विश्वकप २०१८ फ्रान्स भर्सेस बेल्जियम, इतिहास बनाउने र दोर्‍याउने यात्रा, फ्रान्सले जित्ने पक्का, यस्तो छ कारण



 

 

रुसमा जारी विश्वकप फुटबलमा मंगलबारदेखि सेमिफाइनलका खेल सुरु हुँदै छन् । उपाधि यात्रामा रहेका चार मध्ये दुई टिमले मंगलबार अघि बढ्ने प्रयासमा प्रतिस्पर्धा गर्नेछन् ।

 

पहिलो सेमिफाइनलमा मंगलबार राति पौने १२ बजे फ्रान्स र बेल्जियमबिच प्रतिस्पर्धा हुँदैछ । सेन्ट पिटर्सबर्गमा हुने खेलमा दुवै टिम फाइनलमा यात्रा तय गर्नका लागि कडा प्रतिस्पर्धामा हुने छन् ।

क्वाटरफाइनलमा फ्रान्सले दक्षिण अमेरिकी देश उरुग्वेलाई २–० ले पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।

यस्तै बेल्जियमले विश्वकपको सबैभन्दा सफल टिम पाँच पटकको विजेता ब्राजिलको सपना चकनाचुर पारेका हो । क्वाटरफाइनलमा बेल्जियमले नेइमारको टिम ब्राजिललाई २–१ ले हराएको हो ।

दुई दक्षिण अमेरिकी देशलाई हराएका युरोपेली देशबिच सेमिफाइनलमा प्रतिस्पर्धा हुन लागेको हो ।

 

फ्रान्स एन्टोनी ग्रिजम्यान, केलियन एमबाप्पेसहितका स्टार युवा खेलाडीले भरिएको छ भने बेल्जियमको टिममा पनि स्टार खेलाडीको कमी छैन । बेल्जियमको टिममा रामेलु लुकाकु, केभिन डी ब्राउन, इडन हजार्डसहितका युवा स्टार खेलाडी छन् ।

 

फ्रान्सेली टिमका बलिया खेलाडी हुन्, ओलिभर जिरउड । तर उनले अहिलेसम्म यो विश्वकपमा गोल गर्न सकेका छैनन् । र पनि उनी बेल्जियमसँगको खेलमा मैदानमा हुनेछन् । गोल भन्दा पनि उनको उपस्थिति टिमका लागि महत्वपूर्ण हुने देखिएको छ ।

 

बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो नियमित फर्म्याट ३–४–२–१ लाई छोडेर ब्राजिलसँगको खेलमा ४–३–३ को रणनीति अपनाए । उनको यो रणनीति ब्राजिललाई घर फर्काउन सफल भयो ।

अब उनले फ्रान्ससँगको खेलमा पनि यही रणनीति अपनाउँछन् कि आफ्नो पुरानो रणनीतिमा फर्किने छन् भन्ने खुलेको छैन ।

हेड–टू–हेड


फ्रान्स र बेल्जियमबिच मुख्य प्रतिस्पर्धामा यसअघि तीन पटक भेट भएको छ । त्यसमा फ्रान्सको पक्ष बलियो छ, तीनै खेलमा उसले जित निकालेको छ । यी दुई टोलीबिच विश्वकपमा यसअघि दुई पटक भेट भएको छ ।

 

फ्रान्सले सन् १९३८ को विश्वकपको पहिलो चरणमा बेल्जियमलाई ३–१ ले हराएको थियो । यस्तै सन् १९८६ को विश्वकपमा तेस्रो स्थानका लागि भएको प्ले–अफमा फ्रान्सले अतिरिक्त समयमा बेल्जियमलाई ४–२ ले निराश पारेको थियो ।

 

यस्तै फ्रान्सले सन् १९८४ मा भएको युरोपियन च्याम्पियनसिपको समूह चरणमा बेल्जियमलाई ५–० ले हराएको थियो । त्यो नान्टेसमा भएको त्यो खेलमा मिसेल प्लेटिनीले ह्याट्रिक गरेका थिए ।

 

फ्रान्ससँग भएका पछिल्ला तीन मैत्रीपूर्ण खेलमा भने बेल्जियम अपराजित छ । एक खेलमा विजयी भएको छ भने दुई खेलमा बराबरी भएको छ । पछिल्लो पटक सन् २०१५ को जुनमा भएको खेलमा बेल्जियम ४–३ ले विजयी भएको थियो ।

मुख्य प्रतिस्पर्धा, अरु प्रतिस्पर्धा तथा मैत्रीपूर्ण खेल गरी फ्रान्स र बेल्जियमबिच अहिलेसम्म ७३ पटक भेट भएको छ । त्यसमा बेल्जियम ३० तथा फ्रान्स २४ खेलमा विजयी भएको छ । १९ खेल भने बराबरीमा टुंगिएका छन् ।

 

फ्रान्सले विश्वकपमा सेमिफाइनल यात्रा तय गरेको यो छैटौँ पटक हो । सुरुका तीन (१९५८, १९८२ र १९८६) विश्वकपमा, जसमा फ्रान्स सेमिफाइनलमा पुगेको थियो, त्यसमा उ पराजित भएको थियो ।

तर त्यसपछिका दुई प्रतिस्पर्धामा भने उसले जित निकाल्यो । उसले सन् १९९८ मा त विश्वकपको उपाधि नै जित्यो भने सन् २००६ मा फाइनल खेल्यो ।

 

पेनाल्टी सुटआउट बाहेक विश्वकप नकआउट चरणमा फ्रान्सको पछिल्लो अवस्था बलियो छ ।

 

नकआउट चरणका पछिल्ला १३ खेलमा निर्धारित वा अतिरिक्त समयमा अर्थात पेनाल्टी सुटआउट बाहेक फ्रान्स एक पटक मात्रै पराजित भएको छ । फ्रान्स सन् २०१४ को विश्वकपको क्वाटरफाइनलमा जर्मनीसँग १–० ले पराजित भएको थियो ।

बेल्जियम

मार्टिनेजको टिम बेल्जियमले विश्वकपमा सेमिफाइनल खेल्न लागेको यो दोस्रो पटक हो ।

यसअघि सन् १९८६ को विश्वकपमा बेल्जियमले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । त्यो बेला अर्जेन्टिनाले उसलाई २–० ले हरायो । दुवै गोल डिएगो म्याराडोनाले गरेका थिए ।

 

यस्तै युरोपियन च्याम्पियनसिपमा पनि बेल्जियम एक पटक मात्रै सेमिफाइनलमा पराजित भएको छ । सन् १९७२ को युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा बेल्जियम पश्चिम जर्मनीसँग २–१ ले पराजित भएको थियो ।

 

बेल्जियम सन् १९८० को युरोपियन च्याम्पियनसिपको फाइनलमा पुगेको थियो । त्यो बेला पनि उ पश्चिम जर्मनीसँग पराजित भयो । त्यो प्रतियोगितामा बेल्जियमले सेमिफाइनल खेल्नु परेको थिएन, उसले समूह चरणमा विजेता बनेर सीधै फाइनलमा स्थान बनाएको थियो ।

 

बेल्जियमको पछिल्लो नतिजा हेर्दा निकै राम्रो छ । उ पछिल्ला २४ खेलमा अपराजित छ, जसमा १९ खेलमा जित निकालेको छ भने पाँच खेलमा बराबरी भएको छ ।

यो विश्वकपमा बेल्जियम सबैभन्दा धेरै गोल गर्ने टिम हो, उसले अहिलेसम्म खेलेका पाँच खेलमा १४ गोल गरेको छ ।

आत्मघाती गोल बाहेक रुस विश्वकपमा बेल्जियमका ९ खेलाडीले गोल गरेका छन् ।

 

यो विश्वकपमा चार गोल गरिसकेका रामेलु लुकाकुले बेल्जियमका पछिल्ला १३ खेलमा २० गोलमा आफ्नो भूमिका खेलेका छन् । उनले १७ गोल गरेका छन् भने तीन गोलका लागि सहयोग गरेका छन्।देश सञ्चारबाट

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको