सरकारी खर्चमा श्रीमती र गर्लफ्रेड विदेश घुमाउने कर्मचारीलाई डण्डा लगाउने ओलीको तयारी, क कस्को हुने भो जागीर चट



 

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनविपरीत बजेट सक्न विदेश भ्रमण गएका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका ५९ कर्मचारीमाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले छानबिन थालेको छ ।

बजेट सक्न सरकारी खर्चमा श्रीमती र गर्लफ्रेड विदेश घुमाउने कर्मचारीलाई डण्डा लगाउने तयारी ओली सरकारले गरेको छ । विदेश भ्रमणमा धेरै रकम खर्च गर्ने केही कर्मचारीको जागीर चट हुने स्रोतको दावी छ ।

उक्त छानबिनबाट जोगिन मन्त्रालयका उच्च तहका कर्मचारी भने नियमविपरीत भएको भ्रमणको बचाउमा लागेका छन् ।

 

मन्त्रालयका सचिव तथा सहसचिवहरू भ्रमण वैधानिक भएको भन्दै बचाउमा लागेका हुन् । प्रधानमन्त्री कार्यालयको निर्देशन, सरकारको मितव्ययी नीति तथा वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिकाको उल्लंघन गर्दै ५९ जना कृषिका कर्मचारी भारत भ्रमण गएका थिए । मन्त्रालयका सचिव युवकध्वज जीसीले भ्रमण वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका २०७५ विपरीत नभएको दाबी गरे ।

 

‘यो भ्रमण वार्षिक कार्यक्रममै आधारित हो । अर्थ मन्त्रालयलगायतबाट स्वीकृति भएको छ । पहिल्यै स्वीकृति नगरेको भए हुन्थ्यो, अहिले आएर अलिक बढी अतिरञ्जित गरियो,’ उनले भने ।आर्थिक वर्ष सकिन चार दिन मात्र बाँकी रहँदा मन्त्रालयबाट सो टोली नियमित काम प्रभावित बनाउँदै भ्रमणमा निस्किएको थियो । कतिपयले त्यस्ता कर्मचारी र स्वीकृत दिने अधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् ।

 

सचिव जीसीले स्वीकृत कार्यक्रमभन्दा बाहिर गएर यस्तो काम गर्ने हिम्मत कसैले नगर्ने बताए । उनले भने, ‘अनाधिकृत र फजुल भ्रमण भएको छैन, सरकारको अनुमतिका आधारमा नै भएको छ ।’ २८ असारमा एकै दिन ५९ जना उच्च पदस्थसहितका कर्मचारीलाई आर्थिक वर्षको बजेट सिध्याउनकै लागि नियमित काम कारबाही नै प्रभावित हुने गरी भारत भ्रमण पठाइएको थियो ।

 

सरकारले मितव्ययी नीति लागू गरेको र वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका २०७५ जारी गरे पनि मन्त्रालयले भने निर्देशिका र प्रधानमन्त्री कार्यालयको समेत निर्देशन अवज्ञा गरेपछि प्रधानमन्त्री कार्यालयले छानबिनसमेत थालिसकेको छ । प्रधानमन्त्री कार्यालयले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजाना’बाट करिब ६० जना कर्मचारीलाई भारत भ्रमणमा मनोनयन गरी करको दोहन गर्न लागिएको सूचना प्राप्त भएको भन्दै वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिकाविपरीत भ्रमण नगर्न निर्देशन दिए पनि परियोजना र मन्त्रालयअन्तर्गतका कर्मचारी भ्रमणमा गएका थिए ।

 

निर्देशिकामा भ्रमण सिफारिस तथा मनोनय गर्दा विषयको सान्दर्भिकता, विषयको विज्ञता, उपयुक्तता, कार्य सम्पादन, ज्येष्ठता, समावेशी पक्ष ख्याल गर्नुपर्ने उल्लेख छ । तर, मन्त्रालयले भने बजेट सकाउन अवलोकन तथा भ्रमण शीर्षकमा आर्थिक वर्ष सकिन चार दिन २८ असारमा अघि एकै दिन निर्णय गरेर सरकारको मितव्ययी नीतिमाथि नै चुनौती दिने काम गरेको आजको राजधानी दैनिकमा समाचार छ ।

 

परियोजनाका निर्देशक डा. नरहरिप्रसाद घिमिरेले नियमसम्मत र प्रक्रिया पुर्याएर नै भ्रमण गरेको बताए । निहित स्वार्थमा भ्रमण नभएको उनको दाबी छ । परियोजनाअन्तर्गत राजपत्रांकित द्वितीय श्रेणीका १४ जनासहित २४ जना कर्मचारी आर्थिक वर्ष अन्त्य हुनु भन्दा चार दिनअघि २८ असारमा भारत भ्रमणका लागि मनोनीत भएका थिए । सोही दिनको अर्को पत्रमा द्वितीय श्रेणीकै १० जनासहित १३ जनालाई मनोनयन गरिएको थियो ।

 

यस्तै, २८ असारमा नै मन्त्रालयले आर्थिक प्रशासन शाखालाई मनोनयनबारे लेखेको द्वितीय श्रेणीका ३, तृतीय श्रेणीका १५ सहित २२ जनाको मनोनयन गरेको थियो । मनोनयन गरिएको पत्रमा उनीहरूको उद्देश्य अवलोकन भ्रमण राखिएको छ । आर्थिक वर्ष २०७४-७५ सम्पन्न भइसके पनि गत वर्षको स्वीकृत कार्यक्रमको बजेट सिध्याउने नियतले नै कर्मचारीको ठूलो दलबल भारत गएको स्रोतको दाबी छ ।

 

कृषि मन्त्रालयले सिफारिसका क्रममा निर्देशिकाको समेत उल्लंघन गरेको पाइएको हो । वैदेशिक भ्रमणमा गएका सरकारी पदाधिकारीहरूको विवरण वेभसाइटमा राख्नुपर्ने, राजपत्रांकित द्वितीय श्रेणी वा सो सरहसम्मका सरकारी पदाधिकारीका लागि सिफारिस समिति गठन गर्नुपर्ने, नेपालका तर्फबाट प्रतिनिधित्व हुने वैदेशिक भ्रमणमा नेपाल सरकारको मनोनयन तथा निर्णय नभई भ्रमणमा सहभागी हुन नपाइने व्यवस्था गरिएको छ । मन्त्रालयले आवश्यक प्रक्रिया पूरा नगरेको पाइएको छ ।

 

यस्तै, नेपालको तर्फबाट विदेशमा कुनै आधिकारिक अवधारणापत्र वा कार्यपत्र पेस गर्नुपर्ने भएमा सोसम्बन्धी विषयमा सरोकारवाला निकाय तथा परराष्ट्र मन्त्रालयसँग परामर्श तथा छलफल गरी अवधारणपत्र वा कार्यपत्र तयार गर्नुपर्ने हुन्छ । यसैबीच, प्रधानमन्त्री कार्यालय र निर्देशिकाको अवज्ञा गर्दै कामकारबाही नै प्रभावित हुने गरी भारत भ्रमण भएपछि प्रधानमन्त्री कार्यालयले छानबिन सुरु गरेको छ ।

 

प्रधानमन्त्री कार्यालयका प्रवक्ता तथा सहसचिव विनोद कुँवरले भ्रमण के कसरी भएको भनेर पत्र काटिसकेको जानकारी दिए । ‘हामीले जानकारी मागेका छौं । जवाफ आएपछि आवश्यक प्रक्रिया अघि बढ्छ,’ उनले भने, ‘गल्ती भेटे कानुनसम्मत कारबाही हुन्छ ।’
हेलो सरकारमा आएको सूचनाका आधारमा प्रधानमन्त्री कार्यालयले वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिकाविपरीत भ्रमण नगर्नु र नगराउनु भनेर सचेत गराएको थियो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति