कांग्रेस महासमिति बैठक छठपछि बस्ने, देउवालाई ठिक पार्न रामचन्द्र र सिटैला मिले



 

निर्वाचनमा पराजयको समीक्षा र भावी पार्टी कार्यक्रम तय गर्न कांग्रेसको महासमिति बैठक छठपछि मात्र बस्ने भएको छ । विधान संशोधनका लागि मस्यौदा तयार पार्ने समिति बन्न नसक्दा भदौमा बस्ने भनिएको बैठक सर्न लागेको हो । महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वमा नौ सदस्यीय समिति बनाउने मोटामोटी सहमति भए पनि सदस्यमा भागबन्डा नमिल्दा समस्या भएको संस्थापनको दाबी छ ।

 

सभापति शेरबहादुर देउवानिकट स्रोतका अनुसार समिति बनेपछि मस्यौदा तयार पार्न दुई हप्ता लाग्छ । मस्यौदामा सुझाब माग्न ७७ वटै जिल्लामा छलफल गराउनुपर्ने भएकाले थप एक महिना लाग्छ । सुझाब आएपछि परिमार्जन गर्ने र केन्द्रीय कार्यसमितिमा छलफल गरी अनुमोदन गराउनुपर्ने हुन्छ । देउवानिकट एक नेताले भने, ‘अब १५ साउनमै समिति बन्यो भने पनि सुझाब संकलनका लागि मात्रै भदौसम्म लाग्छ ।

 

त्यसपछि मस्यौदा परिमार्जन गर्न र केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराउँदा भदौमा महासमिति बैठक बस्न गाह्रो छ ।’ मस्यौदा समिति नै गठन नभएपछि भदौको मिति छठपछि सर्न सक्ने ती नेताको दाबी छ । यसअघि भदौमा महासमिति बैठकको घोषणा गरिए पनि मिति र स्थान तय भएको थिएन ।

 

के–के गर्नुपर्नेछ मस्यौदा समितिले ?

राज्य व्यवस्था संघीय ढाँचामा चले पनि कांग्रेस पुरानै संरचनामा छ । अहिलेसम्म कांग्रेस प्रादेशिक संरचनामा गएको छैन । केन्द्र, जिल्ला, क्षेत्र, गाउँ र नगर, वडा तहसम्मका संरचना कांग्रेस छ । स्थानीय तहमा पनि कांग्रेसका समिति पुरानै छन् ।

 

विधानमा संघीय संरचना कस्तो हुने, कति सदस्य हुने, निर्वाचन प्रणाली कस्तो हुने भन्नेसहितका विषय टुंग्याउनुपर्ने हुन्छ । निर्वाचन प्रणालीमा महाधिवेशन र प्रदेशको नेतृत्व चयनका लागि महाधिवेशन प्रतिनिधि एउटैले छान्ने कि अलग हुने भन्नेसहितका विषय टुंग्याउनुपर्नेछ ।

 

कांग्रेसको प्रतिस्पर्धी पार्टी नेकपाको केन्द्रीय समिति ४४१ सदस्यीय छ । यस्तोमा कांग्रेसलाई पनि ८५ सदस्यीय केन्द्रीय समितिबाट बढाउनुपर्ने दबाब छ । साथै, नेता व्यवस्थापनका लागि पनि पदाधिकारी थप्नुपर्ने दबाब कांग्रेसलाई छ । तर, यसका निम्ति संस्थापन र मुख्य गुटहरूबीच समन्वय हुनुपर्ने जरुरी छ ।

 

कांग्रेसमा अहिले सभापति, उपसभापति, दुई महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री मात्र पदाधिकारी रहन्छन् । नेता व्यवस्थापनका लागि कांग्रेसमा उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहितका पद थप्न दबाब छ ।

 

देउवा–पौडेल पक्षका तर्क

मस्यौदा समिति गठन गर्न नेता रामचन्द्र पौडेलसँग नाम मागे पनि अहिलेसम्म दिन नसकेको आरोप संस्थापन पक्षको छ । ‘पूर्णबहादुर खड्का नेतृत्वमा नौ सदस्यीय विधान मस्यौदा समिति गठन गर्ने सहमति भएको छ,’ संस्थापन पक्षका एक नेताले भने, ‘नौ सदस्यमा हामीले पाँच र उनीहरू ९पौडेल पक्ष०ले चारजना लिने भन्ने छ ।

 

हामीलाई पाँचजना छान्न समस्या छैन, तर उनीहरूलाई तीन पक्षबाट चारजना छान्नुपर्दा समय लागिरहेको छ ।’ पौडेल, महामन्त्री शशांक कोइराला र कृष्णप्रसाद सिटौला पक्षबाट कसरी समितिमा नाम पठाउने भन्नेमै अलमलिएको आरोप संस्थापन पक्षले लगाउँदै आएको छ ।

 

पौडेल पक्षका नेता डा। रामशरण महतले नाममा विवाद नभएको दाबी गरे । ‘हामी संयुक्त रूपमा नबसेर हो । समितिमा बस्ने नेताहरूको नाममा असन्तुष्टि र विवाद छैन,’ महतले भने, ‘मस्यौदा समिति तत्काल नबन्दा भदौ मसान्तसम्म महासमिति बस्न गाह्रो छ, यस्तो हुँदा असोजको पहिलो हप्तासम्म भए पनि गर्नैपर्छ । तर, सार्ने नियतले छठपछि भन्नुहुँदैन ।’ केही नेताले नियतवश नै भदौमा महासमितिको बैठक नगर्ने सोच बनाएको दाबी उनले गरे ।

 

समयमै गर्नुपर्नेमा दबाब

तर, कांग्रेसमा कृष्णप्रसाद सिटौला पक्षसहित संस्थापन पक्षसँग असन्तुष्ट नेताहरू अर्को पक्षले नमानेको बहानामा संस्थापनले बैठक सार्न खोजिरहेको आरोप लगाउँदै आएको छ ।

 

नेता सिटौलासहित अर्जुननरसिंह केसी, युवा नेताहरू गगन थापा, गुरु घिमिरे, प्रदीप पौडेल, धनराज गुरुङ, कल्याण गुरुङसहितका नेताहरू पार्टीलाई विधि, विधान र पद्धतिमा चलाउनुपर्ने भन्दै निर्धारित समयमै (भदौ) महासमिति बैठक गर्नुपर्ने पक्षमा छन् ।आजको नयाँ पत्रिकामा खवर छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति