सावधान ! खानेपानीमा किरा छ कि ? जारभित्र भेटियो किरा र लार्भा



 

उपभोग्य वस्तुको अनुगमन गर्ने निकाय निकम्मा हुँदा बजारमा अखाद्य र म्याद गुज्रिएका सामग्री भेटिन थालेका छन् ।

 

अखाद्य र मिसावट भएका तथा म्याद गुज्रिएका दैनिक उपभोग्य वस्तुको बिक्री खुलेआम हुँदा पनि स्थानीय प्रशासन मौन देखिएको छ । विराटनगरका व्यापारीले मनपरी अखाद्य, मिसावट तथा म्याद गुज्रिएका विभिन्न सामानको बिक्री भइरहँदा पनि अनुगमन गरेका छैनन् । बजारमा अखाद्य वस्तुको बिक्रीवितरण भइरहेको भएपनि हालसम्म विराटनगर बजार अनुगमन हुन सकेको छैन ।

 

बजार अनुगमनको जिम्मेवारी रहेको स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, वाणिज्य विभाग, उपभोक्ता समिति, नापतौल कार्यालय, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय लगायत राज्यका निकाय बजार अनुगमनमा देखिएका छैनन् । चाडपर्वको बेलामा सक्रिय हुने अनुगमन गर्ने निकाय अन्य समयमा मौन बस्ने वा रमिते बन्ने गरेको उपभोक्ताको आरोप छ ।

 

सरकारले गरेको बजेट भाषणपछि बजार मुल्य आकाशिएको छ । एकाएक बढेको बजार मुल्य नियन्त्रणमा लिनुपर्ने अवस्थामा हालसम्म बजारको अनुगमन नहुनु दुःखद रहेको उपभोक्ता हितको क्षेत्रमा काम गर्दै आएको पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले बताए ।

 

तराईमा गर्मी बढेको बेला पेय पदार्थको बढी खपत भइरहेको छ । यस्तो मौकामा म्याद गुज्रिएका पेय पदार्थ बजारमा भित्रिएका छन् । म्याद गुज्रेका पेय पदार्थ बजारमा बिक्री भइरहेपनि बजारमा कस्ता सामान भित्रिए र बिक्री वितरण भए भन्ने बारेमा सरकारी निकाय अनभिज्ञ छ ।

 

फिर्ता लिन नआउँदासम्म उपभोक्तालाई बिक्री

विराटनगर–८ जलजला चोकमा रहेको विक्की चिया पसलमा म्याद गुज्रेको पेय पदार्थ भेटियो । बिक्कीको पसलमा म्याद गुज्रेका सामान आउन थालेको १ महिना बितिसकेको छ । विक्की चिया पसल सञ्चालन गर्दै आएका विक्की भगतले डिलरलाई पटक–पटक खबर गरेपनि फिर्ता लिन नआएको बताए ।

 

विक्की चिया पसलमा बोटलर्स नेपालले उत्पादन गर्ने कोकाकोला, फेन्टा, स्प्राइट र डिउ म्याद नाघेको पाइएको छ । बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपालले काठमाडौंस्थित बालाजु आद्यौगिक क्षेत्रबाट उत्पादन गरेका कोक, फेन्टा र स्प्राइट विराटनगरका डिलर्सले राख्ने गरेका छन् ।

 

डिलर्सबाट थोक बिक्रेताले लिने गरेका छन् । थोक बिक्रेताबाट खुद्रा किराना पसल, होटल तथा चिसो पेय पदार्थ पसल र चिया पसलले बेच्न राखेका हुन्छन् । बजारका किराना पसलमा बेच्न पठाइएका कोक, फेन्टा, डिउ र स्प्राइटका बोतलमा लेदो, प्लास्टिकजस्ता मानव स्वास्थ्यमा गम्भीर असर पर्ने अखाद्य वस्तु फेला पर्ने गरेका छन् ।

 

विराटनगरमा रहेको शिख ट्रेड कन्सर्नका सञ्चालक अरुण दत्तले म्याद गुज्रेका सामान फिर्ता नहुने बताए । ‘यदि कम्पनीले फिर्ता लिन आग्रह गर्यो भने मात्र फिर्ता गर्छौ,’ उनले भने ।

 

खानेपानीको जारमा जिउँदा किरा र लार्भा

विराटनगरका–११ का केदार निरौलाले घरमा ल्याएको खानेपानीको जारमा किरा भेटियो । उनले खरिद गरी ल्याएको पानीको जारमा जिउँदो किरा तथा लामखुट्टेको लार्भा भेटिएको हो । करीब ३ महिना अघिदेखि सञ्चालनमा आएको धनवन्तरी निर पानी उद्योगमा समेत फोहोरजन्य पदार्थ भेटिएको थियो ।

 

करीब ३ महिना अघिदेखि सञ्चालनमा आएको धनवन्तरी निर पानी उद्योगमा फोहोरजन्य पदार्थ भेटिएपछि उनले प्रशासनिक निकायलाई जानकारी गराएको भएपनि कसैले चासो दिएनन् । उद्योगका सञ्चालक रजीत साहले भने उद्योगमा त्यस्तो कमजोरी नभएको दावी गरे ।

 

‘बजारमा प्रतिस्पर्धाको जमाना छ, हामीलाई कसैले फसाउन लागेको  हुन सक्छ,’ उनले भने, ‘हामी नयाँ–नयाँ छौं, यदि हामीबाट त्यस्तो गल्ती भए हामी आगामी दिनमा सुधार गरेर लैजान तयार छौ ।’

 

तयारीमै अल्झियो प्रशासन

जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बजार अनुगमन तत्काल शुरू गरिने बताए । उपभोक्ता संरक्षण ऐनको परीधिमा रहेर बजार अनुगमनलाई तीब्र पारिने उनले जानकारी दिए ।

 

विभिन्न समयमा गुनासा आएको बेलामा प्रशासन कार्यालयबाट टोली गएको भएपनि पछिल्ला गुनासाको विषयमा जानकारी नआएको उनले बताए । ‘यसरी गुनासा आउने बित्तिकै जिल्ला प्रशासन मौन बस्ने कुरा आउँदैन । अब बजारको अवस्थाको बारेमा जानकारी लिएर तत्काल अनुगमनमा निस्कन्छौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
बाढी, पहिरो र डुबानमा परी हालसम्म २४६ को मृत्यु

    हालैको बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या दुई सय

चितवनमा प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ

    बैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले

दुर्गाका समर्थकले आगो लगाएका ट्रकका चालकको मृत्यु

    दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक

हेटौँडा-काठमाडौं जोडने सबै सडक मार्ग सुचारु

    गत असोज १०-१२ गते परेको अविरल वर्षापछि आएको बाढी पहिरोको कारण