नेकपा केन्द्रीय सदस्य विष्णु रिजालको जीवन : अहिलेसम्म मादक पदार्थको स्वाद थाहा छैन



विद्यालय जान नपाएकाले विद्यालय जान पाऊन्,’ पार्टी कार्यालय धुम्बाराहीमा भेटिएका नेकपा केन्द्रीय सदस्य विष्णु रिजालको कामना थियो, ‘घरबारविहीनको घामपानीबाट ओतिने ठाउँ होस् । स्वास्थोपचार नपाएर कसैले अकालमा ज्यान गुमाउन नपरोस् ।’ 

तात्कालिक एमाले प्रचार विभाग सचिवसमेत रहेका रिजालले थपे, ‘सबै नेपाली आफूजत्तिकै भइदिए कति जाती हुन्थ्यो । कसैले कसैको भर पर्न नपरोस् ।

मेरो खाना
सामान्यतः दाल, भात, तरकारी र रोटी खाने गर्छु । सकेसम्म भान्टाको तरकारी खान नपरे हुन्थ्यो भन्ने लाग्छ । योजनाबद्ध तरिकाले रेष्टुरेन्ट कमै पुग्छु । तर, कार्यक्रमका लागि रेष्टुरेन्ट पुगिरहन्छु । रेष्टुरेन्ट पुग्दा सलाद माग्न बिर्सन्न । ‘चाइनिज’ खाना पनि रोजाइमा पर्छ । बिहे गरेको १२ वर्ष भयो । श्रीमतीलाई मासु पकाएर खुवाउँछु भनेको धेरै भयो, साइत जुरेको छैन ।

मेरो पोसाक

विशेषतः सर्ट–पाइन्ट लगाउँछु । ‘रेडिमेड’ मात्रै होइन, कपडा किनेर पनि सिलाउँछु । ‘रेडिमेड’ कपडा लगाउन सहज लाग्छ । सालिन्दा एकपटक कपडा किन्छु । कपडा सिलाउँदा काठमाडौंको त्रिपुरेश्वरमा रहेको वल्र्ड ट्रेड सेन्टर पुग्छु । पहिले श्रेष्ठ टेलरिङ जान्थें । कपडाको ब्रान्डबारे अनभिज्ञ छु । विद्यालय पढ्दाताका ढाकाटोपी लगाउँथें ।

मेरो फिटनेस
बिहान ‘हेल्थ क्लब’ जान्छु । घरमा रहँदा बेलुका दुई रोटी खाने गर्छु । योगा गर्ने बानी छैन । मर्निङवाक निस्कन्न ।

मेरो अध्ययन
हिजोआज ‘इन्डियन फरेन पोलिसी’ नामक १३ सय पृष्ठको किताब पढ्दै छु । विशिष्ट व्यक्तिका संस्मरण, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका किताब पढ्न जाँगर चल्छ । विषयवस्तुअनुसार लेखक मन पर्छन् । प्रायः नेपाली लेखकका किताब पढेको छु । समसामयिक विषयमा लेखिरहेकै छु । गहिरो अध्ययन गरेर किताब लेख्ने योजना छ । मेरो निजी पुस्तकालयमा दुई हजारदेखि दुई हजार पाँच सय किताब होलान् ।

दुई तरिकाले किताब हात लाग्छ । किताबको समीक्षा लेख्ने भएकाले साथीभाइले उपलब्ध गराउँछन् । आफूलाई मन पर्ने किताब विदेशबाट पनि मगाउने गरेको छु । अमेरिकी गुप्तचरका पूर्वअधिकारी डन आर क्ल्यारिजको ‘अ स्पाई फर अल सिजन्सः माई लाइफ इन दी सीआईए’ किताब प्रकाशित छ ।

विक्रम संवत् २०१५ सालतिर उनी नेपालमा थिए । ०१५ सालको निर्वाचनमा सीआईका तर्फबाट उनले बीपी कोइराला र राजा महेन्द्रलाई पैसा दिएका रहेछन् । त्यो किताब नेपालमा गणेशराज शर्मासँग थियो । त्यसपछि अमेरिकामा रहेका साथीबाट मगाएँ । कतिपय किताब भारतबाट मगाउँदै आएको छु ।

मेरो घुमफिर
घुमफिरमा असाध्यै रुचि छ । मुलुकभित्रै घुमफिर गर्न मन लाग्छ । साधारण मानिसका कथा–व्यथा सुन्न, उनीहरूको जनजीवन नजिकबाट नियाल्ने रहर त्यत्तिकै छ ।

नेपालका ६४ जिल्ला पुगिसकेको छ । १८ देश घुमेको छु ।
घुमेकामध्ये म्यानमार मन पर्यो । त्यहाँका नेपालीका कथा–व्यथा, रहनसहन सुन्दा भावुक भएँ । मुलुकभित्रचाहिँ दैलेख मन पर्छ । उपल्लो मुस्ताङ र उपल्लो डोल्पा पुग्ने रहर छ । यही वर्ष दुवै ठाउँ पुग्नेछु ।

मेरो फुर्सद
फुर्सद भनेको मिलाउने हो । समय व्यवस्थापन गर्न सके फुर्सद निकाल्न सकिन्छ । केही काम नभएको मानिस पनि व्यस्त भएको देखेको छु । म आवश्यक फुर्सद निकाल्छु ।

दौडधुप भएकाले शारीरिक तथा मानसिक थकाइ लाग्छ नै । त्यसको प्रभाव निद्रामा पर्छ । धेरै थकाइ लाग्यो भने निद्रा नलाग्ने रहेछ । जति नै थकाइ लागे पनि मोबाइल ‘स्वीच अफ’ गरेर आराम गरौंजस्तो लाग्दैन । तर, कहिलेकाहीं राति १० बजेपछि मोबाइल ‘अफ’ गर्ने गरेको छु ।

सुतिसकेपछि व्युझें भने पुनः निदाउन सक्दिनँ ।
किताब पढेर फुर्सदको समय सदुपयोेग गर्ने बानी छ । घरपरिवारलाई भनेजस्तो समय दिन नसके पनि गुनासो नआउनेगरी व्यवस्थापन गरेको छु । छोराको लामो बिदामा परिवारसहित घुम्न जाने गरेका छौं । कहिलेकाहीं रेष्टुरेन्ट पुग्छौं ।

 

मेरो खेलकुद
गाउँमा रहँदा डन्डिबियो खेलेको थिएँ । चेस खेल्न अलि–अलि आउँछ । गाउँमा रहँदा गोल (लात्तेभकुन्डो) खेलेको बिर्सेको छैन ।

मेरो मोबाइल
आइफोन एट प्लस प्रयोग गर्दै आएको छु । श्रीमतीकी दिदीको छोरा अस्ट्रेलिया बस्छन् । उनले ६ महिनाअघि आइफोन एट प्लस पठाइदिएकाले मूल्य थाहा भएन । मोबाइल परिवर्तन झन्झट लाग्छ । मोबाइलका एप्लिकेसनमध्ये इमेल, इन्टरनेट प्रयोग गर्छु ।

यसैगरी, डिक्सनेरी, संसारका सबैजसो मुलुकका टप–टप डेली पेपर, म्यागेजिन, टीभीका एप्स डाउनलोड गरेको छु । कुनै पनि विषयमा ‘ब्रेकिङ न्युज’ आयो भने मोबाइलमा घन्टी बज्छ ।

त्यसले अद्यावधिक हुन मद्दत गर्छ । साथै, कूटनीति र अन्तर्राष्ट्रिय विषयमा जिमेल सब्सक्राइब गरेको छु । त्यस मानेमा मोबाइलको भरपूर प्रयोग गर्नेमध्ये पर्छु ।

मेरो टेलिभिजन
बेलुका टीभी हेर्ने समय जुर्छ । जुन च्यानलमा समाचार प्रसारण भइरहेको छ, त्यही हेर्छु  । समाचार प्राथमिकतासाथ हेर्ने गरेको छु । टक शो’ पनि हेर्छु । म बस्ने फ्ल्याटमा टीभी छैन । सासू–ससुरा रहने फ्ल्याटमा भएको टीभीको ब्रान्ड र साइजबारे थाहा भएन । ‘

मेरो चलचित्र
पछिल्लोपटक चलचित्र श्रीमान्–श्रीमतीले हलमै ‘छक्कापञ्जा’ हेरेका थियौं । पुराना चलचित्र युटुबमा हेर्ने गर्छु । हेरेकामध्ये हिन्दीमा ‘सोले’ र नेपालीमा ‘बलिदान’ असाध्यै मन पर्यो ।

हास्यकलाकारमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका अभिनय जीवन्त लाग्छ । नयाँ पुस्तामा मनोज गजुरेलको अभिनय लोभलाग्दो छ । नायक राजेश हमाल र नायिका रेखा थापाको अभिनय दमदार लाग्छ । भारतीयमा अमिताभ बच्चन आदर्श कलाकार हुन् । कपिल शर्माका कमेडी शो नछुटाइ हेर्छु ।

मेरो स्वास्थ्य
स्वस्थ छु । कुनै दीर्घरोगले समातेको छैन । सालिन्दा ‘होलबडी चेकअप’ गराउँदै आएको छु । अहिलेसम्म पाँचपटक ‘होलबडी चेकअप’ गराइसकेको छु । खानपानमा ध्यान दिन सकियो भने स्वस्थ रहन सकिन्छ । खान लोभ गर्दिनँ । गरिष्ठ भोजनबाट टाढै रहने प्रयास गर्छु ।

मेरो भाषणशैली
म मध्यम तहकै वक्ता हुँ जस्तो लाग्छ । मेरो भाषण सुन्नेले दिएको प्रतिक्रियाअनुसार म भाषण ठिकै गर्छु । भाषण गर्दा थेगो प्रयोग गर्दिनँ । परिस्थिति हेरेर भाषण गर्न सक्छु । सचेत भएर भाषण गर्ने भएकाले विवादमा तानिएको छैन । भाषण गर्नअघि तयारी गर्छु । रातोपाटी

 

मेरो मापसे
अहिलेसम्म मादक पदार्थको स्वाद थाहा छैन ।

मेरो संगीत
सुत्ने बेला गीत–संगीत सुन्छु । नारायणगोपाल, अरूणा लामाका गीत सुन्ने गर्छु । गीत गाउन नआए पनि गुनगुनाउँछु ।

मेरो भूल
मानिस भएपछि जान–अन्जानमा जोकोहीबाट गल्ती हुन्छ । मबाट पनि भए होलान् । तर, सम्झना छैन । म पढेको गौरी नेराप्रावि विद्यालयका प्रधानाध्यापक तुलाराम थापा हुनुहुन्थ्यो । उहाँको एक थप्पड भेटेको छु । उहाँले पेन्सिलको ‘स्पेलिङ’ सोध्नुभएको थियो । चार कक्षा पढ्दाताकाको कुरा हो । मैले पीईएनएसआईएल भनेछु । तुरुन्तै सच्याएर पीईएनसीआईएल भनिनसक्दै उहाँले थप्पड हान्नुभयो । त्यसपछि धेरै दिनसम्म उहाँसँग बोलिनँ । मैले सजाय पाएको त्यत्ति हो ।

मेरो राशी
ज्योतिषीले वृष हो भनेका छन् । ग्रहदशा हेराएको छैन । ग्रहशान्ति गराउँदिनँ । ग्रह, नक्षत्रको फलप्रति विश्वास छैन ।

 

मेरो सौन्दर्य
कहिलेकाहीं कपालमा तेल लगाउँछु । फेसियल गर्दिनँ । यात्रामा निस्कँदा ‘सनब्लक’ लगाउँछु । पफ्र्युम प्रयोग गर्दिनँ । क्लबमा साउना र स्टीम दुवै लिन्छु ।

मेरो प्रेम
हाम्रो मागीविवाह हो ।

मेरो सपना
विद्यालय जान नपाएका विद्यार्थीले विद्यालय जान पाऊन्, घरबारविहीनको घामपानीबाट ओतिने ठाउँ होस् । स्वास्थोपचार नपाएर कसैले अकालमा ज्यान गुमाउन नपरोस् । केही नभए पनि सबै नेपाली आफूजत्तिकै भइदिए हुन्थ्यो भन्ने लाग्छ । कसैले कसैको भर पर्न नपरोस् । उल्लिखित विषयमा के–कति काम गर्न सकिन्छ, थाहा छैन । तर, त्यसले पोलिरहँदोरहेछ ।

त्यतिबेला म कार्यरत ‘बुधबार’ साप्ताहिकमा आङरिता शेर्पाको अन्तर्वार्ता छापिएको थियो । सगरमाथा आरोहण कसरी गर्नुभयो ? भनेर सोध्दा उहाँले ‘हिँड्दैहिँड्दै पुगेको’ जवाफ दिनुभएको थियो । जिन्दगी यात्रा हो, हिँड्दै जाँदा कहाँसम्म पुगिन्छ, मेरो वशमा छैन ।
मेरो मृत्यु
मानिस जन्मेपछि मर्नैपर्छ । यो शाश्वत सत्य हो । मृत्यु नियमित प्रक्रिया हो । मृत्युबारे अहिलेसम्म सोचेकै छैन । मैले जीवनबारे मात्रै सोच्ने गर्छु । रातोपाटीबाट दीपेन्द्र राई

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको सांसद पद के हुन्छ ?

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा

संविधान संशोधनका लागि कांग्रेस-एमालेको संयन्त्र बन्छ : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि केही दिनभित्र संयन्त्र

रविविरूद्व कुन-कुन कसुरमा मुद्दा ?

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरूद्व आज कास्की जिल्ला

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ६० अर्ब रुपैयाँ खिच्ने भएको