कठघरामा ईश्वर पोखरेल, यस्ता छन १२ अभियोग



 

अभियोग १

चतुर राजनीतिक खेलाडी हुनुहुन्छ । व्यक्तिगत लाभ र अवसरको जोडघटाउ गरेर पार्टीभित्रका गुटको पक्ष–विपक्षमा उभिनुहुन्छ । प्रायः जता शक्ति उतै ढल्किनुहुन्छ । माधव नेपाल एमालेको महासचिव हुन्जेलसम्म उनको पक्षमा दृढ भएर उभिनुभयो । बुटवल महाधिवेशनमा झलनाथ खनालको प्यानलबाट महासचिव बन्नुभयो । काठमाडौंमा भएको नवौँ महाधिवेशनमा खनाललाई छाडेर केपी ओलीको प्यानलबाट फेरि महासचिव पड्काउनुभयो ।

 

म सरदर योग्यता भएको मान्छे हुँ । यो भन्नाले मसँग सबल पक्ष पनि छन्, कमजोरी पनि छन् । तर, म कम्युनिस्ट आन्दोलनमा जोडघटाउ गरेर कहिल्यै लागिनँ । लाग्दिनँ पनि । जे सही ठान्छु, त्यसको पक्षमा उभिनुपर्छ भन्ने मलाई लाग्छ ।

 

म गुण र दोषका आधारमा दृष्टिकोण बनाउनुपर्छ भन्ने पक्षको मान्छे हुँ । सहीलाई सही र गलतलाई गलत भन्नुपर्छ । पक्षधरतामा उभिनुपर्छ भन्ने म ठान्दिनँ । मेरो निष्ठामा, निरन्तरतामा, इमानमा कहिल्यै पनि तलमाथि गर्दिनँ । कतिपय नेताहरू वेलावेलामा धरमराएको मैले देखेको छु ।

 

अभियानबाट शिथिल बनेको, विचलित भएको पनि देखेको छु । उहाँहरूको नाम म अहिले लिन्नँ । तर, फर्केर हेर्दा मेरो राजनीतिक जीवनमा त्यस्तो कहिल्यै भएन । अनुकूलतामा मात्रै होइन, प्रतिकूलतामा पनि अविचलित ढंगले उभिएको छु । यसोभन्दा आफूले आफ्नैबारे भनेको जस्तो लाग्ला । तर, यो मेरो गौरवपूर्ण विगत हो, गर्वका साथ भन्छु ।

पार्टीभित्रको आन्तरिक समीकरणमा जता शक्ति छ त्यतैतिर ढल्किन्छस् भनेर तपार्इंले जुन भन्नुभयो, अरू केहीकेहीले पनि यस्तो गरेको मैले सुनेको छु । तर, साँचो के हो भने म जुन ठाउँमा उभिएँ त्यही पावर भयो । यथार्थ यो हो ।

मैले यो प्रस्तुत गर्दा अलिकति दम्भपूर्ण पनि लाग्ला । यसपछाडि के–के कारण छन् त्यसको विश्लेषणमा म अहिले गइनँ । तर, साँचो त्यही हो । सुरुमा सिपी मैनाली महासचिव हुनुभयो । त्यसपछि ०३९ सालमा झलनाथ खनाल महासचिव बन्नुभयो ।

 

झलनाथ महासचिव हुँदा बैठकको आयोजना गर्ने मान्छे म हो । म केन्द्रीय सदस्य थिएँ त्यतिवेला । झलनाथलाई महासचिव बनिसकेपछि डिफेन्ड गर्ने काम हामीले ग-यौँ । ०४६ सालको कालखण्डमा मदन भण्डारीको उदय भयो । त्यतिवेला जस्तो चुनौती देखाप-यो, झलनाथ खनाल त्यो चुनौतीको सामना गर्ने हिसाबले आएको हामीलाई लागेन ।

अब मदन भण्डारीलाई महासचिव बनाउनुपर्छ भन्ने ठायौँ र उहाँका पक्षमा दृढतापूर्वक उभियौँ । मदन कमरेडको अवसानपछि स्वाभाविक रूपमा पार्टीको दोस्रो वरीयताको नेताको हिसाबले माधव नेपाल महासचिव बन्नुभयो ।

उहाँले लामो समयसम्म महासचिव भएर पार्टीको नेतृत्व गर्नुभयो । ०६४ सालको संविधानसभा निर्वाचनपछि ‘अब म नैतिक रूपमा पनि पार्टी चलाउन सक्दिनँ’ भनेर राजीनामा गर्नुभयो । हामीसित कुनै सल्लाह, परामर्श गरेको पनि होइन ।

बुटवलको आठौँ महाधिवेशनमा माधव नेपाललाई ‘केपी ओलीले त पहिल्यैदेखि नेतृत्वमा दाबी गरिरहनुभएको छ, झलनाथ आठ महिनाअघि कार्यवाहक हुनुभएको हो । उहाँहरूबीच प्रतिस्पर्धा हुन्छ । उहाँहरूले हामी लड्दैनौँ, तपार्इं आउनुस् भन्नुभयो भने त ठीकै हो ।

 

नत्र आठ महिनाअघि नैतिक रूपमा राजीनामा दिनुभएको तपार्इंले उहाँहरूकै बीचमा दाबी गर्न सुहाउँदैन’ भनेर मैले नै सल्लाह दिएको हुँ । बौद्धिक र वैचारिक ढंगले झलनाथले लिड गर्नुहुन्छ, संगठनात्मक व्यवस्था हामी गरौँला भन्ने मेरो बुझाइ थियो । तर, पछिल्लो समयमा चुनौतीका बीचमा झलनाथले लिड गर्न गाह्रो देखियो । कतिपय मामिलामा उहाँका लिमिटेसनहरू प्रकट पनि भए ।

नवौँ महाधिवेशनका वेला केपी ओली अत्यन्त अशक्त, बिरामी हुनुभएको थियो । झापा आन्दोलनको जगमा बनेको एमाले, त्यही झापा आन्दोलनबाट बनेको एउटा नेतृत्व केपी ओली । उहाँले ‘एकपटक पार्टीको नेतृत्व गर्छु’ भनिरहनुभएको छ भने किन नबनाउने भन्ने कुरा भयो ।यदि अशक्त भएर उहाँको अनुपस्थितिको स्थिति पैदा भयो भने भोलि त ‘इमोसनली’ पनि यो कुराको हिसाब मागिन्छ हामीसित ।

 

त्यसकारण केपीलाई बनाउनुपर्छ, उहाँलाई जाँचिने मौका पनि दिनुपर्छ भन्ने निष्कर्ष निकालेर उहाँलाई समर्थन गरेको हो ।त्यसकारण आफूलाई फर्केर हेर्दा गर्व लाग्छ । शक्ति कहाँ छ भनेर खोज्दै हिँड्ने प्रतिनिधि, प्रवृत्ति अहिले पनि होलान्÷छन् पार्टीभित्र । तर, मचाहिँ गर्वका साथ के भन्छु भने शक्ति कहाँ छ त्यहाँ होइन, सही कुरा कहाँ छ त्यसको पक्षमा उभिनुपर्छ । र, म जहाँ उभिएको छु, त्यो संस्थापन भएको छ, पावर भएको छ । म यसप्रति गर्व गर्छु ।

 

अभियोग २

सत्ता भनेको अहंकार पनि हो भनिन्छ । ०६१ सालमा आपूर्तिमन्त्रीको कुर्सीमा बस्दा तपाईंमा पनि त्यस्तै अहंकार देखियो । महँगी, कालोबजारी नियन्त्रण गर्छु, जनताको पक्षमा काम गर्छु भन्ने कम्युनिस्ट स्कुलिङको तपाईंले पेट्रोेलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूले आन्दोलन गरिरहँदा ‘आत्महत्या गर्न तयार छु, तर पेट्रोलियम पदार्थको मूल्य घट्दैन’ भनेर जनतालाई निराश बनाउनुभयो ।

 

म आपूर्तिमन्त्री हुँदा अत्यन्तै जोखिमपूर्ण राजनीतिक अवस्था थियो । हाम्रो पार्टीले ‘राजा ज्ञानेन्द्रले प्रतिगमन गरे, प्रतिगमन ठहरावमा पुग्यो । त्यो ठहरावमा पुगेको प्रतिगमनलाई थप अगाडि बढ्न नदिन÷रोक्न सरकारमा जानुपर्छ’ भन्ने विष्लेषणसहित सरकारमा पठाएको हो ।

मन्त्री भइसकेपछि के देखेँ भने अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ, हामीचाहिँ जनताको हित गर्ने नाममा महँगो मूल्यमा वैदेशिक मुद्रामा किनेर सस्तोमा बेच्ने गरिरहेका छौँ ।

विश्लेषण गर्दा त्यो पनि के देखियो भने १० देखि १५ प्रतिशत जनता मात्रै लाभान्वित भएका छन्, अरू जम्मै बिग हाउस, ठुल्ठूला होटेल, तस्करहरूमा जाने देखियो । सरकारलाई भने एक महिनामा ७५–८० करोडसम्म घाटा लाग्ने । इन्डियन आयल कर्पोरेसनलाई पैसा भुक्तानी गर्न नेपाल आयल कर्पोरेसनले भएभरका राज्यका सम्पत्ति धितो राखेर निकाल्नुपर्ने ।

 

यो कुरा थाहा पाएपछि योभन्दा ठूलो राष्ट्रघात के हुन्छ भनेर मलाई पोलेकै हो । हामीचाहिँ जनताको हित हुन्छ भन्ने नाममा बाहिर नारा लगाउने, आधारभूत जनताले चाहिँ पाउँदै नपाउने बरु दुई नम्बरी व्यापारमा खपत हुने देखेपछि मलाई खपिनसक्नुभएकै हो ।

त्यसलाई नियन्त्रण गर्न मन्त्रिपरिषद्ले डा. शंकर शर्माको अध्यक्षतामा विज्ञहरू रहेको एउटा आयोग बनायो । त्यो आयोगले दिएको प्रतिवेदनका पक्षमा म दृढतापूर्वक उभिएको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा स्वतः बढ्ने र घटदा स्वतः घट्नुपर्छ भन्ने सिद्धान्तको पक्षमा म उभिएँ ।

त्यसकारण मैले त्यतिखेर ‘हामी अटोमेटिक प्राइज फिक्सिङ (मूल्य समायोजन)को प्रिन्सिपलबाट जानुपर्छ, होइन भने यो सुसाइडल कुरा हुन्छ’ भनेर बोलेको थिएँ । महँगोमा किनेर कहिलेसम्म सस्तोमा बेच्ने ? के–के कुरा त्यसरी बेच्ने भनेर जोड दिएर भनेको हुँ ।

त्यसमा ‘चिप पपुलर्टी’ मा राजनीतिको रोटी सेक्नेहरू पनि थिए, तर मैले त्यस्तो गरिनँ । मैले साँचो कुरा बोल्नुपर्छ भनेँ । आज म गर्व गर्छु, मेरै पालामा हो– ‘अटोमेटिक प्राइज फिक्सिङ’ को प्रिन्सिपलको प्रारम्भ भएको । जुन अहिले लागू भइरहेको छ ।

भारतीयहरूसँग रक्सौलदेखि अमलेखगन्जसम्म पाइप बिछ्याउने एमआइयू मेरै पालामा भएको हो । त्यति मात्रै होइन, ब्रिटिस कम्पनीसित महेन्द्रनगरदेखि मोरङसम्म पेट्रोलियम पदार्थको उत्खननका लागि प्रारम्भिक सम्झौता पनि गरेका थियौँ ।

 

त्योचाहिँ हाम्रो लगानी नभएर उनीहरूले गर्ने, प्रोडक्सनका आधारमा १० देखि ४० प्रतिशतसम्म नेपालले सित्तैमा पाउने हिसाबले प्रारम्भ गरेका थियौँ । त्यतिवेला देशका लागि जे गर्नुपथ्र्यो हामीले ग-यौँ । र, विगतमा भएको त्यो कुराप्रति मेरो विरोधमा अनेक कुरा भए । म त अत्यन्तै जोखिमपूर्ण अवस्थाबाट उठेको हुँ ।

अहिले म के भन्न चाहन्छु भने त्यसवेला मैले गरेको कामप्रति मलाई गर्व छ । त्यो मुलुकको हितमा गर्ने कोसिस गरेको हुँ । तर, देखिने–नदेखिने, भित्रका र बाहिरका कतिपय स्वार्थका खेलहरूको मैले मेलो नपाएकोचाहिँ हो ।

त्यसवेलाको डरलाग्दो राजनीतिक वातावरणलाई ख्याल नगरीकन सहज ढंगले विषयलाई प्रस्तुत ग-यौँ । भित्र साँच्चै मनमा परेको हुनाले अभिव्यक्ति पनि कडा दिएकै हो । तर, काम देशको हितमै भएको हो ।

 

गुटमा पोको परेर बस्नेहरूप्रति मलाई विश्वास लाग्दैन । समकक्षी साथीहरूले परिष्कृत भाषा प्रयोग गर्छन्– ‘आफ्ना मान्छेलाई संरक्षण गर्न सक्नुभएन ।’ के संरक्षण गर्ने ? कसले कसलाई संरक्षण गर्ने ? हाम्रो पार्टीभित्र आफ्नो पक्षधर भनिसकेपछि उनीहरूलाई पूरै ज्यान फालेर सोहोरेर हिँड्ने चलन छ । मचाहिँ त्यो गर्दिनँ ।

 

 

अभियोग ३

पछिल्लो समय जुनसुकै हालतमा मन्त्री बन्न लाग्नुभयो । जब कि, प्रधानमन्त्री केपी ओलीमा समेत तपाईंलाई मन्त्री बनाउने रुचि देखिँदैनथ्यो । सुरुमा अर्थ मन्त्रालय दाबी गर्नुभयो, त्यसपछि परराष्ट्र माग्नुभयो । ओलीले खाँदैनन् होला भनेर रक्षामन्त्री नियुक्त गरे । तर, तपार्इंलाई दौरासुरुवालमा सजिएर शपथ खान आएको देख्दा प्रधानमन्त्रीसमेत जिल्ल परेको भन्दै एमालेकै कार्यकर्ता हाँसो गर्छन् । महासचिवजस्तो सिनियर नेतालाई प्रधानमन्त्रीले यति अपमानित व्यवहार गर्दासमेत मन्त्री बन्न किन यति मरिहत्ते ?

 

मैले मन्त्री बन्न मरिहत्ते ग-यो भनेर मान्छेले जसरी बुझ्छन्, त्यसमा मैले सफाइ प्रस्तुत गरेको होइन । तर, म के बुझ्छु भने यही मन्त्री बन्नका लागि मैले राजनीति गरेको होइन । गर्न पनि चाहन्नँ । त्यसवेला हाम्रो पार्टीको अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको सल्लाह–परामर्शमै मैले रक्षा मन्त्रालय लिएको हो । सुरुमा अर्थ मन्त्रालयसहित प्रमुख मन्त्रालयबारे कुरा चलेकै हो ।

त्यसवेला दुईवटा पार्टी भएकाले एउटाले गृह र अर्कोले अर्थ मन्त्रालय लिने भन्ने भयो । अहिलेको अर्थमन्त्रीजीसित पनि कुराकानी भएकै हो । त्यो कुराको आधारमा म अर्थमन्त्री हुने भन्ने प्रारम्भिक कुराकानी चलेको थियो ।

 

पछि, टेक्निकल मन्त्रालयमा टेक्नोक्र्याट नै चाहिन्छ भन्ने तर्क आयो । राजनीतिज्ञहरूले कतिपय कुरा बुझ्न पनि समय लाग्छ । अर्थतन्त्र अलिकति अप्ठ्यारो अवस्थामा पनि छ, बुझेकै मान्छे भयो भने सजिलो हुन्छ भन्ने तर्क आएपछि ठीकै पनि हो भन्ने लाग्यो । प्रधानमन्त्रीले नै त्यस्तो सोच बनाएपछि त्यसमा हामीले थप कुरा गरेनौँ ।

जसले सरकारलाई लिड गर्छ, उसको जे सोच–योजना छ त्यस आधारमा हुने हो । फेरि केपी ओली त मेरो पार्टीको अध्यक्ष पनि । उहाँसँग पूरा अधिकार के छ भने आफ्नो मातहतका कोही पनि साथीलाई के जिम्मा लिने हो भनेर सीधै भन्न सक्नुहुन्थ्यो ।

मलाई पनि खुलस्तै भन्न सक्नुहुन्थ्यो । सान, संकेत, भाव बुझ्नुपर्ने त्यस्तो कुरै होइन । म हिजो उहाँकै प्यानलबाट महासचिव भएको, हामीसँगै काम गरिरहेको हुनाले मलाई मन्त्री बनाउने रुचि नभएको भए त सोझै भनिहाल्नुहुन्थ्यो । त्यसकारण तपार्इंले भनेको कुरा मान्छेहरूले लख काटेको मात्रै हो ।

प्रमुख मन्त्रालय नभएपछि वरीयताक्रममा प्रधानमन्त्रीको पछि रहने गरी रक्षामन्त्रीको जिम्मेवारी दिइएको हो । प्रधानमन्त्रीले ‘रक्षा मन्त्रालयको कुरा बुझ्नुस् न त तपाईंले’ भन्नुभयो । मैले ‘ठीकै छ, तपाईंको जे सोच छ’ भनेँ । त्यसपछि उहाँले ‘ल रोजेर कुन मन्त्रालय लिनुहुन्छ, रोज्नुस्’ पनि भन्नुभयो ।

 

तर, मैले ‘तपार्इंले सुरुमै विभिन्न अर्थमा रक्षा मन्त्रालय उचित हो भन्ने ठानिसक्नुभएको छ भने तपाईंले मन्त्रालय रोज्नुस् भन्दा पनि म रोज्दिनँ’ भनेर म नै तयार भएको हो । जहाँसम्म दौरासुरुवालमा सजिएर गएको कुरा छ, अघिल्लो दिन दुईजना मन्त्री मात्रै हुने कुरा थियो ।

शपथ ग्रहणमा सबै पुरुष माननीयहरूले दौरा सुरुवाल तथा महिलाले सारी–चोलो लगाएर आउने कुरा भएको थियो । त्यहीअनुसार दौरासुरुवाल लगाएर गइयो । यो कुनै मन्त्री बन्न दौरासुरुवाल लगाएर गएके थियो भनेर हँसीठट्टाको कुरै होइन । त्यो त अल्पबुझाइ वा दरिद्र सोचाइको आधारमा मान्छेहरूले टिप्पणी गरेका हुन् ।

 

म के ठान्छु भने परिभाषित जिम्मेवारीको आधारमा आफ्नो योग्यता देखाउने हो । सेलेब्रिटी हुने हिसाबले एकदम चखिला–चखिला कुुरा गर्दै कालान्तरमा हलुका बन्ने कुरामा मलाई विश्वास लाग्दैन । धेरै उत्कृष्ट लाग्ने कुरा बोल्ने, तर कामचाहिँ त्यसअनुसार नहुने कुराप्रति पनि मेरो विश्वास छैन । म धेरै राम्रो लाग्ने कुरा गर्नुभन्दा पनि एउटा सरदर राम्रो काम गर्दै अगाडि बढ्नुपर्छ, अहिलेको आवश्यकता त्यही हो भन्ने ठान्छु ।

 

अभियोग ४

तत्कालीन एमाले र माओवादीबीच एकता प्रक्रियाको वार्ता चलिरहेका वेला तपार्इं एकता भाँड्न लागेको गम्भीर आरोप पनि लाग्यो । नयाँ बन्ने पार्टीमा अध्यक्ष र प्रधानमन्त्री एउटै व्यक्ति हुन्छ भनेर सार्वजनिक अभिव्यक्ति दिनुभयो । त्यसले दुवै पार्टीमा एकखालको तरंग ल्यायो । जसबाट पार्टी एकता भाँड्न खोजेको भनेर प्रधानमन्त्री ओलीसमेत रिसाउनुभयो ।

त्यसवेला दुईवटा पार्टी एक भइसकेका थिएनन् । तर, पार्टी एक हुने भन्ने थियो । तर, मैले त्यसवेला र अहिले पनि बुझ्दै नबुझेको कुरा के हो भने पार्टी एक भइसकेपछि आलोपालो भन्ने कसरी हुन्छ ? पार्टी एक भइसकेपछि नयाँ बनेको पार्टीका नेताहरूको कार्यविभाजन हुन्छ ।

 

को नेताले के काम गर्दा लाभ हुन्छ पार्टीलाई भन्ने कुरा पो हुन्छ त । तर, त्यसवेला के चलिरहेको थियो भने आलोपालो । यो कुरा फेरि कस्तो वेला चलिरहेको थियो भने पार्टी एक भइनसकेको, चुनावी मोर्चा मात्रै बनेको थियो । मोर्चा बनेको वेला त्यसका कुन घटकले कुन वेला के जिम्मा पाउने भन्ने कुरा हुन सक्छ । त्योचाहिँ मोर्चाको अवस्थाको कुरा हो ।

जो–जो नेता साथीहरूले त्यो वेला कुरा गरिरहनुभएको थियो, उहाँहरूले भन्ने पार्टी एक बनाउने, अनि एक बनिसकेको पार्टीमा आलोपालो प्रणाली गर्ने भन्ने । योचाहिँ संगतिपूर्ण कुरा भएन भन्ने मेरो जोड हो । दोस्रो कुरा, मैले के भनेको हो भने पार्टीमा दुई खालको अभ्यास देख्छु ।

एउटा, मान्छेहरूलाई जिम्मा दिनुपर्छ भन्ने नाममा कसलाई के, कसलाई के बाँडफाँड गर्ने र नजानिँदो किसिमले ‘मल्टी सेन्टर’ बनाउने । यो ‘मल्टी सेन्टर’ बनाउने कुरा भनेको पार्टीभित्र अराजकता र गुटबन्दीलाई प्रोत्साहन दिने हो । हामीले जानीजानी अराजकता र गुटबन्दीलाई प्रोत्साहन गर्नु हुँदैन ।

 

मेरो हिजो पनि त्यही मान्यता थियो, अहिले पनि त्यही छ । त्यसकारण मैले पार्टीको अध्यक्ष जो हुन्छ, त्यही संसदीय दलको नेता र प्रधानमन्त्री हुन्छ भनेको हुँ । पार्टीको अध्यक्ष एउटा, संसदीय दलको नेता अर्को, प्रधानमन्त्री अर्को योचाहिँ हुँदैन । त्यसले ‘मल्टी सेन्टर’ बनाउँछ भनेको हुँ ।

अब अहिले के भयो मैले नै के भन्नु ? तपाईंहरूले देखिरहनुभएको छ । अहिले म अनुहार सम्झिरहेको छु, हाम्रो पार्टी एमालेकै कतिपय नेता साथीहरू आलोपालो भनेर खुब वकालत गरिरहनुभएको थियो, उहाँहरू अहिले के भनिरहनुभएको छ, थाहा छैन ।

अभियोग ५

प्रधानमन्त्री ओलीसँग सम्बन्ध बिग्रिएकाले मलाई महासचिव बनाउँदैनन् भन्ने संकेत तपार्इंले पाइसक्नुभएको थियो । तर, दाबी छाड्नुभएन । विष्णु पौडेललाई महासचिव बनाइएपछि निकटस्थहरूसँग ‘भारतको खेल हो’ भन्ने गम्भीर आरोप लगाउनुभयो ।

 

म एकीकृत पार्टीको अन्तरिम विधान बनाउने कार्यदलको सदस्य हुँ । हामीले अन्तरिम विधान बनाइरहँदा दुई अध्यक्षहरूसँग परामर्श पनि ग-यौँ । र, दुईवटा अध्यक्ष राख्ने, अरू पदहरू नराख्ने भन्ने सल्लाह भयो ।

त्यसैअनुसार नै हामीले अन्तरिम विधानको ड्राफ्ट बनाएका हौँ । जुन पार्टी एकता संयोजन समितिबाट पनि जस्ताको तस्तै पारित भयो । अनि, दुईवटा पार्टीका माथिल्ला निकायमा लगेर त्यहाँबाट पनि पारित भएको हो । त्यसकारण महासचिव नै नराख्ने भन्ने सहमति थियो ।

 

तर, जब पार्टी एकता गर्ने जेठ ३ गतेको दिन आयो, एकता संयोजन समितिको बैठकमा अध्यक्ष केपी ओलीले महासचिव राख्ने प्रस्ताव ल्याउनुभयो । त्यसमा अर्का अध्यक्ष प्रचण्ड कमरेडको पनि समर्थन थियो ।

‘यत्रो पार्टी एकता गर्ने त भइयो, त्यसको संगठनात्मक व्यवस्थापन, हेडक्वार्टरको व्यवस्थित परिचालन, एकता प्रक्रियालाई अगाडि बढाउने कुरामा कुनै जिम्मेवारी किटान गरेर नदिने हो भने अप्ठ्यारो पर्छ’ भन्ने विश्लेषणका आधारमा उहाँहरूले त्यो प्रस्ताव ल्याउनुभयो ।

खाली कुरा के मात्रै हो भने बैठकमा ल्याउनुअघि नै त्यो विषयमा सरसल्लाह किन भएन ? विधान ड्राफ्ट गर्ने समयमा यो कुरा किन उठेन ? अन्तिमतिरको बैठकमा झ्याप्प किन प्रस्ताव ल्याइयो भन्ने लेबलमा मात्रै प्रश्न उठेको हो ।

 

जहाँसम्म म महासचिव हुने कुरा छ, म दुईपटक निर्वाचित महासचिव भएकै हो । हाम्रो विधानको स्प्रिट र मेरो मान्यताले पनि लगातार तीनचोटि एउटै पदमा आउने कुरा हुँदैनथ्यो । म मानसिक रूपमा त्यसमा तयार थिएँ । अर्को कुरा, म मन्त्री छु । राज्य सञ्चालनमा प्रधानमन्त्रीपछि कार्यकारी ठाउँमा छु ।

यस्तोमा मैले महासचिव भएर पार्टी पनि चलाउने कुरा त्यति सहज हुँदैनथ्यो । अहिले महासचिव बन्नुभएको विष्णु पौडेल हिजो एमाले हुँदा पनि सांगठनिक रूपमा योग्यतापूर्वक काम गर्ने व्यक्ति हो । मैले काम देखेको छु उहाँलाई ।

 

म लुम्बिनीको पार्टी प्रमुख हुँदा उहाँ जिल्ला कमिटीको सचिव हुनुहुन्थ्यो । एमालेभित्र म महासचिवपछि दुईजना महासचिव हुनुहुन्थ्यो । उहाँलाई चाहिँ पार्टी संगठन हेर्ने उपमहासचिवको जिम्मा दिइएको थियो । त्यसकारण यसलाई अन्यथा ढंगले बुझ्नु पनि हुँदैन । खाली प्री–छलफल भएन भन्ने मात्रै हो ।

अर्को, आफू निकटस्थसँग ‘यसो भन्यो’ भन्ने त विषय नै भएन । ‘आफ्नो थैलीको मुख राम्ररी बाँध, छिमेकीलाई दोष नलगाऊ’ भन्ने एउटा उखान छ नि । म त्यसमा एकदम सहमत छु । हाम्रो आन्तरिक बिजनेस हो, अर्काले गरिदियो । हामी कहाँ–कहाँ हाम्रो थैलीको पोको पार्ने भन्ने मेलो नपाउने, अनि अर्काले आँखा लगाइदियो भन्ने खालको निम्न कोटिको टिप्पणी म गर्दिनँ ।

किनभने, हाम्रो फैसला हामीले गर्ने हो । कति योग्यता देखाउँछौँ/देखाउँदैनौँ, कति परसम्म सोच्छौँ÷सोच्दैनौँ, के गर्दा ठीक पर्छ/पर्दैन त्यो अलग कुरा हो । तर, ‘फलानाले खेलेर यस्तो भयो’ भन्ने खालको निरीहता म प्रकट गर्दिनँ । हो, यसमा सामान्य छलफल हुन सक्छ ।

 

कुनै–कुनै घटनाहरू अन्तर्सम्बन्धित हुन्छन् । केही देखिने हुन्छन्, केही नदेखिने हुन्छन् । केही भित्र हुन्छन्, केही बाहिर हुन्छन् । त्यो अस्वाभाविक पनि होइन । तर, म यो अन्तर्सम्बन्धित हुन्छ भनिरहँदा आफू योग्यता नदेखाउने अनि आफ्नो अयोग्यता अर्काको टाउकोमा हाल्ने नालायक कुराचाहिँ गर्दिनँ ।

 

शक्ति कहाँ छ भनेर खोज्दै हिँड्ने प्रतिनिधि, प्रवृत्ति अहिले पनि होलान्/छन् पार्टीभित्र । तर, मचाहिँ गर्वका साथ के भन्छु भने शक्ति कहाँ छ त्यहाँ होइन, सही कुरा कहाँ छ त्यसको पक्षमा उभिनुपर्छ । र, म जहाँ उभिएको छु, त्यो संस्थापन भएको छ, पावर भएको छ । यसकारण म मेरो विगतप्रति गर्व गर्छु ।

 

 

अभियोग ६

पार्टीभित्रैबाट तपाईंमाथि लाग्ने आरोप छ, ईश्वर पोखरेल नेताको भन्दा फौजी कमानडरको व्यवहार बढी देखाउँछन् । कार्यकर्तालाई हप्कीदप्की गर्छन् । आफूलाई मन नपर्ने र फरक गुटको कार्यकर्तालाई देखिसहन्नन् । ‘पशुपतिका ईश्वरसँग सकिएला, बल्खुका ईश्वरसँग सकिन्न’ भनेर तत्कालीन एमाले कार्यकर्तामाझ अहिले पनि ठट्टा चल्छ ।

साथीहरूले मलाई जे देखेर, जस्तो इम्प्रेसन प-यो र त्यही आधारमा टिप्पणी गर्नुभयो । त्यसमा म प्रतिटिप्पणी गर्न चाहन्नँ । मैले अघि पनि भनेँ– म सरदर योग्यताको मान्छे, कमजोरीसहितको मान्छे हुँ । त्यसकारण साथीहरूले गरेको टिप्पणीमा सच्चाइ हुन सक्छ ।

मैले त्यो सच्चाइ अहिलेको सबै अवस्थाअनुसार सुधार गर्न अधिकतम कोसिस गर्नुपर्छ । म साथीहरूका टिप्पणी नम्रतापूर्वक मनन गर्छु । मेरो स्वभाव कस्तो छ भने मान्छेहरूले अव्यवस्थित, लटरपटर कुरा गरेको मलाई फिटिक्कै मन पर्दैन । आफ्नो कुरा स्टेट फरवार्ड ढंगले राख्न ठीक लाग्छ । मान्छेहरूले अलिकति अनुचित ढंगले व्यवहार गरेकोजस्तो प-यो भने ती मान्छेहरूप्रति मेरो धारणा बिग्रिन्छ ।

 

मान्छेहरूले मेराबारे गर्ने अर्को टिप्पणी तपाईंंले भन्नुभएन, म सुनाउँछु । मान्छेहरूले ‘सुरुमा भेट्दा तपाईंं एकदमै कडा ढंगले प्रस्तुत हुनुहुन्छ । तर, पछि समस्याको समाधान तपाईंंले नै गरिदिनुहुन्छ । त्यसरी पछि समाधान गर्ने मान्छेले पहिले नै बोल्दा राम्ररी बोलेर गरेको भए हुन्थ्यो नि’ भनेको पनि सुनेको छु ।

यसरी अलि उल्टो प्रकट हुने गर्छ भन्ने पनि लागेको छ । मेरो एउटा शैली हो । त्यसलाई सच्याउनुपर्ने तहसम्म ध्यान दिनुपर्छ । उत्तरार्धमा लागेको मान्छेले कति सच्याउन सक्छ, ध्यान दिनुपर्छ । तर, म नियत बांगो राखेर यी सबै काम गरिरहेको हुन्नँ ।

गलत कुरा हो, फट्याइँ ग-यो भन्ने भयो भने म कडा रूपमै प्रस्तुत हुन्छु । त्यो फौजी कि नफौजी ? यो बानी मैले अहिले रक्षा मन्त्रालयमा आएर फौजबाट सिकेको पनि होइन, सुरुदेखि नै यस्तै हो । तर पनि, साथीहरूको जुन टिप्पणी छ, त्यसमा मैले मनन गर्नैपर्छ ।

 

अभियोग ७

एक जमानामा तपाईंं र प्रदीप नेपालको चर्चित जोडी थियो । पार्टीभित्र र बाहिर निकै मिल्ने साथीका रूपमा हेरिन्थ्यो । तर, बुटवल महाधिवेशनमा पहिला प्रदीप नेपाललाई महासचिवमा उठ्न उक्साउनुभयो र पछि आफैँ प्रतिस्पर्धामा उत्रिएर अति मिल्ने सहकर्मीलाई घात गर्नुभयो ।

साँचो कुरा के हो भने प्रदीप नेपाल र म वर्किङ स्पिरिट अत्यन्तै मिल्ने साथी हौँ । हामी टाढाको नाता पनि पर्छौं । उमेरले एक–दुई महिना जेठो हुनुहुन्छ । उहाँ नख्खु जेल ब्रेक गरेर निस्केपछि को–ओर्डिनेसन केन्द्रमा सामेल भएदेखि मैले चिनेको हो ।

 

उहाँ अत्यन्त गतिशील मान्छे पनि हो । उहाँसहित हामी वर्किङ स्पिरिट मिल्ने साथीहरूको टिमले नै पहिलेको माले र पछि एमाले बनाउनुमा महत्वपूर्ण भूमिका पनि खेलेको छ । प्रदीपसँगको सम्बन्ध म कहिल्यै बिर्सन्नँ । उहाँसँगको सम्बन्ध त्यो खालको पनि हो ।

आठौँ महाधिवेशनमा तपाईंंले भनेजस्तो पहिला उहाँलाई महासचिव उठ्नुस भनेर उस्काएको कुरा केही पनि होइन । प्रदीप नेपालले तपाईंंसँग के भन्नुभयो, त्यो मैले पढ्न पाएको छैन । उहाँको कुराको मैले खण्डन–प्रतिवाद गर्न खोजेको पनि होइन । झलनाथ अध्यक्षमा उठ्नुभयो । उहाँले आफ्नो प्यानलबाट महासचिव उठ्न भन्नुभयो ।

 

प्रदीप केपी ओलीको प्यानलबाट महासचिव उठ्नुभयो । मैले बुझेको के थिएँ भने केपी ओली प्यानलै बनाएर उठ्नुपर्छ भन्ने पक्षमा हुनुहुन्नथ्यो । आफू अध्यक्ष उठेपछि महासचिव नउठाउने पक्षमा हुनुहुन्थ्यो । आफूनिकटका साथीहरूलाई पनि उहाँले ‘महासचिवमा ईश्वर पोखरेललाई नै छाडिदिनुपर्छ’ भन्नुभएको थियो । तर, पछि पार्टीभित्र यस्तै न हो ।

‘ईश्वर पोखरेललाई निर्विरोध महासचिव बन्न दिनुहुन्न’ भन्ने पक्षका साथीहरू जो केपी ओलीलाई त्यसवेला समर्थन गर्नुहुन्थ्यो, उहाँहरू लागेर लिस्ट बनाउने अन्तिम समयमा प्रदीपलाई भुंग्रोमा हालिदिएको हो । प्रदीप कमरेडले पछि ‘वास्तवमा मेरो उठ्ने चाहना नै थिएन, जित्नै उठेको होइन, त्यत्तिकै उठेको हो’ भन्नुभयो भनेर साथीहरूले सुनाउनुहुन्थ्यो ।

 

जे भए पनि प्रदीप र मबीच त्यसरी प्रतिस्पर्धा हुँदैनथ्यो । मलाई झलनाथले आफ्नो प्यानलको महासचिव बनाइसक्नुभएको छ, पछि उहाँले महासचिवको उम्मेदवारी दिने कुरा आएपछि म छक्क परेँ । त्यस्तो अवस्थामा प्रतिस्पर्धा भएको हो । तर पनि, प्रदीप नेपालसँगको मेरो मित्रता धेरै पुरानो हो, दशौँ–बीसौँ वर्ष सँगै काम ग-यौं ।

सँगै काम गर्दाको जुन अनुभव छ, त्यो बडो मूल्यवान् लाग्छ । त्यसकारण म उहाँलाई सधैँ आदरपूर्वक लिन्छु । पछिल्लो समय उहाँ सांगठनिक कुरातिर भन्दा साहित्य लेखन÷टिप्पणीकारको भूमिकामा बढी खटिनुभएको छ । अहिले पनि म उहाँकोमा जाने, उहाँ मेरोमा आउने भइरहन्छ । पारिवारिक मित्रता पनि छँदै छ ।

 

अभियोग ८

पार्टीभित्र आफ्नो स्थान सुरक्षित गर्न वेलावेला घुर्की पनि देखाउनुहुन्छ । पार्टी एकताका लागि बनाइएको संयोजन समितिमा तपाईंंलाई नराखिएपछि नेताहरूलाई घुक्र्याउनुभयो । र, आफ्नो नाम दर्ज गराउन सफल हुनुभयो ।

दुईवटा पार्टीबीचको एकता संयोजन समिति हो । प्रारम्भमा के–के छलफल गर्नुभयो, मलाई थाहा छैन । मैले घुर्की लगाउने विषय नै होइन । पार्टी अध्यक्षले मलाई एकता संयोजन समितिमा हुनुहुन्छ भनेर भन्नुभएको हो । म त्यतिवेलाको एमालेको महासचिव ।

पार्टी एकता संयोजन समितिमा एउटा पार्टीको महासचिव नरहने कुरा त अत्यन्त अस्वाभाविक र त्रुटिपूर्ण हुन्थ्यो । त्यो कुनै घुर्कीसुर्कीको कुरै होइन । बरु, प्रारम्भमा उहाँहरूबीच छलफल हुँदा म थिइनँ होला । तर, मलाई अध्यक्षले नै ‘तपाईंं पनि सदस्य हुनुहुन्छ’ भनेर खबर गर्नुभएको हो ।

 

जहाँसम्म मेरो स्वभावको कुरा छ, आफ्ना कुरा ठाउँमा राख्ने, कडा ढंगले प्रस्तुत हुने, तर बाहिर अनुत्तरदायी ढंगले टीका–टिप्पणी गर्दै हिँड्ने मेरो बानी छैन । बरु, पार्टीमा कहिले चित्त बुझेका कुरा होला, कहिले नहोला, कहिले अन्यायजस्तो होला, कहिले मन दुख्ला ।

अनेक कुरा हुन सक्छन् । त्यस्तो हुँदा जोरीपारी हँसाउने गरी गीत गाउने, बाहिर टीका–टिप्पणी गर्दै हिँड्ने मान्छे म होइन । पार्टी त परिवारजस्तै संस्था हो नि । त्यसको गरिमामा आँच आउने काम मबाट कहिल्यै हुँदैन ।

 

कुनै–कुनै घटनाहरू अन्तर्सम्बन्धित हुन्छन् । केही देखिने हुन्छन्, केही नदेखिने हुन्छन् । केही भित्र हुन्छन्, केही बाहिर हुन्छन् । त्यो अस्वाभाविक पनि होइन । तर, म यो अन्तर्सम्बन्धित हुन्छ भनिरहँदा आफू योग्यता नदेखाउने अनि आफ्नो अयोग्यता अर्काको टाउकोमा हाल्ने नालायक कुराचाहिँ गर्दिनँ ।

 

 

अभियोग ९

महत्वाकांक्षी हुनुहुन्छ । काठमाडौंमा सम्पन्न नवौँ महाधिवेशनअघि महासचिवभन्दा माथिका सबै नेतालाई सल्लाहकार बनाएर आफूले नेतृत्व लिन सकिन्छ कि भनेर गृहकार्य पनि गर्नुभयो । तत्कालीन एमालेका आफूभन्दा मुनिका केही नेतासँग छलफल पनि गर्नुभयो । तर, लाभ–हानिको हिसाब गरेर पछि केपी ओली प्यानलबाट महासचिव नै दोहो-याउनुभयो ।

यो आरोप भ्रमबाट प्रभावित छ । म कम्युनिस्ट पार्टीभित्र नेतृत्व परिवर्तनको प्रक्रियालाई स्वाभाविक बन्न दिनुपर्छ, पारदर्शी ढंगले अगाडि बढाउनुपर्छ र विधिसम्मत बनाउनुपर्छ भन्ने मान्यता राख्ने मान्छे हुँ ।

 

एकपटक नेता भएपछि कहिल्यै पनि नेतृत्वबाट नहट्ने, बुढो हुन्जेलसम्म पद नछाड्ने, पटक–पटक त्यही पदमा बसिरहने कुराको विपक्षमा छु म । र, भोलि एकीकृत पार्टीभित्र पनि म यो मान्यतालाई लिएर साथीहरूसँग छलफल–बहस चलाउँछु । कुनै नेताविशेषलाई टार्गेट गरेको होइन ।

म सम्झन्छु, को–अर्डिनेसन केन्द्रको सदस्य हुँदा २३ वर्षको थिएँ । अहिले ५०–५५ वर्षका साथीहरूलाई पनि अझै जिम्मेवारी दिन मिल्दैन भन्ने जस्तो मानसिकता बोकेर पार्टी कसरी चल्छ ? नयाँ साथीहरूलाई भरोसा गरेर जिम्मेवारी दिनुपर्छ भन्ने पक्षमा छु म ।

त्यही कारण हामीले पार्टीमा सल्लाह गरेर एमालेको विधानमा उमेरहद पनि ग-यौँ । अन्तिम बुढो हुन्जेल, ढाड दुखेर कुप्रो हुन्जेलसम्म कार्यकारी पदमा नबसौँ भनेर यो व्यवस्था गरेका हौँ ।

 

आठौँ महाधिवेशनपछिको कुरा गर्ने हो भने केही साथीहरूले ‘अब यिनीहरूबाट चल्दैन, तपाईं अगाडि बढ्नुपयो’ भनेर मसँग प्रस्ताव लिएर आउनुभएको थियो । अहिले ती साथीहरूको नाम लिन उचित हुँदैन । मैले भनेँ, ‘हामीले अहिलेसम्म मानेका ती नेताहरूको विधिसम्मत व्यवस्था के हो ? त्यसबारे पहिले हामी टुंगो लगाऔँ ।

र, आजसम्म आदर गरेको नेताहरूलाई भोलि तिमीहरू काम लाग्ने भएनौँ, मेरो पालो भनेर कुहिनाले हान्दै, धक्का मार्दै निकाल्ने काम गर्नुहुँदैन । बरु पहिलेका नेताहरूमध्ये कसको साटो कसलाई अघि बढाउने त्यो विचार गरौँ ।

तर, नेताहरूलाई एकछेउ लगाएर, कुनोमा पारेर अब हामी अगाडि बढ्नुपर्छ भन्ने मान्यतामा जानु हुन्न ।’ मलाई प्रस्ताव ल्याउने साथीहरू त्यसपछि ‘यसलाई आस गरेर भनेको, यसले खुट्टा टेकेन’ भन्दै मेराबारे टिप्पणी गर्दै हिँड्नुभयो रे भन्ने म सुन्छु ।

 

अभियोग १०

पार्टीभित्र गुट बनाउन खोज्नुहुन्छ, तर सक्नुहुन्न । गुटभित्रको पनि उपगुटको साँघुरो घेरामा रमाउनुहुन्छ । तपार्इंको स्वभावका कारण उपगुट विस्तार हुनै पाउँदैन ।

म गुटमा विश्वास गर्दिनँ । गुटमा अभ्यस्त भएर शक्ति आर्जन गरेको भन्ने ठान्ने साथीहरूले मलाई एक ढंगले टिप्पणी गर्नुहुन्छ । तर, मलाई कसोकसो गुटमा विश्वास लाग्दैन । हो, इस्युमा नजिक–टाढा भइन्छ, छलफल गरिन्छ । अनि, सम्बन्धहरू त निरन्तर पुनर्गठित हुन्छन् ।

 

आजका सम्बन्धहरू भोलि बिग्रन सक्छन्, बिग्रेका भोलि बन्न सक्छन् । गुटमा पोको परेर बस्नेहरूप्रति मलाई विश्वास लाग्दैन । गुण र दोषका आधारमा दृष्टिकोण अपनाउने हो । समकक्षी साथीहरूले परिष्कृत भाषा प्रयोग गर्छन्– ‘आफ्ना मान्छेलाई संरक्षण गर्न सक्नुभएन ।’

के संरक्षण गर्ने ? कसले कसलाई संरक्षण गर्ने ? हाम्रो पार्टीभित्र आफ्नो पक्षधर भनिसकेपछि उनीहरूलाई पूरै ज्यान फालेर सोहोरेर हिँड्ने चलन छ । मचाहिँ त्यो गर्दिनँ । म एक्लै भए पनि होऊँ, मलाई त्यसको मतलब भएन । म इस्युमा केन्द्रित हुन्छु ।

गुण र दोषका आधारमा दृष्टिकोण अपनाउँछु । सहीलाई सही र गलतलाई गलत भन्छु । र, सम्बन्धहरू जडतामा प्रकट हुन सक्दैनन्, गतिमा प्रकट हुन्छन् । गतिमा प्रकट हुने सम्बन्धमा मलाई विश्वास छ ।

 

अभियोग ११

राजकीय पदमा जाँदा तपाईं उपलब्ध हुनेजति सुविधाहरू अनावश्यक भए पनि प्रयोग गर्नुहुन्छ । जस्तो, अहिले मन्त्री हुनुहुन्छ, तपाईंको काठमाडौंमै सुविधासम्पन्न घर छ । तर पनि, पुल्चोकको मन्त्रीनिवास ओगेटेर राख्नुभएको छ ।

 

यो ठूलो कुरै होइन । वाहियात कुरा ! म मन्त्री हुँ, मन्त्रीको नाताले मैले क्वार्टर लिएको छु । त्यसमाथि क्वार्टरमा केही अतिरिक्त सुविधा भएको भए त्यसो भनेको पनि सुहाउँथ्यो । नाम मात्रको क्वार्टर हो । गएर हेर्नुस् न, खण्डहरजस्तो छ । तर पनि, त्यहाँ बस्दा मेरो मन्त्रीजीहरूसँगको को–अर्डिनेसनका लागि, कतिपय मेरा अफिसियल कामका लागि सहज हुन्छ ।

 

यहाँ घरमा सुरक्षाकर्मीको दलबलसहित बस्न कठिनाइ हुन्छ, व्यावहारिक ढंगले । पारिवारिक कुरा पनि हो । घर भएको ठाउँ मेरो निर्वाचन क्षेत्र पनि हो । क्षेत्रका कामले एक–दुई दिन यता पनि बस्छु । यहाँ बसेर क्षेत्रका काम गर्न सजिलो हुन्छ । घर भएर पनि क्वार्टर लियो भन्ने लाग्दो हो ।

 

अभियोग १२

लामो राजनीतिक जीवनमा तपाईंमाथि धेरै आरोप लागे, गुनासा आए । समयसँगै सबै केही हराए, केही बाँकी पनि रहे । तर, एउटा आरोपले तपाईंलाई सधैँ लखेटिरहन्छ– ०६१ सालमा आपूर्तिमन्त्री हुँदा घरको पानीट्यांकीमा पैसा लुकाएर राखेको भन्ने ।

 

शाही शासन सुरु भइसकेपछि एउटा साप्ताहिक पत्रिकाले ‘भरतमोहन अधिकारीको घर खानतलासी गर्दा तकियामुनि पैसा भेटियो’, ‘ईश्वर पोखरेलको घरको पानीट्यांकीमा तीन करोड रुपैयाँ भेटियो’ भनेर फ्रन्ट पेजमा समाचार छापेछ । र, त्यसवेला रेडियो, टेलिभिजन सबै बन्दजस्ता थिए ।

अखबार कार्यक्रममा रेडियोबाट त्यही पत्रिकामा छापिएको समाचार बजाइएछ । त्यसवेला पूरै कालरात्रि छाउँदै थियो । पार्टीहरू, नेताहरूविरुद्ध एउटा माहोल थियो ।

 

हामी मन्त्री हुँदै समातियौँ, प्रहरी हिरासतमै थियौँ । त्यसको साता–दश दिनपछि पत्रिकामा त्यस्तो समाचार छापियो । एक महिनापछि कसो–कसो त्यो पत्रिका पाएँ । त्यो पनि प्रहरी अफिसरले मलाई ‘मेन्टल्ली टर्चर’ गर्न त्यही पत्रिका दिएको थियो ।

यो पानीट्यांकीको प्रसंग त्यसरी सुरु भएको हो । त्यो पत्रिका मैले अहिले पनि सुरक्षित राखेको छु । त्यसका सम्पादक अहिले के बोल्छन्, मलाई थाहा छैन । कहाँको सूचनाको आधारमा उनले त्यो लेखे, म बुझ्दिनँ ।

 

यदि त्यो समाचार सत्य थियो भने पैसा कहीँ त भेटिनुपथ्र्यो, कहीँ त जम्मा भएको हुन्थ्यो होला ? राज्यले कब्जा गरेको भए पनि कहीँ त जम्मा भएको होला ? त्यो पत्ता लगाउने को हो ? निकाल्न जाने को हो ? टेलिभिजनले भिज्युलाइजेसन गर्नुपर्ने, फोटो खिचेको हुन्थ्यो होला नि ।

त्यहाँ दसीप्रमाण गरेर केही उपलब्ध गराएको छ कि ? त्यो वेला राजाको शासनमा त मुचुल्का गरेको होला । सम्पादकमा यति कुरा बुझ्ने सेन्स त हुनुपर्ने हो नि ।

 

यो घटनामा म के ठान्छु भने ममाथि सुरुदेखि नै एउटा सुनियोजित ढंगले प्रहार भइरहेको थियोे । म कसैलाई नटेर्ने, आफ्ना कुरामा दह्रो ढंगले उभिने मान्छे । यसलाई धराशायी कसरी बनाउन सकिन्छ भनेर योजनाबद्ध डिजाइनअन्तर्गत यी र यस्ता प्रयास भएका हुन सक्छन् । र, त्यो काममा को पात्र प्रयोग हुन्छ, कुन सञ्चारकर्मी प्रयोग हुन्छ, कुन नेता प्रयोग हुन्छ, कुन उद्योगपति प्रभावमा पर्छ ? म त त्यो जान्दिनँ । कुनै दिन त्यसको हिसाब–किताब गरौँला भनेर त्यो पत्रिका मैले सुरक्षित राखेको छु ।  नयाँ पत्रिका

खगेन्द्र पन्त

 

प्रतिक्रिया दिनुहोस
माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति

बाढी, पहिरो र डुबानमा परी हालसम्म २४६ को मृत्यु

    हालैको बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या दुई सय

चितवनमा प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ

    बैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले