्यटनलाई आफ्नो पेसा बनाएको मरिसस उत्पादनभन्दा पनि बढी सर्भिसबाट लाभ लिइरहेको छ ।

 

पछिल्ला दिनमा मरिसस आकर्षक गन्तव्य भन्दै काठमाडौँलगायत देशका मुख्य सहरहरूबाट अध्ययनका लागि भन्दै यो टापुमा पठाउने कन्सल्टेन्सी र विद्यार्थीको सङ्ख्या बढिरहेको छ । मुख्यतः मरिससमा होटल म्यानेज्मेन्टलगायतका विषय अध्ययन गर्न भन्दै विभिन्न कन्सल्टेन्सीले प्रतिव्यक्ति करिब ८ लाख रुपियाँ लिएर पठाउने गरेका छन् । मरिससमा यूकेको डिग्री प्राप्त हुने र आकर्षक कमाइ हुने भन्दै कन्सल्टेन्सीले मरिससमा विद्यार्थी पठाइरहेका छन् ।

 

तर मरिससको यथार्थ भने त्योभन्दा फरक छ । मरिससमा अध्ययनसँगै काम गर्ने भनेर मरिसस पुगेका विद्यार्थी भने आफूलाई नर्कमा ल्याइएको भन्दै उद्धार गरिदिन पहल गरिरहेका छन् ।

 

बाग्लुङका विष्णु सुवेदी (नाम परिवर्तन) काठमाडौँस्थित एक कन्सल्टेन्सीबाट अध्ययन र रोजगारीका लागि भन्दै मरिसस पुगे । सन् २०१७ को सेप्टेम्बर सेसनमा अध्ययनका लागि भन्दै मरिसस पुगेका उनी त्यतिबेला छाँगाबाट खसेजस्तै भए, जतिबेला मरिससको वास्तविकता र कन्सल्टेन्सीको ‘ललिपप’बीचमा व्यापक अन्तर देखे ।

 

मरिसस सम्पन्न देश भएको र त्यहाँको प्रतिव्यक्ति आय राम्रो भएकाले युरोपका अन्य देशहरूभन्दा राम्रो देश भनिएको थियो । अमेरिकापछिकै राम्रो देश भन्दै उनलाई बागबजारस्थित एक कन्सल्टेन्सीले ८ लाख रुपियाँ लिएर मरिसस पठाएको थियो । त्यो ८ लाखमध्ये १ वर्षको अध्ययनको शुल्क र ३ महिनाको होस्टल शुल्क समावेश थियो ।

 

मरिससमा पुगेपछि काम पनि पाइने र अध्ययन पनि गर्न पाइने भन्दै विष्णुलाई मरिसस पुर्याइएको थियो । कक्षा ११ अध्ययन गर्दागर्दा होटल म्यानेज्मेन्ट पढ्न मरिसस पुगेका उनी त्यतिबेला जीवन र मरणको अवस्थामा पुगे जतिबेला होस्टलबाट उनलाई निकालियो । निम्न मध्यम परिवारका विष्णुलाई परिवारले ऋण खोजेर मरिसस पठाएका थिए । मरिसस राम्रो देश भएको भन्दै अध्ययन सकेर नेपाल फर्कंदा ८, १० लाख पैसा पनि कमाएर ल्याउने सपना विष्णु र उनका परिवारलाई कन्सल्टेन्सीले देखाएका थिए । तर पैसा कमाउनु त कता हो कता मरिससमा खान र बस्न नै नपाउने स्थिति भएपछि एक पटक त विष्णुले आत्महत्याको प्रयास पनि गरे ।

 

होस्टलमा पैसा तिरेको समय अर्थात् मरिसस गएको ३ महिनापछि मासिक २० हजार नेपाली रुपियाँका दरले ६ महिनाको एकमुष्ठ पैसा बुझाउन भनियो । तर विष्णुले न परिवारबाट थप पैसा मगाउन सक्थे न त होस्टल छाड्न नै सक्थे । जेनतेन थप एक महिना होस्टलमा बसे पनि त्यसपछि भने उनलाई होस्टलबाट निकालियो र उनी त्यहाँकै एउटा पाटीमा बस्न पुगे । पाटीमा बस्दै उनले निरन्तर काम खोजिरहे तर बाँच्न सक्ने हैसियतको काम नै पाएनन् ।

 

अन्ततः मासिक ८ हजार मरिसियन रूपी पाउने गरी मरिससको एउटा रेस्टुरेन्टमा भाँडा माझ्ने काम पाए । मरिससको १ रुपियाँ बराबर नेपाली करिब ३ रुपियाँ ३० पैसा जति हुन्छ । त्यो भनेको मासिक करिब २६ हजार नेपाली रुपियाँ थियो । दिउँसोको खाजा र साँझको खाना रेस्टुरेन्टमै पाउने भएपछि उनले त्यही काम गर्न थाले । अर्को एकजना नेपाली साथीसँग मिलेर कोठा पनि भाडामा लिए र बस्न थालेँ ।

 

विष्णुले भने– ‘के गर्नु घरमा त्यस्तो कुरा भन्न सक्ने अवस्थामा म थिइनँ । किनभने म यता आउँदा नै सबै रकम ऋण खोजेर ल्याइएको थियो । बरु एक पटक आत्महत्या गर्ने प्रयाससमेत गरेँ । तर बाँच्न जति गाह्रो छ, मर्न त त्योभन्दा पनि गाह्रो रहेछ । अनि आत्महत्या गर्न सकिन र सङ्घर्ष गर्ने निर्णय गरेँ ।’

 

विष्णुको यो पीडा उनको परिवारलाई अझै थाहा छैन र विष्णुले भनेका पनि छैनन् । परिवारले देश र पढाइ कस्तो छ भनेर बेलाबेलामा सोध्दा उनी बाध्य भएर राम्रो छ भन्न बाध्य छन् । तर मरिससको यथार्थ भने विल्कुल फरक छ ।

विष्णु त जागिर पाएका एकजना नेपाली विद्यार्थी भए । मरिससमा काम र माम नपाएर विचल्लीमा परेका धेरै नेपाली विद्यार्थीहरू छन् । परिवार सम्पन्न हुनेहरूले त घरबाट पैसा पठाएर अध्ययन पूरा गर्दै छन् । तर विष्णुजस्तै निम्न मध्यम र निम्नस्तरका विद्यार्थीका हालत के होला ?

 

न त त्यहाँ अलिक मध्यम स्तरको काम पाउन सकिन्छ न त काम पाए पनि राम्रो तलब सुविधा नै छ । मरिससमा निम्न स्तरको जीवनयापन गर्न पनि मासिक २५ हजार लाग्छ । त्यो पनि ग्रुपमा कोठा लिएर बसेमा मात्रै । नत्र एक्लै कोठा खोजेर बस्ने हो भने त्यहाँ मासिक खर्च करिब करिब ३५ हजार पुग्छ । तर बिहान कलेज र दिउँसोदेखि करिब ८, १० घण्टा काम गर्दा पनि मासिक २६ हजार मात्रै हुनेभएपछि उनलाई खर्च धान्न पनि धौ–धौ छ ।

 

बेला–बेलामा घरबाट ब्याज तिर्नका लागि पैसा पठाइदिन भन्दै फोन आउँछ, त्यतिबेला विष्णुलाई थप पीडा हुन्छ । किनभने केही कमाएको पैसाले बाँकी २ वर्षको कलेजफी तिर्नै छ । कलेजको शुल्क नै मासिक करिब ३० हजार नेपाली रुपियाँ लाग्छ । त्यो पैसा कसरी उनले घर पठाउन् ।

 

विष्णु त जागिर पाएका एकजना नेपाली विद्यार्थी भए । मरिससमा काम र माम नपाएर विचल्लीमा परेका धेरै नेपाली विद्यार्थीहरू छन् । परिवार सम्पन्न हुनेहरूले त घरबाट पैसा पठाएर अध्ययन पूरा गर्दै छन् । तर विष्णुजस्तै निम्न मध्यम र निम्नस्तरका विद्यार्थीका हालत के होला ?

 

आर्थिक वर्ष २०७४/७५ अर्थात् २०७४ साउन १ गतेदेखि २०७५ असार ३२ गतेसम्मको तथ्याङ्क हेर्ने हो भने नेपालबाट ३ सय ६४ जना नेपाली विद्यार्थीहरू मरिससमा अध्ययनका लागि पुगेका छन् । उनीहरूलाई त्यहाँ उच्च स्तरीय शिक्षा र आकर्षक कमाइको लोभ देखाइन्छ । तर मरिससमा पहिलो कुरा राम्रो काम पाउन नै असम्भवजस्तै छ भने काम पाइहाले पनि विद्यार्थीले काम पाउने भनेको दैनिक ४ घण्टा मात्रै हो । केही भारतीय मूलका मानिसहरूको रेस्टुरेन्टमा अवैधानिक रूपमा बढी समय काम दिए पनि त्यहाँ पूरा तलब दिइँदैन । जसका कारण मरिससमा बसेर पढ्न अत्यन्तै कठिन छ ।

 

युरोप भन्दै मरिसस पठाउँदै

बागबजार, पुतलीसडक र डिल्लीबजार क्षेत्रका अधिकांश कन्सल्टेन्सीले मरिससलाई युरोप भन्दै झुट बोलेर पठाउने गरेका छन् । कुनै विद्यार्थी वा तिनका अभिभावकले युरोप होइन भनेमा मात्रै उनीहरूले मरिससबाट युरोप जान सजिलो हुने युरोप जस्तै देश भन्छन् ।

 

वास्तवमा मरिसस अफ्रिकी महादेशको एउटा सोनो टापु मात्रै हो । जनसङ्ख्या थोरै भएकाले प्रतिव्यक्ति आय राम्रो देखिए पनि मरिससको खर्च पनि उस्तै महँगो छ । यद्यपि कन्सल्टेन्सीले भने युरोपमा भन्दा राम्रो कमाइ हुने र राम्रो देश भन्दै झुक्याइरहेका छन् ।

 

आम्दानीले खर्च धान्नै मुस्किल

गोरखाका विकास पन्त (नाम परिवर्तन)का अनुसार उनलाई पुतलीसडकस्थित एक कन्सल्टेन्सीले मासिक करिब ३५ हजार बचत हुने भन्दै मरिसस पठाएको थियो । ६ महिनाको कलेजको शुल्क र ६ महिनाको होस्टल शुल्कबापत एकमुष्ठ ६ लाख ५० हजार बुझाएर मरिसस पुगेका उनले ९ महिनासम्म कुनै काम पाउन सकेनन् । त्यसपछि पाएको काममा पनि न्यूनतम तलब सुविधा पाउन सकेनन् । चिनियाँको एक होटलमा मासिक ३० हजार नेपाली रुपियाँ पाउनेगरी काम गर्न थाले । तर त्यो खर्चले कलेजको शुल्क तिर्न नै गाह्रो भएपछि उनले कलेज जानै छाडिदिए ।

 

मरिससमा विद्यार्थी नपठाउन दूतावासको पत्र

अफ्रिकी मुलुक मरिससमा वार्षिक करिब ४ सय नेपाली विद्यार्थी होटल म्यानेज्मेन्ट विषय अध्ययनका लागि पुग्ने गरेका छन् । त्यहाँ धेरै होटल भएको र काम फालाफाल भएको भन्दै कन्सल्टेन्सीले पढ्दै डलर कमाउन सक्ने प्रलोभन देखाएर पठाउँछन् । तर मरिससको शिक्षा महँगो भएका कारण त्यहाँ काम गरेको पैसाले कलेजको शुल्क तिर्न असम्भवजस्तै छ ।

 

५ वर्षमा ७० भन्दा बढी विद्यार्थीको उद्धार

विगत ५ वर्षमा मरिससबाट करिब ७० जना विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याइएको दक्षिण अफ्रिकास्थित नेपाली राजदूत अमृतबहादुर राईले बताए । सोमबार दिउँसो रातोपाटीसँगको कुराकानीमा मरिसस हेर्ने दक्षिण अफ्रिकास्थित नेपाली राजदूत राईले मरिसस अध्ययनका लागि उचित गन्तव्य नभएको बताए । उनले भने ‘यदि मरिससको कुनै विश्वविद्यालयले पूर्ण छात्रवृत्तिमा नेपाली विद्यार्थीलाई पढाउँछ भने त्यो ठीकै होला तर सबै कुरा छानविन गरेर मात्रै पठाउनुपर्छ । नत्र भने मरिसस नेपाली विद्यार्थीका लागि उचित गन्तव्य होइन ।’

 

मरिससमा बारम्बार नेपाली विद्यार्थी समस्यामा परेपछि शिक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयले दक्षिण अफ्रिकास्थित नेपाली दूतावासलाई मरिससको बारे के कस्तो देश हो र त्यहाँको अवस्था कस्तो हो भनेर सोधिएको थियो । त्यसको जवाफमा दक्षिण अफ्रिकास्थित नेपाली राजदूत अमृतबहादुर राईले मरिससमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई रोक्नुपर्ने ब्यहोराको पत्र परराष्ट्र मन्त्रालयलाई पठाएका थिए ।

 

शिक्षा मन्त्रालय अझै मौन
राजदूत राई र परराष्ट्र मन्त्रालयकै पत्र आएपछि शिक्षा मन्त्रालयमा पनि यस विषयमा पटक पटक छलफल भएको छ । अब अध्ययनका लागि भन्दै मरिससमा विद्यार्थी पठाउने कि नपठाउने भन्ने सम्बन्धमा मन्त्रालयमा छलफल भए पनि अझै टुङ्गोमा पुग्न सकेको छैन ।

 

यसै विषयमा हामीले शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्याललाई मरिससबारे के भएको हो भनी सोधेका थियौँ । उनले मरिससको विषयमा कुरा उठेको तर के गर्ने भन्ने विषयमा निर्णय भइनसकेको बताए । उनले भने– ‘मरिससका सम्बन्धमा केही गुनासा र उजुरी तथा परराष्ट्र मन्त्रालयको पत्रसमेत आएको छ । हामीले तत्कालका लागि मरिससको नो अब्जेक्सन लेटर (एनओसी) रोकेका छौँ । अब चाँडै नै यसबारे निर्णय हुन्छ ।’

 

कन्सल्टेन्सीको चलखेल
यता मरिससमा विद्यार्थी पठाउँदै गरेका कन्सल्टेन्सीहरूले भने शिक्षा मन्त्रालयसँग एनओसी दिन दबाब दिइरहेका छन् । मन्त्रालयले कुनै निर्णय नगरेकाले शिक्षा मन्त्रालयको एनओसी शाखाले विगत १ महिनादेखि कसैलाई पनि एनओसी दिएको छैन । यद्यपि यसबारे दबाब भने आइरहेको छ । कन्सल्टेन्सीहरूले भने राजनीतिक पहुँच प्रयोग गरेर भए पनि मरिसस खुलाउने तयारी गरिरहेका छन् ।रातोपाटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रविलाई अझै १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्ने

    कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान

बालेनको पत्र प्राप्त भएको छैन, जरिवाना तिर्ने कुरा पनि हुँदैन: एमाले

    काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तोकेको पत्र प्राप्त नभएको नेकपा एमालेले

हामी अहिले कसैसँग ऋण लिने अवस्थामा छैनौं : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमण सफल रहने बताएका छन्

यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्म अहिलेको समीकरण