पोदार र दिपक मलहोत्राको घरमा सुन छानविन समितिको छापा, आजै यी दुई तस्करलाई प्रहरीले नियन्त्रणमा लिने
सुन तस्करी र सनम शाक्यको हत्यामाथि अनुसन्धान गरिरहेको गृह मन्त्रालयको विशेष समितिले व्यापारी विमल पोदारको घरमा छापा मारेको छ ।
मंगलबार साझ प्रक्राउ परेका उनलाई सोधपुछ सकेपछि आज विहानबाट प्रहरीले उनको घरमा छापा मारेको हो । समितीले तस्कर दिपक मलहोत्राको घरमा पनि छापा हानेको छ ।
डिल्लीबजारमा रहेको अपार्टमेन्टमा समितिले छापा मारेर केही महत्वपूर्ण कागजपत्र नियन्त्रणमा लिएको छ । छापाबाट उनको कारोवारको विस्तृत जानकारी पाउने आशा समितिले गरेको छ ।
समितीका अनुसार पोदारको संग्लनता हुण्डीको कारोवार र अवैध सुन तस्करी देखिएको दाबी गरेको छ ।
३३ किलो सुन तस्करीको छानबिन गर्न गठित गृहमन्त्रालयको छानबिन समितिले मंगलबार राति विमल पोद्दारलाई पक्राउ गरेको छ ।
सामसुङ मोवाइल कम्पनी तथा इबिसु ज्वेलर्सका संचालक दीपक मल्होत्राका ब्यापारिक साझेदार पोद्दार सुन तस्करी र हुन्डी कारोबारमा संलग्न रहँदैआएको भनी बारम्बार विवादमा आएका हुन् ।
मल्होत्रा र पोद्दारको सामसुङ मोवाइल बिक्री गर्ने कम्पनी आइएमएसमा पनि साझेदारी रहेको छ । आइएमएसमा पनि पोद्दारको डाइरेक्टरको बोर्ड टाँसिएको छ ।
इबिसु ज्वेलर्समा पनि मल्होत्रा र पोद्दार पार्टनर हुन् । इबिसु ज्वेलर्स केही समयअघि २२ करोडमा बिक्री गरेका हुन् । त्यसका अलावा कालिकास्थानको सिल्भर सिटी अपार्टमेन्टमा पनि मल्होत्रा र पोद्दार साझेदार हुन् ।
मल्होत्रा र पोद्दार पछिल्लो समयमा सोही अपार्टमेन्टमा बस्दैआएका थिए । मल्होत्रा, पोद्दार, गोविन्द सरिया, ताहिर साह र छवि भूसाल स्व. खुमबहादुर खड्का गृहमन्त्री हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेटिङ गरी पार्टनरसीपमा नेपालबाट भारतीय रुपैयाँ र अमेरिकी डलर हङकङ पठाउने र उताबाट सुनचाँदी भित्र्याउने गरेको स्रोत बताउँछ । सरियाको झापामा देखावटी रुपमा चियाबगान छ ।तर उनको भित्री धन्दा हुन्डी र डलर नै हो भन्छन् उनलाई चिन्नेहरु ।
३३ किलो सुन प्रकरणमा पोद्दार पक्राउ परिसकेका छन् भने दीपक मल्होत्रा अहिले काठमाडौमा छैनन् । मल्होत्राको नाम प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणदलमा छ ।
यद्यपि उनी ३३ किलो सुन प्रकरणका मुख्यदोषी मोहन अग्रवाल पक्राउ लगत्तै काठमाडौंबाट गायब भएको स्रोतले बताएको छ । प्रधानमन्त्रीको भ्रमणदलमा उनको नाम भए पनि उनी टोलीमा सँगै चीन नगएको स्रोतको दाबी छ । स्रोतका अनुसार मल्होत्रा चीनमै हुनसक्ने र उतैबाट भ्रमण टोलीमा थपिने होलान् । तर नेपालमा भने उनी केही दिनअघिदेखि नै सार्वजनिक रुपमा देखापरेका छैनन् ।
पोद्दार सुनचाँदी र हुन्डीको कारोबार गर्नेमा अग्रपंक्तिमा पर्दछन् । प्रहरीका पूर्व र बहालवाला उच्चतहका हाकिमहरुसँग उनको कनेक्सन रहेको छ । पूर्व एआइजी हेमन्त पाल, संघीय प्रहरी कार्यालय कोशीका प्रमुख एसएसपी हरि पाल, पूर्व डीएसपी सुरेन्द्रबहादुर सिंहहरुसँग कनेक्सन छ ।
प्रहरीका उच्च तहका हाकिमहरुको भ्रष्टाचारको रकम समेत चलाउने गरेको पोद्दारले लगानी गरेको स्रोतले बताएको छ । उनको खिचापोखरीको पिपुल्स प्लाजासँगै हुन्डीको कारोबार गर्ने अखाडा थियो । पछिल्लो समयमा उनले सिल्भर सिटी अपार्टमेन्टबाटै हुन्डीको कारोबार गर्दैआएका थिए ।
पछि उनले चीनको ग्वाङझाउमा पनि अफिस खोलेका थिए । जहाँ उनले आफ्ना बाबुलाई राखेका थिए । बाबुको गतबर्ष निधन भइसकेको छ ।