प्रधानमन्त्री दोश्रो पटक पनि हिमालय एयरलाइन्सको विमानमै चीन जानुको यस्तो छ रहस्य,ओलीको ‘विमान कुटनीति’



प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक नीजि क्षेत्रको हिमालय एयरलाइन्सको विमानबाट ५ असारमा बेइजिङको उडान भर्ने भएका छन्।

२६ महिनाअघि भारतीय नाकाबन्दीको निराशाकाबीच पहिलो पटक प्रधानमन्त्री बनेका ओलीले चीनको साझेदारी रहेको हिमालय एयरलाइन्सको परिक्षण उडान नै आफ्नो चीन भ्रमणबाट गरेका थिए।

एक सय ५८ सिट क्षमताको एयरबस ए३२० विमान प्रधानमन्त्री सहितको ५६ सदस्यीय टोली लिएर ७ चैत २०७२ को साँझ बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लंदा चीनले ठूलो सम्मान दिएको थियो ओलीलाई। बेइजिङबाट पश्चिम चीनको चेङ्दु हुँदै प्रधानमन्त्रीलाई घुमाएर सात दिनपछि हिमालय एयरलाइन्स काठमाडौं फर्केको थियो।

त्यही भ्रमणको क्रममा चीनसँग व्यापार तथा पारबहन सम्झौता गरी नेपालमा भारतीय एकाधिकारको अन्त्य गर्न सकिने सन्देश दिए ओलीले। र, त्यही ‘राष्ट्रवादी छवि’ को बलमा चुनाव जितेर अहिले संसदमा दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरिरहेका छन्।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बिहिबार सिंहदरबारस्थित आफ्नो कार्यालयमा सञ्चारकर्मीबीच प्रधानमन्त्री ओली राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको विमान लिएर भारत भ्रमणमा गएको र नीजि क्षेत्रलाई पनि प्रवद्र्धन गर्ने उद्देश्यले हिमालय एयरलाइन्समा बेइजिङ उड्ने बताए।

हिमालय एयरलाइन्स चीन सरकारको कम्पनी तिब्बत एयरलाइन्सको साझेदारी रहेको नेपालको नीजि कम्पनी हो। तिब्बत एयरलाइन्स एयर चाइनाको भगिनी कम्पनी हो, जसको हिमालय एयरलाइन्समा ४९ प्रतिशत सेयर रहेको छ। ५१ प्रतिशत सेयर यति वल्र्ड इन्भेष्टमेन्टका आङछिरिङ शेर्पाको रहेको छ, जो ओली निकट पर्यटन व्यवसायी हुन्।

काठमाडौंमा शेर्पाले सञ्चालन गरेको गोकर्ण फरेष्ट रिसोर्टमा यसअघि एमालेको जमघट हुँदै आएको थियो भने एमाले र माओवादी एकतापछि नेकपाको बैठक पनि त्यहीँ बसेको थियो।

चीनका सरकारी र नीजि कम्पनीहरूले विश्वभर विभिन्न किसिमका सझेदारीमा व्यवसाय सञ्चालन गरिरहेका छन्। हिमालय एयरलाइन्समा नेपालसँग गरिएको साझेदारी एयरलाइन्स क्षेत्रमा चीनको पहिलो अन्तर्राष्ट्रिय साझेदारी हो, जसलाई काठमाडौंस्थित चिनियाँ कुटनीतिक अधिकारीले पनि सफल उदाहरणका रुपमा प्रस्तुत गर्दै आएका छन्।

प्रधानमन्त्री ओलीलाई बेइजिङ उडाएर २६ महिनाअघि सफल परिक्षण उडानबाट सञ्चालनमा आएको हिमालय एयरलाइन्सले त्यसयता आफ्ना तीन वटा एयरबसबाट दर्जनौं उडान भरेपनि अपेक्षित रुपमा अझै व्यवसाय विस्तार गर्न सकेको मानिँदैन। काठमाडौंबाट सउदी अरेबियाको डामम, कतारको दोहा, मलेसियाको क्वाललाम्पुर र दुबईमा उडान गरिरहेको हिमालयले सायद चीनको लगानीकै कारण दिल्ली उडानको अनुमती पाउन सकेको छैन भने म्यानमारको रङ्गुन उडान पनि केही महिनामै रोकिएको छ।

तर राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सपछि हिमालय नै नेपालको त्यस्तो एयरलाइन्स हो, जसले सञ्चालनमा आएको दुई वर्षमै चार वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको छ। दिल्ली उडानको अनुमतीका लागि अझै प्रयास गरिरहेको हिमालयले हङकङ सहित चीनका तिब्बत र अन्य गन्तव्यमा पनि उडान सुरु गर्ने योजना बनाइरहेको छ।

पहिलो पटक हिमालय एयरलाइन्समा काठमाडौंबाट सिधै बेइजिङ उडान गर्दा राष्ट्रिय ध्वजाबाहक विमान प्रयोग नगरिएको भन्दै ओलीको आलोचना भएको थियो। तर भारतीय नाकाबन्दीका बेला चीनसँगको साझेदारीमा सञ्चालित एयरलाइन्समा उडेर ओलीले भने बेइजिङसँग काठमाडौंको निकटता बढ्ने सन्देश दिन खोजेका थिए सायद दिल्लीलाई।

सँगसँगै ओलीले चीनले निशुल्क रुपमा काठमाडौं पठाइदिन लागेको विमान प्रयोग नगरेर आफ्नो ‘स्वाभिमानी छवि’ को अर्को सन्देश पनि दिन खोजेका थिए बेइजिङलाई।

दुई वर्ष पहिले र अहिले प्रधानमन्त्री उनै ओली भएपनि राजनीतिक परिस्थितिमा ठूलो परिवर्तन आएको छ। ठूलो बुहमतसहित ओली नै प्रधानमन्त्री बनेपछि दिल्ली अहिले सबै कुरा छोडेर काठमाडौंसँग सम्बन्ध सुधार गर्न अग्रसर भइरहेको छ।

ओलीले पनि प्रधानमन्त्री भए लगत्तै दिल्ली पुगेर पहिलेको परिस्थिति बिर्सेर नयाँ सम्बन्ध विकास गर्न हात बढाइसकेका छन्, जसलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गरेर सकारात्मक जवाफ फर्काएका छन्।

दिल्लीसँग सम्बन्ध सुधारकै चरणमा रहेका ओलीबाट दुई वर्षअघि चीनसँग भएका सम्झौता कार्यान्वयन हुने बलियो अपेक्षा राखिएको छ नेपालमा।

राष्ट्र, सरकार प्रमुखले आफुले छनोट गर्ने विमान, बस्ने होटल र आदानप्रदान गर्ने उपहार सँगसँगै कुटनीतिक सन्देश पनि दिन खोजिरहेका हुन्छन्। केही दिनअघि चीनले पठाएको एयर चाइनाको चार्टर्ड विमान लिएर उत्तर कोरियाली नेता किम जोङ उन प्योङयाङबाट सिंगापुर पुगे। उत्तर कोरियाली नेताका लागि यो एउटा बाध्यता थियो होला सायद। तर, अन्तर्राष्ट्रिय मिडियाले भने किमको ‘जेट डिप्लोमेसी’ लाई सिंगापुर शिखरवार्तामाथि बेइजिङको प्रभावका रुपमा अथ्र्याए।

के प्रधानमन्त्री ओली परराष्ट्रमन्त्री ज्ञवालीले भने झैं नीजि क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले मात्रै हिमालय एयरलाइन्समा बेइजिङ उड्न लागेका हुन्? कि ओलीले भारतसँग सम्बन्ध सुधारसँगै चीनसँग नेपालको साझेदारी झन् बलियो हुँदै जाने र दुई वर्ष अघि भएका सम्झौता पूर्ण कार्यान्वयनमा जाने सन्देश पनि सँगसँगै दिन खोजेका हुन्?
ओलीको ‘विमान कुटनीति’ संभवतः उनी बेइजिङबाट फर्केपछि बढी प्रष्ट हुनेछ।

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो

    यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको

दशैंको टीकाको साइत असोज २६ गते ११:३६ बजे

    नवरात्र भनेरसमेत चिनिने दशैं नौ रात र दश दिनको हुने गरेकामा

बडादशैं सुरु, घटस्थापनाको साइत आज ९:१६ बजे

    प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादशैं आजदेखि

प्रधानन्यायधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

     प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय