नेपाल कम्युनिस्ट पार्टी लोकप्रिय र शक्तिशाली भएकोमा विश्वका कम्युनिष्ट खुसी छन्



हाम्रो इकोनोमि

कार्ल मार्क्स द्विशतवार्षिकी अन्तराष्ट्रिय सेमिनार आयोजक समितिले विश्व सर्वहारा वर्गका नेता तथा वैज्ञानिक समाजवादका प्रवर्तक कार्ल माक्र्स (१८१८) जन्मेको दुई सय वर्ष पूरा भएको अवसरमा काठमाडौंमा(१६–१७ जेठ, २०७५) गते अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न गरेको छ । ‘मार्क्सवाद र समाजवाद’ विषयमा आयोजित अन्तर्राष्ट्रिय सेमिनारमा सेमिनारमा १६ देशका कम्युनिस्ट, श्रमिक र समाजवादी गरी २२ वटा पार्टीको सहभागिता थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य विष्णु रिजाल यो सेमिनारमा निकै सक्रियतापूर्वक खटे । कार्ल मार्क्स द्विशतवार्षिकी अन्तराष्ट्रिय सेमिनार आयोजक समितिको सदस्यको रुपमा उनी विदेशी पाहुनासँग बाक्लो संवादमा रहे । कस्तो रह्यो सेमिनार ? नेपालका कम्युनिष्ट आन्दोलनप्रति विश्वका कम्युनिष्टका धारणा र अपेक्षा के रहेछन् त ?  नेता रिजालसँग गरेको कुराकानी :

विश्व सर्वहारा वर्गका महान् नेता कार्ल माक्र्स जन्मेको दुई सय वर्ष पुगेको अवसरमा विश्वभर नै विभिन्न कार्यक्रमहरु भइरहेका छन् । नेपालमा कम्युनिस्ट पार्टीले निर्वाचनमार्फत अभूतपूर्व सफलता हासिल गरेको बेला हाम्रा महान् गुरु मार्क्सका योगदानहरुका बारेमा चर्चा गर्नु र नेपालको कम्युनिस्ट आन्दोलनका बारेमा विश्वका कम्युनिस्टहरुलाई बताउनु बिलकुल सान्दर्भिक थियो । यही भएर दुई पार्टीबीच एकता नहुँदै एकता संयोजन समितिको बैठकबाट दुई महिनाअघि बरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा आयोजक समिति निर्माण भएको थियो । त्यही समितिले सफलतापूर्वक कार्यक्रम सम्पन्न गरेको छ ।

मैले माथि नै उल्लेख गरेँ, कार्यक्रमका दुईवटा पाटा थिए, एउटा आजका सन्दर्भमा माक्र्सवाद र समाजवादका बारेमा बहस र विमर्श गरेर यसप्रतिको हाम्रो प्रतिबद्धतालाई नयाँ उचाइँबाट प्रकट गर्ने र अर्को नेपालको कम्युनिस्ट आन्दोलनका बारेमा विश्वका कमरेडहरुलाई जानकारी गराउने । कार्यक्रममा हाम्रा दुबै जना पार्टी अध्यक्षले त्यसबारेमा विस्तृत रुपमा चर्चा गर्नुभयो । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिस्ट आन्दोलनका बारेमा सविस्तार बताउनुभयो । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजका सन्दर्भमा मार्क्सवाद र समाजवादका बारेमा पार्टीको धारणाा प्रस्तुत गर्नुभयो । यी विषयका बारेमा विभिन्न देशका कम्युनिस्ट पार्टीका प्रतिनिधिहरुले आआफ्ना धारणाहरु राख्नुभयो । यसबाट हामीलाई एक अर्काका धारणा बुझ्न, माक्र्सवाद र समाजवादका बारेमा समान धारणा बनाउन र आगामी चुनौतीहरुको मिलेर सामना गर्नमा मद्दत पुर्याउने विश्वास हामीले लिएका छौँ र आफ्नो उद्देश्यमा हामी सफल भएका छौँ ।

सेमिनारमा को–को सहभागी भए, के–के भयो बताइदिनुहोस् न ।

सेमिनारमा १६ देशका कम्युनिस्ट, श्रमिक र समाजवादी गरी २२ वटा पार्टीको सहभागिता थियो । हामीले उद्घाटन र समापनबाहेक दुई वटा प्लेनरी सेसन आयोजना गरेका थियौँ । पहिलो सत्रमा माक्र्सवाद र समाजवादबारेमा विभिन्न पार्टीहरुले लिखित कार्यपत्र प्रस्तुत गरे, जुन हामीले पहिल्यै मागेका थियौँ भने दोस्रो सत्रमा प्रत्येक देशका पार्टीहरुले आआफ्नो देशको कम्युनिस्ट आन्दोलनको अवस्थाका बारेमा मुलुक आर्धारित धारणाहरु राखे । यी दुबै सत्रमा व्यापक रुपमा छलफल भयो, एक अर्कालाई प्रश्नहरु सोध्ने काम भयो । सहभागीहरुले मन फुकाएर आफूलाई लागेका कुराहरु राखे । कतिपय विषयहरुमा फरक धारणा पनि आए ।

कार्यक्रममा नेपालका साथै भारत, चीन, भियतनाम, लाओस, उत्तर कोरिया, श्रीलंका, बंगलादेश, जर्मनी, अस्ट्रेलिया, दक्षिण अफ्रिका, जाम्बिया, भेनेजुयला, रुस र मोरक्कोका कम्युनिस्ट पार्टीहरु सहभागी थिए । हामीले एक अर्काका धारणाहरु सुनिसकेपछि काठमाडौँ घोषणा जारी गरेर आफ्ना साझा धारणाहरु सार्वजनिक गरेका छौँ ।

नेपालको कम्युनिष्ट आन्दोलनप्रति अन्य देशका कम्युनिष्ट पार्टीका नेताहरुको धारणा कस्तो पाउनुभयो, उनीहरुको अपेक्षा के रहेछन् ?

नेपालको कम्युनिस्ट आन्दोलनप्रति अरु नेताहरुले साह्रै राम्रो धारणा प्रकट गर्नुभएको छ । नेपालका कम्युनिस्ट पार्टी अत्यन्त लोकप्रिय र शक्तिशाली भएकोमा उहाँहरुले खुसी व्यक्त गर्नुभएको छ । निर्वाचनबाट यति अपार जनमत प्राप्त गरेर सरकार गठन गर्ने अवस्था कसरी आयो र त्यसका लागि कम्युनिस्ट पार्टीले कसरी काम गर्यो भन्नेमा उहाँहरुमा जिज्ञासा देखिन्छ । हामीले इतिहासदेखि नै नेपालमा कम्युनिस्टहरु लोकतन्त्र, जनजीविका र सामाजिक न्यायका लागि संघर्षरत रहेकाले जनताको लोकप्रिय शक्तिका रुपमा स्थापित भएको बताएका छौँ । मार्क्सवादको एक मात्र मोडल हुँदैन भन्ने आधारमा हामीले नेपालको विशेषता अनुरुप जनताको बहुदलीय जनवादमार्फत कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रीकरण गरेका कारण जनताले हामीलाई पत्याएको स्पष्ट पारेका छौँ । यसबाट उनीहरु सन्तुष्ट देखिएका छन् ।

हाम्रो जस्तै साझा चिन्ता विश्वका अरु कमरेडहरुमा रहेछ, नेपालका बारेमा । खासगरी, सामाजिक परिवर्तनको कामलाई कम्युनिस्ट पार्टीले कसरी व्यवस्थित गर्छ, चुनावदेखि चुनावसम्मको गोलचक्करमै मात्र सीमित रहन्छ कि रु यस्ता जिज्ञासा उनीहरुमा छन् । नेपालले एउटा नयाँ मोडल देखाओस् र विश्वका लागि साँच्चै त्यो उदाहरण बनोस् भन्ने अपेक्षा उनीहरुको छ । लोकतन्त्र, सामाजिक न्याय र जनजीविकाका सवालमा आम मानिसहरुले अनुभव गर्ने गरी परिवर्तन भएको हेर्न मन छ भन्ने अपेक्षा उहाँहरुले हामीबाट गर्नुभएको छ ।

सेमिनारमा सहभागी १६ देशका कम्युनिष्ट पार्टीका नेताहरुले आ–आफ्नो देशको कम्युनिस्ट आन्दोलन अनुभव र अवस्था सुनाएका थिए । कस्तो रहेछ, अन्य देशमा कम्युनिष्ट आन्दोलनको अवस्था ?

एउटा प्रश्नमा सबै उत्तर दिन सम्भव नहोला । सारमा भन्दाखेरि प्रत्येक देशका आआफ्ना अनुभव र अनुभूति छन् । यसमा कुनै सन्देह छैन, अहिले विश्वमा कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । सन् १९९० को दशकमा लागेको धक्काबाट विश्व कम्युनिस्ट आन्दोलन राम्ररी बौरिन सकेको छैन । तर, विश्वका कम्युनिस्टहरुले आफूलाई पुनरावोलोकन गर्दै आन्दोलनलाई पुनर्संगठित गर्ने प्रयास जारी राखेका छन् ।खासगरी, लामो समय सशस्त्र संघर्षमा लागेका कम्युनिस्ट पार्टीहरु शान्तिपूर्ण राजनीतिमा आउने र परिवर्तनका लागि जनतालाई साथमा लिने प्रयास जारी छ । श्रीलंकामा जेभीपीले लामो संघर्ष गर्यो तर धेरै क्षति भएपछि अहिले शान्तिपूर्ण राजनीतिमा छ । नेपालमा पनि त्यस्तै भएको छ । अहिलेको सन्दर्भमा भन्नुहुन्छ भने विश्वको कम्युनिस्ट आन्दोलनको मूल प्रवृत्ति यही हो । यसमा प्रायः सबै पार्टीहरु एकमत छन् ।

सेमिनारपछि काठमाडौं घोषणा पत्र पनि जारी गर्नुभएको छ, घोषणाको सार के हो ?
हामीले ६ बुँदे काठमाडौँ घोषणा सार्वजनिक गरेका छौँ । त्यसको सार भनेको माक्र्सवादप्रतिको हाम्रो प्रतिबद्धतामा पुनः जोड, विश्वमा भइरहेका न्यायपूर्ण आन्दोलनहरुप्रति ऐक्यबद्धता, पुँजीवादी शोषण र दमनको विरोध, शान्ति, लोकतन्त्र र परिवर्तनको पक्षपोषण र समाजवाद निर्माणको बाटोमा अघि बढ्ने दृढता हो ।

यस्ता खालका सेमिनार र सम्मेलनहरुले कम्युनिष्ट आन्दोलनलाई कस्तो सहयोग गर्छ ?
हामी प्रत्येक देशका कम्युनिस्ट पार्टीहरु सार्वभौम छौँ । आफ्नो देशका लागि के गर्नुपर्छ र कसरी अघि बढ्नुपर्छ भन्नेमा हाम्रा आआफ्ना बुझाइ छन् । तर, विश्व मुक्तिको अन्तर्राष्टिय सिद्धान्त बोकेका कारण हाम्रा बीचमा आत्मीयता र हार्दिकता छ । विश्वका कम्युनिस्ट, श्रमिक तथा समाजवादी पार्टीहरुका यस्ता जमघटहरु बेलाबेलामा भइरहन्छन् । हालै मात्र पनि रुस र चीनमा विशाल कार्यक्रमहरु सम्पन्न भएका छन् । हाम्रो अन्तर्राष्टिय संस्था नै यसमा कार्यरत छ । आपसमा विचारहरु आदान प्रदान हुनु, एक अर्काका धारणाहरु बुझ्नु र आफ्नो देशका लागि काम लाग्दा अनुभवहरुबाट सिक्नु विल्कुल स्वाभाविक हुन्छ ।

कार्यक्रमकै दौरानमा आयोजक कमिटीका अध्यक्ष तथा हाम्रा बरिष्ठ नेता माधवकुमार नेपालसँग विभिन्न देशका कम्युनिस्ट पार्टीका प्रतिनिधिमण्डलहरुले अलग्गै भेटेका थिए । उनीहरुले पनि यस्ता कार्यक्रमहरु भइरहनुपर्नेमा जोड दिएका छन् । अझ दक्षिण एसियाका कम्युनिस्ट पार्टीहरुका बीचमा घनीभूत छलफल र बहस गर्नका लागि अलग्गै फोरम आयोजना गर्नुपर्छ भन्ने कुरा पनि भएको छ । सम्भवतः अर्को बर्ष दक्षिण एसियाका कम्युनिस्ट पार्टीहरुका बीचमा विस्तृत सम्मेलन हुन सक्छ । समग्रमा भन्दा, यस्ता कार्यक्रमहरुले अन्तर्राष्टिय स्तरमा भाइचारा सम्बन्ध विस्तार र विकासमा मद्दत पुर्याउँछ । नयाँपेजबाट

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...