पाँच करोडमा यसरी पारिदैछ जानकी मन्दिर झलमल्ल



हाम्रो इकोनोमि

जानकी मन्दिरलाई आधुनिक किसिमले सौन्दर्यकरण गर्नका लागि रु पाँच करोडको लागतमा विद्युतीकरण गरिने भएको छ ।

सोमबार गैरआवासीय नेपाली संघ ९एनआरएन० को आर्थिक सहयोग र डिजाइनको आधारमा मन्दिर विद्युतीकरण गर्ने सम्झौता गरिएको छ ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत, एनआरएनका प्रमुख संरक्षक डा उपेन्द्र महतो र जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको रोहवरमा गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र जानकी मन्दिर छुट गुठीको तर्फबाट छोटे महन्थ रामरोशन दासले संयुक्तरुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार मन्दिर परिसरलाई अत्याधुनिक विद्युतीय प्रकाशमार्फत प्रज्वलित गर्नका लागि उज्यालो नेपाल अभियानबाट निर्मित कम खपतमा बल्न सक्ने एलइडी चिमको प्रयोग गरिनेछ । मन्दिरको सौन्दर्यकरणलाई अझ बढी उपयोगी बनाउन सौर्य ऊर्जाको प्रयोग गर्ने योजना रहेको एनआरएनका अध्यक्ष भट्टले जानकारी दिए ।

मन्दिरको ऐतिहासिक र मौलिक भौतिक संरचनामा कुनै परिवर्तन नगरी विद्युतीकरणको कार्य गरिनेछ । विद्युतीकरणमा लाग्ने तार, उपकरण, बत्ती आदिको जडानको खर्च एनआरएनले व्यहोर्ने छ । यस वर्षको विवाह पञ्चमी महोत्सवअगावै विद्युतीकरणको कार्य सम्पन्न गरी मन्दिरलाई पर्यटकको आकर्षणको केन्द्र बनाउने योजना रहेको अध्यक्ष भट्टले बताए ।

जनकपुरमात्र नभई नेपालकै नाम विश्वस्तरमा चिनाउने एउटा थलो जानकी मन्दिर भएको हुनाले यसको सौन्दर्यकरणका लागि विद्युतीकरणको योजना आउँदा जनकपुरवासी खुशी भएको छोटे महन्थ रामरोशन दासले बताए । उनले भने, “यो विद्युतीकरणको डिजाइन हेर्दा मन्दिर उज्यालो महल जस्तै देखिने भएको छ ।”

इसं १९१० मा भारतको टिकमगढकी रानी वृषभाणु कुमारीले जानकी मन्दिरको निर्माण गराएकी थिइन् । उक्त समयमा यस मन्दिरको निर्माणमा रु नौ लाख भारतीय खर्च भएको थियो । सोही कारणले यस मन्दिरलाई नौ लख्खा मन्दिर पनि भन्ने गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...