गोरेका सुन तस्करीका गुरु भुजुङको यस्तो छ तस्करी कथा,तिब्बती शरणार्थीको कार्डमा यस्ता धन्धा गर्थे



हाम्रो इकोनोमि

सुन तस्करी र सनम शाक्य हत्याकाण्डको अनुसन्धानका लागि बनेको सरकारी समितिले पक्राउगर्ने अघिल्लो दिन (२४ चैत्र २०७४) सम्म भुजुङ गुरुङको परिचय राप्रपा (प्रजातान्त्रिक) को नेता, होटल व्यवसायी, हवाई व्यवसायी र बैंकरका रुपमा थियो।

सरकारले २० चैत २०७४ मा गृहका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा बिशेष अनुसन्धान टोली बनाएको चौंथो दिन गुरुङ पक्राउ परे। अनुसन्धान समितिले सुन तस्करी र सनम शाक्य हत्यामा प्रत्यक्ष संलग्नता रहेको भन्दै गुरुङ सहित ११ जनालाई पहिलो चरणमा पक्राउ गरेको थियो।

अनुसन्धान समितिसँगको बयानमा भुजुङले आफू २०४० देखि सुन तस्करीमा सक्रिय रहेको स्वीकारेसँगै उनका अन्य परिचय मार्फत्का सम्बन्ध समेत शंकाको घेरामा परेका छन्।

भुजुङ, थाई एयरवेजका कर्मचारी गोपालबहादुर श्रेष्ठ र फरार मोहनकुमार (एमके) अग्रवालले तीन दशक अघिदेखि सुन तस्करी गरिरहेका थिए। उनीहरु तीनै जना अहिले मोरङ जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि सुनसरीको झुम्का कारागारमा रहेका छन्।

भुजुङ र गोपालको बयानमा उल्लेख भए अनुसार होटल ग्रयाण्डका सञ्चालक रामअवतार गोयल र अर्का बसन्तप्रसाद बिजुक्छेको सहयोगमा सुन तस्करी हुने गरेको थियो। उनीहरुको समुहले हङकङबाट तस्करीको सुन थाई एयरवेज र तत्कालिन शाही नेपाल वायु सेवा निगमबाट नेपाल भित्र्याउने गरेका थिए। यसरी भित्रिएको सुन केही नेपाली बजारमा र ठुलो परिणाममा भारत तस्करी हुने गरेको थियो।

भुजुङले बयानमा आफुहरुले बीचमा काम छाडेको, तर सन् २०१३ मा गोरेसँगको भेटपछि सुन तस्करीलाई निरन्तरता दिएको बताएका छन्। तर, गोरेले चाहिँ सुन तस्करीको सबै सेटिङ भुजुङ र एमकेले मिलाउने गरेको बताएका छन्।

भुजुङ र गोरेको परस्पर विरोधी यस्तो बयानपछि अनुसन्धान समितिले भुजुङले गोरे जन्माए वा गोरेले भुजुङलाई तस्करीमा पूर्नजन्म दिए भन्ने कुराको खोजी गर्न थालेको छ।

भुजुङको ‘तरक्की’
भुजुङको बयान र उनको एकाएक बढेको आर्थिक हैसियतको ग्राफले उनी पहिल्यैदेखि सुन तस्करीमा सक्रिय थिए भन्ने कुरा पुष्टि गर्छ।

भुजुङ र उनका परिवारका दुई सदस्यको नाममा ९ फागुन २०४७ मा होटल मनाङ कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो। भुजुङ, उनकी श्रीमती र छोराको नाममा होटल मनाङ दर्ता भएको हो।

केही वर्षपछि देबेन्द्र गिरिले सो होटलको ३५ प्रतिशत शेयर खरिद गरे। तर अहिले होटलको बाँकी ६५ प्रतिशत शेयर तिनै गिरिले खरिद गरेको कागजपत्र समितिमा पुगेको छ।

भुजुङले होटल मनाङपछि १२ असार २०५३ मा मनाङ एयर र एनआईडिसी डेभलपमेन्ट बैंकमा समेत लगानी रहेको अनुसन्धानको क्रममा पत्ता लागेको छ।

माथिल्लो मनाङको नाउल गाउँका स्थानीयबासी हुन् भुजुङ। उनको आर्थिक हैसियत यसरी एकाएक उकालो लाग्नुमा पञ्चायतकालमा पञ्चहरुको र प्रजातन्त्रकालमा दलका नेताहरुको सहयोगमा उनले गर्ने तस्करी नै प्रमुख रहेको जानकारहरु बताउँछन्।

भुजुङले पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रमा समेत सबैलाई मिलाएर आफ्नो तस्करी व्यवसायलाई निरन्तरता दिन सकेको तत्कालिन माओवादी केन्द्रका एक नेता बताउँछन्।

ती नेताको भनाईमा, भुजुङले दलका भातृ संगठनले आयोजना गर्ने औपचारिक कार्यक्रमका लागि देखि लिएर सरकारी कार्यक्रम, भेटघाट र गोप्य बासका लागि आफ्नो होटल उपलब्ध गराएर प्रभावशाली राजनीतिक व्यक्तिहरुलाई रिझाउने गरेका थिए।

यही राजनीतिक सम्बन्धका कारण २४ चैत्र ०७४ सम्म उनको परिचय ‘उद्यमी’ र ‘राजनीति नेता’ को रुपमा थियो। तर, पक्राउ परेपछिमात्र उनी खानदानी कुख्यात सुन तस्कर रहेको कुरा सार्वजनिक हुन पुग्यो।

माथिल्लो मनाङको नाउल गाउँका हुन् भुजुङ। उनी पशुपति शम्सेर नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता हुन्। राप्रपा (प्रजातान्त्रिक) गठन हुनुअघिसम्म उनी राप्रपा नेपालमा थिए।

दोस्रो संविधान सभा निर्वाचनमा उनी मनाङबाट उम्मेदवार बनेका थिए। भुजुङले त्यो निर्वाचन त जित्न सकेनन्। तर त्यो निर्वाचनमा उनले गरेको अथाह खर्च आजकलपनि माथिल्लो मनाङको निसाङ गाउँपालिकामा चर्चाको विषय हुने गरेको छ।

गोरेका गुरु
भुजुङले बयानमा पाँचवर्ष अघि गोरेसँग भेट भएपछि एमके भन्ने मोहन अग्रवालसँग मिलेर तस्करीमा सक्रिय रहेको बताएका छन्। तर गोरेले तस्करीका लागि प्रयोग गरेको अपराध शैली (मोडस अपरेन्डी) तीन दशक पुरानै रहेको पछिल्ला घटनाक्रमले समेत देखाउँछन्।

पहिले पहिले सुन तस्करीका लागि भरियाहरु प्रयोग गर्ने गरिन्थ्यो। यसका लागि बेरोजगार र सामान्य रोजगारमा रहेका युवाहरु प्रयोग हुने गर्थे। भुजुङ समूहले तस्कारीका लागि भरियाको प्रयोग गरेजस्तै गोरेले पनि बेरोजगार र सामान्य रोजगारमा रहेका युवाहरुलाई प्रलोभनमा पारेर सुन तस्करी गरेको देखिन्छ।

यसबाट के अनुमान लगाउन सकिन्छ भने, ‘टुटिसकेको सुन तस्करीको कडी’ गोरेसँगको सम्पर्कपछि जोडेका होइनन्, बरु गोरेले तस्करीको उपाय भुजुङमार्फत् सिकेका हुन्।

तिब्बती शरणार्थीको कार्ड
होटल याक एण्ड यतिमा रहेको रोयल क्यासिनोका नियमित ग्राहक थिए भुजुङ। उनी ५ सय रुपैयाँ प्वाईन्टमा क्यासिनोमा म्यारिज खेल्थे। क्यासिनो प्रवेशमा नेपालीका लागि कडाई गरिएपछि उनले आफूसँग रहेको तिब्बती शरणार्थी परिचयपत्रको प्रयोग गर्ने गरेको क्यासिनो रोयलका पूर्व कर्मचारीहरु बताउँछन्।

नेपालमा पहिलो पटक क्यासिनो सुरुवात गरेका अमेरिकी नागरिक आरडी टटलसँगकै उठबसमा भुजुङ क्यासिनोका नियमित ग्राहक बनेका थिए। टटलको नेपाल रिक्रिएसन सेन्टर प्रालि बन्द हुने अवस्थामा पुगेपछि टटलले क्यासिनो रोयलमा एउटा टेबुल समेत चलाएका थिए। त्यही टेबुलका भुजुङ नियमित ग्राहक थिए।

भुजुङबारे जानकार नेपाल प्रहरीका एक पूर्व महानिरीक्षकका भनाईमा, क्यासिनो, हुण्डी र सुन तस्करीको सम्बन्ध पुरानै हो, अहिले गोरेले भारतमा लुक्न प्रयोग गरेका स्थान र उनलाई लुकाउन सहयोग गर्ने व्यक्ति क्यासिनो र हुण्डीसँग जोडिएका मान्छे हुन्।

चालकले खोल्दैछन् रहस्य
गोरे पक्राउ पर्नुअघि नै भुजुङका चालक फाल्दुङ गुरुङ समितिको नियन्त्रणमा थिए। ९ माघ ०७४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको साढे ३३ किलो सुन अनामनगरमा लुटिएको भनिएको अनामनगर क्षेत्रमा फाल्दुङ पनि उपस्थित थिए।

सुन लुटिएको घटनापछि भुजुङले कसलाई भेटे, कहाँ गए, के–के भयो सबैै कुराको जानकारी समितिलाई दिएका छन्। समितिले फाल्दुङकै बयानको आधारमा थप अनुसन्धान गरिरहेको छ।

भुजुङका विश्वासपात्र फाल्दुङलाई समितिले काठमाडौंकै एक महानगरीय प्रहरी बृत्तमा सार्वजनिक कसुर ऐनमा म्याद थपेर १५ दिन हिरासतमा राखेको थियो।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...