३८ क्वीन्टल सुन तस्करी काण्डबारे ७ सय पृष्ठको प्रतिवेदन तयारी, २९३ जना शंकाको घेरामा ,को को फस्दैछन् ?



 

सनम शाक्य हत्या र ३८ क्वीन्टल सुन तस्करीको अनुसन्धानका लागि गठित विशेष अनुसन्धान टोलीले निष्कर्षसहितको ७ सय पृष्ठ लामो प्रतिवेदन तयार पारेको छ । उक्त प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउने तयारी गरे पनि प्रधानमन्त्रीको समय नपाएका कारण बुझाउन नपाएको समितिका एक सदस्यले बताए ।

झण्डै ४ महिना लामो अनुसन्धानपछि टोलीले सुझाव, घटना विवरण, तथ्य र सम्भावनासहितका विषय समेटेर प्रतिवेदन तयार गरेको हो । गत माघ ९ गते युएइबाट त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको साढे ३३ किलो सुन हराएपछि सुन लुकाएको आशंकामा चुडामणि उप्रेती ‘गोरे’ को समूहले सुन लुकाएको आशंकामा फागुन १८ गते सनम शाक्यलाई यातना दिएर हत्या गरेका थिए ।

उनलाई करेन्ट लगाएर यातना दिने क्रममा मृत्यु भएको थियो ।

त्यही हत्याकाण्डको अनुसन्धान गर्दै जाँदा सुन तस्करीको पोल खुलेको थियो । मोरङ उर्लाबारीका सनम शाक्यको हत्यापछि गोरेलाई बचाउन भूमिका खेलेको भन्दै तत्कालीन अपराध महाशाखाका एसएसपी दिवेश लोहनी, श्याम खत्री, एसपी विकासराज खनाल, डीएसपी सञ्जय राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेल र पूर्वडीआईजी गोविन्द निरौला लगायतका प्रहरी अनुसन्धानमा तानिएका थिए । उनीहरु सबै पूर्पक्षका लागि कारागार चलान भएका छन् । यीबाहेक गोरे, भुजुङ गुरुङ, छिरिङ वाङदेल लगायत ३१ जनाबढी पूर्पक्षका लागि जेलमा छन् ।

प्रतिवेदनमा भुजुङ गुरुङ, गोरे, रमेश उप्रेती, बेनु श्रेष्ठ, मोहन काफ्ले, टेकराज मल्ल, मोहनकुमार अग्रवाल, छिरिङ वाङ्गेल घले, महावीरप्रसाद गोल्यान नै सुन तस्करी गर्ने गिरोहका मुख्य नाइके भएको दाबी प्रतिवेदनमा गरिएको छ ।

तर समितिमा बयान दिने क्रममा उच्च तहको मिलेमतोको आशंका गरिएको भए पनि प्रमाण नपुगेको भन्दै केही राजनीतिक दलका नेतालाई समितिले सफाइ दिएको स्रोतको दाबी छ । तर नामहरु प्रतिवेदनमा उल्लेख गरिएको भए पनि अहिले नै सार्वजनिक गर्न नमिल्ने समितिका सदस्यको भनाइ छ ।

योबाहेक नेपालमा अन्य पनि सुन तस्करी गर्ने गिरोह रहेको हुनसक्ने टोलीको दाबी छ । टोलीलाई सनम शाक्यको हत्याको अनुसन्धान गर्ने जिम्मा मात्रै दिएकाले टोलीले त्यही सेरोफेरोमा रहेर घटनाको अनुसन्धान गरेको थियो ।

यस्तै सुनका लगानीकर्ता भनिएका एमके अग्रवाल लगायत फरार अभियुक्तको खोजी कार्य जारी छ । सरकारले सनम हत्याको छानविन गर्न गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङले सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत काठमाडौंमा ६३ जनामाथि मुद्दा चलाएको थियो । हालसम्म यो प्रकरणमा ४५ जना पक्राउ परेका छन् ।

के छ प्रतिवेदनमा ?

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ठूला सुन तस्करीका माछा समात्ने बताएपनि ठूला माछा भनेका कुन तहका वा कुन क्षेत्रका हुन भन्ने खुलाएका थिएनन् । अनुसन्धान टोलीले भने ठूला माछा गोरे, एमके, भुजुङ लगायत नै भएको दाबी गर्दै आएको थियो । टोलीले तयार पारेको प्रतिवेदन ७ सय पृष्ठभन्दा लामो भएको एक सदस्यले बताए ।

उनले  भने, ‘‘प्रतिवेदनमा हामीले ४ महिनाको अवधिमा गरेका कामको सम्पूर्ण विवरण राखेका छौं । केही सुझाव पनि दिएका छौं ।’’ टोलीका ती सदस्यका अनुसार कतिपय फरार अभियुक्त नेपाल बाहिर रहेकाले उनीहरु पक्राउ परेपछि थप नयाँ रहस्य बाहिर आउनसक्ने सम्भावना पनि छ ।

प्रतिवेदनमा साढे ३३ किलो सुन हराएको र सनम शाक्यको हत्यादेखि विषयको उठान गरिएको छ । टोलीका सदस्यका अनुसार प्रतिवेदनमा अनुसन्धानका क्रममा केही पूर्वमन्त्री, प्रहरीका उच्च अधिकारी, व्यापारी लगायतमाथि पनि अनुसन्धान गरिएको र उनीहरुको संग्लनता नदेखिएको उल्लेख गरिएको ती सदस्यले बताए ।

यस्तै प्रतिवेदनमा २ सय ९३ जनालाई शंकाको घेरामा राखिएको छ । ती सदस्यले भने, “सुरक्षाकर्मी मात्रै होइनन, निजामती कर्मचारी, एयरलाइन्स कम्पनीका कर्मचारी र राज्यको उपल्लो दर्जाको मिलेमतोमा मात्रै यस्तो प्रकारको तस्करी हुने गरेको छ ।’’

प्रतिवेदनमा विभिन्न क्षेत्रमा गर्नूपर्ने सुधारका बारेमा पनि प्रष्ट रुपमा सुझाव दिइएको छ । गायब भनिएको साढे ३३ किलो सुनबारे भने प्रतिवेदन अस्पष्ट रहेको टोली स्रोतको दाबी छ । फरार रहेका सबै पक्राउ परेपछि गायब भएको सुनबारे कुराहरु बाहिर आउने टोलीको दाबी छ ।

‘‘गोरेले बयानमा क्रममा पनि सुन आएको बताइसकेको र सनमलाई यातना दिँदा पनि सुनबारे बोलेकाले सुन आएको कुरामा दुईमत छैन । अनुसन्धान सकिएको छैन । सरकारको अन्य कुनै निकायले अनुसन्धान जारी राख्न सक्छ, ढिलोचाँडो सबै कुरा बाहिर आउँछ,’’ टोलीका एक सदस्यले भने ।

को–को थिए टोलीमा ?

गत चैतमा गठन भएको विशेष अनुसन्धान टोलीमा गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल संयोजक थिए । त्यसपछि टोलीको म्याद दुईपटक थपिएको थियो । टोलीका केही सदस्य फरार अभियुक्त खोज्न भारत लगायतका अन्य मूलुकमा पनि गएका थिए ।

टोलीमा पौडेलसँगै राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक ९डीआईजी० हुतराज थापा, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तकुमार लामा, गृह मन्त्रालयका उपसचिव भावेश्वर पाण्डे, उपन्यायधिवक्ता हरि रेग्मी, कानुन अधिकृत भोजराज दाहाल, प्रहरीका नायब उपरीक्षक (डीएसपी) सुदीपराज पाठक, प्रहरी निरीक्षक भिष्म हुमागाईँ र नायब निरीक्षक सुमन कार्की सदस्य रहेका थिए ।

टोलीले यसअघि पनि ३ पटक प्रधान मन्त्री र गृह मन्त्रीलाई अनुसन्धानकै क्रममा भइरहेका गतिविधीबारे व्रिफिङ गरेको थियो । टोलीले अनुसन्धानका क्रममा चर्चामा आएका प्रहरी अधिकारी, नेता र पूर्वमन्त्रीको तस्करीमा संग्लनताको आधार नदेखिएको दाबी गर्दै आएपनि राजनीतिक संग्लनताकै कारण टोलीको अनुसन्धान रोकिएको हुन सक्ने आशंका गरिएको छ ।

रोकिएन सुन तस्करी
साढे ३३ किलो सुनकाण्डपछि झण्डै ३ महिना बजारमा सुन तस्करी र गोरेको चर्चा चल्यो । सञ्चारमाध्यम, सामाजिक सञ्जालदेखि संसद्सम्म सुन तस्करीले स्थान पायो । सरकारद्वारा गठित विशेष अनुसन्धान टोलीले गोरे समूहको तस्करीको अनुसन्धान ग¥र्यो । केही तथ्य पनि आए ।

नेपालमा अब सुन तस्करी रोकिएकै हो त रु टोलीका एक सदस्यका अनुसार तुलनात्मक रुपमा हवाई रुटबाट ठूलो परिमाणमा आउने सुन तस्करी भने रोकिएकै हो । तर पछिल्लो २ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा विमानस्थल प्रहरीले ६ पटक सुन बरामद गरेको छ । तस्करीमा अधिकांश भारतीय नागरिकनै छन् ।

योबाहेक नागढुङ्गा नाकामा पनि दुईपटक गरी ९ किलो सुन बरामद भएको छ । ६ किलो सुन भने रसुवाको केरुङ नाकाबाट आएको थियो । त्यसैले तस्करहरुले हवाई मार्ग नभएर स्थलमार्ग प्रयोग गरेको देखिएको ती सदस्य बताउँछन् ।

बाह्रखरीबाट

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति