मैले केपी ओलीको पिँडालुबारी फाँडिदिएको पनि होइन तर मलाई सिध्याउन यति सम्म गरे भन्दै रन्किए झलनाथ



हाम्रो इकोनोमि

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुँदा वरिष्ठ नेता झलनाथ खनाल चीनमा थिए । स्वास्थ्य उपचारको सिलसिलामा चीनमा रहेका नेता खनालले स्वदेश आएलगत्तै पार्टी एकता हुँदा वरियता तलमाथि पारेको भन्दै रोष प्रकट गरे । यस विषयमा ने क पाको सचिवालयमा उनले लिखित असहमति नै राखेका छन् । र, छलफलको माग गरेका छन् ।डल्लुस्थित निजी निवासमा स्वास्थ्य लाभ गरिरहेका खनालसँग पार्टी एकतापछि उत्पन्न परिस्थिति र राजनीतिक कार्यदिशाका बारेमा गरेको कुराकानी प्रस्तुत गरिएको छ।

पार्टी एकतापूर्व निकै उत्साही हुनुुहुन्थ्यो । अब छिट्टै घोषणा हुन्छ भन्दै आउनु भएको थियो । तर, एकता हुँदा आफैँ अनुपस्थित रहनुभयो नि ?

मेरो नियमित भ्रमणको लागि चीन जाने कार्यक्रम बनेको थियो । कार्यक्रमलाई तत्काल स्थगित गर्ने अवस्था थिएन ।

यता पार्टी एकता आज हुन्छ, भोलि हुन्छ भन्दाभन्दै स्थगित भएर बसेको थियो । तत्कालै एकता हुन्छ भन्ने स्थिति पनि थिएन । जेठ १ गते पार्टी अध्यक्ष केपी शर्मा ओली र म सँगै थियौँ । त्यसबेला पनि पार्टी अध्यक्षले कुनै जानकारी दिनुभएन । पार्टी एकता हुँदैछ भन्ने आभाष भएको भए म बाहिर जाने पनि थिइनँ ।

एकताको प्रक्रिया निकै महत्त्वपूर्ण थियो । ऐतिहासिक परिघटना थियो । त्यो प्रक्रियामा म कुनै हालतमा सामेल हुन्थेँ । त्यसको आभाष नभएपछि पूर्वनिर्धारित कार्यक्रममा गएँ । अचानक पार्टी एकता भएको थाहा पाएँ ।
फर्किएपछि मैले सबैलाई सोधेँ– मलाई झुक्याइएको हो ?

पार्टीका नेताहरूका कुरा सुन्दा होइन रहेछ । अघिल्लो दिनसम्म कसैलाई जानकारी दिइएको रहेनछ । यहाँसम्म कि केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई समेत थाहा रहेनछ ! छलफल गर्दैजाँदा सहमति जुटेपछि जेठ ३ गते नै एकता गरिएको रहेछ ।

तपाईं चीन गएको कुरा पार्टीलाई खासै जानकारी रहेनछ । निजी कामका लागि जानुभएको थियो चीन ?

केही मानिसहरू मेराविरुद्धमा लागेका छन्, होलान् । उनीहरूको के स्वार्थ छ, मैले थाहा पाएको छैन । उनीहरूको पिँडालुबारी फाँडिदिएको पनि होइन, घाटा–नाफाको कुरा केही गरेको छैन ।
तर, मेरो प्रगति र अग्रगतिको जलन भएको छ । इर्ष्यासमेत लागेको छ । ती मुठ्ठीभर छन् । तिनै मानिसहरूले गरेको अनर्गल प्रचार हो यो ।

पार्टी एकताको ऐतिहासिक क्षणमात्रै होइन, वरीयता नै गुमाउनुभयो नि तपाईंले ?

पूर्व नेकपा एमालेभित्र आठौँ राष्ट्रिय (बुटवल) महाधिवेशनबाट मैले नै प्रणाली स्थापित गरेको हुँ । खासगरीकन पार्टीमा एकातिर नेता भइरहेका मानिस पनि रहने, नयाँ नेता पनि रहने । पार्टीमा यस्तो देखा परेपछि मैले नै पूर्व तथा निवर्तमान अध्यक्षलाई एक कार्यकाल पार्टीको वरिष्ठ नेता बनाउने प्रस्ताव गरेर पारित गरेको हुँ ।

म त्यतिबेला पार्टी अध्यक्ष भएकाले त्यतिबेला माधव नेपाल वरिष्ठ नेता हुनुभयो । नवौँमा केपी ओली अध्यक्ष भइसकेपछि म वरिष्ठ नेता भएँ । महाधिवेशनले बनाएको एकमात्र वरिष्ठ नेता हुँ म । माधव नेपाललाई पनि वरिष्ठ नेता भन्ने नगरिएको होइन तर पार्टीको निर्णयले उहाँलाई वरिष्ठ नेता भन्दैनथ्यो ।

पार्टी एकता गर्दाको बेला कुनै पनि त्यस्तो कारण छैन वरीयता तलमाथि पार्नुपर्ने, मिच्नुपर्ने । वरीयता हेरफेर गर्नुको कुनै औचित्य, आवश्यकता पनि थिएन । तर, घनघोर अन्यायका साथ गरियो । यसप्रति मेरो तीव्र विरोध र विमति छ । मैले असहमति राखेको छु । मपार्टीभित्र यसबारे आफ्नो अन्तरसङ्घर्ष जारी राख्छु ।

लिखित असहमति राख्नुभएको छ कि, मौखिकमात्रै ?

मैले सचिवालयको बैठकमा लिखित रूपमा नै आफ्नो असहमति दर्ज गरेको छु । मैले छलफलको माग गरेको छु । कहिले छलफल हुन्छ, त्यसको प्रतीक्षामा छु म ।

पार्टी अध्यक्ष हुँदा स्थायी कमिटी सदस्य केपी शर्मा ओली र तपाईंबीच बोलचालैसम्म नभएको घटना सार्वजनिक भएको थियो । पछि नवौँमा उहाँ अध्यक्ष हुनुभयो, तपाईंले उहाँलाई कत्तिको सहयोग गर्नुभयो ?

म पार्टी अध्यक्ष भएका बेला कमरेड केपी ओलीले पराजय नै स्वीकार्नु भएन । मलाई कुनै पनि सहयोग गर्नुभएन । त्यो कार्यकालभरि उहाँले गुटबन्दी गर्नुभयो । अराजकता सिर्जना गर्नुभयो । गतिविधि हुनै नदिने किसिमका क्रियाकलाप भए ।
ती सबैलाई सहेर पार्टीलाई एकतावद्ध बनाउन प्रयत्न गरेँ । पार्टीलाई कसरी सुदृढ, शक्तिशाली बनाउने भन्नेमा चिन्तित रहेँ । पार्टी निर्माण र परिचालनमै जोड दिएकाले ३३ सिटमा खुम्चिएको पार्टीलाई झन्डैझन्डै पहिलो पार्टी र कांग्रेसको हाराहारीको पार्टी बनाएँ ।
सम्भवतः त्यो विकसित गराएको प्रतिफलस्वरूप वरीयता तलमाथि गरिएको हुनुपर्छ ।

मेरो सन्दर्भमा कुरा गर्नुहुन्छ भने मैले कुनैदिन पार्टी अध्यक्षलाई असहयोग गरेको छैन । निर्णय प्रक्रियामा अप्ठ्यारो पारेको छैन ।

बाहिर गाइँगुइँ सुनिन्छ केपी ओली र प्रचण्डबीच केही ‘भद्र सहमति’ भएको छ । पाँच वर्षपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यकारी राष्ट्रपति प्रस्ताव गर्ने तयारी पनि छ भन्ने हल्ला छ, त्यस्तो सहमति भएको छ ? छ भने यहाँलाई स्वीकार्य हुन्छ ?

मलाई लाग्छ– कुनै त्यस्तो सहमति भएको छैन । त्यस्तो कुनै सहमति भयो भने मलाई मान्य पनि हुँदैन । अहिले भएको एकता प्रक्रिया खुलस्त भएकाले भित्र त्यस्ता भद्र, अभद्र कुनै सहमति भएजस्तो मैले बुझेको छैन । यसमा भित्रि कुराहरू, षड्यन्त्रमूलक कुराहरू भएको छैन ।

पार्टी एकताले यहाँलाईमात्रै अन्यायमा पारेको छैन । महासचिव ईश्वर पोखरेलको पनि पद गएको छ । एकताको नाममा कसैलाई दण्डित र कसैलाई पुरस्कृत गरेजस्तो भएन ? यसले फरक खालको सङ्घर्षलाई जन्म दिँदैन ?

यसबारेमा तपाईं पनि अध्ययन गर्नुहोस् । सबैले अध्ययन गर्नुपर्ने विषय बनेको छ । किनभने यी घटनाहरू खुलारूपमा घटेका छन् । एकीकरण महान र युगान्तकारी परिघटना हो । एकीकरणको आवश्यकता थियो, भएको छ, यो गौरवको कुरा हो । तर, एकता प्रक्रियामा कैयौँ यस्ता कमजोरी भएका छन्, गल्ती गरिएका छन्, जसलाई ठिक समयमा सच्याइएन भने तिनै कुराहरूले वैचारिक र संगठनात्मक संकटहरू निम्त्याउँछन् । एकताले त्यो संकटको बिजारोपण गरिसकेको छ । एकताका बेला राजनीतिक र वैचारिक संकटको बीउ रोप्न कुनै जरुरी थिएन ।

अबको महाधिवेशन एकताको महाधिवेशन भनिए पनि महाधिवेशन आफैँमा सर्वोच्च निकाय, प्रतिनिधि सार्वभौम हुन्छन् । अहिले नै सर्वसम्मत हुन्छ भनेर ठोकुवा गर्न सकिने विषय पनि भएन । कदाचित् निर्वाचनमार्फत् अध्यक्ष चुन्ने परिस्थिति बन्यो भने कसलाई समर्थन गर्नुहुन्छ ? या नेतृत्वमा दाबी गर्नुहुन्छ ?

अब पार्टी एकतावद्ध भएको छ । एउटा कालखण्डभित्रमा एकता महाधिवेशन हुन्छ । त्यो ऐतिहासिक हुनेछ । महाधिवेशनले नयाँ नेतृत्व चुन्नेछ ।

हामी यस्तो नेतृत्व चुन्छौँ, जो शारीरिक रूपले स्वस्थ हुनेछ । देशव्यापी रूपमा कार्यकर्ताको बीचमा पुग्नसक्ने, वैचारिक, राजनीतिक र सांगठनिक हिसाबले सुदृढ क्षमता भएको हुनेछ । स्वस्थ्य, वैचारिक, राजनीतिक र सैद्धान्तिक रूपले दह्रो व्यक्तिले मात्रै नेतृत्व गर्नेछ । अब अरूहरूको युग सकियो ।

भनेपछि वर्तमान अध्यक्ष केपी शर्मा ओली दोहोरिने सम्भावना समाप्त भयो । पुष्पकमल दाहाल, माधव नेपाल र तपाईंबीच नेतृत्वको रस्साकस्सी हुने भयो, हैन ?

म कुनै पनि व्यक्तिको नाम लिन चाहन्नँ । नीति, सिद्धान्त, मापदण्डको आधारमा नेतृत्व छनोट हुनेछ । योग्यता, क्षमता पहिलो सर्त हो । एकता महाधिवेशन भएकाले नेतृत्व हामी सकेसम्म सर्वसम्मत रूपमा छनोट गर्छौं ।

अहिलेसम्म केन्द्रको मात्रै एकता भएको छ, मातहतका कमिटीहरू (प्रदेश, जिल्ला, नगर गाउँ र जनसंगठन) को एकता भएको छैन, कसरी एकता गर्ने तयारी छ ?

तलको एकताका निम्ति कार्यदल बनाइसकेका छौँ । कार्यदलले तीव्रताका साथ काम गरिरहेका छन् । तलका एकतालाई बढी सन्तुलित बनाइने छ । सबैलाई समेटिने छ ।

पूर्वमाओवादीहरूले त भागवण्डाको आधारमा हुनुपर्छ भन्दैछन् नि ?

प्रदेश र जिल्लामा कुनै भागवण्डा हुँदैन । नयाँ केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालय छन् । त्यसको निर्णयका आधारमा हुन्छ । हिजोका अलगअलग पार्टी सिध्धिए । यतियति चाहियो भनेर माग गर्न ‘ग्राउन्ड’ छैन । पार्टी नै सिध्धिएपछि केको डिमान्ड ? त्यसको कुनै आधार छैन । पार्टी एक भइसक्यो, हरेक निर्णय त्यहीँ छलफल हुन्छ । आवश्यकता, क्षमता, नेताहरूको स्थिति, योग्यता मातहतका कमिटी, जनसंगठन एकीकरणको मापदण्ड हो, हिजो कुन पार्टीमा थियो भन्ने होइन ।

‘एक व्यक्ति एक पद’को अवधारणा मुताविक तलका कमिटी एकीकरण गर्नुहुन्छ, हो ?

त्यस्तो ‘हार्ड एण्ड फास्ट’को नीति अख्तियार हुँदैन । कतिपय ठाउँमा सकेसम्म एक व्यक्ति एक पद पनि लागु गर्छौं । कतिपय ठाउँमा एक व्यक्ति एकभन्दा बढी ठाउँमा पनि बस्न सक्छ । इन्कार गरिँदैन ।

एमालेभित्र नवौँ महाधिवेशताका जुन–जुन विचार समूह (गुट) पैदा भएका थिए । त्यसको अस्तित्व छ कि सकियो ?

हामी सकेसम्म हिजोको जस्तो गुटवन्दी समाप्त पार्छौंै । हिजोका गुटवन्दीका कुअसरबाटसमेत नवगठित पार्टीलाई मुक्त गर्नुपर्छ । पार्टीलाई सही कार्यदिशा दिन नीति, सिद्धान्तमा बहस चलाइन्छ । पार्टी पूरै कमिटी प्रणालीमा सञ्चालन गरिन्छ । अब हाम्रा नेता भनेका केन्द्रीय कमिटी, स्थायी कमिटी, सचिवालय हुन्, अमुक व्यक्ति होइनन् । अलगअगल पार्टी हुँदा गुट थिए होलान्, एकीकृत भएपछि सबै गुटको अस्तित्व समाप्त भयो ।

एउटा सन्दर्भमा तपाईंले एकताको श्रेय प्रचण्डलाई दिन्छु भन्नुभएको थियो, अब तपाईंको नेता प्रचण्ड हो ?

त्यस्तो किमार्थ होइन । यहाँ जे बुझिएको छ, गलत बुझिएको छ । एकीकृत पार्टीका सबै नेतालाई समान रूपमा मान्छु । समानमध्ये दुई नेतालाई अध्यक्ष बनाएका छौँ । अरू सबै समान हौँ । सबैसँग बसेर छलफल गरेर नै निर्णय प्रक्रियामा पुग्छौँ । कतिपय नेताको योग्यता, क्षमता राम्रा होलान्, भोलिका दिनमा त्यही योग्यता, क्षमताका आधारमा जिम्मेवारी बाँडफाँट गरिन्छ ।

दुईतिहाइ सन्निकट मतसहित बामशक्ति पहिलोपटक सत्तामा छ । संविधानले नै समाजवादको परिकल्पना गरेको छ, समृद्धिको सपना देखाइएको छ तर बजेट आउँदा आम मानिस निराश हुने परिस्थिति सिर्जना भयो नि ?

यस पटकको बजेट जसरी राजनीतिक छलफल भएर आउनुपथ्र्यो, आएन । नयाँ ढंगले निर्णायक कदम चाल्नुपर्ने परिस्थितिमा छौँ । सिंगो राष्ट्रले जुन उचाइबाट अपेक्षा गरेको थियो, त्यसको पूर्ति यो बजेटले गर्न सकेन ।
बजेटले उत्साह जगाउन नसकेको साँचो हो, त्यसलाई पुर्ताल गर्दै जानुपर्छ ।

पुर्ताल कसरी गर्ने त ?

अब पपुलिस्ट बजेटबाट काम गर्ने होइन । परिस्थितिको ठोस विश्लेषण गर्ने र ठोस नीति तयार पार्ने र कार्यान्वयन गर्नुपर्छ । अहिलेको बजेटमा पनि रिभ्यू हुन सक्छ । रिभ्यु गर्दै परिस्कृत र नीति तथा कार्यक्रमअनुरूप बनाउनुपर्छ ।

राजनीतिक वृत्तमा झलनाथ खनाल सक्रिय राजनीतिबाट ओझेल पर्ने तयारीमा हुनुहुन्छ भन्ने सुनिन्छ नि ?

मिथ्या कुरा हो । म ने क पाको वरिष्ठ नेता हो । त्यो नेताको हैसियतले राजनीति, सांगठनिक र वैचारिक काममा सक्रिय रहन्छु, यस्ता मिथ्या, आधारहीन तर्कको कुनै तुक छैन ।                                                                    बाह्रखरीको सहयोगमा

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...