वामदेवलाई डोल्पाबाट सांसद बनाउने तयारी, सांसद धनबहादुर बूढालाई राजीना दिन निर्देशन



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टीले नेता वामदेव गौतमलाई सांसद बनाउने तयारी गरेको छ । उनलाई प्रतिनिधिसभामा ल्याउन नेकपाले पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढालाई राजीनामा दिन लगाउँदै छ ।

 

सांसद बुढाले राजीनामा दिएपछि डोल्पामा उपनिर्वाचन हुनेछ । जसमा नेकपाले गौतमलाई उम्मेदवार बनाउनेछ । पार्टीका दुई अध्यक्ष केपी ओली र प्रचण्डले ‘संसद्मा तपाईंको आवश्यकता परेको’ भन्दै गौतमलाई प्रतिनिधिसभामा ल्याउने आश्वासन पनि दिइसकेका छन् ।

 

नेता गौतमले पनि अध्यक्षद्वयले आश्वासन दिएको बताए । ‘दुवै अध्यक्षले प्रतिनिधिसभामा तपाईंको आवश्यकता पर्‍यो, ल्याउँछौँ भन्नुभएको छ । थप कुरा अहिल्यै नभनौँ’, उनले नयाँ पत्रिकासँग भने ।

 

स्रोतका अनुसार सांसद बुढाको राजीनामाबारे दुई अध्यक्षबीच छलफल भइसकेको छ । तर, कहिले भन्ने टुंगो भने लागेको छैन । बुढाको राजीनामा स्वीकृत भएपछि सरकारले निर्वाचन आयोगलाई उपनिर्वाचनका लागि आग्रह गर्ने स्रोतले जनाएको छ ।

 

असोजसम्म उपनिर्वाचन
भक्तपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ (ख) मा पनि उपनिर्वाचन गर्नुपर्नेछ । प्रदेश सभा सदस्य हरिशरण लामिछानेको निधन भएपछि उक्त क्षेत्र रिक्त छ । सरकारले बुढाको राजीनामापछि यी दुवै क्षेत्रको उपनिर्वाचन गराउन आयोगलाई आग्रह गर्ने तयारी गरेको हो । नेकपा स्रोतका अनुसार सरकारले असोजसम्म उपनिर्वाचन गराउन निर्वाचन आयोगलाई आग्रह गर्नेछ ।

 

गत निर्वाचनमा गृह जिल्लाबाटै हारेका थिए वामदेव
वामदेव गौतम गत निर्वाचनमा गृह जिल्ला बर्दियाबाटै हारेका थिए । बर्दिया १ बाट उम्मेदवार बनेका उनी कांग्रेसका सञ्जय गौतमसँग सात सय ५३ मतले पराजित भएका थिए । कांग्रेसका गौतमले ४४ हजार ८२९ मत ल्याउँदा वामदेवको पक्षमा ४४ हजार ७६ मत खसेको थियो । तर, पार्टीमै अन्तरघात भएकाले वामदेव पराजित भएको भन्दै तत्कालीन एमालेले छानबिन समिति गठन गरेको थियो ।

 

बोल्न चाहेनन् राज्यमन्त्री बूढा

डोल्पाका सांसद धनबहादुर बुढा भने राजीनामाबारे बोल्न चाहेनन् । ‘यसबार भेटेर कुरा गराैँला,’ उनले भने । ०७४ को निर्वाचनमा बुढा ११ हजार ७६१ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका अंगदकुमार बुढाले ३ हजार १६७ मत पाएका थिए । प्रतिनिधिसभातर्फ डोल्पामा १५ हजार ८१२ मत खसेको थियो । लामो समय राप्रपाको राजनीति गरेका बुढा ०७० मा एमाले प्रवेश गरी दोस्रो संविधानसभामा पनि सभासद् बनेका थिए । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...