गर या मर को अवस्थामा अर्जेन्टिना, हान्छन त आज मेस्सीले गोल



 

छनौट नहुने खतरा अन्तिम समयमा शानका साथ चिरेर विश्वकप यात्रा गरेको टिम । विश्वकपमा तुलनात्मक रुपमा सजिलो मानिएको समूहमा । तर समूह चरणका दुई खेल सकिँदा अघिल्लो चरण पुग्ने सम्भावना भन्दा बाहिरिने खतरा बढी बन्यो अर्जेन्टिनाको ।

स्टार स्ट्राइकर लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना विश्वकपमा अघिल्लो चरण पुग्ने सम्भावनाका लागि निकै महत्वपूर्ण खेलमा मंगलबार नाइजेरियासँग प्रतिस्पर्धा गर्दैछ ।

पहिलो खेलमा आइसल्याण्डसँग १–१ को बराबरी तथा दोस्रो खेलमा क्रोएसियासँगको ३–० को हारले मेस्सी टिम अर्जेन्टिनालाई समस्यामा पारेको छ ।

त्यो समस्याबाट बाहिर आउन राम्रो प्रदर्शन गरिरहेको नाइजेरियालाई अर्जेन्टिनाले हराउनु पर्नेछ । यो खेल नेपाली समय अनुसार राति पौने १२ बजे सेन्ट–पिटर्सबर्गमा हुँदैछ ।

पहिलो खेलमा क्रोएसियासँग २–० ले पराजित भएको नाइजेरियाले दोस्रो खेलमा आइसल्याण्डलाई २–० ले हराएको थियो ।

यो समूहबाट क्रोएसियाले अन्तिम १६ मा स्थान बनाइसकेको छ र आइसल्याण्डसँगको खेलमा बराबरी गरेमा उ समूह विजेता बन्नेछ ।

अर्जेन्टिनामाथि जित निकालेमा नाइजेरिया छनौट हुनेछ । यस्तै आइसल्याण्डले क्रोएसियालाई नहराएको अवस्थामा नाइजेरियाका लागि अर्जेन्टिनासँगको खेलमा बराबरी पनि काफी हुनेछ ।

अर्जेन्टिना र नाइजेरियाको खेल बराबरी भएको अवस्थामा आइसल्याण्डको सम्भावना रहन्छ । त्यसका लागि क्रोएसियालाई दुई गोल अन्तरले हराउनु पर्नेछ र नाइजेरियाले भन्दा एक गोल बढी गर्नु पर्नेछ ।

अर्जेन्टिनाको सम्भावनाका लागि नाइजेरियालाई हराउनु पर्नेछ । यस्तै आइसल्याण्डले क्रोएसियालाई हराउनु हुनेछैन । आइसल्याण्डले क्रोएसियालाई हराएको अवस्थामा पनि अर्जेन्टिनाको सम्भावना रहन्छ ।

तर त्यसका लागि आइसल्याण्डले जितेको भन्दा दुई गोल बढीले अर्जेन्टिनाले नाइजेरियालाई हराउनु पर्नेछ । यस्तोमा बराबरी भएमा फेयर प्लेका आधारमा निर्णय हुनेछ । अर्जेन्टिनाले तीन पहेँलो कार्ड पाएको छ भने आइसल्याण्डले एउटा पनि पाएको छैन ।

तर विश्वकप छनौटको अन्तिम तर निकै महत्वपूर्ण इक्वेडरसँगको खेलमा मेस्सीले ह्याट्रिक गरेर रुस यात्रा तय गराएकाले यसपटक पनि मेस्सीको जादु चल्ने अपेक्षा गरिएको छ ।

हेड–टू–हेड


नाइजेरिया र अर्जेन्टिनाबिच विश्वकपमा यसअघि चारपटक भेट भएको छ । उनीहरु यसअघिका चार विश्वकपमा एउटै समूहमा परेका छन् । र यो विश्वकपमा पनि । सन् १९९४, २००२, २०१०, २०१४ र अहिले २०१८ को विश्वकपमा पनि दुई देश एउटै समूहमा परेका हुन् ।

यसअघिका चार विश्वकपका भेटमा नतिजा अर्जेन्टिनाको पक्षमा छ । अर्जेन्टिनाले सन् २००२ र २०१० मा नाइजेरियालाई १–० ले हराएको थियो । यस्तै सन् १९९४ मा २–१ तथा सन् २०१४ को विश्वकपमा अर्जेन्टिनाले नाइजेरियामाथि ३–२ को जित निकालेको थियो ।

नाइजेरिया सन् १९९८ को विश्वकपमा समूह चरणको खेलमा दक्षिण अमेरिकी देश पाराग्वेसँग पराजित भएको थियो । यसको अर्थ उसले विश्वकपमा अहिलेसम्म दक्षिण अमेरिकी देश विरुद्ध जित निकाल्न सकेको छैन ।

नाइजेरियाले अहिलेसम्म विश्वकपमा ६ वटा खेल जितेको छ । ती सबै जित उसले युरोपेली देशमाथि दर्ता गरेको हो । युरोप बाहेक अरु क्षेत्रका देशमाथि नाइजेरियाले जित निकाल्न सकेको छैन ।

नाइजेरियाले विश्वकपमा लगातार दुई खेल जितेको भनेको २० वर्ष अघि अर्थात सन् १९९८ मा हो । त्यो बेला उसले पहिलो दुई खेलमा स्पेन र बुल्गेरियालाई हराएको थियो ।

अर्जेन्टिनासँगको खेलमा जित निकालेमा नाइजेरियाले अन्तिम १६ मा स्थान पक्का गर्नेछ । उसले चार वर्षअघिको विश्वकपमा पनि अन्तिम १६ मा स्थान बनाएको थियो ।

यसपटक पनि अघि जान सकेमा ६ सहभागितामा नाइजेरियाले चार पटक अन्तिम १६ मा स्थान बनाउने छ ।

यो विश्वकपमा आइसल्याण्डमाथि जित निकाल्ने क्रममा अहमद मुसाले दुई गोल गरेका थिए । यस्तै उनले चार वर्षअघिको विश्वकपमा अर्जेन्टिनासँगको खेलमा पनि दुई गोल गरेका थिए ।

अर्जेन्टिना


अर्जेन्टिनाले यसअघिका विश्वकपमा एउटा पनि खेल नजितेको भनेको ८४ वर्षअघि हो । सन् १९८४ को विश्वकपमा सबै खेल नकआउटका आधारमा हुन्थे । त्यो बेला अर्जेन्टिना पराजित भएको थियो ।

त्यसयताका विश्वकप सहभागितामा उसले एउटा पनि खेल नजितेको भनेको छैन । तर यसपटक नाइजेरियालाई हराउन नसकेमा फरक नियमसहितको विश्वकपमा अर्जेन्टिना पहिलो पटक जित बिहीन हुनेछ । सन् १९३४ को पहिलो चरणमा अर्जेन्टिना स्वीडेनसँग ३–२ ले हारेको थियो ।

अर्जेन्टिनाले विश्वकपको समूह चरणमा अहिलेसम्म कम्तिमा एक खेल नजितेको भनेको छैन । अर्जेन्टिना विश्वकपका पछिल्ला चार खेलमा जित बिहीन छ, दुई खेलमा बराबरी र दुई खेलमा हार ।

उसले पछिल्लो पटक हराएको भनेको सन् २०१४ को विश्वकपको सेमिफाइनलमा नेदरल्याण्डसलाई हो, त्यो पनि पेनाल्टीमा ।

अर्जेन्टिनाले पछिल्लो पटक विश्वकपमा लगातार खेल हारेको भनेको सन् १९९४ मा हो । त्यो बेला बुल्गेरिया र रोमानियासँग हारेको थियो । त्यसयता समूह चरणमा लगातार हारेको छैन ।

स्टार स्ट्राइकर मेस्सीले विश्वकपमा पछिल्लो २२ पोस्ट प्रहारमा गोल गर्न सकेका छैनन् । तर पछिल्लो दुई वर्षमा उनले अर्जेन्टिनाका लागि १८ खेलमा १४ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको