मैले केपी ओलीको पिँडालुबारी फाँडिदिएको पनि होइन तर मलाई सिध्याउन यति सम्म गरे भन्दै रन्किए झलनाथ



नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुँदा वरिष्ठ नेता झलनाथ खनाल चीनमा थिए । स्वास्थ्य उपचारको सिलसिलामा चीनमा रहेका नेता खनालले स्वदेश आएलगत्तै पार्टी एकता हुँदा वरियता तलमाथि पारेको भन्दै रोष प्रकट गरे । यस विषयमा ने क पाको सचिवालयमा उनले लिखित असहमति नै राखेका छन् । र, छलफलको माग गरेका छन् ।डल्लुस्थित निजी निवासमा स्वास्थ्य लाभ गरिरहेका खनालसँग पार्टी एकतापछि उत्पन्न परिस्थिति र राजनीतिक कार्यदिशाका बारेमा गरेको कुराकानी प्रस्तुत गरिएको छ।

पार्टी एकतापूर्व निकै उत्साही हुनुुहुन्थ्यो । अब छिट्टै घोषणा हुन्छ भन्दै आउनु भएको थियो । तर, एकता हुँदा आफैँ अनुपस्थित रहनुभयो नि ?

मेरो नियमित भ्रमणको लागि चीन जाने कार्यक्रम बनेको थियो । कार्यक्रमलाई तत्काल स्थगित गर्ने अवस्था थिएन ।

यता पार्टी एकता आज हुन्छ, भोलि हुन्छ भन्दाभन्दै स्थगित भएर बसेको थियो । तत्कालै एकता हुन्छ भन्ने स्थिति पनि थिएन । जेठ १ गते पार्टी अध्यक्ष केपी शर्मा ओली र म सँगै थियौँ । त्यसबेला पनि पार्टी अध्यक्षले कुनै जानकारी दिनुभएन । पार्टी एकता हुँदैछ भन्ने आभाष भएको भए म बाहिर जाने पनि थिइनँ ।

एकताको प्रक्रिया निकै महत्त्वपूर्ण थियो । ऐतिहासिक परिघटना थियो । त्यो प्रक्रियामा म कुनै हालतमा सामेल हुन्थेँ । त्यसको आभाष नभएपछि पूर्वनिर्धारित कार्यक्रममा गएँ । अचानक पार्टी एकता भएको थाहा पाएँ ।
फर्किएपछि मैले सबैलाई सोधेँ– मलाई झुक्याइएको हो ?

पार्टीका नेताहरूका कुरा सुन्दा होइन रहेछ । अघिल्लो दिनसम्म कसैलाई जानकारी दिइएको रहेनछ । यहाँसम्म कि केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई समेत थाहा रहेनछ ! छलफल गर्दैजाँदा सहमति जुटेपछि जेठ ३ गते नै एकता गरिएको रहेछ ।

तपाईं चीन गएको कुरा पार्टीलाई खासै जानकारी रहेनछ । निजी कामका लागि जानुभएको थियो चीन ?

केही मानिसहरू मेराविरुद्धमा लागेका छन्, होलान् । उनीहरूको के स्वार्थ छ, मैले थाहा पाएको छैन । उनीहरूको पिँडालुबारी फाँडिदिएको पनि होइन, घाटा–नाफाको कुरा केही गरेको छैन ।
तर, मेरो प्रगति र अग्रगतिको जलन भएको छ । इर्ष्यासमेत लागेको छ । ती मुठ्ठीभर छन् । तिनै मानिसहरूले गरेको अनर्गल प्रचार हो यो ।

पार्टी एकताको ऐतिहासिक क्षणमात्रै होइन, वरीयता नै गुमाउनुभयो नि तपाईंले ?

पूर्व नेकपा एमालेभित्र आठौँ राष्ट्रिय (बुटवल) महाधिवेशनबाट मैले नै प्रणाली स्थापित गरेको हुँ । खासगरीकन पार्टीमा एकातिर नेता भइरहेका मानिस पनि रहने, नयाँ नेता पनि रहने । पार्टीमा यस्तो देखा परेपछि मैले नै पूर्व तथा निवर्तमान अध्यक्षलाई एक कार्यकाल पार्टीको वरिष्ठ नेता बनाउने प्रस्ताव गरेर पारित गरेको हुँ ।

म त्यतिबेला पार्टी अध्यक्ष भएकाले त्यतिबेला माधव नेपाल वरिष्ठ नेता हुनुभयो । नवौँमा केपी ओली अध्यक्ष भइसकेपछि म वरिष्ठ नेता भएँ । महाधिवेशनले बनाएको एकमात्र वरिष्ठ नेता हुँ म । माधव नेपाललाई पनि वरिष्ठ नेता भन्ने नगरिएको होइन तर पार्टीको निर्णयले उहाँलाई वरिष्ठ नेता भन्दैनथ्यो ।

पार्टी एकता गर्दाको बेला कुनै पनि त्यस्तो कारण छैन वरीयता तलमाथि पार्नुपर्ने, मिच्नुपर्ने । वरीयता हेरफेर गर्नुको कुनै औचित्य, आवश्यकता पनि थिएन । तर, घनघोर अन्यायका साथ गरियो । यसप्रति मेरो तीव्र विरोध र विमति छ । मैले असहमति राखेको छु । मपार्टीभित्र यसबारे आफ्नो अन्तरसङ्घर्ष जारी राख्छु ।

लिखित असहमति राख्नुभएको छ कि, मौखिकमात्रै ?

मैले सचिवालयको बैठकमा लिखित रूपमा नै आफ्नो असहमति दर्ज गरेको छु । मैले छलफलको माग गरेको छु । कहिले छलफल हुन्छ, त्यसको प्रतीक्षामा छु म ।

पार्टी अध्यक्ष हुँदा स्थायी कमिटी सदस्य केपी शर्मा ओली र तपाईंबीच बोलचालैसम्म नभएको घटना सार्वजनिक भएको थियो । पछि नवौँमा उहाँ अध्यक्ष हुनुभयो, तपाईंले उहाँलाई कत्तिको सहयोग गर्नुभयो ?

म पार्टी अध्यक्ष भएका बेला कमरेड केपी ओलीले पराजय नै स्वीकार्नु भएन । मलाई कुनै पनि सहयोग गर्नुभएन । त्यो कार्यकालभरि उहाँले गुटबन्दी गर्नुभयो । अराजकता सिर्जना गर्नुभयो । गतिविधि हुनै नदिने किसिमका क्रियाकलाप भए ।
ती सबैलाई सहेर पार्टीलाई एकतावद्ध बनाउन प्रयत्न गरेँ । पार्टीलाई कसरी सुदृढ, शक्तिशाली बनाउने भन्नेमा चिन्तित रहेँ । पार्टी निर्माण र परिचालनमै जोड दिएकाले ३३ सिटमा खुम्चिएको पार्टीलाई झन्डैझन्डै पहिलो पार्टी र कांग्रेसको हाराहारीको पार्टी बनाएँ ।
सम्भवतः त्यो विकसित गराएको प्रतिफलस्वरूप वरीयता तलमाथि गरिएको हुनुपर्छ ।

मेरो सन्दर्भमा कुरा गर्नुहुन्छ भने मैले कुनैदिन पार्टी अध्यक्षलाई असहयोग गरेको छैन । निर्णय प्रक्रियामा अप्ठ्यारो पारेको छैन ।

बाहिर गाइँगुइँ सुनिन्छ केपी ओली र प्रचण्डबीच केही ‘भद्र सहमति’ भएको छ । पाँच वर्षपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यकारी राष्ट्रपति प्रस्ताव गर्ने तयारी पनि छ भन्ने हल्ला छ, त्यस्तो सहमति भएको छ ? छ भने यहाँलाई स्वीकार्य हुन्छ ?

मलाई लाग्छ– कुनै त्यस्तो सहमति भएको छैन । त्यस्तो कुनै सहमति भयो भने मलाई मान्य पनि हुँदैन । अहिले भएको एकता प्रक्रिया खुलस्त भएकाले भित्र त्यस्ता भद्र, अभद्र कुनै सहमति भएजस्तो मैले बुझेको छैन । यसमा भित्रि कुराहरू, षड्यन्त्रमूलक कुराहरू भएको छैन ।

पार्टी एकताले यहाँलाईमात्रै अन्यायमा पारेको छैन । महासचिव ईश्वर पोखरेलको पनि पद गएको छ । एकताको नाममा कसैलाई दण्डित र कसैलाई पुरस्कृत गरेजस्तो भएन ? यसले फरक खालको सङ्घर्षलाई जन्म दिँदैन ?

यसबारेमा तपाईं पनि अध्ययन गर्नुहोस् । सबैले अध्ययन गर्नुपर्ने विषय बनेको छ । किनभने यी घटनाहरू खुलारूपमा घटेका छन् । एकीकरण महान र युगान्तकारी परिघटना हो । एकीकरणको आवश्यकता थियो, भएको छ, यो गौरवको कुरा हो । तर, एकता प्रक्रियामा कैयौँ यस्ता कमजोरी भएका छन्, गल्ती गरिएका छन्, जसलाई ठिक समयमा सच्याइएन भने तिनै कुराहरूले वैचारिक र संगठनात्मक संकटहरू निम्त्याउँछन् । एकताले त्यो संकटको बिजारोपण गरिसकेको छ । एकताका बेला राजनीतिक र वैचारिक संकटको बीउ रोप्न कुनै जरुरी थिएन ।

अबको महाधिवेशन एकताको महाधिवेशन भनिए पनि महाधिवेशन आफैँमा सर्वोच्च निकाय, प्रतिनिधि सार्वभौम हुन्छन् । अहिले नै सर्वसम्मत हुन्छ भनेर ठोकुवा गर्न सकिने विषय पनि भएन । कदाचित् निर्वाचनमार्फत् अध्यक्ष चुन्ने परिस्थिति बन्यो भने कसलाई समर्थन गर्नुहुन्छ ? या नेतृत्वमा दाबी गर्नुहुन्छ ?

अब पार्टी एकतावद्ध भएको छ । एउटा कालखण्डभित्रमा एकता महाधिवेशन हुन्छ । त्यो ऐतिहासिक हुनेछ । महाधिवेशनले नयाँ नेतृत्व चुन्नेछ ।

हामी यस्तो नेतृत्व चुन्छौँ, जो शारीरिक रूपले स्वस्थ हुनेछ । देशव्यापी रूपमा कार्यकर्ताको बीचमा पुग्नसक्ने, वैचारिक, राजनीतिक र सांगठनिक हिसाबले सुदृढ क्षमता भएको हुनेछ । स्वस्थ्य, वैचारिक, राजनीतिक र सैद्धान्तिक रूपले दह्रो व्यक्तिले मात्रै नेतृत्व गर्नेछ । अब अरूहरूको युग सकियो ।

भनेपछि वर्तमान अध्यक्ष केपी शर्मा ओली दोहोरिने सम्भावना समाप्त भयो । पुष्पकमल दाहाल, माधव नेपाल र तपाईंबीच नेतृत्वको रस्साकस्सी हुने भयो, हैन ?

म कुनै पनि व्यक्तिको नाम लिन चाहन्नँ । नीति, सिद्धान्त, मापदण्डको आधारमा नेतृत्व छनोट हुनेछ । योग्यता, क्षमता पहिलो सर्त हो । एकता महाधिवेशन भएकाले नेतृत्व हामी सकेसम्म सर्वसम्मत रूपमा छनोट गर्छौं ।

अहिलेसम्म केन्द्रको मात्रै एकता भएको छ, मातहतका कमिटीहरू (प्रदेश, जिल्ला, नगर गाउँ र जनसंगठन) को एकता भएको छैन, कसरी एकता गर्ने तयारी छ ?

तलको एकताका निम्ति कार्यदल बनाइसकेका छौँ । कार्यदलले तीव्रताका साथ काम गरिरहेका छन् । तलका एकतालाई बढी सन्तुलित बनाइने छ । सबैलाई समेटिने छ ।

पूर्वमाओवादीहरूले त भागवण्डाको आधारमा हुनुपर्छ भन्दैछन् नि ?

प्रदेश र जिल्लामा कुनै भागवण्डा हुँदैन । नयाँ केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालय छन् । त्यसको निर्णयका आधारमा हुन्छ । हिजोका अलगअलग पार्टी सिध्धिए । यतियति चाहियो भनेर माग गर्न ‘ग्राउन्ड’ छैन । पार्टी नै सिध्धिएपछि केको डिमान्ड ? त्यसको कुनै आधार छैन । पार्टी एक भइसक्यो, हरेक निर्णय त्यहीँ छलफल हुन्छ । आवश्यकता, क्षमता, नेताहरूको स्थिति, योग्यता मातहतका कमिटी, जनसंगठन एकीकरणको मापदण्ड हो, हिजो कुन पार्टीमा थियो भन्ने होइन ।

‘एक व्यक्ति एक पद’को अवधारणा मुताविक तलका कमिटी एकीकरण गर्नुहुन्छ, हो ?

त्यस्तो ‘हार्ड एण्ड फास्ट’को नीति अख्तियार हुँदैन । कतिपय ठाउँमा सकेसम्म एक व्यक्ति एक पद पनि लागु गर्छौं । कतिपय ठाउँमा एक व्यक्ति एकभन्दा बढी ठाउँमा पनि बस्न सक्छ । इन्कार गरिँदैन ।

एमालेभित्र नवौँ महाधिवेशताका जुन–जुन विचार समूह (गुट) पैदा भएका थिए । त्यसको अस्तित्व छ कि सकियो ?

हामी सकेसम्म हिजोको जस्तो गुटवन्दी समाप्त पार्छौंै । हिजोका गुटवन्दीका कुअसरबाटसमेत नवगठित पार्टीलाई मुक्त गर्नुपर्छ । पार्टीलाई सही कार्यदिशा दिन नीति, सिद्धान्तमा बहस चलाइन्छ । पार्टी पूरै कमिटी प्रणालीमा सञ्चालन गरिन्छ । अब हाम्रा नेता भनेका केन्द्रीय कमिटी, स्थायी कमिटी, सचिवालय हुन्, अमुक व्यक्ति होइनन् । अलगअगल पार्टी हुँदा गुट थिए होलान्, एकीकृत भएपछि सबै गुटको अस्तित्व समाप्त भयो ।

एउटा सन्दर्भमा तपाईंले एकताको श्रेय प्रचण्डलाई दिन्छु भन्नुभएको थियो, अब तपाईंको नेता प्रचण्ड हो ?

त्यस्तो किमार्थ होइन । यहाँ जे बुझिएको छ, गलत बुझिएको छ । एकीकृत पार्टीका सबै नेतालाई समान रूपमा मान्छु । समानमध्ये दुई नेतालाई अध्यक्ष बनाएका छौँ । अरू सबै समान हौँ । सबैसँग बसेर छलफल गरेर नै निर्णय प्रक्रियामा पुग्छौँ । कतिपय नेताको योग्यता, क्षमता राम्रा होलान्, भोलिका दिनमा त्यही योग्यता, क्षमताका आधारमा जिम्मेवारी बाँडफाँट गरिन्छ ।

दुईतिहाइ सन्निकट मतसहित बामशक्ति पहिलोपटक सत्तामा छ । संविधानले नै समाजवादको परिकल्पना गरेको छ, समृद्धिको सपना देखाइएको छ तर बजेट आउँदा आम मानिस निराश हुने परिस्थिति सिर्जना भयो नि ?

यस पटकको बजेट जसरी राजनीतिक छलफल भएर आउनुपथ्र्यो, आएन । नयाँ ढंगले निर्णायक कदम चाल्नुपर्ने परिस्थितिमा छौँ । सिंगो राष्ट्रले जुन उचाइबाट अपेक्षा गरेको थियो, त्यसको पूर्ति यो बजेटले गर्न सकेन ।
बजेटले उत्साह जगाउन नसकेको साँचो हो, त्यसलाई पुर्ताल गर्दै जानुपर्छ ।

पुर्ताल कसरी गर्ने त ?

अब पपुलिस्ट बजेटबाट काम गर्ने होइन । परिस्थितिको ठोस विश्लेषण गर्ने र ठोस नीति तयार पार्ने र कार्यान्वयन गर्नुपर्छ । अहिलेको बजेटमा पनि रिभ्यू हुन सक्छ । रिभ्यु गर्दै परिस्कृत र नीति तथा कार्यक्रमअनुरूप बनाउनुपर्छ ।

राजनीतिक वृत्तमा झलनाथ खनाल सक्रिय राजनीतिबाट ओझेल पर्ने तयारीमा हुनुहुन्छ भन्ने सुनिन्छ नि ?

मिथ्या कुरा हो । म ने क पाको वरिष्ठ नेता हो । त्यो नेताको हैसियतले राजनीति, सांगठनिक र वैचारिक काममा सक्रिय रहन्छु, यस्ता मिथ्या, आधारहीन तर्कको कुनै तुक छैन ।                                                                    बाह्रखरीको सहयोगमा

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो

    यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको

दशैंको टीकाको साइत असोज २६ गते ११:३६ बजे

    नवरात्र भनेरसमेत चिनिने दशैं नौ रात र दश दिनको हुने गरेकामा

बडादशैं सुरु, घटस्थापनाको साइत आज ९:१६ बजे

    प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादशैं आजदेखि

प्रधानन्यायधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

     प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय